मत-विमत

तीज पर्वको रौनक : विगत र वर्तमान

निर्मला थापा २०७५ भदौ २४ गते ९:३० मा प्रकाशित

प्रत्येक व्रतालुले आफूमा पार्वती र पतिमा शिवको स्वरूप अनुभव गर्न सक्नुपर्दछ अनि मात्र व्रतको सही मानित्व रहन्छ । पतिपत्नी तथा शिवपार्वती झैँ मिलेर सुख र दुःखमा साथी बनेर प्रत्येकले घरलाई स्वर्ग बनाउनुपर्छ तब मात्र तीज व्रतको अर्थ रहन्छ । 

संस्कृति तथा परम्परा मनाउने शैलीमा समय सापेक्ष परिवर्तन हुँदै जानु स्वाभाविकै हो । संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई जगेर्ना गर्दै कुसंस्कारहरूलाई क्रमशः हटाउँदै लैजानुपर्छ । तर, हामीले संस्कृतिभित्रका वैज्ञानिक पक्षलाई बेवास्था गर्दै कुसंस्कारलाई झन् बढवा दिएका त छैनाँँै ? भन्ने प्रश्न खडा भएको छ ।

खासगरी तीज पर्व मनाउने अहिलेको शैलीले यस्तो प्रश्न खडा भएको हो । तीज संकृतिका दुई वटापाटा छन् एउटा पाटो आत्माअनुशासन र अर्को पाटो मनोरञ्जन हो । हामीले आत्माअनुशासनको पाटोलाई चटक्कै बिर्सन थालेका र मनोरञ्जनको पाटोलाई धेरै नै भद्दा र अमर्यादित बनाउन थालेका त छैनौँ ? भन्नेतर्फ सोच्नुपर्ने जरुरी भइसकेको छ ।

तीजको अघिल्लो राती खाइने सात्विक भोजनलाई दर भनिन्छ । पहिले आमाले पकाएको दर खीर, पुरी, मालपुवा, पुलाउ, गुँदपाक, घिउ, काँडापानीजस्ता शुद्ध परिकार खाइन्थ्यो । चेली र माइतीका बीचमा दुःख वेदना बिर्साएर विरहका गीत गाइन्थ्यो । आजभोलि मनोरञ्जनका लागि काम वासना मिश्रित दोहोरी गीत गाउन थालिएको छ ।

महिला र पुरुषबीचका प्रेम गीत गाएर, होटल रेस्टुरेन्टमा डिस्को नाचेर, गाएर कहाँको वेदना पोखिन्छ ? आजभोलि राष्ट्रिय धार्मिक जागरणको अभावमा महिलाहरू आफ्नो परिवारको आर्थिक क्षमताभन्दा बढी अरूको देखासिकी गर्न थालेका छन् । धाक, रवाफ लगाउने र अपव्याख्या गर्नाले परिवारमा द्वन्द्व बढेको छ ।

आफ्नो क्षमताभन्दा पर अर्काको पछि भाग्नु, उसकै जस्तो गर्नुपर्छ भन्नु, पतिलाई पीडा दिनु, दाजुभाइसँग पनि अनाआवश्यक माग गर्नु, आमाबुवाको पनि व्ययभार बढाउनु कहाँसम्मको उचित व्यवहार हो ? कुन धर्म संस्कृतिको जर्गेना हो ? कुन शास्त्रमा लेखिएको छ ? आधुनिकताको नाममा पतिलाई कंगाल बनाउने कुरा ! यो तीज होइन अहम्ताको पराकाष्ठ हो ।

धर्म संस्कृतिको महत्व बुझेर विशेष पर्वका रूपमा तीज मनाइन्थ्यो । पहिला दर एकदिन मात्र खाइन्थ्यो । आमा, दिदीबहिनी, वल्लोपल्लो घरका छोरीचेली भेला भएर दिनमा पकाउने राती १२ नबजुञ्जेलसम्म दर खाई रहने त्यसपछि एकै घरका आँगनमा भेला भई रातभरि नाचगान गर्ने, उज्यालो भएपछि नुहाइधुहाई गरी एक चित्तले पवित्रताका साथ निर्जला व्रत बस्ने गरिन्थ्यो तर आजभोलि आधुनिकताको नाममा यसलाई एउटा मनोरञ्जनात्मक रूपमा मात्र लिइन्छ ।

महिनौँ अघिदेखि होटल रेस्टुरेन्टमा गएर पार्टी गरेर नशालु पदार्थसमेत सेवन गरी होहल्ला मच्चाएर गरगहना प्रदर्शन गरेर मनाउने परिपाटी विकसित भएको छ ।

सांस्कृतिक परम्परामा नेपाल निकै धनी छ । मच्छिन्द्र जात्रा, इन्द्रजात्रा, गाईजात्रा, घोडेजात्रा, जनैपूर्णिमा, महालक्ष्मी र भैरवजात्रा, पाटनको कृष्णजात्राजस्ता जात्राहरू उपत्यकाका प्रख्यात जात्राहरू हुन् । सुुदूरपश्चिमको गौरा पर्व (जहाँ शिव र पार्वतीको पूजा गरेर विवाहिता महिला व्रत वस्छन् ) । त्यस्तै, हरितालिका पनि नेपाली नारीहरूका लागि एउटा महान पर्व हो ।

स्कन्द पुराणको केदार खण्डमा उल्लेखित भएअनुसार यो पर्व परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले शिवजीलाई पति पाऊँ भनेर गरेको व्रतसँग सम्बन्धित छ । पार्वतीले मन मनै शिवलाई वरको रूपमा मानी सकेकी थिइन् उता तर बावु हिमालय विष्णुलाई कन्यादान दिने तारतम्य मिलाउँदै थिए । यो थाहा पाएपछि पार्वतीले विद्रोह गरिन् ।

संगिनीहरूले हरण गरी कसैले नदेख्ने ठाउँमा पार्वतीलाई लुकाए । लुकेकै ठाउँमा पार्वतीले शिवजी वर पाऊँ भनी पानी पनि नखाई व्रत गरिन् । शिवजी प्रशन्न भई अर्ध नारेश्वरका रूपमा दर्शन दिई तथास्तु भनी वरदान दिए । संगिनीहरूले घरबाट हरण गरेर लगेकोले यसलाई हरितालिका तीज भनिएको होे । यसमा व्रत बस्ने छुट्टै नीतिनियमहरू छन् ।

एक भक्त रही, एक चित्तगरी व्रत बसेमा बारम्बार पुनः जन्म हुनुपर्दैन । भगवान् शिवजीजस्तै अजर अमर रहिरहिन्छ । सिद्धि प्राप्त हुन्छ । पति र पुत्रको सुस्वास्थ्य रहन्छ भनी हजुरआमाहरूले भनेको यस पंक्तिकारलाई अहिले पनि याद आइरहन्छ । जुन विश्वास र सत्यतामा आधारित थियो र छ पनि ।

तीजमा आधुनिकता आएपछि पनि यसभित्रको व्रत विधि, धार्मिक सचेतना दर्शन पूजाविधि, उपासना, भेषभूषा, शृंगार, चोखो नयाँ लगाउनेजस्ता कुरा पुुरानै तरिकाले गरिएको पाइन्छ । यो पुरानै परम्परा र संस्कृतिअनुसार गरिने हुनाले यसको छुट्टै महिमा छ ।

यो पर्वले धेरै समय पार गरे तापनि यसले धार्मिक सहिष्णुता, सहयोग, साधना, एकाग्रता, तपस्याका प्रभावले अहिले पनि सम्पूर्ण महिलाहरूलाई पार्वतीजस्तै आफ्ना पति स्वरूप आफ्नै आधा शरीरमा लिन भई पतिको अर्धांगिनी बन्नका लागि शक्ति प्राप्त हुन्छ ।

यो व्रत भनेकै, गर्भदोषद्वारा जन्ममृत्युको चक्करमा बारम्बार परिरहने झमेलाबाट मुक्ति पाउन हो । पतिपत्नीको सम्बन्ध भनेको परिपूरक हो । अर्ध नारेश्वर भनेकै आधा पति र आधा पत्नी हो । आत्मा र परमात्माको स्वरूप आध्यात्मिक शक्तिको अपूर्व प्रेममय दाम्पत्य जीवन अंगाल्ने अनुभूति गर्ने धार्मिक उद्देश्य पूरा गर्न गरिने व्रत उपासना हो ।

यो पवित्र उपासनाले समाजको कल्याणका लागि भगवान् शिव र पार्वतीको जस्तैः प्रेमपूर्वक दामपत्य जीवन रहने जन्म र मृत्युको फन्दामा बारम्बार पर्न नपर्ने, अमरत्व प्राप्त गर्ने शक्ति आर्जन गर्न सक्षम भइन्छ भन्ने सत्यतथ्य ‘कालिका पुराण’ मा पनि उल्लेखित गरिएको पाइन्छ । त्यसैले नारी शक्ति स्वरूपा हुन् भनिएको छ ।

पवित्र मनले जप, तप र योग जे गरे पनि चाँडै सिद्धि प्राप्त हुने क्षमता नारीहरूमा हुन्छ । नारी अलि आफ्ना इच्छा शक्तिलाई तुरुन्तै बदल्न चाहन्छन् र सक्छन् पनि भनिएको छ ।

भगवान् शिवजी र पार्वती को थिए ? शिवपुराणका अनुसार भगवान् शिवजीमा पूर्ण ब्रम्ह श्रीकृष्णको अंश र पार्वतीमा योगमायाको अंश, स्वरूप रहेको पाइन्छ । पतिपत्नी, पुत्र/पुत्री मोहको चक्कर चलाएर चेतनारूपी आत्म जागृत गरी मोक्ष गति प्रदान गराउन एक अर्काप्रति प्रेम शक्तिद्वारा अर्ध अंग बनेर एकाकार भई अर्ध नारेश्वरका रूपमा रही जन्मेको, खेलेको, रोएको र मरेको भन्ने अभिनय गरिएको हो ।

यो संसार एउटा रंगमञ्च हो हामी यसका पात्र हौँ । यो भन्नुकोे अर्थ हरितालिका तीजको महिमा प्रेम र शक्तिसँग सम्बन्धित छ । प्रत्येक पत्नीले पार्वती र पतिले शिवको भूमिका निभाउन सक्षम हुनुपर्छ । पार्वतीले पूर्व जन्ममा सतीदेवीका रूपमा आमा विरणीको गर्भमा रहेको वेला गर्भको दोषका कारण अग्नीकुण्डमा हामफालेर अल्पायुमै मृत्युवरण गरे ।

भगवान् शिवजीले पनि प्रेममग्न भएर पागलझैँ मृत शरीर गलेर पतन नहुन्जेल काँधमा बोकेर पृथ्वी भ्रमणमा हिँडे । यो पनि मायाको प्रेमको उदाहरण हो । त्यही मायाका कारण सतीदेवी पुनः हिमालयकी पत्नी मेनकाको गर्भबाट जन्मलिन पुग्नु भयो र सानै उमेरदेखि नै शिवजीलाई पति पाऊँ भनी तीर्थ, व्रत, यज्ञ, जप, तप, योग र ध्यान गर्ने खेल्दा पनि शिवलिंग बनाई पूजा गरेर खेल्ने, शिवप्रतिको झुकाव रहेको शक्ति स्वरूपिणीका रूपमा देवीशक्ति, कालीशक्ति, नारीशक्तिका रूपमा प्रकट भए ।

भावातित, त्रिगुणरहित रही गुणातित निर्दोष पूर्णब्रम्ह परमात्माको ध्यान, उपासना, भक्ति, तपयोग र उपवासले शक्ति प्राप्त गरेर आत्मा र परमात्माको मिलन विन्दु पुग्न विशेष रूपमा गरिएको यो व्रत नै हरितालिका तीजको व्रत हो भनी कालिका पुराणमा उल्लेखित गरेको पाइन्छ ।

प्रत्येक व्रतालुले आफूमा पार्वती र पतिमा शिवको स्वरूप प्रकट सक्नुपर्दछ अनि मात्र व्रतको सही मानित्व रहन्छ । पतिपत्नी तथा शिवपार्वती झैँ मिलेर सुख दःुखमा साथी बनेर प्रत्येकले घरलाई स्वर्ग बनाउनुपर्छ तब मात्र तीजको व्रतको अर्थ रहन्छ ।

हामी र हाम्रो धर्म संस्कृति र परम्परा जोगाउनेतर्फ लाग्नुपर्दछ । धर्म संस्कृतिमा भएका सुसंस्कारलाई जगेर्ना गर्नेतर्फ लाग्नुपर्छ नकि, आधुनिकताको नाममा विदेशी संस्कार जोडेर धर्म संस्कृतिमा विकृति भित्र्याउने हो । सम्बन्धित निकायको (संस्था र व्यक्ति) को पनि यसमा ध्यान जाओस् ।
(थापा महालक्ष्मी नगरपालिकाकी उपमेयर हुन् )

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय