साहित्य

मिश्रित संस्कृतिको गाभर उपत्यका

काशीराम शर्मा २०७५ भदौ ३० गते १०:२७ मा प्रकाशित

पाँच वर्षअघिसम्म गुमनाम यो ठाउँका पुरुषहरू बाहिरी काममा व्यस्त हुन्थे । कोही मजदुरीका लागि कालापहाड जान्थे । महिलाहरू चुलोचौको र घरधन्दामा व्यस्त रहन्थे । थारु र मुगालीको यस बस्तीमा शिक्षित व्यक्तिको संख्या आँैलामा गन्न सकिनेभन्दा धेरै थिएन ।

शिक्षित व्यक्ति सदरमुकामतिर रोजगारीका लागि भौतारिन ठिक्क । निरक्षरहरू गाउँमा साँझ बिहानको छाक टार्नकै लागि नजिकका सहर बजारमा मजदुरी गर्थे । तर, अहिले यहाँको कथा पूरै फेरिएको छ । करिब तीन वर्षको अवधिमा नयाँ पहिचानसहित आर्थिक समृृद्धिको केन्द्र बन्ने दिशातर्फ उन्मुख बाँकेको गाभर अब गाभरमा मात्रै सीमित रहेन ।

अहिले यो ठाउँ गाभर भ्याली सामुदायिक होमस्टेका नामले परिचित बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थालेको छ । सरकारको पनि आँखा परेको छ । लगानी गर्ने संघसंस्थाहरू एकपछि अर्को गर्दै बढिरहेका छन् । पर्या–पर्यटनको उत्तिकै सम्भावना बोकेको गाभरमा अहिले जैविक पार्क, थारु संग्रहालय, सामुदायिक भवन लगायतका पूर्वाधारहरू बनिरहेका छन् ।

जलवायु परिवर्तनले पारेका प्रभावका विषयमा अध्ययन गर्न विभिन्न संघसंस्थाहरू गाभर पुग्ने गर्छन् । पर्या–पर्यटनका हिसाबले समेत अत्यन्त महत्वपूर्ण गाभरमा अस्ट्रिज फार्म सञ्चालित छ । होमस्टेहरू थपिने क्रम बढिरहेको छ । गाभरमै च्याउ उत्पादन फार्म पनि सञ्चालनमा आएको छ । यस्ता गतिविधि बढेर रोजगारीका अवसरसमेत वृद्धि भएको छ यहाँ ।

बाघ संरक्षण गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्ज, गाभर उपत्यकाका लोभलाग्दा दृश्य, प्रांगारिक कृषि प्रणाली, निर्माणाधीन जैविक पार्क, मिश्रित परम्परामा आधारित होमस्टे लगायतका आधारहरू बोकेको गाभर उपत्यकालाई पर्यटकीय क्षेत्रको रूपमा प्रवद्र्धन गर्न सकिए स्थानीय समुदायको आयआर्जनमा वृद्धि हुने गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल चौधरीको विश्वास छ ।

चुरे पहाडले घेरेको भावर क्षेत्रमा पर्ने गाभर उपत्यका पर्यटकीय आकर्षणको केन्द्रविन्दु बनेको छ । यहाँ थारु नाच, डेउडा नाच, पञ्चेबाजा, ढाल तरबार नाचको मज्जा लिन पाइन्छ । यहाँ ‘भिलेज वाक’ का अतिरिक्त सहजरूपमा वन्यजन्तु र चराको अवलोकन गर्न सकिन्छ ।

धुवाँधुलोको कोलाहललाई छिचोल्दै शान्त र रमणीय वातावरणको खोजी गर्दै गाभर उपत्यका आउने पर्यटकहरूको संख्या वृद्धि भइरहेको छ ।
पर्यटकीय गतिविधि, अतिथि सत्कार र कुशल व्यवस्थापनका हिसाबले गाभर भ्याली होमस्टे नमुना बनेको छ । ‘यहाँका मनोरम दृश्य, थारु संस्कृति र थारु परिकार साह्रै राम्रो छ, नेपालगञ्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ, निम्न वर्गका लागि गाभर भ्याली उपयुक्त गन्तव्य हो,’ कोहलपुर–१२ का विष्णुभक्त शाह भन्छन् ।

थारु र मुगाली संस्कृति र परिकारसँग गाभर पुग्ने जो कोही पनि लोभिन्छन् । दैनिक एक सय ५० जनाभन्दा बढी पर्यटक गाभर भ्याली पुग्ने गरेका छन् । आन्तरिक पर्यटकलाई नेपालगञ्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाइन्छ ।

गाभर उपत्यकालाई थारु र मुगाली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिने बताउँछन्, जलवायु संरक्षण अभियान नेपाल थ्रिसिएनका अध्यक्ष हेमन्तराज काफ्ले ।

वन विज्ञान तथा संस्कृतिबारे अध्ययन गर्ने विद्यार्थीहरूको अध्ययनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रूपमा यो ठाउँलाई विकास गर्नुपर्ने उनको सुझाव छ । समुदायले थोरै मात्र व्यवस्थापन गर्न सके यो ठाउँ पश्चिम नेपालकै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । पर्यटकहरूको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकहरू समेत होमस्टेको स्तरवृद्धि गर्न लागिपरेका छन् ।

पर्यटकीय पूर्वाधार निर्माणका लागि गाभर उपत्यकासँग जोडिएको करिब २० बिघा जमिनमा लायन्स क्लब अफ इन्टरनेसनलले जैविक पार्क निर्माणका लागि सहकार्य गरिरहेको छ भने पर्यटन कार्यालयको सहयोगमा थारु संग्रहालय निर्माणसमेत गरिएको छ । होमस्टे सञ्चालनपछि गाभरका स्थानीय बासिन्दाको जनजीवनमा समेत परिवर्तन आएको छ । विगतमा कामको खोजीमा दौडिनुपर्ने स्थानीय बासिन्दाको दैनिकी आजभोलि होमस्टे व्यवस्थापनमै बित्ने गरेको छ ।

गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले भने, ‘हामीले पाहुनाहरूको स्वागतका साथै थारु परिकार, सामुदायिक वनमा चरा अवलोकन, जंगल सफारीलगायतका पर्यटकीय गतिविधिहरू गरिरहेका छौँ ।’ उनका अनुसार पाँच वर्षअघि एउटा घरबाट सुरु गरिएको होमस्टेको संख्या हाल आठ पुगेको छ । आगामी वर्षहरूमा थप गर्दै लैजाने समितिको तयारी छ ।

सहरदेखि नजिकै शान्त चुरेमालासँग छोइएको, चिटिक्क अनि सधैँ हराभरा देखिन्छ, गाभर उपत्यका । यसमा सुन्दरता थपेका छन्, यहाँका मुगाली–थारू होमस्टेहरूले । गाभर उपत्यका चुरे पहाडको फेदमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको साँध सिमानामा छ ।

यो जति जैविक विविधताले भरिपूर्ण छ, त्यसभन्दा धेरै थारू र मुगाली, हुम्ली र सल्यानी, रुकुमेली र दैलेखी संस्कृतिको विविधता यहाँ भेटिन्छ । यहाँ एउटै भान्सा र आँगनमा हिमालदेखि तराईसम्मका भिन्न परिकारको स्वाद, विविध भेषभूषा र सांस्कृतिक रहनसहन भेटिन्छ ।
मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा ०३५ सालमा रारालिही क्षेत्रका बासिन्दालाई गाभर उपत्यकामा पुनःस्थापना गरिएको थियो । ०४० सालपछि थारू समुदाय पनि आए । सुरुमा दुई समुदायको भाषा, संस्कृति र रहनसहन केही मिल्दैन्थ्यो ।

रहँदा–बस्दा एकले अर्कालाई बुझे । सबैभन्दा धेरै दुःखकष्ट र समस्याले उनीहरूलाई नजिक्यायो । अहिले हिमाली र तराई समुदायको एउटै भान्सा भएको छ, होमस्टेका रूपमा ।

‘घरकै मान्छेबीच त कुरा मिल्दैन,’ हिमलाल चौधरी भन्छन्, ‘मुगाली र थारू एउटै घरका भइसके । दःुख र सुखमा सँगै छौँ । विवाह होस् वा मर्दा–पर्दा एकअर्कालाई काम लागेकै छौँ ।’ होमस्टेमा हिमाली फापरको रोटी, कोदाको ढिँडो, सिस्नोको फाँडो र सिमीको दाल लोकप्रिय छ । त्यस्तै, थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । पाहुनाको रुची जे हुन्छ, त्यहीअनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा ।

सार्वजनिक बिदाका दिन होमस्टेमा खुट्टा राख्ने ठाउँ हुन्न । पारिवारिक जमघटदेखि स–साना बैठक र सभा पनि होमस्टेमा हुन थालेका छन् । ‘पहिले अँधिया गरेर जीविका चलाउँथ्यौँ,’ हिमलाल भन्छन्, ‘अहिले घरका कोही खाली छैनौँ । राम्रै आम्दानी छ । काम खोज्दै गाउँबाहिर जानुपरेको छैन ।’ अरू होमस्टेभन्दा गाभर उपत्यकाको छुट्टै मौलिकता छ ।

गाभर भ्याली भिलेजमा अहिले बाल बाटिका, वनभोज स्थल र बाँके निकुञ्ज मध्यवर्ती क्षेत्रको पदमार्ग बन्दैछ । उक्त पदमार्ग हुँदै निकुञ्जभित्र जंगल सफारी सुरु भइसकेको छ । हात्ती सफारीका लागि बर्दिया निकुञ्जबाट चार वटा हात्ती काजमा बाँके निकुञ्ज ल्याइएको छ । यहाँ पर्यटकले हात्तीबाट जंगल सफारी गर्न पाएका छन् ।

होमस्टेमा थारू नाच, डेउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धाल तलवार नाच, रुकुमेली कुरकुटी टप्पा र मयूर झर्रा नाच पनि हेर्न पाइन्छ । थारू हस्तकलाका सामग्रीहरू ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरू र माटाका भाँडाहरू चलनचल्तीमा छन् । मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्तिहरू, काठको कोसी, भकारी, डोल्ची, बेतबाँसका कुर्सीहरू बनाउँछन् ।

बाँके निकुञ्ज कान्छो भए पनि वन्यजन्तुको कमी छैन । पाटेबाघ, चितुवा, चौसिंगा, जरायो, नीलगाई, चित्तल, बँदेल, स्याल, खरायो, न्याउरी मुसा, ब्वाँसो मध्यवर्ती क्षेत्र वरपरै देखिन थालेका छन् । आन्तरिक तथा बाह्य पाहुनालाई गाभर उपत्यका हुँदै चुरे पहाड पदयात्रा गराउने माग भइरहेको छ । तराईको सखिया नाँचदेखि कर्णालीको देउडा एउटै बसाइमा नाच्न पाइन्छ । समुदायस्तरको यस्तो एकता र सद्भाव अन्यत्र बिरलै पाइएला ।

यहाँ भारत, स्विट्जरल्यान्ड, क्यानाडा, बंगलादेश, अमेरिका, थाइल्यान्ड, बहराइनलगायतका मुलुकबाट पनि पर्यटकहरू पुग्ने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ । अधिकांश बाह्य पर्यटकहरू अध्ययन अनुसन्धानका लागि गाभर भ्याली पुग्ने गरेका छन् ।

प्रतिक्रिया