अर्थबजार

अशक्त वन्यजन्तुको लागि उद्धार केन्द्र

सौर्य अनलाइन २०७५ भदौ २६ गते ८:३५ मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अपांगता भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिरहेको छ ।

निकुञ्जको देवनगर रेन्जपोस्टको दुई सय मिटर दक्षिणमा रहेको वरन्डाभार क्षेत्रमा सो केन्द्र निर्माण भइरहेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार १६ हेक्टर जमीनमा पर्खाल लगाएर त्यसभित्र अपांग तथा अशक्त वन्यजन्तुलाई राखिनेछ । गत वर्षदेखि सो केन्द्र निर्माण थालिएको हो ।

हालसम्म ४ सय मिटर पर्खाल लगाउने काम सम्पन्न भएको छ । गतवर्ष ५० लाखको बजेट प्राप्त भएकोमा सोही बजेटबाट काम थालिएको अर्यालले बताए । उनले भने, ‘थप बजेट माग गरी छिटो काम सम्पन्न गर्ने तयारीमा निकुञ्ज जुटेको छ ।’ पूरै क्षेत्रमा पाँच फिट पर्खाल र त्यसमाथि पाँच फिट मेसजाली लगाइँदै छ ।

पूरै भाग घेरिएपछि त्यसभित्र खण्डखण्ड निर्माण गरेर जनावर राखिने छ । बाघ र चितुवा जस्ता जनावरका लागि छानो हालिँदै छ, भने अन्य जनावरलाई खुल्ला आकाशमुनि राखेर संरक्षण गरिने छ । घाइते जनावरको उपचार गर्ने, अशक्त जनावरलाई खाना खुवाइने तथा ती सबै जनावरको पालनपोषण व्यवस्थित ढंगले गर्न केन्द्र स्थापना गर्न लागिएको हो ।

अर्यालका अनुसार चालु आवमा अहिलेसम्म तीन बाघको उद्धार गरिएको छ । ठाउँको अभावमा उनीहरूलाई कसरामा खोरमा राख्ने गरिएको छ । नियमित दुर्लभ र अन्य साना जनावर घाइते हुने तथा बुढो भएर अशक्त भई सहारा दिनुपर्ने भएपछि मुख्य कार्यालय कसरा नजिकै केन्द्र स्थापना गर्न लागिएको हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय