खोजखबर

हातविनाको जीवन

विकाश पराजुली २०७५ भदौ २६ गते ६:३१ मा प्रकाशित

रूपा खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । मोबाइल पनि खुट्टैले चलाउँछिन् । भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रूपा पढाइमा पनि तेज छिन् । रूपाको पढाइ राम्रो छ । संगीतमा उनको सिकाइ अब्बल छ

बुटवल । दुवै हात नहुँदा मानिसको दैनिकी कति कठिन होला ? हामी सजिलै अनुमान गर्न सक्छौँ, ‘पक्कै पनि सोचेभन्दा धेरै पीडादायी हुन्छ ।’ तर, यहाँकी एक किसोरी दुवै हातविना जीवनयापन गर्दै आएकी छन् ।

बुटवलको देविनगरस्थित सांग्रिला पथकी १६ वर्षीया रूपा रौतारका दुवै हात छैनन् । उनी कक्षा ८ मा पढ्छिन् । रूपा खुट्टाले खान्छिन्, खुट्टैले लेख्छिन् । मोबाइल पनि खुट्टैले चलाउँछिन् । भविष्यमा राम्रो गायिका बन्ने लक्ष्य लिएकी रूपा पढाइमा पनि तेज छिन् । रूपाको पढाइ राम्रो छ । संगीतमा उनको सिकाइ अब्बल छ । विद्यालयले पढ्न सहयोग गरेको छ ।

बिहान सबेरै अरूसरह उनको दैनिकी सुरु हुन्छ । उनी आमा इन्द्रकलालाई घरको काममा सघाउँछिन्, गृहकार्य गर्छिन्, बिहान बागेश्वरी संगीतालयमा संगीत सिक्न जान्छिन् । बुबा विष्णुप्रसादले उनको संगीत सिक्ने चाहना मर्न दिएका छैनन् । उनलाई स्कुल बससम्म पुर्याउने जिम्मा आमा इन्द्रकलाको छ ।

अरू साथीसरह उनी स्कुलमा प्रार्थनामा सहभागी हुँदै आएकी छन् । कक्षामा उनलाई देब्रे साइडमा अपांगता भएका विद्यार्थी बस्ने स्थानमा राखिएको छ । सबै साथी सँगै हुन्छन् । रूपाको पीडालाई बिर्साउन सबैले उनलाई माया गर्छन् । साथीहरूसँगै खाजा खाने, घर फर्कने गर्छिन् उनी ।

अरूले हेर्दा रूपाको दैनिकी निकै जटिल छ, तर उनी भने सहज महसुस गर्छिन् । स्थायी घर कपिलवस्तु वाणगंगा नगरपालिका–३ धनकौली भए पनि अहिले उनको परिवार बुटवल बस्दै आएको छ ।

१४ वर्षको उमेरमा उनका बुबा विष्णुप्रसाद बिदेसिएका थिए । त्यही वेला दुर्घटनामा परेकी छोरी रूपाको दुवै हात काट्नुप¥यो । ०६२ सालदेखि बुबा विदेशमा बस्दै आएका हुन् । आमा इन्द्रकलाको परिवार चलाउने जिम्मा आइपर्यो ।

छोरीको दुर्घटना भएको दिन इन्द्रकला कहिल्यै बिर्सन सक्दिनन् । कपिलवस्तु–४ मा रहेको पुरानो घरमा रूपा दुर्घटनामा परेकी थिइन् ।एकदिन इन्द्रकला आफन्तकहाँ चिठी पुर्याउन हिँडिन् । त्यसताका चिठीको प्रचलन थियो । आमा नभएको वेला रूपा घरको दोस्रो तलामा पुगिन् । बिजुलीको तार समाइन् । उनी करेन्ट लागेर बेहोस भइन् । करेन्टले उनको हात पूरै जलेको थियो । तत्काल अस्पताल भर्ना गरे पनि उनको हात काट्नुपर्ने भयो । लुम्बिनी अस्पतालमा उपचार गरेकी रूपा बाँच्न त सफल भइन् ।

तर, दुवै हातको पीडा झन् बल्झियो । थप केही उपाय लाग्छ कि भनेर उनलाई काठमाडौं महाराजगञ्जस्थित टिचिङ अस्पताल पुर्याउँदासमेत केही सीप लागेन । उनलाई थप उपचारका लागि कान्ति बाल अस्पताल लगियो । कान्तिमा रूपाको ६ दिनसम्म उपचार भयोे । केही सुधार भएन, हातको मासु कुहिन थाल्यो, हड्डी धेरै जलेकाले मासु पलाउन सम्भव नभएको भन्दै सातौँ दिनमा उनको दुवै हात काटियो ।

‘होसमा आउँदा मेरा दुवै हात थिएनन्, रूपाले आँसु झार्दै भनिन्, आधा भएका दुवै हातमा पट्टी बाँधिएको थियो ।’ हात नकाटेको भए पछि क्यान्सर हुने डाक्टरले बताएका उनले सुनाइन् ।

छोरीको उपचारमा आमा इन्द्रकलाले काठमाडौंमै ११ महिना बिताइन् । विद्युत् प्राधिकरणमा राहतका लागि उनीहरूले अपिल गरे । प्राधिकरणबाट ९७ हजार रुपैयाँ राहत पाए । खर्च भने लाखौँ भइसकेको थियो ।

रूपा अहिले १६ वर्षकी भइन् । उनी बुटवलको एक निजी विद्यालयमा कक्षा ८ मा पढ्छिन् । विद्यालयले उनलाई निःशुल्क पढाएको छ । संगीतमा रुचि राखेकी रूपा बागेश्वरी संगीतालयमा निःशुल्क संगीत सिक्दै छिन् । संगीतमा रुचि राख्ने रूपाको भर्खर मात्र ‘हिम्मत भाकी छोरी’ गीति एल्बम बजारमा आएको छ । रूपाको संगीतमा रुचि छ । उनी क्षमतावान् विद्यार्थी भएको गुरुहरू बताउँछन् । गतवर्ष देवदहमा भएको प्रदर्शनीमा आइडल पनि भइन् । रूपासँग राम्रो सिर्जना भएको उनका गुरु सुरेश सेञ्चुरी बताउँछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय