मत-विमत

उज्यालो खोज्दै अस्ताएका तारा

गोकुल निरौला २०७५ भदौ २२ गते ९:५० मा प्रकाशित

कञ्चनपुर आन्दोलन कुनै राज्य परिवर्तनको र सत्ता परिवर्तनका लागि गरिएको थिएन । १३ वर्षिया नाबालिकाको बलात्कारपछि भएको हत्याका दोषीलाई पक्राउ गरी फाँसीको सजाय दिनुपर्छ भन्दै महेन्द्रनगरमा २४ दिनसम्म आन्दोलन चर्किएको थियो ।

 

केही दिन पहिले कञ्चनपुरमा भएकोे घटनाले नेपाली जनताको मन मस्तिष्कमा आक्रोेश पैदा गरेको छ । न्यायका लागि भनेर अधिकारवादीहरूले देशभरि आन्दोलनका कार्यक्रम घोषणा गरे ।

सुदूरपश्चिमका सबै जिल्लामा मात्रै होइन काठमाडौंको माईतीघर मण्डलामा अधिकारवादीहरूले दोषीलाई कारबाही गर भन्दै आन्दोलन गरे तर कञ्चनपुरमा प्रहरी प्रशासनले आन्दोलनकारीहरू माथि धरपकड गर्दै गोली वर्षाउन थाल्यो । देशले एकजना सपूतलाई गुमाउनु प¥यो । आन्दोलनमा ज्यान गुमाउनेलाई नेपाल सरकारले सहिद घोषणा गर्यो ।

 

न्यायको पक्षमा आन्दोलन गर्दै आएका कञ्चनपुरका बाल सहिद सन्नी खुनाको महाकाली नदीको किनारामा इहलीला समाप्त भयो । नेपालमा मुक्तिका लागि आन्दोलन गर्दै गर्दा एक जना सहिदको नाम थपियो ।

कन्चनपुर आन्दोलन कुनै राज्य परिवर्तनको र सत्ता परिवर्तनका लागि गरिएको थिएन । १३ वर्षिया नाबालिकाको बलात्कारपछि भएको हत्याका दोषीलाई पक्राउ गरी फाँसीको सजाए दिनुपर्छ भन्दै महेन्द्रनगरमा २४ दिनसम्म आन्दोलन चर्किएको थियो । आन्दोलनलाई सामान्य पार्न नसक्दा र दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा नल्याई मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी करार गरियो भन्दै आन्दोलनकारीले पुलिस प्रशासनको चर्को विरोध गरे ।

यसक्रममा एकजना १४ वर्षिया बालकले ज्यान गुमाउनु पर्यो । सँगैका घाइतेहरूको उपचार जारी छ । नेपालमा न्यायकै लागि भनेर आन्दोलन हुन थालेको दशकौँ भयो । राज्य परिवर्तन सत्ताको स्वरूप तथा जनताको मुिक्तका लागि आवाज उठाउँदा ज्यान गुमाएका लखन थापालाई पहिलो सहिद मान्यौँ र त्यसपछि लगातार तत्कालीन सरकारले रुखमा झुण्ड्याएर चारजनाको हत्या गर्यो ।

नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणीक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ । पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारबाजी गरेको आरोपमा वि.सं १९३३ सालमा गोरखाको मनकामना मन्दिरअगाडि रुखमा झुण्ड्याएर मारिएको थियो । १९९७ साल माघ १० गते राती १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा सहिद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो । धर्मभक्त माथेमाको पनि त्यसरी नै हत्या गरियो ।

त्यस्तै, १९९७ साल माघ १४ गते दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नरशमशेर राणाले गोली हानी हत्या गरे, १९९७ साल माघ १४ गतेकै राती १० बजे शोभाभगवतीमै लगेर नरशमशेर राणाले गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए । मुक्तिका लागि आवाज उठाएको आरोपमा राणाशासनमा क्रूरतापूर्वक चारजना वीरयोद्धा मारिए । सहिदको चाहना बमोजिम परिवर्तन कति भयो भएन यसको लेखा जोखागर्न बाँकी नै छ ।

हुन त सहिदले गर्दा नै जनताले राणा शासनबाट मुक्ति पाए देशमा प्रजातन्त्र आयो । प्रजातन्त्रले जनताको हक अधिकारको सुनिश्चित गर्न सकेन भन्दै देशमा अर्को आन्दोलन भयो र गणतन्त्र पनि घोषणा गरियो । ०७ सालदेखि २०६२÷०६३ सालसम्ममा नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञात÷अज्ञात सहिदहरूले सहादत प्राप्त गरे ।

माओवादी आन्दोलनमा १६ हजारले ज्यान गुमाउनु पर्यो । माओवादीले आन्दोलन सुरु गरेको दोस्रो हप्तामै नाबालक दिलबहादुर रम्तेलको सरकारले हत्या ग¥यो र माओवादीले जनयुद्धको पहिलो सहिदको रूपमा रम्तेललाई मान्ने गरेका छन् । तर, रम्तेल माओवादी आन्दोलनमै बन्दुक समातेर मर्न र मार्न हिँडेका थिएनन् । रम्तेल पढ्ने विद्यालयमा प्रहरीले आक्रमण गर्यो, शिक्षक वीरबहादुर गुरुङलाई प्रहरीबाट बचाउन प्रतिकार गर्न खोज्दा गोली लागि रम्तेलको मृत्यु भएको हो ।

मान्छे मारेर मात्रै समस्या समाधान हुँदैन भन्ने कुरा न त राणाहरूले अनुमान गर्न सके नत राणाहरूविरुद्ध आन्दोलन गरी शक्तिमा पुगेका राजनीतिक दलहरूले नै अनुमान गर्न सके । देशमा दलित आन्दोलनमा सहिद भए, मधेस आन्दोलन, जनजाति आन्दोलन अहिले आएर बलात्कारी विरुद्धको आन्दोलनमा पनि सहिद नै बन्नुपर्यो । देशमा सहिद हुनेको प्रक्रिया फरक प्रकृतिको भए पनि लक्ष्य एउटै छ । देशका लागि प्राण आहूति दिने सहिदहरूको सम्झमा हामी सहिद दिवस मनाउँछाँै ।

नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ । राणा शासनविरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । यस दिन धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायतका सहिदहरूको सम्झना गरिन्छ । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको दिन १ फागुनमा जनयुद्ध दिवस मनाउने गरेका छन् भने आन्दोलनका पहिला सहिद दिलबहादुर रम्तेलको सम्झनामा १४ गते रम्तेल स्मृति दिवस मनाउने गरेका छन् ।

अब न्यायका लागि लड्दै गर्दा ज्यान गुमाएका सन्नी खुनाको सम्झनामा पनि महेन्द्रनगरमा सम्झना दिवस मनाउन सुरु गरिनेछ । आन्दोलनबाट सत्तामा पुगेपछि हरेक पार्टी विभिन्न बाधा र समस्या देखाउँदै पन्छिने गरेका छन् ।

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइसमिलमा मधेसी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीको एउटै स्थानमा छुट्टै मन्च बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । सोही झडपमा कैयाँै घाइते भएका थिए ।

०७३ सालमा नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर चारजनाको मृत्यु भयो । शान्ति वार्ता चल्दै गर्दा रामेछापको दोरम्बा भन्ने ठाउँमा पनि माओवादी कार्यकर्ताहरूलाई तत्कालीन शाही सेनाले कत्लेयाम गरेको थियो ।

०२८ सालमा भएको झापा विद्रोह स्वयंमा हिंसात्मक आन्दोलन थियो, जसले ‘वर्ग शत्रु सफाया’ का नाममा ११ जनाको हत्या ग¥यो । त्यसपछि पञ्चायती शासकले सातजना विद्रोहीको हत्या गरेर बदला लिए । आन्दोलनबाट नेपालमा राजनीतिक परिवर्तन त आयो तर जनताले जीवनस्तर, न्यायिक परिवर्तन, र जनताको आर्थिक उन्नति हुन सकेन ।

जनआन्दोलन २ नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९ दिनसम्म चलेको थियो । यस आन्दोलनले नेपालको २ सय ४० वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । यस आन्दोलनमा विभिन्न राजनीतिक पार्टी सशस्त्र युद्ध गरिरहेको माओवादीसमेत सम्मिलित भएको थियो ।

०४६ सालमा भएको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था र संवैधानिक राजतन्त्र स्थापना भएको थियो । बहुदलीय संसदीय व्यवस्था नेपालमा लामो समयसम्म चल्न सकेन । राजनीतिक दलहरूको आपसी बेमेल तथा ०५२ सालमा सुरु भएको माओवादी जनयुद्धका कारण देश झन् अस्थिरतातर्फ बढ्यो । माओवादी आन्दोलनमा १७ हजारले ज्यान गुमाउनु पर्यो सबै माओवादी आन्दोलनका सहिद भए । सरकारले सहिद परिवारलाई आर्थिक लाभ देखाउँदै आन्दोलन साम्य पार्यो ।

०५८ सालमा नेपालका राष्ट्र प्रमुख रहेका राजा बीरेन्द्र्रलगायत उनको परिवारका सबै सदस्यहरूको नारायणहिटी दरबारमा हत्या भयो । देशमा संकटकालीन अवस्था लागू गरियो । तर, न त माओवादी जनयुद्ध रोकियो न त दलहरूबीच नै सहमति बन्न सक्यो । पछि ०६२÷६३ को जनआन्दोलनपछि मात्र तत्कालीन माओवादी शान्ति प्रक्रियामा आयो ।

पहिलो, दोस्रो र तेस्रो मधेस आन्दोलन सुरु भए यता धेरै नेताको जन्म भएको छ । मधेसी जनताको हितका लागि भनेर पार्टी खोल्ने काम सुरु भयो र मधेसी जनतामा राजनीतिक चेतना बढ्नु नै उपलब्धि मानियो । राजनीतिक दलहरूले नै संरक्षण गरी सुरु गरेको महिला आन्दोलन र उपलब्धिका पछिल्लो चरणलाई हेर्दा ३३ प्रतिशतको आन्दोलन, सम्पत्तिमा समान सहभागिताको कुरा, आमाको नामबाट नागरिकता, प्रजनन तथा स्वास्थ्यमा महिला अधिकारलगायत धेरै उदाहरणीय उपलब्धि भएका छन् ।

आन्दोलनबाट केही परिवर्तन भए पनि न्यायिक र सामाजिक परिवर्तन भने हुन सकेको छैन न त जनताको आर्थिक स्थिति नै परिवर्तन हुन सकेको छ ।

इतिहासलाई केलाएर वर्तमान समस्या समाधान गर्न नसक्नु नेपाली राजनीतिक दलहरूको ठूलो कमजोरी मान्न सकिन्छ । जनताको हक अधिकारका लागि र राज्यसत्ता परिवर्तनका लागि भनेर गरिएका आन्दोललनमा धेरै नेपाली नागरिकले ज्यान गुमाउँदा र सँगै आन्दोलनमा होमिएकाहरू सत्तामा पुग्दा देशको विकास नहुनु र अझै पनि न्यायको लागि आन्दोलन गर्दैै गर्दा सहिद नै हुनुपर्ने बाध्यता भनेको ठूलो विडम्बना हो ।

देशमा चलिरहेका राजनीतिक आन्दोलन होऊन या न्यायिक आन्दोलन, सहिदको संख्या मात्रै थप्नुभन्दा समस्या समाधानतिर सरकारको ध्यान जानुपर्ने होइन र ? माइतीघर मण्डलामा महिलाहरूको अर्धनग्न जुलुस, मुण्डन विरोध कार्यक्रम होस् या कञ्चनपुरको गोलीकाण्ड होस् यसलाई राजनीतिक आरोप प्रत्यारोप लगाउनुभन्दा सरकारले निष्पक्ष छानबिन गरी समस्या समाधान गर्नु नै बेस होला ।

प्रतिक्रिया