खोजखबर

राजधानीमै लोकबाजा संग्रहालय

सौर्य अनलाइन २०७५ भदौ २९ गते ७:४१ मा प्रकाशित

नेपालमा धेरै जातजाति र भाषा भएकाले पनि उनीहरूका आफ्ना मौलिक बाजाहरू छन् । विभिन्न जाति र समुदायका चाडवाडमा बजाइने कैयौँ पुराना लोकबाजाहरू लोप हुँदै गएका छन् । कतिलाई त्यो बाजा हो वा होइन छुट्याउन पनि कठिन हुन्छ । विदेशी संस्कृतिको प्रभावले पनि नेपालीपन झल्किने बाजाहरूप्रति नयाँ पुस्ताका रोजाइँ कम हुने गरेको छ । यही कारण पनि नेपाली लोकबाजाहरू लोप हुने अवस्थामाा पुगेका छन्

अहिलेको पुस्तालाई नेपाली लोकबाजा के हो भने सहजै जवाफ पाउन गाह्रो हुन्छ । केहीले बताई हाले भने मादल, हार्मोनियम, बाँसुरी वा सारंगीसम्म भन्न सक्लान् तर एकै स्थानमा नेपाली लोकबाजा ६ सयभन्दा बढी पाउन सकिन्छभन्दा अनौठो लाग्नसक्छ ।

नेपाली लोकबाजाका बारेमा जान्न चाहनेहरूका लागि धेरै टाढा जानु पर्दैन । केन्द्रीय राजधानीको मुटु त्रिपुरेश्वरमा नै छ नेपाली लोकबाजा संग्रहालय । युवा पुस्ताका लागि यो संग्रहालय अझ रोचक, सूचनामूलक र अध्ययनको विषय हुनसक्छ । एउटै थलोमा व्यक्तिगत पहलमा बनाइएको संग्रहालय हेर्दा त्यो पहल सामान्य मान्न सकिँदैन ।

त्रिपुरेश्वर चोकैमा रहेको एउटा पुरानो घरलाई बाहिरबाट हेर्दा संग्रहालय होला भनेर पत्याउनै गाह्रो हुनसक्छ । बाहिरबाट हेर्दा भवनको अवस्था र भित्र संग्रहालयमा रहेको बाजाको अवस्था हेर्दा उस्तैउस्तै लाग्छ । दुवै पुराना र मर्मत गरिएका भवन छन् । बाँधेर वा अडाएर राखिएका । नेपाली उखानमा ‘छोला कि रोला’ भन्नेजस्तै लाग्छ । म्युजियम भनेपछि मान्छेको भिडभाड, लाइन लगेर टिकट लिने वा भित्रको दृश्य त्यस्तै, होला भन्ने हुनसक्छ ।

तर, पूरै सुनसान भवन यदाकदा खुल्ने, ढोकामा ताला लगाएर सूचना टाँस गरिएको, ‘सम्पर्क गर्नु परे यो नम्बरमा फोन गर्नुहोला’ भनी, चारैतिर काठको टेकोले अडाइएको पुरानो दुईतले घरको पहिलो तलामा उक्लिँदा लाग्छ कुनै म्युजियमा प्रवेश गरे झैँ । त्रिपुरेश्वरमा रहेको गुठी स्थानको भवन भाडामा लिएर लोकबाजा विज्ञ रामप्रसाद कँडेलले एउटा शंखबाट २३ वर्ष अघि सुरु गरेको संग्रहालयमा पुराना नयाँ गरी ६ सय ५० प्रकारका बाजा एकै ठाउँमा हेर्न पाइन्छ ।

काम नलाग्ने भनेर फ्याँकिएका र थन्किएका धेरै बाजा ल्याएर मर्मत गरी राखेको सुनाए उनले ‘केही किनेँ, केही दाताले सहयोग गरे’ । मलाई यसमा रुचि थियो आफूजस्तै रुचि भएका साथीको साथ र सहयोगमा चलेको छ ।’

०७२ सालको भूकम्पले यो संग्रहालयलाई पनि छोडेन । भूकम्पले भत्काएको भवनलाई चारैतिरबाट काठको टेको लगाइएको छ । कति वेलासम्म टेकोले धान्ने हो भन्न सकिँदैन । त्यही भूकम्पका कारण संग्रहालयले ६५ वटा बाजा गुमाउनु परेको संस्थापक रामप्रसाद कँडेलले बताए । भित्र भने अधिकांश बाजा सिसामा सजाएर राखिएको छ ।

संग्रहालयको आम्दानीको स्रोत भनेको नेपाली विद्यार्थी र विदेशी पाहुनाले अवलोकन गरे वापतको शुल्क हो । व्यक्तिगत पहलमा स्थापना भएको संग्रहालय जोगाउने निरन्तरताका लागि राज्यलाई बुझाउन चाहेको कँडेलले बताए । यस्ता संग्रहालयलाई राज्यले सुरक्षित गरी दिए हुन्थ्यो भन्ने उनको चाहना छ । तर, त्यसमा अहिलेसम्म राज्यले पहल गरेजस्तो देखिँदैन । आश्वासन त उनले पनि धेरै पाए । तर, ती सबै आश्वासनमा मात्रै सीमित छ । त्यो व्यवहारमा भए संग्रहालय अझै राम्रो र व्यवस्थित हुन्थ्यो कि भन्ने उनको आशा छ ।

युवापुस्ता मात्रै होइन् पाका उमेर भएकाले पनि नामै नसुनेका र कहिल्यै नदेखेका लोकबाजा देख्न पाइन्छ त्यहाँ । सामान्य रूपमा हेर्दा बाजा हो वा अरू नै केही छुट्याउनै नसक्ने बाजाहरू पनि संग्रहित छन् । व्यक्ति वा कुनै संस्थाको पहिलमा यति धेरै पुराना लोकबाजा संकलन गर्ने आँट गर्ने उनीहरूको प्रयासलाई मान्नैपर्छ । सहरमा बस्ने नयाँ पुस्ताका लागि पुराना लोकबाजा अनौठो लाग्न सक्छ ।

नयाँ र आधुनिक बाजाका अघि ती पुराना बाजा हेर्न र त्यसको धुन सुन्न सहज छैन । जहाँ ६ सय ५० प्रकारका लोकबाजा सजाएर राखिएको छ । उनले आफूहरूले कैयौँ बाजाको धुनसमेत बनाएर राखेको बताए । ‘कम्प्युटरमा समस्या आयो नत्र म तपाईंहरूलाई कैयौँ बाजाका धुन कस्ता हुन्छन् बजाएर सुनाउँथेँ, आज त्यो मौका नमिले पनि कुनै दिन मौका परेमा सुनाउँछु ।’ उनले भने ।

नेपालमा धेरै जातजाति र भाषा भएकाले पनि उनीहरूका आफ्ना मौलिक बाजाहरू छन् । विभिन्न जाति र समुदायका चाडवाडमा बजाइने कैयौँ पुराना लोकबाजाहरू लोप हुँदै गएका छन् । कतिलाई त्यो बाजा हो वा होइन छुट्याउन पनि कठिन हुन्छ । विदेशी संस्कृतिको प्रभावले पनि नेपालीपन झल्किने बाजाहरूप्रति नयाँ पुस्ताका रोजाइँ कम हुने गरेको छ । यही कारण पनि नेपाली लोकबाजाहरू लोप हुने अवस्थामाा पुगेका छन् । तर, राजधानीमा रहेको यो नेपाली लोकबाजा संग्रहालयले भने नेपालको सबै भाग, कुनाकन्दरा, विभिन्न जाति र समुदायका चाडवामा बजाइने दुर्लभ लोकबाजाहरू संग्रह गरेर राखेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतका साहित्यकारहरूले साहित्यिक रचनामा चर्चा गरेका तीनतारे सारंगीबारे अहिलेका नयाँ पुस्तालाई जानकारी नै छैनभन्दा फरक नपर्ला । अहिलेका पुस्ताले नेपालका विभिन्न जातजातिका जन्मदेखि मृत्युसम्मका संस्कार, चाडपर्व र रीतिरिवाजमा बजाइने विभिन्न लोकबाजाका सुमधुर धुन सुन्न र बाजाहरू प्रत्यक्ष देख्न पाएका छैनन् । त्यो सामान्य कुरा पनि होइन एकै स्थानमा यी सबै कुरा खोज्नु । तर, यो संग्रहालयले त्यसमा रुचि भएकाका लागि त्यो सम्भव बनाइदिएको छ । अति नै पुराना र दुर्लध बाजा खोजी गरेर एकै स्थानमा हेर्न पाउने अवसर बनाइदिएर ।

यो संग्रहालयमा ६ सय ५० लोपोन्मुख लोकबाजाहरू संग्रहित छन् । कँडेलका अनुसार त्यहाँ मासिक ३ हजार नेपाली विद्यार्थी अवलोकनका लागि आउने गर्छन् । त्यस्तै, विदेशी पर्यटकहरू पनि उत्तिकै मात्रामा आउँछन् । संग्रहालयमा नेपालका विभिन्न जाति, समुदायका विभिन्न चाडपर्व, पूजापाठ र संस्कारहरूमा बजाइने बाजाहरू छन् । कोही बाँसका ढुंग्राजस्ता, कोही डम्फूजस्ता बाजा होलान् र यिनले धुन देलान भनेर कल्पनै गर्न नसकिने बाजा छन् त्यहाँ ।

संग्रहालयमा भएका बाजाका बारेमा कँडेलले भने, ‘संग्रहालयमा मान्छेको तिघ्राको हड्डीबाट बनेको काङलिङ बाजादेखि गौउपासनामा बजाइने धनुपुच्छमृदंगसम्मका बाजाहरू छन् । पशुपतिनाथ मन्दिरमा पूजा गर्दा बजाइने पञ्चमुख बादेलाई पनि हामीले यहाँ राखेका छौँ । गाउँघरमा लोप हुन लागेको तामाङ जातिले ध्याङहरूमा बजाउने डोङ्छे बाजा र उदयपुरका थारू समुदायमा प्रचलित बौसीसम्मका बाजा छन् । थारू संगीतमा यो बाजा निकै महत्वपूर्ण मानिन्छ । धामी झाँक्रीले प्रयोग गर्ने ढ्याँग्रो पनि राखेका छौँ ।’ उनले बाजाको प्रकार र त्यसको महत्व एवं प्रयोगका बारेमा जानकारी गराए ।

उनका अनुसार नेपालमा वैदिक कालदेखिका थुप्रै संगीतहरू अझै पनि अस्तित्वमा छन् । विश्व संगीतको मूल थलोका रूपमा परिचित नेपाल अहिले तिनै विदेशीहरूका समेत लोक संगीत अध्ययनको क्षेत्र भएको उनले बताए । त्यसलाई अझ व्यवस्थित बनाएर प्रचारप्रसार गर्न सके नेपालले यस क्षेत्रमा पनि विकास गर्न सकिने उनको विश्वास छ ।

संग्रहालयमा कपाली जातिले बजाउने पूजा मोहाली, थारू बाजा रेउनीलगायत तीनतारे सारंगी, बयल घण्ट, मृदंग, रानी मादल, पिवांचाजस्ता लोपोन्मुख र कम प्रयोगमा आएका बाजागाजाहरू पनि छन् । यी सबै बाजाका कारण संग्रहालय आकर्षणका रूपमा रहेको उनले दाबी गरे । नामै नसुनेका र राजधानीलगायतका स्थानमा बस्ने ती जातिका लागिसमेत जान्न उत्सुक हुने बाजा उनीहरूले संकलन गरेका छन् ।

कँडेलका अनुसार संग्रहालयमा २५ जनाले स्वयंसेवकका रूपमा सेवा दिँदै आएका छन् । उनीहरूको मुख्य काम देशको विभिन्न भागमा गएर विभिन्न संगीत र संस्कृतिको अध्ययन गर्ने र त्यसको अभिलेखीकरण गर्ने रहेको छ । नेपाली लोकबाजाको अध्ययनमा लामो समय बिताएका कँडेलको व्यक्तिगत पहलमा खुलेको संग्रहालयको संरक्षण र प्रवद्र्धनको जिम्मेवारी राज्यले नै निर्वाह गर्न सके नयाँ पुस्ताले पुराना लोकसंगीतको सहज अध्ययन र अवलोकन गर्न पाउनेछन् ।

संग्रहालयमा राज्यको सहयोगका बारेमा उनको साहै्र गुनासो छैन । उनले भने, ‘राज्य भनेको हामी आफैँ हो, सरकारले केही दिएन भन्ने गुनासो छैन । यो कसैको करले सुरु गरेका पनि होइनौँ । राज्यप्रति हरेक नागरिकको दायित्व हुन्छ । हामी त्यही पूरा गर्दै छौँ ।’ यसलाई संरक्षण र विकासका लागि उनीहरूले राज्यलाई आग्रह नगरेका होइनन्, सहयोगको वचन पनि वेलावेला पाएका छन् ।

समयसमयमा सरकारका मन्त्री र उच्च व्यक्तिले गर्ने अवलोकनमा उनीहरूले बढी आश्वासन पाउने गरेका छन् । त्यो पूरा होला भन्नेमा उनले आशा नमरेको बताए । ‘सरकारले आफ्नो दायित्व पूरा गर्ला अनि हामीले पनि आफ्नो जिम्मेवारी पूरा गरौँला’ कँडेलले दृढताका साथ भने ।
प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय