मत-विमत

तिज सन्देशमूलक चाड

मीना बुढाथोकी २०७५ भदौ २७ गते ९:२९ मा प्रकाशित

हिन्दू महिलाहरूको महान् चाड हरितालिका तिजले महिलाको अधिकारलाई केही सुरक्षित गरेको छ । मनोरञ्जन मानव जीवनमा आवश्यकता हो । स्वस्थ जीवनका लागि मनोरञ्जन चाहिन्छ । तिजले महिलाको यही अधिकारलाई प्रतिबिम्ब गरेको छ ।

तिज सुरु हुन थालेसँगै महिलाहरूमा एक प्रकारको छुट्टै आनन्द र हर्षोल्लास देख्न सकिन्छ । तिजको वेलामा आफन्तलाई बोलाई घरमा अनेक थरीका मिठा–मिठा खाने कुराहरू खुवाउने र माया साटासाट गर्ने चलन छ । हरेक दुःख र पीडा बिर्सँदै दिदीबहिनीहरूले मिठा खाने कुरा खाने, नाच्ने र गाउने गर्छन् ।

तर, पछिल्लो समय तिजको मौलिकता हराउँदै गएको छ । तिजको मौकामा साथी र आफन्तसँग बसेर दर खाने नाममा महिला दिदीबहिनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देख्न सकिन्छ । खाली गरगहनाको प्रदर्शन र कुनै काम नगरी नाचगानको सुरुआत हुन थाल्यो भन्ने पुरुष दाजुभाइहरूको कटाक्ष पनि सुन्ने गरिन्छ ।

अहिले पनि तिजको बारेमा सामाजिक सञ्जालहरूमा विभिन्न खालका बहसहरू देख्न र पढ्न पाइन्छ । कतिले लेट पोस्ट भन्दै तिजको दर खाएका तस्बिरहरू पोस्ट गरेको देखिन्छ । कतिले तिजका लागि गरिएका भड्किला तयारीहरू फेसबुकका वालभरि देखिन्छन् ।

दर खाने कुराको भन्दा दर खाँदा बिरामी पर्न थालेका घटनाहरू सामाजिक सञ्जालभरि छताछुल्ल छन् । तिजलाई भड्किलो बनाउन कलाकार मात्रै होइन सञ्चारमाध्यम पनि आरोप मुक्त छैनन् । असार लाग्नै पाएको हुँदैन ताइँ न तुर्इंका तिजका गीत बजाएर तिजलाई भड्किलो बनाउने प्रेरित गरेको आरोप पनि सञ्चारमाध्यमलाई छ ।

तिज आउनै लाग्दा घरधन्दा गरी बसेका महिलाहरूलाई कहिले माइत जाम्ला भन्ने हुन्छ । तर, सहरिया महिलाहरूलाई यस्तो सोच्ने कुराको फुर्सद छैन । साथीसंगीको अनुरोधमा सानो कुरामा पनि पार्टी खाने र खुवाउने प्रचलन बढेको पाइन्छ । तिजको महिना सुरु हुने दिनदेखि दिनहँु दर खाने र नाचगान गर्ने परिपाटीको विकास हाम्रो संस्कृतिमा भित्रिँदै गएको छ ।

दिनदिनै फरक पहिरनमा गरगहना प्रदर्शन गर्ने र पछिल्लो समयमा महिलाहरूले सँगै बसेर नाचगान गर्ने र मिठो मसिनो खाने कुरा पनि पहिलेजस्तो रहेन । बुढापाका आमाहरू भन्नु हुन्छ । अहिले महिना सुरु नहुँदै साथीहरू मिलेर दर खाने चलन बढेको छ । हाम्रो पालामा त यस्तो थिएन् ।

तिजको अघिल्लो दिन माइतीमा गएर आमाले पकाको पुवा, काँक्रा, आलु र करेला आदिको अचार, सेलरोटीजस्ता थरीथरीका खानेकुरा खाने र चेलीबेटीलाई खुवाउने चलन थियो । तर, अहिले साथीसंगी बसेर हामी बुढापाकालाई घरमा एक्लै छाडेर बाहिरतिर दर खाने जमाना आयो । चाडपर्व आउँदा घर नै सुनसान हुने बरू चाडपर्व नै किन आउँछ होला भन्ने लाग्छ ।

उहिले त दर कहिले खान पाउँला भनेर दिन गनेर बस्नु पथ्र्याे । तर, अहिले यस्तो छैन । छोरी कहिले आउली भन्दै बाटो कुरेर बस्ने गर्छौं तर यस पालिको तिजमा फुर्सद छैन भन्दै माइतीमा आउन पनि मन गर्देनन् । बरू साथीसंगीसँग एक महिना अघिदेखि दर खान समय हुने माइती आउने फुर्सद छैनभन्दा साहै्र पिर लाग्छ ।

दर खाने दिन
महिलाहरूको महान पर्व तिजभन्दा अघिल्लो दिनलाई दर खाने दिन भनिन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहिताहरूले योग्य पतिको माग गर्दै तिजको दिन निराहार व्रत बस्ने उद्देश्यले अघिल्लो दिन मिठामिठा खानेकुरा खाने गर्दछन् । घरघरमा खासगरी दुग्धजन्य परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासुबाहेक चोखो चिज खाएर भोलिपल्ट निराहार व्रत बस्ने गर्दछन् ।

दरमा खिर, पुवा, सेलरोटी अचार खाने गरिन्छ । हुन त ठाउँअनुसार दरखाने परिकारहरू फरकफरक छन् । त्यस्तै, आधुनिकतासँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ । यस दिन चेलिबेटी घरमा बोलाएर दर खुवाउने गरिन्छ ।

माइतीघर वा आफन्त कहाँ तथा आफ्नै घरमा खिर, हलुवा, अचार, घिउ, दही, दूध, मिठाई, फलफूललगायतका मिठा परिकारलाई दरको रूपमा खाने गर्दछन् । दर खाने समय र स्थान ठाउँअनुसार फरकफरक रहेको छ । कतै साँझमा अन्य चिज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

हाम्रो गाउँघरमा पनि पहिले खाना खाएर सबैचेली मिलेर नाचगान गर्ने दर पकाउने र मध्यरातमा सबैजना मिलेर दर खाने चलन छ । कसैले छुट्टाछुट्टै पनि खान्छन तर अधिकांशले सामूहिक रूपमा दिदीबहिनी मिलेर दर खान्छन् । दर खाएको भोलिपल्ट व्रत बस्ने भन्दै त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन रहेकाले दर खाने गरिन्छ ।

तिजको व्रत किन ?
हिमालय पर्वतकी पुत्री पार्वतीले आफूले महादेवलाई पति पाऊँ भनी शिव भगवान्को पूजाआराधना गरी निराहार व्रत बसेको र भगवान् शिवलाई पतिको रूपमा पाएको धार्मिक आस्था रही आएको छ । त्यसैले, यो दिनमा हिन्दू नेपाली नारीहरू आफ्नो मनोकांक्षा पूरा हुने विश्वासले तिजको व्रत बस्ने गर्दछन् ।

खासगरी, अविवाहिता महिलाहरू आफूले योग्य वर पाऊँ भन्ने कामना राखेर तिजको व्रत बस्ने गर्छन् भने विवाहिता महिलाहरू आफ्नो पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तिजको व्रत बस्ने गर्छन् । हरेक वर्ष श्रावण शुक्ल तृतीयाको दिन अर्थात् भगवान् श्रीकृष्ण जन्मेको एघाराँै दिनलाई हरितालिका तिज भन्ने गरिन्छ ।

मैले थाहा पाउने वेला मनाइने तिज र अहिले मनाइने तिजमा धेरै फरक छ । मैले बुझ्ने हुँदाको तिजमा बिहे गरेर पराइ घरमा गएका छोरी चेलीहरू माइती घरमा आउने वर्षभरि घरको कामधन्दाले माइतीको आँगनमा पुग्न नपाएका छोरीहरू दर खाएर रमाइलो गरी, दुःख पिर र खुसी पनि गीतमार्फत पोखेर रमाइलो गर्ने गर्थे ।

पहिले माइतीमा जम्मा भई खासगरी आमाले माया गरी पकाएका परिकारहरू मिठो मानेर दर खानलाई पनि तिज पर्व कहिले आउला भनेर कुर्नुपथ्र्यो । तर, अहिले त्यस्तो छैन । आमाले पकाएको खाने कुराको त्यति महत्व रहेको पाइँदैन । अहिले साथीसंगी मिलेर घरबाहिरतिर गएर दर खाने प्रचलन बढेको छ । जुन कुरा मैले पटकपटक उल्लेखित गरेकी छु ।

तिजको दिनमा निराहार पानी पनि नपिएर व्रत बस्नुपर्छ भन्ने गलत धारणा हाम्रो समाजमा अझै पनि कायमै छ । मैले व्रत बसेको वेला फलफूल र दूध खाएको देख्दा अन्य दिदीबहिनीले यसरी पनि व्रत बस्छन् त भन्दै हाँसोमा उडाउनुहुन्छ । यसले भोक खटाउन सक्दिन त्यसैले खाई भन्दै गिज्याउँछन पनि तर मैले सधैँ उहाँहरूलाई अनुरोध गर्दा उहाँहरू खाएर पनि के व्रत बस्नु भन्छन् ।

वैज्ञानिक हिसाबले पनि हप्तामा एक दिन खाली पेट बस्नु राम्रो हुन्छ । तर, स्वास्थ्यको ख्यालै नगरी निराहार व्रत बसिएन भने मनोकामना पूरा हुँदैन भन्ने कुनै पनि धर्मशास्त्रमा लेखिएको पाइँदैन अनि किन आपैmँले नभएको कुराको पछाडि लाग्नु त त्यसैले व्रत बस्दा फलफूल र पानी खाँदा कुनै पापदोष लाग्ने हँुदैन ।

खासगरी, आजभोलि स्वदेशमा मात्रै होइन विभिन्न काम व्यवसाय विशेषले बाहिरिएका नेपालीहरूले विदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गर्छन् । यो क्रम विगतका वर्षमा भन्दा बाक्लिदै पनि गएको छ । सँगसँगै तिज पर्वको परिभाषा पनि फेरिएको छ । एकातिर महिनौँ अघिदेखि दर खुवाउने बहानामा देखावटी बढेको छ भने विभिन्न पाटी प्यालेसमा हुने नाचगान र दर खुवाउने बहानामा तिज खर्चालुसमेत बन्ने गरेको छ ।

तर, अब हामीले यस्तो विकृतिलाई हटाएर आफूमा सुन्दरभन्दा पनि शिक्षित बन्नसक्ने क्षमता बनाउने पर्वका रूपमा मनाउनु पर्छ । कति कुराहरू संस्कृतिको नाममा नकारात्मक छन् जुन पक्ष हामीले त्याग गर्न पनि सक्नुपर्छ ।

सकारात्मक कुराहरू र हाम्रा संस्कारहरू पछिल्लो पुस्तासम्मलाई जोगाई राख्नुपर्छ । हामीले नै सकेनौँ भने फेरि विकृति पनि हामीले नै सुरु गरेको ठहरिन्छ । यति धेरै महत्व बोकेको तिजलाई साँच्चिकै तिजजस्तै बनाआँै । भड्किलोभन्दा सन्देशमूलक तिज मनाऔँ । तिजको सबैलाई शुभकामना ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय