खोजखबर

इजिप्टमा ७५ जनालाई मृत्युदण्ड दिइयो

एजेन्सी २०७५ भदौ २५ गते ८:१२ मा प्रकाशित

कायरो । इजिप्टमा सन् २०१३ मा एउटा विरोधप्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका सिलसिलामा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको त्यहाँको एउटा अदालतले पुष्टि गरेको छ ।

अन्य ४७ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । सजाय पाउनेमा इस्लामवादी नेताहरू पनि छन् । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोधप्रदर्शन गर्ने क्रममा हिंसा भड्किएको थियो ।

सो सामूहिक सुनुवाइका क्रममा एकजना फोटोपत्रकारसहित सात सयभन्दा धेरैलाई जेलसजाय पनि सुनाइएको छ । सुनुवाइका क्रममा

सजाय सुनाइएहरूमाथि हिंसा भड्काएको, हत्या तथा गैरकानुनी प्रदर्शनहरूको आयोजना गरेकोजस्ता सुरक्षासम्बन्धी अपराधहरू गरेको आरोप लागेको थियो ।

सन् २०१३ मा राजधानी कायरोस्थित रबा अल(दबिया स्केवयरमा भएको विरोधप्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूद्वारा सयौँ जना मारिएका थिए ।

मानवअधिकारवादी समूह ह्युमन राइट्स वाचले सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८ सय १७ जनाको हत्या गरिनु ‘सम्भवतः मानवताविरोधी एउटा अपराधसरह’ भएको जनाएको छ ।

एमनेस्टी इन्टरनेसनलले उक्त सुनुवाइलाई, पूर्ण रूपमा असमान तथा इजिप्टको संविधानको उल्लंघन भनेको छ । गत जुलाई महिनामा नै ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो तर शनिबार सो सजाय दिइएको पुष्टि भएको हो ।

साथै थप फैसलाहरू सुनाइएसँगै उक्त सामूहिक सुनुवाई टुंगिएको छ । हाल प्रतिबन्धित मुस्लिम ब्रदरहुडका प्रमुख सदस्यहरू तथा नेताहरूलाई जेलसजाय सुनाइएको छ ।

इजिप्टका तत्कालीन सैन्य प्रमुख तथा वर्तमान राष्ट्रपति अब्देल फतह अल सिसीले प्रजातान्त्रिक रूपमा निर्वाचित भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई बर्खास्त गरेको एक महिनापछि भएको मोर्सीपक्षीय प्रदर्शनलाई तितरबितर पार्ने क्रममा सैनिक तथा प्रहरीहरूले सयौँ जनालाई पक्राउ परेका थिए ।

तर, त्यतिवेला धेरैजसो प्रदर्शनकारीहरूसँग हातहतियार भएको र ४३ जना प्रहरी मारिएको इजिप्टको सरकारले बताउँदै आएको छ ।
मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले आतंकवादी संगठन घोषणा गरिसकेको छ ।

प्रतिक्रिया