विशेष

तिज विशेष : के भन्छन् राजनीतिक महिला ?

सौर्य अनलाइन २०७५ भदौ २७ गते ९:५२ मा प्रकाशित

आज नेपाली महिलाहरूको महान धार्मिक पर्व हरितालिका तिज । धार्मिकका साथै आपसी सद्भाव र मनोरञ्जनको पर्व हो तिज । बिहे गरेर छुट्टिएका दिदीबहिनीको भेटघाट पनि हो तिज । त्यसैले तिज महिलाहरूका लागि धेरै दृष्टिले महत्वपूर्ण छ । परापूर्वकालमा हिमालय पुत्री पार्वतीले महादेव पति पाउनका लागि निराहार व्रत बसेकी थिइन् । यसैको प्रभावले उनले महादेवलाई पतिको रूपमा पाउन सफल भइन् । त्यसैलाई आधार मानेर अविवाहित युवती आफूले भनेको जस्तो पति पाइयोस् र विवाहिता महिला पति र पुत्रको सुस्वास्थ्य र दीर्घायुको कामना लिएर यो दिन निराहार व्रत बस्ने गर्दछन् । तर, अहिले पहिलाको जस्तो छैन । तिज अहिले आधुनिकताको नाममा छाडातन्त्र भित्रिएको छ । महिनौँ अघिदेखि दर खाने चलन चलेको छ । देखासिकी बढेको छ । उच्छृखलताले प्रश्रय पाएको छ । जे जस्तो भए पनि यो पर्व आपसी सद्भाव कायम राख्न पर्वको रुपमा लिइन्छ । यसै तिजको विषयमा विभिन्न क्षेत्रका महिलाहरूसँग गरिएको संवाद :

व्रत बस्दिनँ पूजा गर्दिनँ
पम्फा भुसाल, नेता नेकपा
मैले अहिलेसम्म तिजमा व्रत बसेको, पूजा गरेको र साडी लगाएको छैन । तर, तिज आफ्ना लागिभन्दा पनि आफू बसेको समाज र दिदीबहिनीका लागि भने मनाउँदै आएको छु ।

९० वर्ष काटेकी आमा हुनुहुन्छ । उहाँका कारण पनि दिदीबहिनी आउँछन् उनीहरूलाई दर खुवाउनु र एक जोर कपडा दिनु मेरो दायीत्व छ । आफू भने राजनीतिक कामले फुर्सद नहुने हुँदा उहाँहरूसँगै बसेर दर खान भ्याउँदिन ।

सोमबार सबै दिदीबहिनी दर खान आए, मेरो भने बिहानैदेखि पार्टी र संसद्को समितिको बैठकले फुर्सद भएन । उहाँहरू आएर खानु भयो र जानुभयो । तर, यो वर्षको तिज मलाई फरक लाग्यो, पहिलापहिला तिज हिन्दू नारीको भनिन्थ्यो तर, अहिले त्यस्तो रहेन तिज सबैको साझा पर्व भएछ ।

सांसद भएका कारण क्षेत्र र आफ्नो टोलछिमेकमा रहेका विभिन्न महिला समूह, महिला सहकारीले आयोजना गरेको कार्यक्रममा गएँ । ती समूहहरूमा विभिन्न धर्म मान्ने र आस्था राख्ने महिलाहरूको उपस्थिति थियो । कैयाँै स्थानमा त क्रिश्चियन महिलाहरू पनि सहभागी थिए । सबैले समान रूपमा मनाएको देख्दा रमाइलो लाग्यो । अब तिज सबैको भएछ ।

सहरमा एक घरका मानिसले अर्काे घरमा बस्नेलाई चिन्दैनन् । एक्लै तिज मनाउने कुरा पनि भएन । सबैका आफन्त सहरमा हुँदैनन् । त्यसैले तिजमा टोलछिमेकको महिला मिलेर मनाउँदा एकअर्कामा सम्बन्ध राम्रो हुने भावनात्मक एकता हुने, सद्भाव, परिचय हुने देखेँ । यो राम्रो पक्ष हो । आपसमा पैसा उठाएर पिकनिकजस्तै दर खाँदा सहरमा आफन्त नहुनेका लागि एक्लो पन हुँदैन रहेछ ।

मेरो लागि यो वर्षको तिज अत्यन्तै महत्वपूर्ण रह्यो । तिजको बहानामा धेरै महिलासँग भेटघाट, अन्तत्र्रिmया गरेँ । उहाँहरूको कुरा सुन्ने र आफ्ना कुरा सुनाउने अवसर पाएँ । मैले यो तिजलाई अत्यन्तै सुखद् अवसरका रूपमा लिएँ ।

नाचको सोखिन हुँ
पुष्पा भुसाल
नेता, नेपाली कांग्रेस
हरेक वर्ष तिजमा आफना चेलीबेटी बोलाएर दर खुवाउने गरेको छु, यो वर्ष पनि खुवाएँ । आफू पनि धेरै ठाउँमा दर खान गइयो । हिजोआज दर खाने भन्दै हुने गरेको कार्यक्रममा बढी व्यस्त भए । एकैदिन तीन ठाउँका कार्यक्रममा गएँ । मलाई तिज पर्व साह्रै मनपर्छ ।

तिज महिलाको धार्मिक पर्व हो । म यसलाई महिलाप्रति साम्मन गरिने पर्वका रूपमा लिन्छु । शिवको भक्त हुँ त्यसैले तिजको दिन व्रत बसेर नजिक रहेको शिवको मन्दिरमा दर्शन गर्न जान्छु । अरू दिदीबहिनीले नाचेको देख्दा रमाइलो लाग्छ । म पनि नाचको सोखिन हुँ । सानैदेखि नाच्न मनपर्छ, तर हिजो आज मोटाएकोले नाच्न अफ्ठ्यारो हुन्छ ।

किनमेललाई तिजमा त्यति महत्व दिन्नँ । तर, आवश्यकताअनुसार किन्छु । दिदीबहिनी र आफन्तलाई सौभाग्यको सामान दिने गरेको छु । मेरो हरेक साल हुने गर्छ । हिजो दर खानेदिन आमाले पकाएको दर खाएँ दर खानेदिन आमासँगै बस्छु । तिजको दिन व्रत बस्ने गरेको छु । तर, मेरो व्रत निराहार हुँदैन । जुस खान्छु र अरूलाई पनि खान सल्लाह दिन्छु ।

तिजका नाममा हुने गरेको तडकभडक मलाई त्यति ठीक लाग्दैन । आफूसँग भएका र जुरेका चिजबाट पर्व मनाउनु पर्छ । गहना र महँगा कपडा लगाएर मात्रै तिज मानिन्छ भन्ने लाग्दैन । आफूले लगाएको सामानले अरूलाई हीनताबोध बनाउनु हुँदैन । सबैभन्दा ठूलो कुरा मनको शान्ति हो त्यसैमा खुसी हुनुपर्छ ।

दर खानै भ्याइनँ
हरिप्रभा खड्गी श्रेष्ठ
उपप्रमुख काठमाडौं महानगरपालिका
तिजमा घरपरिवारका साथै छोरीबेटी र साथीसँगीसँग मिली रमाइलो गर्दै मनाउने गरेको छु । यहाँ एक महिना अघिदेनि तिजका विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । उपप्रमुख भएपछि जताततैबाट बोलावट हुन्थ्यो । सकेसम्म सबैठाउँमा सहभागी हुन पुग्थेँ । यसरी सहभागी हुँदा सबै दिदीबहिनीहरू खुसी हुन्थे । मलाई पनि रमाइलो हुन्थ्यो । यस्ता कार्यक्रममा महिलाको पक्षमा आवाज उठाउने काम गरियो ।

दर खाने कार्यक्रममा धेरै ठाउँमा गइयो तर दर खाने मेसो भने मिलेन । कतिपय ठाउँमा भने मागरे पनि खाएँ । कार्यक्रममा सहभागी हुने शुभकामना दिने काम मात्र भयो । धेरै ठाउँमा पुग्नुपर्ने भएकाले धेरै बेर बस्ने फुर्सद पनि भएन ।

कति दिन त ५÷६ वटा कार्यक्रममा सहभागी भएँ । दिदीबहिनीको निम्तोलाई स्वीकार गर्दैं गएँ । तिजको रमाइलो आनन्दपूर्वक लिएँ । आफन्त र साथीभाइलाई घरमा बोलाएर दर खुवाउने इच्छा भएर पनि कार्यव्यवस्थाले गर्दा खुवाइन पाइनँ ।

हामी सानो छँदा हजुरआमा र आमाले मनाउने जस्तो तिज अब हामीले मनाउन सक्दैनौँ । अब तिजको व्रत बस्ने परम्परालाई परिमार्जन गर्नुपर्छ भन्ने मेरो मान्यता छ । विगतमा हजुरआमाहरूले विषादीमुक्त स्वस्थ्यकर तरकारी, फलपूmल र खाना खानु हुन्थ्यो ।

तिजको दिन पानी नखाँदा पनि उहाँहरूलाई केही फरक पर्दैन थियो । तर, अहिले वातावरण एकदमै खराब छ । खराब वातावरणमा गुज्रिएका अन्नपानीले अहिलेका मान्छेको स्वास्थ्य कमजोर छ । व्रत बस्दा सफा पानी र ताजा फलपूmल खानुपर्छ भन्ने मेरो सुझाव छ ।

म आफूलाई सौभाग्यशाली महिला ठान्छु । त्यसैले सौभाग्यका सामग्री सधैँ प्रयोग गर्छु र गरिनै रहेको छु । कामको सिलसिलामा व्यस्त रहँदा यसपटक नयाँ सामान किन्न भ्याइनँ । तिजमा नयाँ सामान किन्नै पर्छ र लगाउनु नै पर्छ भन्ने छैन । समय हुने महिला दिदीबहिनीले आफ्नो आर्थिक अवस्था हेरी किनेर लगाउनु रामो हो ।

स्वास्थ्यको कारण भोको बस्न सक्दिनँ, त्यसैले निराहार व्रत बस्दिनँ । स्वास्थ्य ठीक हुँदा सोमबार र मंगलबारको व्रत बस्ने गर्थें । अहिले चोखो खाएर बस्छु ।

मैले गहनालाई कहिल्यै मान्यता दिने गरेको छैन । महिलालाई सौन्दर्यको प्रतीक मानिन्छ । त्यसैले हामीले सौन्दर्यको ख्याल गर्नुपर्छ । तर, तिज वा अन्य चाडवाडमा पनि धेरै गहना लगाउनु पर्छ भन्ने मलाई लाग्दैन ।

आपूmसँग जे छ त्यसैलाई लगाएर सन्तुष्ट हुनुपर्छ । धेरै गहना लगाएर हिँडदा जोखिम हुन सक्छ । महिला नै समाजका गहना हुन् । गहनाको रूपमा क्रिस्टल र कागजका गहना लगाउँदा पनि हुन्छ ।

महिनादिन अघिदेखि दर खाने चलन हटाउनु पर्छ । हामी गरिब राष्ट्रको जनता हौँ । आफ्नो राष्ट्र र घरको अर्थतन्त्रमा ख्याल पु¥याएर चाडवाड मनाउनुपर्छ । केही वर्ष पहिले तिजको दर एक वा दुई दिन खाने गरिन्थ्यो । तर, हाल लामोसमय खाने चलन छ, त्यसलाई हटाउनुपर्छ ।

पति वा परिवारले गच्छेअनुसार दिएको सामानलाई मायाको रूपमा लिनुपर्छ । दबाबको रूपमा माग्ने काम गर्नु हुँदैन । यसले परिवारमा सद्भाव बिग्रन सक्छ । जितलाई प्रतिस्पर्धाका रूपमा मान्नु हुँदैन ।
नेपाली संस्कार र संस्कृति जोगाउनुपर्छ । अन्य देशमा नभएको तर नेपाली महिलाले मात्र मनाउने पर्व हो तिज । भारतमा महिलाले कर्वाचौथ

पर्व मनाउँछन् भने नेपालमा मात्र तिज मनाउने गरिन्छ । महिनाँै दिनसम्म तिज मनाएर समाजमा विकृति फैलाउने काम गर्नु हुँदैन । बरु सरकारसँग एक÷दुई दिन तिजका लागि बिदा माग्दा ठीक हुन्छ । अरूले नाचेको देख्दा रमाइलो लाग्छ । तर, मलाई भने नाच्न आउँदैन । तिजको दिन भगवान् शिवको मन्दिरमा गएर हात भने हल्लाउने गर्छु ।

ब्रतले कसैको आयू बड्दैन
रमादेवी राई
उपप्रमुख
बूढानीलकण्ठ नगरपालिका
तिज महिलाहरूको धार्मिक पर्व हो । यो परापूर्वकालदेखि मान्दै आएको संस्कृति पनि हो, यसलाई मान्नुपर्छ । तिज मनाउने बहानामा समाजमा अनावश्यक तडकभडक र खर्च गर्ने शैलीलाई बन्द गर्नुपर्छ ।

उपमेयर भएका कारण एकैदिन तीन÷चार वटासम्म कार्यक्रममा गएँ । यो वर्षको तिजमा भ्याइनभ्याइ नै भयो । सबैतिरबाट बोलावट आउँछ कता जानु कता नजानु । जनप्रतिनिधि भएका कारण सबैको मन राख्नै प¥यो । त्यति गर्दा पनि कति ठाउँमा जान सकिएन ।

तिजमा आफन्त वा साथीभाइ बोलाएर दर खाने रहर भनेर लागेन । मैले तिजका लागि भनेर समान किनिनँ । तर, हामीले मनाउँदै आएको धर्म र परम्परालाई भने छाड्नु हुँदैन । आफ्नो हैसियताअनुसार पर्व मनाउनु पर्छ । देखासिखी तडकभडक गर्नु हुँदैन । यसको म सधैँ विरोध गर्छु ।

सानो छँदा तिजमा व्रत बसे पनि धेरै वर्ष भयो व्रत बसेको छैन । व्रत बस्दा स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । परम्परा संस्कृति जोगाउनुपर्छ । तर, तिजमा व्रत बसेर पतिको आयु बढ्ने वा चिताएको पति पाइन्छ भन्ने कुरामा मलाई विश्वास लाग्दैन । कर्म र परिश्रममा विश्वास गर्नुपर्छ, व्रतले कसैको आयु बढ्दैन ।

रेस्टुरेन्टमा दर खायौँ
शिलु शर्मा
नेपाली सांकेतिक दोभासे
नेपाल टेलिभिजन र एजिन्युज टेलिभिजनमा लामो समयदेखि सांकेतिक भाषा दोभासेको काम गर्दै आएको छु । यो वर्ष तिज मनाउने खासै विशेष रहेन । तिजको लागि खासै विशेष योजना थिएन । अफिसमा हुने अरू संस्थामा हुने कतिपय कार्यक्रमा समय अभावका कारण जान सकिएन । यो वर्ष म दर खान तीन÷चार ठाउँमा गएँ । साथिभाइ इष्टमित्र मिली एउटा रेस्टुरेन्टमा गएर तिजको दर खायौँ ।

तिजको लागि भनेर चुरापोते र एउटा रातो साडी किनेको छु । व्रत बस्छु । तर, निराहार भने बस्दिनँ, दिनभरी खालीपेट बस्न सक्दिनँ । हलुकाफुल्का खाने गरेको छु । भगवान्को आराधनामा खास महत्व दिन्छु । तर, आफ्नो शरीरलाई दुःख दिएर खालीपेट दिनभरी बस्नुपर्छ भन्ने मलाई लाग्दैन ।

तिजको व्रत बस्दा पति र पुत्र दीघार्यु हुन्छन् भन्ने सुनेको छु । तर, म पति र पुत्रको लागि मात्र नभएर मेरो छोरीको हितको लागि पनि व्रत बस्ने गरेको छु । आफ्नो अवस्था र रुचिअनुसार नेपाली महिलालाई तिज मनाउन आग्रह गर्छु ।

पहिलेको तुलनामा तिजमा विकृति बढ्यो भन्ने छ । त्यो केही हदसम्म सत्य पनि हो । पहिला धेरैजसो महिलाहरू घरमै बस्थे । साथीभाइको मा जाने चलन थिएन । अहिलेको आधुनिक युगमा महिलाहरू कार्यालय जाने र विभिन्न क्षेत्रमा काम गर्ने भएकाले साथीसाथी मिली जमघट गर्ने यो राम्रो अवसर पनि हो । यसलाई कतिले विकृति भन्छन् । तर, म मान्दिनँ । पुरुषहरू साथीसँग रेस्टुरेन्ट र पिकनिक जाँदा विकृति नहुने महिलाले वर्षको एकपटक साथीभाइ बोलाएर रमाइलो गर्दा त्यसलाई विकृति मान्न मिल्दैन ।

मैले संस्थामा रहेका सुस्तश्रवण भएका व्यक्तिलाई तिजको कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाएँ । धुन बजेको आधारमा सुस्तश्रवण भएका महिलाले नाचगान गर्ने र मेहेन्दी लगाउने गर्छन्, एकआपसमा उपहार साटासाट गर्छन् ।

म प्रायःजसो गहना प्रयोग गर्दिनँ तिजमा पनि झपक्क गहना लगाउनुपर्छ भन्ने छैन । आफ्नो पारिवारिक अवस्थालाई हेरी गहना र कपडा प्रगोग गर्नुपर्छ । एकदिनको पर्व मान्दा ऋणको भारी बोक्ने अवस्था आउला भन्नेमा ख्याल गर्नुपर्छ ।
प्रस्तुतिः चमिना भट्टराई/सुभानु आचार्य

प्रतिक्रिया