विश्व

ह्याकर्समा कुन देशको कति शक्ति ?

एजेन्सी २०७५ भदौ २३ गते ८:१७ मा प्रकाशित

वासिंगटन । यो वर्षको अगस्ट महिनाका हरेक वर्षझैँ अमेरिकाको लसभेगासमा एउटा विशेष मेला लाग्यो । यो मेला अरू केही विषयको नभएर ह्याकर्सहरूको थियो । यो मेलामा साइबर विशेषज्ञदेखि लिएर बालबालिकाले पनि आ–आफ्नो ह्याकिंग कला प्रदर्शन गरेका थिए ।

लसभेगासमा हरेक वर्ष ह्याकर्सहरू जम्मा हुन्छन् । यहाँ जम्मा भएका ह्याकरहरूबाट अमेरिकाका साइबर विशेषज्ञले ह्याकरका दिमाग कसरी चल्छन्, उनीहरूले कसरी अप्रेसन चलाउँछन् भन्ने पत्ता लगाउँछन् ।

जतिबेला अमेरिकामा यो मेला लागिरहेको थियो, ठीक त्यही समय एक भारतीय बैंकमा साइबर आक्रमण गरेर ३ करोड डलर उडाइएको थियो । संसारभरिमा सरकारी वेबसाइटदेखि लिएर ठूला निजी कम्पनीमा साइबर हमला भइरहन्छन् । बिबिसीकी हेलेना मेरीम्यानले यसपटक यही प्रश्नको जवाफ खोज्ने प्रयत्न गरेकी छन् । उनले साइबर विशेषज्ञको सहयोगले खतरनाक तथा रहस्यमयी संसारमा चियाउने कोशिस गरेकी छन् ।

१९९० को दशकमा सोभियत संघको विघटन भएपछि रुसका धेरैजसो विशेषज्ञ एक्कासि बेरोजगार भए । यी इलेक्ट्रोनिक्स इन्जिनियर र गणितज्ञ थिए । बसिबियालोमै केही कमाइहालिन्छ की भनेर यिनीहरूले इन्टरनेटको संसार चहार्न थाले । त्यतिवेला साइबर सुरक्षाका मामलामा कुनै पनि देश धेरै संवेदनशील थिएनन्, न जानकारी थियो ।

यिनै रुसी विशेषज्ञले स्याकिंगको संसारमा नयाँ सुरुआत गरे । यी रुसी ह्याकर्सले बैंक, वित्तीय संस्था, अन्य देशका सरकारी वेबसाइटलाई निशाना बनाउन थाले । आफ्नो सफलताको कथा उनीहरू अखबारहरूलाई जानकारी दिन्थे ।

रुसका खोज पत्रकार आंन्द्रेई शोस्निक्याफ भन्छन् ‘त्यो वेला ह्याकर्सहरू आफूलाई हिरो सम्झन्थे । त्यतिवेला रुसमा ‘ह्याकर्स’ नामको पत्रिका पनि छापिन्थ्यो । त्यो वेला हरेक ठूला ह्याकर्सको सो पत्रिकासँग सरोकार थियो । रुसको जासुसी संस्था (एफएसबी) लाई यी ह्याकर्सका बारेमा जानकारी भएको आन्द्रेई बताउँछन् ।

तर, आश्चर्यको कुरा के थियो भने रुस सरकारलाई यी ह्याकर्सका कर्तुतका बारेमा कुनै आपत्ति थिएन, बरु उनीहरू यी ह्याकर्सबाट फाइदा उठाउन चाहन्थे । आन्द्रेई भन्छन्, ‘एफएससीका चिफले व्यक्तिगतरूपमा कतिपय रुसी ह्याकर्सलाई चिन्दथे । सन् २००७ मा रुसी ह्याकर्सले छिमेकी देश एस्टोनियामा ठूलो साइबर हमला गरे । उनीहरूले एस्टोनियाको सयौँ वेबसाइट ह्याक गरे । यो काम उनीहरूले रुसी सरकारको इसारामा गरेका थिए ।

त्यसकै अर्को वर्ष रुसी ह्याकर्सले अर्को छिमेकी देश जर्जियाका सबैजसो सरकारी वेबसाइटमा हमला गरेर तहसनहस पारे । सन् २००८ मा जर्जियामा भएको साइबर आक्रमण रुसका सरकारी ह्याकर्सले गरेका थिए । उनीहरू जासुसी एजेन्सीका कर्मचारी थिए ।

रुसलाई लाग्यो स्वतन्त्रखालका ह्याकर्ससँग धेरै भर पर्न हुँदैन । योभन्दा राम्रो ह्याकर्स सेना तयार गर्नुहुन्छ भन्ने रुसले ठान्यो । रुसी ह्याकर्सका यीनै साइबर सेनाले २००८ मा जर्जियामा आक्रमण गरेका थिए । आजको मितिसम्ममा रुससँग सबैभन्दा शक्तिशाली साइबर सेना छ । रुसी ह्याकर्सलाई आरोप छ की उनीहरूले अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गरे । उनीहरूले ह्वाइट हाउसमा साइबर हमला गरे । नेटो र पश्चिमी देशका मिडिया नेटवर्क पनि रुसी ह्याकर्सको निशानामा परिरहेका छन् ।

रुसबाट भएको साइबर हमलामा एउटा खास ग्रुपको नाम आउने गरेको छ त्यो भनेको ‘फेन्सी वियर’ हो । यो ह्याकर्स ग्रुपलाई रुसको सैनिक एजेन्सीले चलाउँछ । ह्याकर्सका यही ग्रुपलाई अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप छ । आन्द्रेई भन्छन्, ‘साइबर आक्रमण मार्फत रुस संसारलाई यो भन्न चाहन्छ कि ऊ साइबर साम्राज्यको एक्लो बादशाह हो’ । ९० को दशकमा हलिउड फिल्म ‘म्याक्ट्रिस’ बाट प्रभावित भएर जुन रुसी इन्जिनियरहरूले ह्याकिंग साम्राज्यको स्थापना गरेका थिए, त्यो आज धेरै फल दिइरहेको छ । आज धेरैजसो ह्याकर्स रुसी सरकारका लागि काम गर्दछन् ।

तर, ह्याकिंगको यो खेलमा रुस एक्लै छैन । इरान पनि ह्याकिंगको संसारमा एउटा ठूलो खेलाडी हो । १९९० को दशकमा इन्टरनेट आउनासाथ इरानले आफ्ना जनतालाई साइबर आक्रमणका लागि तयारी गराउन सुरु गरेको थियो । इरानजस्ता देशमा सामाजिक सञ्जाल सरकारविरुद्ध आवाज उठाउन ठूलो मञ्च हुन्छ । सरकार यसको निगरानी गर्छ । इरानी ह्याकर्सको प्रयोग सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्नमा गरिन्छ ।

२००९ मा सरकारविरुद्धको आन्दोलन चर्कंदा इरानी सरकारले ह्याकर्सको माध्यमले सबै सामाजिक सञ्जाललाई ह्याक गरेको थियो । त्यसबाट उसले यसका पछाडि कसको हात रहेको छ भन्ने पत्ता लगायो र उनीहरूलाई धाकधम्की दियो र कतिलाई जेल चलान ग¥यो । इरानसँग रुसजस्तो शक्तिसाली श्याकर्सको फौज त छैन तर उसले ट्विटरजस्तो सामाजिक सञ्जाललाई तहसनहस पार्ने तागत भने राख्दछ ।

अमेरिकी थिंक ट्यांक कार्गेनी एन्डोमेन्टका लागि काम गर्ने करिम भन्छन् इरान साइबर पावरमा तेश्रो शक्ति हो । रुस, अमेरिका, चीन, र इजरायल पहिलो श्रेणीका शक्ति हुन् । युरोपियन साइबर सेना दोश्रो शक्ति हो । इरान प्रायः साइबर हमलाको निशानामा पर्ने गरेको छ । अमेरिका र इजरायलले २०१२ मा इरानको तेल उद्योगमा साइबर हमला गरी उसको सिस्टमको हार्ड ड्राइभबाट सबै डाटा उडाइदिएका थिए ।
इरानले यसै हमलाबाट पाठ सिक्दै आफ्नो विरोधी साउदी अरबमाथि ठूलो साइबर हमला गरेको थियो । यो आक्रमणमा इरानी ह्याकर्सले साउदीको ३० हजार कम्प्युटरको डाटा उडाइदिएका थिए ।

प्रतिक्रिया