खोजखबर

नेपाली ताजमहल

सौर्य अनलाइन २०७५ भदौ २६ गते ८:५९ मा प्रकाशित

पाल्पाको कालीगण्डकी नदी किनारमा झन्डै बेवारिसे अवस्थामा रहेको रानीमहल पुरातत्व विभागले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपालको ‘ताजमहल’ समेत भन्ने गरिएको उक्त ऐतिहासिक सम्पदाको हस्तान्तरणसँगै अब उक्त महलको व्यवस्थापन तथा संरक्षणको सम्पूर्ण जिम्मेवारी तानसेन नगरपालिकामा सरेको छ । लामो समयसम्म संरक्षण र प्रवद्र्धनको पहल नभएकाले यसको कैयौँ जग्गा अतिक्रमित भएको छ ।

०७२ को भूकम्पले क्षति पु¥याएको दुई वर्ष बित्दा पनि पुरातात्विक सम्पदा पुनर्निर्माणले निर्माणमा तदरुकता देखाएको छैन । पुरातत्व विभागका अधिकारीहरूका अनुसार रानीमहलको व्यवस्थापनको जिम्मा स्थानीय सरकार अर्थात तानसेन नगरपालिकालाई दिएर संरक्षणको नयाँ अभ्यास थालिएको हो । उक्त महल विभागले १० वर्षका लागि मात्र तानसेन नगरपालिकालाई सुम्पेको बताइएको छ ।

दिवंगत पत्नी रानी तेजकुमारीको सम्झनामा १९५० मा सो महल बनाउन लगाएका पश्चिम नेपालको कमान्डर रहेका खड्गशमशेर राणा जिम्मेदारीबाट हटाइएपछि पाल्पाबाटै भारत पलायन भएको र त्यसयता सो महल खालि रहेको बताइन्छ ।

भगवान् राधाकृष्ण र भारतको आगरास्थित ताजमहलका संस्थापक मुस्लिम सम्राट जहन शाह र रानी मुमताजको जस्तै आफू र रानी तेजकुमारीको प्रेमकहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनि जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए । यसको बुर्जामा रानी तेजकुमारी शरणम् भनि लेखिएको शिलालेखसमेत छ ।

१९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि कालीगण्डकीमा उनको अन्तिम संस्कार गरियो । खड्गले संस्कार स्थललाई रानीघाट नाम राखी रानीमहलको शिलान्यासको साथै त्यहाँ पुग्न तानसेनबाट घोडेटो बाटोसमेत बनाए ।

रानी तेजकुमारी रूपवती र सुशील महिला भएकाले खड्गको उनीप्रति अतिशय प्रेमभाव थियो । त्यसैले पनि रानीमहललाई कैयौँ युवायुवतीले प्रेममहल भन्ने गर्छन् ।

नगरप्रमुख अशोक शाहीका अनुसार वर्षौंदेखि बेवारिसे जस्तै थियो । हामीले त्यसको जिम्मा पाएपछि अब स्थानीय बासिन्दाले अपनत्व महसुस गर्ने गरी संरक्षणको काम सुरु गर्छौं । उनी भन्छन्, ‘रानीमहलको व्यापक प्रचारप्रसार एवं संरक्षणको खाँचो छ । हाम्रो सामथ्र्यले भ्याउने जति काम गर्नेछौँ र स्थानीय बासिन्दालाई पनि सहभागी गराएर त्यसलाई पर्यटक आकर्षण गर्ने थलोको रूपमा विकास गर्छौं ।’

संरक्षण गर्दा महलको स्वरूपमा भने कुनै प्रकारको परिवर्तन गर्न नपाइने गरी विभाग र नगरपालिकाबीच सम्झौता भएको बताइएको छ ।
यस्ता सम्पदा स्थानीय सरकारलाई दिनु सकारात्मक भएको टिप्पणी गर्दै संस्कृतिविद् निर्मल श्रेष्ठ अब त्यो महलसँग जोडिएका तथ्यहरू खोजेर त्यसलाई पर्यटकीय क्षेत्रको रूपमा बृहत् विकासमा नगरपालिका अग्रसर हुनुपर्ने औंल्याउँछन् । श्रेष्ठ भन्छन्, ‘पुरातत्व विभागले रानीमहल पूर्णरूपमा नगरपालिकालाई दिएमा त्यसको संरक्षण गर्न सजिलो हुनेछ ।’

पश्चिम नेपालको कमान्डर रहेका राणाले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा बनाएका उक्त महललाई नेपालीहरूले ‘नेपाली ताजमहल’ भन्ने गर्छन् । पाल्पा र त्यस वरपरका मान्छे उक्त महललाई प्रेमको संज्ञा पनि दिने गर्छन् । राणाले आफ्नी रानीलाई औधि माया गर्ने र उनको निधन भएपछि उनको मायाको चिनोको रूपमा रानीमहल बनाइएको बताइन्छ ।

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकालमा राणाकालको पश्चिम नेपालको मुख्य प्रशासनिक केन्द्र एवं हालको पाल्पा जिल्लाको प्रशासन कार्यालय तानसेन दरबार ध्वस्त पारिएकाले कागजात नष्ट भएकाले उत्त महलको जग्गा खोजीमा समस्या भएको छ । हराएका जमिनको खोजीका लागि मालपोत र नापीको अभिलेखबाट पत्ता लगाउन प्रयास भइरहेको छ । यस्तै रानीमहलले ओगटेको जग्गाको क्षेत्रफल तोक्नसमेत अतिक्रमणको कारण कठिन भएको छ ।

१९५४ सालमा बनेको उक्त महलको संरक्षण र पर्यटकीय विकास कार्यमा ०५५ सालपछि मात्र सरकार र स्थानीयको ध्यानाकर्षण भएको हो । राणाशासनको अन्त्यपछि उपेक्षाले खण्डहर बनेको थियो । स्थानीय, पर्यटन मन्त्रालय र पुरातत्व विभागको सहकार्यमा जिर्णोद्धार भइरहेको छ ।

महल पश्चिम नेपालका जनताले इँटा बनाउने, पर्खाल लगाउने र जंगलबाट काठ ओसार्ने एवं कुद्ने जस्ता श्रमदान गरी निर्माण गरेका थियो । चुन, सुर्खी (इँटाको धुलो) आदि विशेष सामग्रीबाट बनाइएको इँटा र अग्राखको काठ निकै बलियो भएको एवं विशेष वास्तुकलाको प्रयोग भएकाले तीन तले यो महल अहिले पनि उत्तिकै बलियो र मनमोहक छ । महलमा प्रयोग भएको इँटामा खड्गशमशेर लेखिएको छ । बढी काठको प्रयोग भएकाले सुन्दर देखिन्छ ।

उक्त महल अवलोकन गर्न वार्षिक सरदर १ हजार ५ सय आन्तरिक र पाँच सयजति विदेशी पर्यटक आउने गरेको बताइन्छ । पाल्पाको मनमोहक दृश्य हेर्न आउने प्रायः पर्यटकले रानीमहलको समेत अवलोकन गर्ने गरेका छन् । (बिबिसी)

प्रतिक्रिया