अन्तर्वार्ता

नेकपा गुटको संगठन हो

देवी ओझा, पूर्वमन्त्री २०७५ भदौ २४ गते १०:०० मा प्रकाशित

कुनै वेला मुलुक परिवर्तनका लागि ज्यान फालेर लागेका मध्येका एक कम्युनिस्ट नेता हुन् पूर्वमन्त्री देवी ओझा । तत्कालीन एमाले छाडेर उनी माले नयाँ शक्ति हुँदै अहिले स्वतन्त्र छन् । पटकपटक मन्त्री र सांसद भएका उनी अहिले शासन सञ्चान शैलीप्रति सन्तुष्ट छैनन् । उनीसँगै राजनीति गरेका सहयोद्धाहरू अहिले सरकारमा छन् । दुईतिहाइको कम्युनिस्ट पार्टीको सरकारले जनताको भावना र अपेक्षा पूरा गर्न नसेको, सामाजिक सुरक्षा दिन नसकेको र भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका विषयमा उचित काम गर्न नसकेको उनको ठम्याइँ छ । ओझाको नजरमा सबैभन्दा लोकप्रिय सरकार मनमोहन अधिकारीको नेृतत्वमा रहेको एमालेको नौ महिने सरकार हो । यसै सेरोफरोमा पूर्वमन्त्री ओझासँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंशः  

अहिले के गर्दै हुनुहुन्छ ?
–खास केही काम छैन घुमफिर, साथीभाइसँग भेटघाट, परिवारसँग भलाकुसारी, नातिनातिनासँग रमाइलो, पुराना किताबको अध्ययन गरेर समय बित्छ । तपोवन जान्छु, योगा जान्छु, साधुसन्तसँग भेट्छु ।

योगा के हो ? ध्यान के हो ? साधुसन्तका जीवन कस्तो रहेछ ? बुझ्न पाएको छु यो समयमा । कम्युनिस्ट पार्टीमा रहेको वेला फुर्सद थिएन । अहिले फुर्सद छ धेरै कुरा बुझ्न भ्याएको छु । ऋषि तपसी साधुसन्तको जीवनी पढ्छु ज्ञान हासिल भएको छ कतिपय कुराको अनुभूति गरेको छु ।

भेटघाट राजनीतिक व्यक्तिहरूसँग बढी हुन्छ कि पेसा व्यवसायमा लागेका मान्छेसँग ?
यहीसँग भेट्ने भन्नै नै छैन । बाटोमा जो भेट्यो उसैसँग गफ गर्छु । समयले जोसँग जुराउँछ उसैसँग भेट्छु । ती मध्ये राजनीतिदेखि शिक्षक प्रध्यापक सबैसँग भेट्छु । टोल छिमेकका साथीभाइ हिजोका पुराना साथीहरू यस्तै हो ।

केही बित्ला भन्ने छैन मजाले समयको उपयोग गरिरहेको छु । युवा हुँदा परिवर्तनका लागि लाग्नुभयो । तपाईंकै कालखण्डमा विभिन्न राजनीतिक व्यवस्था परिर्वतन भए ।

आज यसरी समय बिताउँदा हिजोको समय खेर फालिएछ भन्ने लाग्दैन ?
राजनीतिमा भेट्ने पनि मान्छे नै हो । हिजो पनि मेरो काम मान्छे भेट्ने थियो आज पनि त्यही छ । खाली भेटेर कस्तो कुरा गर्ने भन्ने मात्रै हो । अब नयाँ जोस जाँगर आएको आएका छन्, उनीहरूले गर्छन् त्यो काम । हिजो एक समय थियो हामीले ग¥यौँ, त्यो हाम्रो वेला थियो । आज समय फेरिएको छ । अब अरूले पनि केही गर्छन् । सधैँ एउटैले गर्नुपर्छ भन्ने होइन । पालो सबैको आउनुप¥यो नि ।

आफ्नो दिन सकियो भन्न खोज्नुभएको हो ?
दिन सकियो भन्न खोजेको त होइन । दिन ब्रह्मनालमा पुगेपछि मात्रै सकिन्छ । राजनीतिमा लागेका मान्छे ९२ वर्षको उमेरमा नयाँ पार्टी बनाएर पनि प्रधानमन्त्री बनेको विश्वको राजनीतिक इतिहास छ ।

त्यसैले राजनीतिमा ‘रिटायर र टायर’ भन्ने हुँदैन । तर, म अहिले राजनीतिक रूपमा कुनै पनि पार्टीमा छैन । कुनै पनि पार्टीमा नभएपछि राजनीतिक बेरोजगारजस्तै भएको छु । अरूले हेर्दा त्यस्तै बुझ्छन् । दुई महिना अघिसम्म नयाँ शक्तिमा थिएँ । त्यहाँ हुँदा अलिअलि छिनोे चलाइरहेको थिएँ । त्यो पनि छोडेँ । केही महिना भयो राजनीतिक बेरोजगार भएको छु ।

घन हान्न छोडेर छिनो बोक्न हिँडेकाले बेराजगार हुनुभएको हो कि के हो ?
त्यसलाई त्यसै गरी बुझे पनि केही फरक पर्दैन । मलाई कसले के भन्दा वा कसरी हेर्छ फरक पर्दैन । पद र पावर मात्रै सबै कुरा होइन । म जस्ता सांसद मन्त्री कति आए कति गए । त्यो नौलो कुरा होइन भइरहन्छ । अनि मन्त्री सांसद भएका सबैले सक्रिय राजनीति गरेका पनि छैनन् ।

त्यसोभए सन्तुष्ट हुनुहुन्छ अहिलेको दैनिकीसँग ?
मलाई मेरो जीवनसँग कुनै असन्तुष्टी छैन । म सबै प्रकारको जीवन बिताउन अभ्यस्त मान्छे हुँ । सडकमा हिँडन पनि अभ्यस्त छु, मन्त्री भएर फूर्तीफार्तीका साथ शासनसक्ता चलाउनेमा पनि अभ्यास गरेको हुँ, १० वर्ष शिक्षक आन्दोलनको नेतृत्व गर्दा पनि अफ्ठ्यारा, सजिला, सम्मान, प्रेम, अपमान तिरस्कार भोग्दै आएको हुँ ।

त्यसैले मलाई अहिलेको जीवनशैलीसँग कुनै गुनासो छैन । हिजो मन्त्री भएका वेला पनि के के न भयो भन्ने लागेन अहिले सडकमा लखरलखर हिँड्दा पनि म बर्बाद भए भन्ने लागेको छैन । बरु यो दुई/चार वर्ष जीवनलाई बेग्लै ढंगले बुभ्mने कोसिस गरेँ, सफल पनि भएको छु । के रहेछ जीवन भन्ने थाहा पाएँ । जीवन भनेको सधैँ शासनसत्ता सम्हाल्नुपर्ने, सधैँ फाफाफुफु गर्नुपर्ने त्यो पनि जीवन हो ? हामीले बुझेको राजनीति हामीले बुझेको समाजभन्दा जीवनको अर्को पक्ष छ कि छैन ? त्यसलाई बुझ्न समय पाएँ ।

तपाईंलाई अहिलेको अवस्थामा राजनीतिक परिस्थिति वा उमेर केले ल्याएको ठान्नुहुन्छ ?
मेरो नियतिले, कर्मले ल्यायो । म एमालेमा नै बसेको भए मलाई यी सबै कुराको अध्ययन गर्ने अनुभव गर्ने परिवारलाई समय दिन सक्दैन थिएँ । त्यहीँ रहेको भए एमालेको आठ/१० जना नेता मध्ये एक हुन्थेँ, भाषण गर्दै हिँड्थँे । सहजै सबैसँग भेट्ने कुरा गर्ने फुर्सद हुँदैन थियो । हुँदाखाँदाको पार्टी फुटाएर मालेतिर लागियो ।

राजनीतिक कोर्ष त्यहीँबाट बिग्रियो । बिग्रिँदै जाँदा यहाँसम्म पुगियो । त्यसको मतलब हामी बिग्रिँयौ अरू सप्रिए भन्न खोजेको होइन सप्रिए भन्नेले पनि केही गर्न सकेका छैनन् । जे भए पनि राजनीतिक कोर्षचाहिँ बिग्रिएकै हो ।

दुई ठूला कम्युनिस्ट पार्टी एक भएर नेकपा बनेको छ । कुनै वेला सबै कम्युनिस्ट पार्टी एक हुनुपर्छ भन्न्ने तपाईं पनि हो । यसलाई कसरी हेर्नुभएको छ ?
संवैधानिक, कानुनी रूपमा दुई पार्टी एक भएकै हुन् । तर, कानुनी रूपमा र संवैधानिक रूपमा एक हुँदैमा पार्टी एक हुँदैन । वैचारिक रूपमा, भावनात्मक रूपमा, संगठनात्मक रूपमा एक हुनुपर्यो । कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टीको चरित्र फरक हुन्छ ।

तर, अहिले कम्युनिस्ट पार्टी र गैरकम्युनिस्ट पार्टी कांग्रेसमा भन्दा पनि बढी बेहाल नेकपामा छ । पार्टी होइन, गुटको संगठन बनेको छ नेकपा । कांग्रेसमा त तीन वटा जति गुट छन् । नेकपामा नेतै पिच्छेका गुट छन् ।

नेपाली जनता र कम्युनिस्ट आन्दोलनमा लागेका मान्छेले जसरी कम्युनिस्ट एकताको कुरा गरेका थिए । त्यो अनुसारको एकता भएको जस्तो लाग्दैन । दोस्रो कुरा प्राक्टिकली यो एकता भएको छैन ।

यो आधारभूत रूपमा माओवादी एमालेमा मिसिएको हो । ४७ सालको माक्र्सवादी र माले एकता भयो । माक्र्सवादी आन्दोलनका मूर्धन्य व्यक्तित्व मनमोहन अधिकारी, साहना प्रधानजस्ता व्यक्तिसहित माले र एमालेसँग एकता भएकै हो ।

पार्टी एकता भने पनि त्यो माक्र्सवादीको मालेसँग विलयजस्तै भयो । यो एकता पनि त्यस्तै हो । कानुनी रूपमा व्यवहार, दृष्टिकोण र सिद्धान्तका आधारमा यो एकता होइन । र, एक हुने सम्भावना पनि छैन ।

नेकपाको नेतृत्वमा दुईतिहाइको सरकार छ । तर, भावनात्मक रूपमा पार्टी एकता हुन सकेन भने के हुन्छ ?
पछिका दिनमा जानै पर्दैन । बितेका ६ महिना नै काफी छ । कसरी हाँकिँदै छ सरकार र मुलुक भनेर । जनताको जुन अपेक्षा थियो । पार्टी भित्रका सामान्य मान्छे होस् वा पार्टीलाई भोट दिने जनता हुन् ।

पार्टीका दोस्रो र तेस्रो तहका नेता कार्यकर्ताले गरेका कुनै पनि अपेक्षा पूरा भएका छैनन् । पूरा हुने सम्भावना पनि देखिँदैन । यो सरकार हेर्दा लाग्छ शेरबहादुर देउवा र केपी ओलीको नेतृत्वको बीचको फरकचाहिँ खै त ? एउटा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यारा पत्ता लगाउन सरकाले तीन वटा टोली बनाउनु पर्छ ? यस्तो हुन्छ राज्य व्यवस्था ?

एक–एक गरेर आयोग बनाएको छ । उपलब्धी शून्य, हत्यारा पत्ता लागेको छैन । भारतको उदाहरण लिउँ डाक्टर मनमोहन सिंह प्रधानमन्त्री भएका वेला निर्भया नामकी एक युवतीको बलात्कारपछि हत्या भएको घटनाले भारतमा कत्रो उत्पाद पैदा गराएको थियो ।

रुलिङ पार्टीले माफी माग्यो, मनमोहनले माफी मागे । यहाँ घटना भएको यतिका दिनसम्म अपराधी पत्ता लाग्दैन ? जनता आन्दोलन गर्छन्, संकेत गर्छन् तर सरकार निरीहजस्तै छ ।

सरकार सामाजिक रूपमा काम गर्न सकेको छैन भन्न खोज्नुभएको हो ?
यो आरोप होइन वास्तविकता हो । सरकारले सुन तस्करीका बारेमा ठूला कुरा गर्यो । आयोग बनायो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको कति दिन भयो खोई सार्वजनिक भएको ? त्यो गोरे लगायतका केही मान्छे मात्रै हो नेपालमा सुन तस्कर ? कि त्यही मात्रै हो भन्नुपर्यो र प्रतिवेदन सार्वजनिक गर्नुपर्यो ।

अर्को कुरा गोबिन्द केसीसँग त्यतिका पैठेजोरी खेल्यो, पछि हट्यो । यो संहिता ल्यायो डाक्टरले आन्दोलन घोषणा गरे, सरकार पछि हट्यो । सरकारले ठूलो उपलब्धीका रूपमा लिएको यातायात व्यवसायीको सेन्डिकेट त्यसको असर खोई ।

उपभोक्ताले त्यसको असर पाएकि पाएनन् ?
एक वर्ष भयो स्थानीय निर्वाचन भएको यति ठूलो बहुमत ल्याएको छ । कतै जानै पर्दैन काठमाडौं र नजिकका सहरको दुर्दशा हेरे पुग्छ । यस्तै हुन्छ ? कम्युनिस्ट पार्टीले चलाएको सरकार ? ०५१ सालको सरकार सम्झनुस् मनमोहनको नेतृत्वको अल्पमतको सरकार थियो । त्यो नौ महिना कसरी चलेको थियो ? अपराधी भ्रष्टाचारीहरू थरथर थिए । आज भ्रटाचारी र अपराधी नेताको गोजी र पोल्टामा छन् त्यसरी देश चल्छ ? यही हो नेपाली जनताले चाहेको कम्युनिस्ट पार्टीको सरकार ?

त्यसोभए सरकारले जनताप्रति उत्तरदायी भएर काम गर्न सकेको छैन ?
सरकारको दायित्व नागरिकको जनधनको सुरक्षा गर्नु हो । मुलुकमा कुनै न कुनै ठाउँमा हरेक दिन अपराधका घटना घटेका छन् । एक जना अपराधी पत्ता लाग्दैन ? कञ्चनपुरको कुरा गरौँ ।

एउटा हत्याको अपराधी पत्ता नलाग्नका कारण के हो ? त्यसका पछि के छ ? जनताले पटकपटक संकेत गर्दा त्यता अनुसन्धानको आवश्यकतासम्म गर्न नचाहनुका कारण के हो ? दुईतिहाइ सकारका प्रधानमन्त्री आफूलाई चीनको सी जिङ पिङ, रुसको पुटिन, अमेरिकाको ट्रम जत्तिकै शाक्तिशाली भएर पनि किन लाचार र विवश भएर सम्पादक बोलाएर गुनासो गरिरहेका छन् ?

यी सबै कुराले प्रष्ट पार्छ सरकार कसरी चलेको रहेछ भनेर । पार्टी एकता सरकार सञ्चालन हेर्दा दया लाग्छ । म दुईपटक शिक्षा मन्त्री भएँ । मेरा पूर्वमित्रहरू सत्तासिन पार्टीको नेता होइन प्रतिपक्ष पार्टीको नेताजस्तै लाग्दै छ । एकतिर कांग्रेस हारेर थङथिलो भएको छ । सातै प्रदेश गुमाएको छ । अर्कोतर्फ कम्युनिस्ट हातमा सबै कुरा भएर पनि जनताका लागि केही गर्न सकेको छैन ।

तपाईं आफैँ पनि कम्युनिस्ट, मुलुकमा कम्युनिस्ट पार्टीको सरकार छ, मुलुक समृद्ध बन्नका लागि सरकारले के गर्नुपर्ला ?
सबैभन्दा पहिला हाम्रो समाजको चर्को समस्या भ्रष्टाचार हो । अनि जिम्मेवारीमा बस्ने तर जिम्मेवारी पूरा नगर्ने गैरजिम्मेवारीपन पनि हो । पहिला त भ्रष्टाचारमाथि जवर्जस्त रूपमा प्रहार गर्नु पर्यो । भ्रष्टाचारीहरूलाई जो जहाँ छन् सक्ने भए ठेगान लगाउनु पर्यो नसक्ने भए आत्मसमर्पण गर्नुप¥यो कुरा मात्रै गर्नु भएन ।

अर्को कुरा समाजिक सुरक्षाका कारण मुलुक आक्रान्त छ । समाजमा असुरक्षा पैदा गर्ने असामाजिक तत्वमाथि सरकार निर्ममतापूर्वक कठोर रूपमा प्रस्तुत हुनुप¥यो । तेस्रो कुरा, सरकारले हरेक कुरामा दूरदर्शी भएर सोच्नुप¥यो । निर्णय त्यसैअनुसार गर्नु पर्यो । कुनै पनि विषय अघि बढाएपछि पछाडि फर्कने अवस्था बन्न दिनुभएन ।

के कुरा ल्याउन खोजेको हो त्यसका सकारात्मक नकारात्क कुरामा छलफल गर्नुप¥यो । डा. केसीका विषयमा सरकाका मन्त्रीहरू बुरुकबुरुक उफ्रिए । खोई त त्यसको परिणाम ? पूरा गर्न नसक्ने कुरामा किन फूर्ति देखाउने ? यस्तै यति धेरै प्रचारप्रसार गरेर ल्याएको मुलुकी संहिता

डाक्टरले लाइसेन्स बुझाएपछि फनक्कै फर्कने ?
अर्को कुरा सरकारमा गएको सांसद भएको मान्छेको सबै कुरा सार्वजनिक हुन्छ । कानुनले मात्रै होइन राजनीतिक नैतिकताका आधारमा पनि राजनीतिक गर्ने मान्छेको सुत्ने ओछ्यान र खाने थालसम्म जनताले देख्न पाउनुपर्छ ।

त्यस्ता व्यक्तिको सम्पत्ति पनि सार्वजनिक गर्न नपाइने, खोज्न पानि नपाइने यस्ता कुरा लोकतन्त्रसँग सुहाउँदै नसुहाउने कुरा पनि ल्याउने यस्ता घटनाबाट प्रष्ट हुन्छ सरकारको चरित्र ।

आममान्छेले धेरै गरे तर मैले पनि सकारसँग थोरै अपेक्षा गरेको हुँ । यो सरकार असफल भयो भने कम्युनिस्ट हुँ भनेर हिँडनेका लागि दुर्भाग्य हुनेछ । नेपाली जनताले कम्युनिस्टलाई कहिल्यै पत्याउँदैनन् ।

म पनि त्यही आन्दोलनबाट आएको हुँ र त्यसैको व्याज र स्याज खाइरहेको छु । अहिले पद र पार्टी नभए पनि भूपू सांसद मन्त्री भन्छन् चिन्नेले । मलाई पनि पीडा हुन्छ म त्यहाँ छैन भन्ने कुरा होइन, देश मेरो पनि हो । देश सुध्रियो भने त्यसभित्र मलाई पनि सहज हुन्छ । मसँगै हिजो काम गरेरका सँगै हिँडेका साथीले देश बनाए मलाई पनि गर्व हुन्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय