खोजखबर

नारीवादकी प्रतीक मुगल महारानी

सौर्य अनलाइन २०७५ भदौ २५ गते १०:१६ मा प्रकाशित

बिबिसी । १७औँ शताब्दीमा सम्राज्ञी नुर जहाँ भारतमा सबैभन्दा शक्तिशाली महिला थिइन् । उनले बृहत्तर मुगल साम्राज्य सञ्चालनमा अभूतपूर्व भूमिका निर्वाह गरेकी थिइन् । उनले गरेको नेतृत्व क्षमताको इतिहास बुझ्न किन आवश्यक छ भनी इतिहासविद् रुबी लालले वर्णन गरेका छन् ।

जन्मँदा उनको नाम मिर उन–निशा राखिएको थियो । बिहेपछि उनका श्रीमान मुगल सम्राट जहाँगीरले उनको नाम नुर जहाँ राखे । नुर जहाँको अर्थ हो, संसारको ज्योति । उनी महारानी एलिजावेथ प्रथम जन्मेको केही दशकपछि जन्मिएकी थिइन् । तर, उनी आफ्नी ब्रिटिस समकक्षीले भन्दा अझ बढी विविधतायुक्त भू–भागमा शासन गर्न सफल भइन् । र गरिन् पनि ।

१६औँ शताब्दीको सुरुतिर सत्तामा आएपछि मुगलहरूले भारतीय उपमहाद्वीपको धेरै स्थानमा तीन सय वर्षभन्दा बढी समय शासन गरेको इतिहास छ । त्यो भारतको सबैभन्दा ठूलो र शक्तिशाली वंश थियो । मुगल वंशका धेरै सम्राट तथा नुर जहाँसहितका शाही महिलाहरू कला, संगीत र वास्तुकलाका संरक्षक थिए । उनिहरूको रुचि त्यसतर्फ रहेको इतिहास पाइन्छ ।

उनीहरूले ठूला सहरहरू बसाए र शाही किल्ला, मस्जिद र मकबरा अर्थात् चिहानहरू बनाउन लगाए । र, मुगल वंशको एक मात्र शासक नुर जहाँको चर्चा भारत, पाकिस्तान र बंगलादेशका लोकसाहित्यमा व्याप्त छ ।

खासगरी, नुर जहाँले शासन गरेको मुगलकालका दुई महत्वपूर्ण सहरहरू उत्तरी भारतको आगरा र उत्तरी पाकिस्तानको लाहोरमा, घर र स्मारकहरूनजिक नुर जहाँबारेका कहानीहरू प्रशस्तै पाइन्छ ।

वृद्ध महिला तथा पुरुष, पथप्रदर्शक र इतिहासका प्रशंसकहरू सबैले नुर र जहाँगीरको भेट कसरी भयो र उनीहरू कसरी प्रेममा परे, कसरी उनले एउटा नरभक्षी बाघबाट एउटा गाउँलाई जोगाइन्, हात्तीमाथि सवार उनले आफ्नो आसनबाटै गोली हानेर त्यो बाघलाई मारिदिएकी थिइन्, भन्नेबारे कहानी अहिले पनि सुन्न पाइन्छ ।

नुर जहाँको प्रेमकथा, असामान्य कुरा, बहादुरीका कथा सुने पनि उनको बहुआयामिक दुनियाँ, राजनीतिक दूरदर्शिता र शक्तिशाली महत्वाकांक्षाबारे मानिसहरूले थोरै मात्र थाहा पाएका छन् । उनी एक चित्ताकर्षक महिला थिइन् । जो असाधारण सम्भावनाका माझ शासन सम्हाल्न पुगिन् । नुर एक कवयित्री थिइन, एक अब्बल शिकारी र एक वास्तविक वास्तुविद् पनि थिइन् ।

आगरामा उनले दिएको आफ्ना आमाबुवाको चिहानको स्वरूपले पछि ताजमहल बनाउन अभिप्रेरित ग¥यो । पुरुषहरूको वर्चस्व रहेको संसारमा उदाएकी एक असाधारण नेत्री नुर राजघरानाबाट आएकी थिइनन् ।

तथापि, उनी सम्राटको महलको महिला कक्षबाट उठेर एउटा चलाख राजनीतिज्ञको रूपमा उदाइन् । जहाँगीरकी प्रिय पत्नी भइन् र सह–सम्प्रभु भएर बृहत्तर मुगल साम्राज्य सञ्चालन गरिन् । उनको समयमा उनको त्यो बहादुरी र कुशलता सामान्य थिएन ।

त्यसलाई असाधारण मानिन्छ । सार्वजनिक जीवन र नेतृत्वको क्षेत्रमा महिलाले विरलै स्थान पाउने समयमा नुर जहाँचाहिँ कसरी शक्तिशाली भइन् त ?

नुर जहाँको बाल्यबाल्यका र उनले हुर्किएको समयका बारेमा जान्नुपर्ने धेरै कुरा छन्, सहयोगी पुरुष र महिलामाझ बितेको उनको समय, जहाँगीरसँगको विशेष सम्बन्धमा उनी रमाएका कुरा, उनका महत्वाकांक्षा र उनको भूमिका र उनले बिताएको समाजका मानिसका कुरा रोमाञ्चित लाग्छ ।

‘अल हिन्द’ (सिन्धु नदी पारिको भू–भाग जसलाई अरब र पर्सियनहरूले त्यतिवेला उत्तरी भारत भन्थे) को संयुक्त, सम्पन्न र सहिष्णु संस्कारले फरक अनुभवहरू, धर्म र सहअस्तित्व सिकायो उनलाई ।

सन् १५७७ मा कान्दहारमा (जुन अहिले अफगानिस्तानमा पर्छ) एउटा चिरपरिचित पर्सियन उच्च परिवारमा नुर जहाँको जन्म भएको थियो । साफाभिद वंश शासनमा रहेका बेला बढ्दो असहिष्णुताका कारण इरानबाट उनको परिवार बढी उदार रहेको मुगल शासनमा शरण लिन पुगेको थियो ।

आफ्ना आमाबुवाको जन्मथलोको र उनीहरू पुगेको नयाँ ठाउँको मिश्रित रहनसहनमा हुर्केकी नुरले सन् १९९४ मा पहिलोपटक एक मुगल सरकारी अधिकारी तथा पूर्वसैनिक अधिकारीसँग बिहे गरिन् ।

पूर्वी भारतको एउटा सम्पन्न प्रान्त बंगालमा उनी आफ्ना श्रीमानसँगै त्यहाँ गइन् । त्यहाँ गएपछि उनले आफ्नो एक मात्र बच्चाको जन्म दिइन् । जहाँगीरविरुद्धको एउटा षड्यन्त्रमा संलग्न रहेको आशंकामा त्यहाँको सम्राटले नुरको श्रीमानलाई तत्कालीन आगरास्थित शाही अदालतमा उपस्थित गराउन बंगालका गर्भनरलाई आदेश दिए ।

तर, गर्भनरका मानिसहरूसँगको युद्धमा नुरका श्रीमान् मारिए । विधवा नुरलाई जहाँगीरको राजमहलस्थित महिला कक्षमा शरण दिइयो । त्यहाँ रहदाँ बस्दा विस्तारै उनलाई अरू महिलाले उनको विश्वास र प्रशंसा गर्न थाले ।

त्यहीँ रहने क्रममा सन् १६११ मा जहाँगीरसँग उनको विवाह भयो । उनी जहाँगीरकी २०औँ तथा अन्तिम श्रीमती भइन् । सन् १६१४ अघिको जहाँगीरको संस्मरणमा नुरसँगको उनको विशेष सम्बन्धबारे उल्लेख छ । र, जहाँगीरले एक संवेदनशील सहयात्री, एक उत्कृष्ट सेविका, एक निपूर्ण सल्लाहकार, एक दक्ष शिकारी, एक कूटनीतिज्ञ र एक कलाप्रेमीको रूपमा प्रशंसा गर्दै नुरको एउटा चित्रसमेत बनाए ।

धेरै इतिहासविद्हरूका अनुसार जहाँगीर एक बिरामी र जँड्याहा थिए । उनीसँग शासनसत्तामा सम्हाल्ने र त्यसमा समय दिन सक्ने सामर्थय थिएन । आफ्नो त्यही कमजोरीका कारण उनले कान्छी पत्नी नुरलाई राजकाज सुम्पिदिए । तर, यो नै समग्र रूपमा सत्य होइन । केही इतिहासविद् भन्छन्, सम्राट जँड्याहा थिए, नशाका लागि उनी अफिम सेवन गर्थे । उनी कान्छी पत्नी नुरलाई औधी माया गर्थे । त्यही कारणले मात्रै नुर चर्चा गर्न लायक शासक बनेकी होइनन् ।

खासमा नुर र जहाँगीर एकअर्काका परिपूरक थिए र सह–सम्प्रभुका रूपमा आफ्नी श्रीमतीले प्रभाव बढाउँदै लग्दा सम्राटले कहिल्यै त्यसबाट असजिलो अनुभव गरेनन् । बिहेको केही समयपछि नुरले कामदारहरूको भूमि अधिकारको रक्षासम्बन्धी पहिलो शाही आदेश जारी गरिन् । उनको हस्ताक्षरमा लेखिएको छ, नुर जहाँ पदशाह बेगम जसको अर्थ हुन्छ नुर जहाँ, महिला सम्राट । त्यो उनी सम्प्रभु र शक्तिशाली हुँदै गएको संकेत थियो ।

सन् १६१७ मा एकापट्टि जहाँगीर र अर्कोपट्टि नुरको नाम भएका सुन र चाँदीका सिक्का प्रचलनमा आए । अदालतका वक्ताहरूले, विदेशी कूटनीतिज्ञ, व्यापारी र आगन्तुकहरूले विस्तारै नुरको पृथक हैसियतलाई ख्याल गर्न थाले । राजसभामा उपस्थित एकजनाका अनुसार नुरले त्यतिवेला धेरैलाई आश्चर्यमा पारिन् । उनी पुरुषहरूका लागि छुट्टयाइएको विशेष स्थानमा गएर सामान्य रूपमा बसिन् । उनको त्यो शैली ले राजसभामा रहेका सबै चकित हुँदै मुखामुख गरेका थिए ।

यति मात्रै होइन उनले शिकार गरेर, शाही आदेश र सिक्काहरू जारी गरेर, सरकारी भवनहरूको स्वरूप तयार पारेर, गरिब महिलाहरूलाई सहयोग गर्ने कदमहरू चालेर अथवा अवसरबाट वञ्चितहरूका लागि काम गरेर नुर त्यतिवेलाका महिलाले भन्दा भिन्दै जीवन बाँचिन् । उनले त्यो समयका सामान्य महिलाभन्दा आफूलाई पृथक रूपमा उभ्याइन् ।

यसका साथै सम्राटलाई बन्धक बनाइएका बेला उनलाई जोगाउन नुरले सेनाको नेतृत्वसमेत गरेकी थिइन् । उनले गरेको साहसिक काम जसले उनको नाम मानिसको कल्पनामा र इतिहासमा सधैँका लागि कोरियो । आज पनि उनको त्यो कार्यलाई सम्मानपूर्वक लिने गरिन्छ । इतिहासविद् रुबी लाल एमरी विश्वविद्यालयमा पढाउँछन् र उनको हालै ‘इम्प्रेसः द एस्टोनिसिंग रेन अफ नुर जहाँ’ नामक पुस्तक प्रकाशित भएको छ ।

उक्त पुस्तकमा नुरका बाल्यकाल युवा अवस्थाका भोगाइ एवं उनका राजकाजलाई विस्तृत रूपमा वर्णन गरिएको छ । नुर इतिहास मात्रै होइन उनले १७औँ शताब्दीमा गरेको काम २१औँ शताब्दीका लागि पनि प्रेणादायी छन् ।

प्रतिक्रिया