विश्व

‘जापानसँगको सम्बन्ध अन्त्य हुन सक्छ’

एजेन्सी २०७५ भदौ २५ गते ८:१७ मा प्रकाशित

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको आफ्नो अत्यन्तै निकट सम्बन्ध कुनै पनि समय अन्त्य हुन सक्नेमा चिन्ता व्यक्त गरेका छन् । बिहीबार वाल स्ट्रिटसँगको अन्तक्र्रियामा ट्रम्पले यस्तो बयान दिएको बताइएको छ ।

उनले भनेका छन्, ‘व्यापारिक समस्या समाधान गर्न हामीले जापानलाई यति रकम तिर्नुपर्छ भन्नासाथै हामीबीचको सम्बन्ध धेरै धमिलो हुने निश्चित छ ।’ हाल अमेरिका, जापानलगायत लामो समयदेखिका मित्रराष्ट्रहरूसँग समेत व्यापारिक मुद्दामा लडिरहेको छ ।

यसै वर्ष ट्रम्पले अमेरिकामा आयात हुने स्टिल र आल्मुनियमजस्ता महत्वपूर्ण धातुहरूको मूल्य वृद्धि गर्ने घोषणा गरेपछि यसले विश्व बजारमा तहल्का मचाएको थियो । यति मात्र नभएर ट्रम्पले गाडीहरूको मूल्यसमेत बढाउने धम्की दिएका हुन् जसपछि जापानका व्यापार मन्त्रीले पनि पछिल्लो महिना अमेरिकाले त्यसको प्रतिउत्तर भोग्नुपर्ने भन्दै चेतावनी दिएका थिए ।

यसअघि, ट्रम्पको क्यानडा, मेक्सिको, चीन र युरोपेली संघसँग पनि यसै विषयमा विवाद परेको थियो । यसप्रति क्यानडाका प्रधानमन्त्री ट्रयुडुले यस्तो भनेका हुन्, ‘ट्रम्पले चाहे भन्दैमा हाम्रो देशले जथाभावी सर्त र सम्झौतामा कहिल्यै पनि सहमति जनाउने छैन ।’ उनको यस्तो वचनपछि ट्रयुडु र ट्रम्पबीचको विवाद झन् गम्भीर बन्दै गएको बताइएको छ ।

त्यस्तै, चीनसँगको व्यापार नीतिलाई लिएर पनि ट्रम्पले धेरैपटक असन्तुष्टि जनाइसकेका छन् भने पछिल्लो महिना मात्र दुई खर्बभन्दा बढी चिनियाँ वस्तुको मूल्यमा २५ प्रतिशतले वृद्धि पनि गराएका थिए । तर, चीनले पनि यसको प्रतिउत्तरमा अमेरिकी वस्तुहरूमाथि पनि त्यत्तिकै शुल्क वृद्धि गरेको हो ।

अमेरिकाको व्यापार घाटा कम गर्न आफू जुनसुकै कदम उठाउन पनि पछि नहट्ने अडान लिँदै ट्रम्पले यस व्यापारिक युद्धको सुरुआत गरेका थिए । त्यसैको परिणाम अब जापानले पनि चाँडै भोग्नुपर्ने बताइएको हो । अमेरिकाले जापानबाट करिब १२ अर्ब डलर बराबरको सामग्री निर्यात गर्ने गरेको छ ।

त्यसैले पनि जापानी प्रधानमन्त्री सिञ्जो आबेले ट्रम्पसँग नजिक सम्बन्ध राख्दै आएका छन् र दुवैबीच अहिलेसम्म आठपटक भेटवार्ता भइसकेको छ जसलाई अन्य देशहरूको तुलनामा एकदम धेरै मानिन्छ । तर, अमेरिकासँगको व्यापार छलफलमा अहिलेसम्म कुनै पनि देशले पूर्ण सहमति जनाएका छैनन् । त्यसकारण पनि ट्रम्पले जापानसँगको सम्बन्ध पनि संकटमा पर्ने उल्लेख गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय