खोजखबर

खर्कको अभावमा चौँरीपालन घट्दो

नवीन लामिछाने २०७५ भदौ २८ गते १०:१२ मा प्रकाशित

मनाङमा पुख्र्यौली पेसाका रूपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेसा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो ।

८० वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हँुदैनथ्यो । उनले १५/२० वर्ष अगाडिसम्म गर्मीमा समेत भांग्रा भोटोसँगै चार÷पाँच वटा बाक्ला कपडा लगाउँथे । तर, अहिले साधारण ज्याकेटको भरमा पनि जाडो कटाउँछन् । पहिला मनाङको धारापानी गाउँदेखि नै हिउँ पथ्र्यो । अहिले यो सर्दै सर्दै माथि मनाङ पुगिसक्यो ।

गुरुङका अनुसार पहिले टिलपिल टिलपिल हिउँका दानेदार रेखाले हिमताल मनमोहक देखिन्थ्यो । अहिले बगरमा परिणत भएर उदांगो देखिन्छन् । चौँरीखर्कभरि सेता हिउँका थुप्रा महिनाँै दिनसम्म बिलाउँदैनन्थो तर, अहिले हिउँ पर्दापर्दै बिलाएर जान्छ ।

पहिला पहिला एकै व्यक्तिको तीन÷चार सय चौँरी हुन्थे । चौँरीखर्क पूरै चौँरीले भरिने गथ्र्यो । अहिले चौँरीखर्क बगर भएका छन् । उनकै पनि पहिले दुई सयजति चौँरी थियो । अहिले घटेर ७० वटामा खुम्चिएको छ । गाउँभरिका सबैले चौँरी पाल्ने गर्थे ।

खर्कभरि एक हजारभन्दा बढी चौँरी चर्थे । चौँरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसारमाथिका हिमाली काख हँुदै तिलिचो आधार शिविर र मुस्ताङ नजिकका खर्कमा पु¥याउँदा बर्खा सकिन्थ्यो । हिउँद लागेपछि बिस्तारै बिस्तारै तलतिर झर्ने गरेको अनुभव उनी सुनाउँछन् ।

यहाँका अर्का चौँरीपालक ६५ वर्षीय तप्के गुरुङको अनुभव पनि उस्तै छ । उनले विगत ४० वर्षदेखि नै चौँरी पाल्दै आएका छन् । उनका अनुसार हिमताल गाउँबाटै सुरु हुन्थे तर, अहिले हिमालको टुप्पोमै हिउँ हुँदैन । यसले पनि जलवायु परिवर्तन भएको पुष्टि हुन्छ । यसरी वातावरण खल्बलिएर चौँरीपालन पेसा नै धरापमा परेको उनको अनुभव छ ।

हिमालको काखमा चौँरी गोठ राखेर आफ्नो आधाजीवन चौँरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथाव्यथा उस्तै छ । सानै उमेरदेखि चौँरी गोठमा बसेका फुन्जोसँग नारका सबै खर्कको जानकारी छ । काला लेकदेखि ४ हजार ६ सय मिटर उचाइमा रहेको हिमताल र फुको क्याङदेखि तिब्बतको सिमानासम्मको खर्कमा बस्दाको लामो अनुभव उनीसँग छ ।

हिउँमा गडेका चौँरी उतार्नदेखि हिउँ चितुवाबाट घाइते चौँरीको स्याहारसुसारसम्मको अनुभव उनले संगालेका छन् । गोठमा बसेर चौँरीको दूध, घ्यू, चिज, छुर्पी, नौनीजस्ता परिकार बनाएर आफ्नो खाँचो टार्दै आएका छन् । यहाँका बासिन्दा चौँरीको ऊनबाट फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामान बनाएर बेच्छन् ।

अग्लाअग्ला हिमालका काखमा रहेका खर्कमा चौँरी राख्ने, जडीबुटी जम्मा गर्ने र हिउँदमा खर्कहरू तल सर्दा जडीबुटी बोकेर झर्ने मनाङवासीको पुरानै चलन हो । लेकमा रहँदाबस्दा जम्मा पारेका जडीबुटी जाडो छल्न बाहिरी जिल्ला विशेष गरी लमजुङ, तनहुँ, कास्की र काठमाडौं जाँदा बेच्ने वा चामलसँग साट्ने र गर्मी लागेपछि गाउँ फर्कने चलन रहेको मनाङका पुराना चौँरीपालक खम्बा गुरुङ सुनाउँछन् ।

विशेषतः चौँरीखर्क चार हजार मिटरभन्दा माथि रहने हँुदा चौँरीलाई त्यहाँको हावापानी उपयुक्त हुने अर्का चौँरीपालक सुरेश थकाली बताउँछन् । उच्च हिमाली भेगमा रमाउने यो जंगली जनावरलाई स्थानीय बासिन्दाले घरपालुवाजस्तै बनाएकामा उनको चित्त बुझेको छैन ।
हिजोआज जलवायु परिवर्तनसँगै बेमौसममा हिमपात हुने र हिमपहिरोले खर्कहरू पुरिने समस्याले गर्दा चौँरी पाल्न असहज भएको स्थानीयवासी खम्बा गुरुङ बताउँछन् ।

आफू १० वर्षको उमेरदेखि चौँरी गोठमा बस्दै आएको र अहिलेसम्म पनि चौँरी गोठमै रमाइरहेको उनको भनाइ छ । उनीसँग चौँरी र खर्कको २० वर्ष लामो अनुभव छ । उनका अनुसार चौँरी खर्कमा जाँदा आउँदा वरिपरि घोरल, मृग, बँदेल, नाउरजस्ता हिमाली जंगली जनावरलाई हिउँचितुवाले लखेटिरहेका हुन्थे । आजभोलि न मृग देखिन्छ, न हिउँचितुवा ।

जताततै बगर छन् । नाफका मिङमार लामालाई अहिले सबै चिजले ठाउँ परिवर्तन गरेजस्तो लाग्छ । हिमालको काखबाट बग्ने पानीका मुहान सुकेको छ । जडीबुटी पहिलेको जस्तो छ्यापछ्याप्ती पाइँदैन । चौँरीका बथान र पाखैभरि गोठाला पछिपछि लागेको देखिँदैन ।

बर्खा याममा चौँरी लिएर खर्कहरू सार्दै तिब्बतको सीमासम्म पुग्थे गोठालाहरू । जब हिउँद याम सुरु भएर खर्कमा हिमपात हुन थाल्छ खर्क गाउँको वरिपरि सारिन्थे । निस्याङ–३ का याङदुङ गुरुङको पनि उस्तै अनुभव रहेको छ ।

उनका अनुसार त्यो वेला गोठाला धेरै भएर तीर हान्ने घोडा दौड गरेर रमाइलो गरिन्थ्यो । अहिलेको जस्तो सधँै हिमपात हुँदैनथ्योे । खर्कमा प्रशस्त घाँस पलाउँथे तर, अहिले हिमपहिरोले सबै खर्कहरू पुरिएका छन् । घाँस उम्रन छाडेको छ । हिमपातले कठ्यांग्रिएर चौँरी मर्थे ।

पहिले अधिकाँश मनाङवासी चौँरी पाल्थे । अहिले खर्कको अभाव भएर सीमित चौँरीपालकले मात्रै यस पेसालाई निरन्तरता दिइआएका छन् । मनाङका प्रत्येक गाउँमा २० देखि २५ घरले चौँरी पाल्दै आएकामा अहिले घटेर चार÷पाँच घरमा सीमित भएको जिल्ला पशु स्वास्थ्य सेवा कार्यालय चामेको तथ्यांकले देखाउँछ ।

आफ्नो पेसालाई बचाइराख्न कतिपयले व्यावसायिक फार्म दर्ता गरी मनाङका याक खर्क, आइसलेक, नाम्केलेक, डाँफे लेक, क्याङ, भीमताङ लगायतका खर्कमा चौँरीपालन गर्दै आएको कार्यालयले जनाएको छ ।

वातावरणविद् डा. भोला विडुवाका अनुसार बेमौसममा हिमपात हुनु, बढी गर्मीका करण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा रोगको संक्रमण देखिनु जलवायु परिवर्तनका संकेत हुन् ।

कार्यालयका अनुसार यस जिल्लामा अहिले ३ हजार २ सय ७२ याक र चौँरी रहेका छन् । यहाँका १५ वटा चौँरी फार्म घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । त्यस्तै, विनादर्ताका १५ वटा जाति चौँरी फार्म रहेको बताइन्छ । दिनानुदिन चौँरीको संख्या घट्नुका प्रमुख कारण खर्ककै अभाव भएको पशु स्वास्थ्य सेवा कार्यालयका पशु चिकित्सक डा. पौडेलले बताए ।

चौँरीपालनमा आइपरेको यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर अनुसन्धान भइरहेको वरिष्ठ पशु विकास अधिकृत डा. सूर्यप्रसाद पौडेलले बताए । चरनको अभाव भएर चौँरीमा कुपोषण, निमोनियजस्ता रोग देखापरेको छ ।

चौँरीमा देखिएका रोगको निदानका कार्यालयले काम गरिरहेको डा. पौडेलको भनाइ छ । चौँरी खर्कको विकल्प के हुन सक्छ भन्ने बारेमा पनि अनुसन्धान भएको उनले बताए ।

पछिल्लो समयमा आएर केही चौँरीपालकले पशु बिमा गरेका छन् । मनाङ ओडार गाउँका युवा चौँरीपालक सुरेश थकालीलाई अहिलेको अवस्थाले चिन्तित बनाएको रहेछ । उनले परीक्षणका लागि २ हजार २ सय मिटरमा चौँरीगोठ राखे । आफ्नो प्रयास सफल भएको उनको दाबी छ । सुरुसुरुमा कठिन भए अहिले सहज भएको उनको अनुभव छ ।

थकालीका अनुसार गाउँ क्षेत्रका खाली पाटनमा चौँरीखर्क बनाउन सकिन्छ । दानाको व्यवस्था गरेर घरमै गाईवस्तुझैँ चौँरी पाल्न सकिने उनको भनाइ छ । जिल्ला वन कार्यालय मनाङका अनुसार कसैको पनि निजी खर्क छैन । सबैले सामुदायिक खर्कमा चौँरी राख्ने गरेका छन् ।
सामुदायिक खर्कले ३७ हजार ७ सय ६० हेक्टर जमिन ओगटेको अनुमान छ ।

पछिल्लो समय हिमपहिरोको कारण अधिकांश खर्क बगर बनेका छन् । प्रतिकूल परिस्थितिमा पनि मनाङवासीमा चौँरी मोह घटेको छैन । उनीहरू वैकल्पिक चौँरीखर्कको आशामा छन् ।

चौँरीखर्क वरिपरि तारजाली र सोलार प्लेट राखिदिए हिमपहिरो र जंगली जनावरबाट धेरै हदसम्म सुरक्षा मिल्ने उनीहरूको विश्वास छ । यहाँका मानिसको मुख्य पेसा नै चौँरीपालन भएकाले यस पेसालाई निरन्तरता दिनुपर्ने चौँरीपालक कान्छा गुरुङ बताउँछन् ।

मनाङवासीका लागि पशुपालन, जडीबुटी र पर्यटन नै जीविकोपार्जनका प्रमुख आधार हुन् तर, पछिल्लो समय चौँरीपालक किसानलाई आफ्नो पुख्र्यौली पेसा थेग्न कठिन भइरहेको छ । पशुपालन व्यवसायलाई सरकारी निकाय तथा निजी र गैरसरकारी संस्थाको सहकार्यमा आधुनिकीकरण र व्यावसायीकरण गर्न जरुरी भइसकेको छ ।

प्रतिक्रिया