अर्थबजार

डलर फलाउने अराविका कफी

वासुदेव पौडेल २०७५ भदौ २४ गते ८:४४ मा प्रकाशित

पोखरा । नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यस अनुरूप उत्पादन हुन सकेको छैन ।

विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक ८ हजार मेट्रिक टन माग भए पनि हाल नेपालको उत्पादन वार्षिक ४ सय ६६ मेट्रिक टन मात्र छ, जसमध्ये ९६ मेट्रिक टन मात्र निर्यात हुने गरेको छ । नेपालमा उत्पादित कफी विशेष गरी जापान, कोरिया, क्यानडा, अमेरिका, बेलायत र भारतलगायतका देशमा निर्यात हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले बताए ।

‘अरा’ विकास जातको कफी बाहिरी देशमा अत्याधिक रुचाइने भएकाले कफी बगैँचामा फूल फूल्दाकै अवस्थामा उत्पादनको अवस्था अनुमान गरी विभिन्न कम्पनीमार्फत डलरमा खरिद हुने गरेको निर्देशक पोखरेलले जानकारी दिए ।

पृथ्वीमा अराविका, रोआस्टा, लाइबेरिका र एक्सेल्सा गरी कफीका प्रमुख चार जात हुनेमा यस मध्येको नेपाल र आसपासका क्षेत्रमा पाइने अराविकाका करिब ३० प्रजाति छन् । भौगोलिक अवस्थितिका आधारमा ७ सय मिटरदेखि २ हजार मिटरसम्मको उचाइका साथै भिरालो, छहारी भएको उत्तरपूर्वी मोहोडायुक्त स्थानमा कफीको राम्रो उत्पादन हुन्छ ।

भूगोलअनुसार नेपालका कुल ४३ जिल्ला कफीको उत्पादन योग्य स्थान भएको कृषि विकास अधिकृत चन्द्र पुरीले जानकारी दिए । कफी उत्पादनको इतिहास खोतल्ने हो भने यसको पहिलो खेती गुल्मीको आँपचौरमा भएको पाइन्छ ।

पहिलोपटक वि.सं १९५५ सालमा एक सन्यासी हिरा गिरीले बर्माबाट लठ्ठीमा बाँधेर ल्याएको कफी बेवारिसे अवस्थामा आँपचौरमा लगाइएको थियो । त्यसयता विकसित हुँदै गएको कफी खेती विस्तार हुँदै यसले व्यावसायिक रूप लिँदै जान थालेको छ । उत्पादनको विश्व इतिहास पल्टाउने हो भने झन्डै १७औँ शताब्दीतिर इथियोपियाको कफा प्रान्तमा कालदी नाम गरेका गोठालाले कफी पत्ता लगाएका थिए ।

किम्वंदन्तीअनुसार पादरीका बाख्रा चराउने क्रममा उनले जंगलमा फलेका कफीका दाना खाएर बाख्रामा फूर्तिलोपन देखेपछि त्यसको प्रचारप्रसार गरेका थिए । त्यस समयमा मृत्युदण्ड सुनाइएका दुईजना व्यक्तिलाई कफी खुवाएपछि त्यसबाट अन्य कुनै असर नदेखिएको र शरीरमा स्फूर्ति बढेको पाएपछि यसलाई खाद्यवस्तुका रूपमा पहिचान गरिएको पाइन्छ ।

नेपालको झन्डै दुई तिहाइ भूभाग कफीयोग्य भए पनि त्यसतर्फ अझै चासो बढ्न नसकेको सरोकारवालाहरू बताउँछन् । विश्वमा माग अत्यधिक रहेको नेपालको अराविका कफी उत्पादनका प्रचुर सम्भावना भए पनि त्यसको उपयोग हुन नसकेको निर्देशक पोखरेलको धारणा छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले गरेको अध्ययनका क्रममा कास्कीको ढिकुरपोखरीमा एउटै बोटमा ८५ किलोसम्म कफी फलेको पाइएको छ ।

पछिल्लो समयमा गुल्मी, कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी (उपल्लो भेग), गोरखा, लमजुङ, ललितपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, धनकुटा, तेर्हथुम, पाँचथर, प्यूठान, पाल्पा र सोलुखुम्बुलगायतका जिल्लामा कफी उत्पादनमा कृषक आकर्षित बन्दै गएका छन् ।

नेपालको झन्डै ११ लाख हेक्टरमा कफीको बगैँचा तयार गर्न सकिने भए पनि हाल दुई हजार ६ सय ४६ हेक्टरमा मात्र कफीको बगैँचा तयार गरिएको छ । कफीका लागि छहारी आवश्यक हुने र कफीलगायतका ठाउँमा घाँस जातका रुख इपिल, बकाइनो, बडहर लगाउन सकिने हुँदा योसँगै पशुपालन पनि सँगै गर्न सकिने सम्भावना रहेको कृषि प्राविधिक बताउँछन् ।

कफी खेतीलाई व्यावसायिक बनाउन विभिन्न जिल्लामा कफी उत्पादन संस्था एवं सहकारी गठन गरी सामूहिक प्रयास थालिएको छ । जिल्ला कफी उत्पादक सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष आनन्द सुवेदीका अनुसार यी संस्थाका माध्यमबाट कफी उत्पादक कृषकलाई तालिमका साथै उत्पादित कफीको बजारीकरणमा सहयोग पुर्याइएको छ ।

कफीका क्षेत्रमा काम गर्नेगरी विभिन्न २४ वटा संस्था बोर्डको पोखरास्थित क्षेत्रीय कार्यालयमा दर्ता भई काम गरेका छन् । कफीको विस्तारका लागि कार्यालयले यसवर्ष मात्रै १ लाख ६० हजार कफीको बिरुवा वितरण गर्नुका साथै एक सय किलो बिउ पनि वितरण गरिसकेको छ । कफी उत्पादनका लागि उपयुक्त भूभागको सदुपयोग गर्दै विश्व बजारको मागअनुरूप फूल फुल्दै डलर फलाउन सकिने हुँदा यसतर्फ राज्यस्तरको प्रयासका साथै सामुदायिक सचेतता आवश्यक देखिएको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया