मत-विमत

बिपी र तीजको प्रगतिशील पक्ष

सन्दर्भ : १०५औँ बिपी जयन्ती

अञ्जु कार्की २०७५ भदौ २४ गते ९:१७ मा प्रकाशित

भिल्लरूप शिव र खस आर्यरूप पार्वतीबीचको विवाह यही नेपाली माटोमा भएको थियो । भिल्लरूप शिवजी र खस आर्य युवती पार्वतीबीचको वैवाहिक सम्बन्धबाट नेपाली समाज बनेको पो हो कि ? भन्ने अर्थ लगाउन सकिन्छ । बिपीले आफ्नो सुम्निमा उपन्यासमा यसको संकेत गरेका छन् ।  

महान् साहित्यकार बिपी कोइरालाले आफ्नो सुम्निमा उपन्यासमा नेपालको सामाजिक अन्तर्घुलनलाई मुख्य विषयवस्तु बनाएका छन् ।

खस आर्य युवक र आदिवासी लिम्बू युवतीबीचको विवाह प्रसंगलाई उपन्यासमा रोचक ढंगबाट प्रस्तुत गरिएको छ । उपन्यासमा खस आर्य युवक र आदिवासी लिम्बू युवती विवाह बन्धनमा बाँधिनुको परिस्थिति विशिष्ट खालको छ ।

यतिवेला हामी नेपाली महिलाहरू तीज पर्व मनाइरहेका छौँ । तीज पर्व भगवान् शिव र हिमालयपुत्री पार्वतीबीच विवाह हुँदाको सेरोफेरोमा केन्द्रित छ । पार्वतीले शिवजीलाई मन पराउँथिन् ।

तर, उनका पिता हिमालय आफ्नी छोरी विष्णुलाई दिन चाहन्थे । यसको खास कारण के थियो भने हिमायल र विष्णुको जात तथा संस्कृति मिल्थ्यो । तर, शिवजी कुन जातका हुन् खुलेको थिएन । उनको शरीर अजंगको थियो । कपडा लगाउँदैनथे । जाडोको समयमा रुखका बोक्रा र जनावरको छाला लगाउँथे ।

गर्मीको वेलामा खरानी घसी दिगम्बर हुन्थे । दिगम्बरलाई असभ्य ठानिनु स्वाभाविकै थियो । यस्ता असभ्यलाई छोरी कसरी दिनु ? हिमालय चिन्तित थिए । तर, पुत्री पार्वतीले विद्रोह गरिन् । ध्यान तथा तपस्याका माध्यमबाट आफ्नो लक्ष्य पूरा गरेरै छाडिन् ।

पार्वतीले विद्रोह गरेको यो प्रकरणबाट के अनुमान लगाउन सकिन्छ भने विष्णु र हिमालय खस आर्य परिवारमा जन्मेका थिए भने शिवजी आदिवासी जनजाति परिवारमा जन्मेका थिए । जसरी बिपीले सुम्निमा उपन्यासमा ब्राह्मण सोमदत्तका पुत्र र आदिवासी (भिल्ल) सुम्निमाकी पुत्रीबीच विवाह भई नेपालको केही क्षेत्रमा नयाँ समाजको उत्पत्ति भएको प्रसंग उल्लेखित गरेका छन् ।

त्यसैगरी, पुराणमा पार्वती ब्राह्मण पुत्री थिइन् भने शिवजी भिल्लको रूपमा थिए भन्ने संकेत गरिएको छ । आफ्नी पुत्रीले एउटा भिल्लसँग प्रेम गरेकोे हिमालय पर्वतलाई मन नपर्नु स्वाभाविक थियो । भिल्लको हातमा आफूलाई आफ्ना आमाबुबाले कन्यादन दिने छैनन् भन्ने कुरा पार्वतीले पनि राम्रोसँग बुझेकी थिइन् । यसकारण उनले विद्रोह गरिन् । विद्रोहमा उनी सफल भइन् ।

पार्वतीले सफलता हासिल गरेको त्यही दिनलाई नेपालमा तीज पर्वको रूपमा मनाइँदै आएको छ । कालान्तरमा तीज पर्वलाई हिन्दूहरूको चाड भन्न थालियो । तर, हिन्दूस्थान (भारत) मा तीन पर्व मनाइँदैन । नेपालमा मात्रै मनाइन्छ । त्यसमा पनि कर्णाली पूर्वको पहाडिया समुदायमा मात्रै विशेष रूपमा मनाइन्छ ।

भिल्लरूप शिवजी र खस आर्य युवती पार्वतीबीचको वैवाहिक सम्बन्धबाट नेपाली समाज बनेको पो हो कि ? भन्ने अर्थ लगाउन सकिन्छ । बिपीले आफ्नो सुम्निमा उपन्यासमा यसको संकेत गरेका छन् ।

संयोगले तीज पर्व र महामानव बिपी कोइरालाको जन्मजयन्ती पनि एउटै महिनामा पर्छ । राजनीतिक रूपमा बिपीको जन्मजयन्ती भदौ २४ गते धुमधामका साथ मनाउने गरिन्छ । तर, बिपी कोइरालाको जन्म जयन्ती मनाउँदै गर्दा उनले व्याख्या गरेका सांस्कृतिक पाटाहरूको स्मरणसमेत गरिन्न । र तीज पर्व मनाउँदै गर्दा यसको वास्तविकता र सांस्कृतिक महत्वलाई कहिल्यै पनि बहसमा ल्याइँदैन । भिल्लरूप शिव र खस आर्यरूप पार्वतीबीचको विवाह यही नेपाली माटोमा भएको थियो ।

नेपालमा तीज पर्व विशेष महत्वका साथ मनाइनुको मुख्य कारण यही हो । पछिल्ला दिनमा तीज पर्वलाई हिन्दूहरूको पर्व भन्ने पनि गरिएको छ । तर, हिन्दुस्थान (भारत) मा तीज पर्व मनाउने प्रचलन खासै छैन । जहाँ नेपालीहरू छन् त्यहीँ धुमधामका साथ तीज पर्व मनाउने गरिन्छ । यसकारण पनि तीज नेपालीको मौलिक चाड हो ।

पछिल्ला दिनमा तीज पर्वलाई हिन्दूकरण गरिँदै जाँदा आदिवासी जनजातिहरू तीज पर्व मनाउन हच्कन थालेको देखिएको छ । हिन्दू र गैरहिन्दू भन्नुभन्दा पनि नेपालको समग्र समाज तथा संस्कृतिसँग तीज पर्व जोडिएको छ ।

शिवजी र पार्वती अलग–अलग समुदायका हुन् भन्ने कुरा पौराणिक ग्रन्थबाट पुष्टि भएको छ । पौराणिक ग्रन्थलाई गहिरोसँग अध्ययन गर्ने हो भने तीज पर्वसँग खस आर्य मात्रै होइन जनजाति समुदाय पनि जोडिन्छ ।

संस्कृति भनेको मुलुकका समुदायलाई जोड्ने कडी हो । तर, पछिल्ला दिनमा जोड्नका लागि होइन तोड्नका लागि संस्कृतिलाई हतियार बनाइको छ । यसमा पश्चिमाहरू लागि परेका छन् ।

सबै समुदायले सँगै मनाउँदै आएको चाडपर्वहरूलाई यो त तिमीहरूको होइन भनेर भड्काउने काम भएको छ । हामी नेपाली भड्किएका पनि छौँ । पश्चिमाहरूकै लहलहैमा लागेका छौँ ।

जसरी आदिवासी जनजातिहरूलाई तीज पर्व त खस आर्यहरूको मात्रै हो भनेर भड्काइयो त्यसैगरी, खस आर्य महिलाहरूलाई पनि तीज पर्व त नारी शोषणको प्रतीक हो भनेर भड्काउने कोसिस जारी छ । तीज पर्वका अवसरमा पति र पुत्रको दीर्घायुको कामना गर्दै व्रत्त बस्ने परम्परा छ ।

पत्नीले पतिको दीर्घायुका लागि भोकै बस्ने तर पतिले पत्नीको दीर्घायुका लागि भोकै किन नबस्ने ? भन्ने प्रश्नसमेत उठाउने गरिएको छ । झट्ट सुन्दा यो प्रश्न गलत लाग्दैन । तर, वास्तविकतातर्फ जाने हो भने तीज पर्व भनेको नेपाली महिलाले आफूले रोजेको पुरुषसँग विवाह गर्न छुट पाएको पर्व हो ।

महिलाका लागि यहाँभन्दा ठूलो स्वतन्त्रता अर्को हुन सक्दैन । वास्तवमा भन्ने हो भने तीज भनेको महिला मुक्तिको पहिलो खुड्किलो हो । तीज पर्वलाई नारी दिवसका रूपमा किन नमनाउने ? पश्चिमा महिलाहरूले स्वतन्त्रता प्राप्त गरेको डेढ सय वर्ष नाघेको छैन । तर, त्यही दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा हामी मनाउँछौँ ।

जसरी कस्तुरी आफ्नै नाभिमा भएको सुगन्ध थाहा नपाएर टाढा–टाढा दौडिरहेको हुन्छ । त्यसैगरी, हामी नेपाली महिलाहरूले पनि आफ्नो संस्कृतिको सुगन्ध थाहा पाएका छैनाँै । तीज पर्वलाई नै अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन पहल गर्नुपर्ने वेलामा महिला शोषणको प्रतीक हो भन्दै प्रचारप्रसार गर्नेक्रममा नेपाली महिला नै अग्रसर छन् ।

तीजको विरुद्ध डलर खेती फस्टाएको छ । भोलि वास्तविकता उजागर हुँदै गयो भने तीज पर्व नै अन्तर्राष्ट्रिय नारी दिवस बन्नसक्छ । त्यसकारण पनि पश्चिमाहरू आत्तिएका छन् । उनीहरू तीज पर्वको मौलिकतालाई मेटाउन चाहन्छन् ।

हरेक सांस्कृतिक पर्वका दुई पाटा हुन्छन् । आत्मानुशासन र मनोरञ्जन । तीज पर्वमा पनि यिनै दुईवटा पाटा छन् । तर, पछिल्ला दिनमा यी दुवै पाटाहरूमाथि अतिक्रमण सुरु भएको छ । आत्मानुशासनको पाटोलाई नारी शोषण भनेर उदाहरणका लागि तीजको व्रत बस्ने अघिल्लो दिन खाइने चोखो तथा सात्विक भोजनलाई दर भनिन्छ ।

दर भन्ने शब्द मौलिक हो । तर, दरको नाममा महिनौँ अघिदेखि पार्टी प्यालेसमा जम्मा भएर मासु तथा रक्सी खाने प्रचलन बढेको छ । मासु र रक्सीलाई दर भनिन्न । व्रतको अघिल्लो रात खाइने विशेष भोजनबाहेक अरू भोजनलाई दर भनिन्न ।

यसैगरी, हरेक चाड पर्वमा मनोरञ्जनका लागि गाइने मौलिक गीत तथा भाकाहरू छन् । खेतमा घैया गोड्दा गाइने गीतको लय र धान रोप्दा गाइने गीतको लयमा फरक हुन्छ । कोदो रोप्दा गाइने गीत र दाइँ हाल्दा गाइने गीतको लयमा फरक हुन्छ ।

त्यसरी नै तिहारमा गाइने द्यौसीभैलो गीत र तीजमा गाइने गीतको लयमा फरक हुन्छ । सत्यनारायणको पूजा गर्दा गाइने भजन र शिवरात्रीमा गाइने भजनको पनि लय फरक हुन्छ । छोरा अन्माएपछि गाइने गीतको लय र छोरी अन्माएपछि गाइने गीतको लयमा पनि फरक हुन्छ । यही फरकपन नै मौलिकता हो ।

तर, हिजोआज तीजको गीत हो कि ? रत्यौली गीत हो ? डिस्को हो कि ? लोक गीत हो ? छुट्याउन नसकिने भएको छ । तीज पर्वमा रत्यौली र डिस्को भाका गाउन थालिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय