सम्पादकीय

दुर्घटनाको पीडा

सौर्य अनलाइन २०७५ भदौ २५ गते १०:०८ मा प्रकाशित

शनिबार एकैदिन दुई दुखद दुर्घटना भए । एउटा हेलिकोप्टर र अर्को डुंगा दुर्घटना । नुवाकोटको मेघाङ गाउँपालिकाको जंगलमा हेलिकोप्टर दुर्घटना भयो । घटनामा ६ जनाको अकालमा ज्यान गयो ।

एकजना यात्रु आनी डोल्पा डिकी संयोगले बाँच्न सफल भइन् । अल्टिच्युड एअरको हेलिकोप्टर गोर्खाबाट काठमाडांैका लागि उडेको थियो । अर्को दुर्घटना कास्कीको बेगनासतालमा डुंगा डुबेर भयो । दुर्घटनामा आठ जनाले ज्यान गुमाए । यी दुवै दुर्घटनामा सरकारले गर्नुपर्ने केही गम्भीर भुल लुकेका छन् । पछिल्लो तथ्यांकलाई हेर्ने हो भने नेपालमा आठ महिनाभित्र आठ वटा हवाई दुर्घटना भए ।

यसमा ५९ जनाले ज्यान गुमाए । फागुनमा युएस बंगलाको विमानदेखि शनिबार अल्टिच्युट हेलिकोप्टर दुर्घटनासम्म आइपुग्दा सरकार गम्भीर देखिएको छैन । सरकार समवेदना र क्षतिपूर्ति दिनमै सीमित छ । दुर्घटना रोक्ने दीर्घकालीन योजना ल्याउने सन्दर्भमा सरकार अझै गम्भीर देखिन्न । अनुसन्धानका नाममा समिति मात्र बनाइन्छ ।

औपचारिक रिपोर्टबाहेक समितिले केही व्यावहारिक सुझाव दिँदैन । हालसम्म भएका दुर्घटनाको अनुसन्धान औपचारिकतामा मात्र सीमित छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ महिना अवधिमा तीन वटा दुर्घटना भए । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर परेको छ । भएको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल त यति असुरक्षित छ भने दुर्गम जिल्लाका विमानस्थल कति सुरक्षित होलान् ? सजिलै अनुमान गर्न सकिन्छ ।

हवाई दुर्घटना बढ्नुका केही कारण सतहमा आएका छन् । पहिलो हो, विमान तथा हेलिकोप्टरको चेकजाँचमा लापरबाही । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तथा बाह्य उडानमा भएका विमानहरूको इन्जिन, चालक र सम्बन्धित विषयमा नियमित जाँच गरेको पाइँदैन । दुई वर्षअघि कालीकोटमा भएको जहाज दुर्घटनामा इन्जिन फेल भएर दुर्घटना भएको तथ्य बाहिर आएको थियो । कतिपय दुर्घटना पाइलटको कमजोरीले भएका तथ्यसमेत सार्वजनिक भएका छन् ।

यसले के प्रमाणित गर्छ भने सरकारले चुस्तरूपमा अनुगमन र जाँचलाई प्रभावकारी बनाउन सकेको छैन । दोस्रो हो, विमानस्थलको व्यवस्थापन । पछिल्लोपटक भएका हवाई दुर्घटना धावनमार्गको असुविधासँग जोडिएका छन् । विमान ल्यान्ड हुने क्रममा धावनमार्गको समस्याले दुर्घटना भएका छन् । हाम्रा सबैजसो धावनमार्ग सुरक्षित छैनन् ।

धावनमार्गको संख्या मात्र बढेको छ । गुणस्तरमा ध्यान दिइएको छैन । जबसम्म धावनमार्ग सुरक्षित हुन्न, हवाई दुर्घटनामा कमी आउँदैन । तेस्रो कारण हो वास्तविक रिपोर्ट नआउनु । हालसम्म भएको हवाई दुर्घटनाको रिपोर्ट एकै प्रकृतिको छ । फरक रूपमा भएका दुर्घटनालाई पनि एकैखालको रिपोर्ट तयार पारिएको छ । यस्ता रिपोर्ट केबल कर्मकाण्डी मात्र देखिएका छन् ।

एकातिर सरकारले आएका रिपोर्ट कार्यान्वयन त गर्दैन भने अर्कोतिर वास्तविक रिपोर्ट आउनै सकेको छैन । भौगोलिक रूपमा पनि नेपाल हवाई यात्राका लागि जोखिमपूर्ण क्षेत्र हो । अग्ला हिमाल र विविध भू–बनोटले हवाई उडान पक्कै पनि सजिलो छैन । तर, सुरक्षित हुने तरिका भने सरकारले मिलाउन सक्नुपर्छ । सरकारबाट भएका यस्ता गम्भीर भुलले दिनप्रतिदिन हाम्रो आकाश हवाईयात्राका लागि असुरक्षित हुँदै गएको छ ।

डुंगा पल्टेर हुने दोस्रो दुर्घटना हो, कास्की धेरै तालहरू भएको जिल्ला हो । बेगनास र फेवाताल पर्यटकका लागि डुंगा सयर निकै आकर्षण छन् । यीबाहेक स्थानीयले दैनिक आवश्यकताका लागि तालको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । बेगनास गाउँ र वारि लेखनाथ बजार ओहोरदोहोर गर्न डुंगाकै भर पर्नुपर्ने बाध्यता छ । यहाँ अहिलेसम्म घरेलु प्रविधिमै आधारित डुंगाहरू सञ्चालित छन् ।

काठबाट निर्मित डुंगा निकै जोखिम छन् । तालको बीचभागमा पुगेपछि डुंगामा पानी पस्यो भने बाँच्ने आधार निकै कम हुन्छ । यी डुंगाको अवस्थाबारे राज्यले अनुगमन गरेर प्रयोग गर्न मिल्ने नमिल्ने अहिलेसम्म प्रक्रिया थालेको छैन ।

डुंगा यात्रुलाई अनिवार्य लाइफ ज्याकेट लगाउनुपर्ने नियम छैन । कतिजना डुंगामा बस्ने यसको अनुगमन र मापदण्ड पनि राज्यले तोकेको छैन । शनिबार भएको डुंगा दुर्घटनाको मुख्य कारण पनि यिनै भुलले भएको देखिन्छ ।

सरकार जनताको अभिभावक हो । जनतासँग सरोकार राख्ने हरेक अंगमा राज्यको नियन्त्रण र खबरदारी हुनैपर्छ । नत्र लापरबाहीकै कारण जनताको ज्यान जान्छ । त्यसैले, हवाई, गाडी, डुंगा लगायतका हाम्रा यातायातका साधनमा सरकारको गम्भीर ध्यान जान आवश्यक छ । दुर्घटना भएपछि मात्र गम्भीर भएजस्तो देखिने प्रवृत्ति गैरजिम्मेवारीपन हो । दुर्घटना हुनै नदिने तयारी र प्रभावकारी अनुगमन गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय