अर्थबजार

हुलाक बैंक खारेजीले निराशा

सौर्य अनलाइन २०७५ भदौ २३ गते ८:४५ मा प्रकाशित

बाँके । जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ ।

हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् । अन्य व्यावसायिक बैंकभन्दा भरपर्दाे, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सहज हुने भएकाले सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिक हुलाक बैंकप्रति बढी आकर्षित छन् । तर, सरकारले आर्थिक वर्ष ०७५\७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेसँगै बचतकर्तामा भने निराशा छाएको छ ।

सरकारले हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने योजना ल्याएसँगै बचतकर्ता निराश बनेका छन् । हुलाक बचत बैंकमा भन्दा अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्नेछ । आयकर तिर्नु नपर्ने, सहजै रूपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताको हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो थियो ।

रकम बचत गर्दै गरेका डुडुवा–२ बेतहनीका रामदिन बर्माले भने, ‘एक सयमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले यहाँ पैसा जम्मा गर्छु । सरकारले यो व्यवस्था खारेज गर्ने भनेको छ, अब कुन बैंकमा खाता सार्ने हो ? खाता सारेपछि हामीलाई हैरान हुन्छ ।

यहाँ जस्तो सुविधा अरू बैंकमा पाइँदैन ।’ कारोबार गर्न सहज भएकै कारण निम्न आय भएका बाँकेवासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको हो । रिक्सा चालक रमेश धोबी भन्छन, ‘सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरि रिक्सा चलाएर कमाएको रकम यहाँ जम्मा गरिदिन्छु, अरू बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो छ ।’

बाँकेमा हुलाक बचत बैंक सुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका वासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकको रूपमा रहेको हुलाक बचत बैंकप्रति निम्न आय भएका समुदायका लागि सहज पहुँचका रूपमा हुलाक बचत बैंकलाई लिइएको छ ।

‘हामीले सहजरूपमा सेवा पाइरहेका थियौँ, अब अन्य बैंकमा खाता हस्तान्तरण गरी कारोबार गर्दा झञ्झट व्यहोर्नुपर्ने त छँदैछ । त्यसमाथि १५ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ,’ बचतकर्ता नेपालगञ्ज २३ का विनय बर्माले भने, ‘सरकारले यो बैंक खारेज नगरेको भए हुन्थ्यो ।’ हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा छ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा सात प्रतिशत वार्षिक ब्याज पाइन्छ ।

चिठ्ठीपत्रलगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारी पनि बचतकै काममा बढी केन्द्रित हुनुपरेको जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बताए । उनले भने, ‘हिजोआज चिठ्ठीपत्रभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ । थोरै रकम जम्मा गर्न सकिने र राम्रो ब्याजदर प्राप्त हुने भएपछि यस बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।’

जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाका अनुसार बाँकेमा २ हजार ८० खातामध्ये १ हजार ७ सय ७५ खाता सञ्चालनमा रहेका छन् । बचतकर्तामध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिक रहेको गडरियाले बताए । बचत बैंकमा हाल नौ करोडभन्दा बढी रकम रहेको उनले बताए ।

फाँटप्रमुख गडरियाका अनुसार ५० देखिमाथि १० लाखसम्म जम्मा गर्न पाइने भएपछि सहजताका आधारमा बचतकर्ताको आकर्षण बढ्दो क्रममा रहेको थियो ।

खाता हस्तान्तरणले ग्राहकको गुनासो बढेको छ, ऋण लगानी र नयाँ खाता खोल्न विभागकै निर्देशनअनुसार रोकिएको छ । ‘तर बचतकर्ता नयाँ खाता खोल्न र ऋण माग गर्न आइरहेका छन् । हामीले सम्झाएर पठाउने गरेका छौँ’ फाँट प्रमुख गडरियाले भने । बाँकेमा असोज ०६३ देखि हुलाक बचत बैंक सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय