खोजखबर

संस्कृत शिक्षामा अन्य जातिको आकर्षण

सानेबहादुर नेपाली २०७५ भदौ २९ गते ७:५० मा प्रकाशित

दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षातर्फ ब्राह्मणभन्दा अन्य जातिको आकर्षण बढ्दै गएको छ । उक्त विद्यालयमा दलित, जनजाति र मुसलमानका बालबालिका अध्ययन गरिरहेका छन् ।

विद्यालयले निःशुल्क शिक्षाको व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएका अधिकांश अभिभावकका छोराछोरी सो शिक्षातर्फ आकर्षित बन्दै गएका हुन् । दलित, जनजाति र मुसलमान समुदायका विद्यार्थीको बाहुल्य रहेको सो विद्यालयमा विशेषगरी ज्यालामजदुरी गरी जीविकोपार्जन गर्नेका छोराछोरी अध्ययनरत छन् ।

ब्राह्मण र क्षेत्री समुदायका बालबालिकाको यस शिक्षातर्फ कम आकर्षण रहे पनि दलित, जनजाति, मुसलमान बालबालिकाहरूको संस्कृत शिक्षातर्फ भने आकर्षण बढ्दै जाँदा भाषासाहित्यको समेत संरक्षणमा सहयोग पुगेको विद्यालयलका प्राचार्य तुलसीशरण सिग्देलले बताए ।
विद्यालयमा अध्ययनरत २ सय ७५ विद्यार्थीमध्ये १ सय ४६ जना दलित, जनजाति, मुसलमान र सिमान्तकृत समुदायका छन् ।

कक्षा १ देखि १० सम्म अन्य समुदायका छोराछोरीको संख्या न्यून छ । छात्राछात्रको संख्या हेर्दा दलिततर्फ छात्रा ४६ र छात्र २७ गरी ७३ जना, जनजातितर्फ छात्रा २२ र छात्र १८ गरी ४० जना, मुसलमानतर्फ छात्रा नौ र छात्रा १९ गरी २८ जना र सिमान्तकृततर्फ छात्रा तीन र छात्र दुई गरी पाँच तथा अन्य समुदायतर्फ छात्रा ३५ र छात्र ९४ गरी १ सय २९ विद्यार्थी अध्ययनरत छन् । अभिभावकविहीन ६० विद्यार्थी पनि अध्ययनरत छन् । प्राचार्य सिग्देलले भने, ‘यस विद्यालयमा धनीमानीका छोराछोरीभन्दा पनि आर्थिक अवस्था कमजोर भएका र विपन्न वर्गका छोराछोरी अध्ययनरत छन् ।’

विद्यालय परिसरमा आवासगृहको समेत व्यवस्था भएपछि केही समय यता अन्य समुदायका विपन्न बालबालिकाको संस्कृत शिक्षातर्फ आकर्षण बढ्न थालेको हो । प्रारम्भिक बालकक्षादेखि १२ सम्म पढाइ हुने उक्त विद्यालयमा सम्पूर्ण कक्षामा दलित, जनजाति र मुसलमान समुदायका बालबालिकाले नै पहिलो र दोस्रो स्थान हासिल गर्दै आएका सहायक प्राचार्य माधव खनालले बताए । प्रायः जसो कक्षामा ब्राह्मणभन्दा अन्य समुदायका बालबालिका उत्कृष्ट हुने गरेका छन् ।

उक्त विद्यालयमा अध्ययनरत अन्य समुदायका बालबालिकामा पनि स्थानीयको तुलनामा बाहिर जिल्लाबाट पढ्न आएका विद्यार्थीको संख्या धेरै छ । विशेषगरी स्याङ्जा, पर्वत, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, चितवन, नवलपरासी, कपिलवस्तु, सुर्खेत, बर्दिया, अछाम, बारा, झापा, इलाम, धादिङ, नुवाकोट, पर्सा, धनुषा र केही भारतका छन् र बाहिर जिल्लाबाट पढ्नका लागि आएका करिब ५० विद्यार्थीलाई विद्यालयले नै खानेबस्ने व्यवस्था मिलाएको विद्यालयका प्राचार्य सिग्देलले बताए ।

‘आवासमा बस्ने विद्यार्थीका लागि मासिक डेढ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ,’ प्राचार्य सिग्देलले भने, ‘कसैले ग्रहशान्ति, जन्मोत्सव, श्राद्ध, रुद्री लगाउँदा दिने दक्षिणा र स्थानीय संस्कृत प्रेमीले गर्ने सहयोगबाट खर्च चलाउँदै आएका छौैँ । केही समयअघि नेपाल वैदिक महर्षि फाउान्डेसनले नियमित रूपमा रुद्री पाठमा सहभागी हुने ब्राह्मण वटुकका लागि दक्षिणास्वरूप मासिक ५५ हजार रुपैयाँ प्रदान गर्दै आएकाले केही हदमा भए पनि खर्च चलाउन सहज सजिलो भएको छ ।’

आवासगृहमा बस्ने विद्यार्थीले दैनिक रूपमा बिहान रुद्री लगाउने र साँझ पाठ पढ्ने गर्छन् । वेदव्यास ऋषिका नाउँबाट ०५० सालमा स्थापित उक्त विद्यालय संस्कृत भाषा साहित्यको जगेर्ना गर्नेतर्फ उन्मुख भएको छ ।

‘नेपालभरिका संस्कृत विद्यालयको तुलनामा सो विद्यालयमा विद्यार्थी संख्या तुलनात्मक रूपमा राम्रो हो तर सन्तोष जनक छैन,’ प्राचार्य सिग्देलले भने, ‘अझै हामी उत्साहित भएर अघि बढिरहेका छौँ ।’ संस्कृत भाषा साहित्यको महत्व नबुझेका कारण आकर्षणमा कमी आएको हुन सक्ने विद्यालयका सहायक प्राचार्य खनालले बताए । एक-दुई वर्षयता बाहिरी जिल्लाका विद्यार्थी पढ्न आउन थालेपछि विद्यार्थी बढ्दै गएका छन् । निःशुल्क शिक्षाको व्यवस्था मिलाइएपछि विद्यार्थी लगनशीलताका साथ लागेकाले पढाइको गुणस्तरमा वृद्धि हुँदै गएको खनालले बताए ।

कक्षा १० कि प्रथम छात्रा मेनुका नेपालीले संस्कृत भाषा साहित्यको अध्ययनले आफूलाई शुद्ध बोल्न र शुद्ध लेख्नका लागि सजिलो भएको बताइन् । सुरुसुरुमा संस्कृत भाषा साहित्य पढ्न गाह्रो हुने गरे पनि अहिले धेरै सजिलो लाग्ने र जति पढ्यो उति नै पढौँ पढौँ लाग्ने भएको उनको भनाइ छ ।

प्रतिक्रिया