मत-विमत

भारतको नियत र भीम रावलको कैफियत

प्रा.डा.बद्री विशाल पोखरेल २०७५ भदौ ३१ गते ८:१७ मा प्रकाशित

भारतको मिचाहा प्रवृत्ति स्वरूप नेपालको सहमति नै नलिइकन गर्ने भनिएको संयुक्त सैनिक अभ्यासमा नेपालले असहमति जाहेर गरिसक्यो । बारम्बार नेपाललाई विवादमा पारेर आन्तरिक विग्रह गराउन उद्यत भारतको नियत नबुझी कैफियत वक्तव्य गर्नै हुन्न ।

नेकपाका एक प्रभावशाली नेता भीम रावलले केही दिन अघि एक सार्वजनिक कार्यक्रममा संयुक्त सैनिक अभ्यास विषय सन्दर्भ उठाउँदै राष्ट्रियताको सबालमा आफू कुनै सम्झौता नगर्ने बरू जे जस्तो पनि खत, बात र कारबाही सहन तयार रहने खालको ठाडो कैफियत युक्त चुनौती दिए ।

बिम्स्टेक र सैन्य अभ्यासका बारेमा प्रधानमन्त्री ओलीले सदनमा सविस्तार उल्लेखित गरेपछि भने रावल केही नरम देखिए । तथापि, राजनीतिको बजारमा स्याहार्न गाह्रो पर्नेगरी विषय त रावल मार्फत् छरपष्ट भइसकेको थियो । हुँदाहुँदा भारतले मिचाहा प्रवृत्ति स्वरूप नेपालको सहमति नै नलिइकन गर्ने भनिएको संयुक्त सैनिक अभ्यासमा नेपालले असहमति जाहेर गरिसक्यो ।

बारम्बार नेपाललाई विवादमा पारेर आन्तरिक विग्रह गराउन उद्यत भारतको नियत नबुझी कैफियत वक्तव्य गर्नै हुन्न ।सबैभन्दा पहिले भारतीय शासकको मनोग्रन्थी, मनोरोग वा मनोविज्ञान बुझेका पृथ्वीनारायण शाहले उत्तरको बादशाहभन्दा दक्षिणको बादशाह अर्थात्, छिमेकी महाचतुर छ भनेर नेपालका भावी शासकलाई सचेत गराएका थिए ।यसको सोझो अर्थ महाछट्टुछ भन्नु हो ।

महाछट्टु भनेको निर्धा निमुखा र सिधासाधालाई धुत्न, लुट्न, थिच्न, एक्लै घिच्न, छक्याउन र कुरा फेर्न सिपालुलाई भनिन्छ । शाहले उत्तरको विशाल देश चीन र दक्षिणको ब्रिटिसकालीन विशाल भारत दुवैतर्फ सन्तुलन मिलाएर अघि बढ्ने तरिकामा कम बोल्नु वा नबोल्नु र बेत झैँ दायाँबायाँ टाउको हल्लाउनु तर देश र जनताप्रतिको दृढ भावना मनमा राख्नु भनेका थिए ।

शाहले उत्तर र दक्षिणको अत्यन्तै असहज र पेचिलो अवस्थाको नेपालले धेरै नबोली बेतको बिरुवा झैँ धार्नीको टाउको हल्लाएर भए पनि राष्ट्रिय हितलाई कदापि छाड्न हुन्न भनेका हुन् । भारतका प्रमुख पार्टीहरू र त्यहाँका कुनै पनि सरकार ब्रिटिस उपनिवेशकालीन संस्कार संस्कृृतिले ग्रस्त छन् । मोदी अहिले यही विरासद्का पछिल्ला उदाहरण हुन् ।

०७ सालको दिल्ली सम्झौता बैठकमा स्वयं बिपी कोइरालालाई सामेल नगर्नु, तत्कालीन संयुक्त सरकारमा नेपाली कांग्रेसका कुन नेतालाई कुन मन्त्रालय र मन्त्री पद दिने विषयमा नेहरूले ठाडो हस्तक्षेप गर्नु, बिपी र मातृकाका बीचमा नै नेहरूले फुट ल्याउनु, आफूले भनेअनुसार हुबहु बिपीले नमान्दा नेहरू रुष्ट हुनु, नेपाली राष्ट्रियताका सबालमा बिपीको स्वाभिमानी चेत, चिन्तन र चरित्र नेहरूले पटक्कै मन नपराउनु ।

प्रधानमन्त्री बिपीका अघिपछि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई नेहरूले सिआइडीका रूपमा परिचालन गर्नु आदि भारतीय सत्ता र सरकार प्रमुखका अनेक व्यहोरा देखियो र भोगियो । कोसी सम्झौतामा आफूसित आक्रोशित इतिहासविद् ज्ञानमणि नेपालसित पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारतीय सरकारले पूर्व सहमति विपरीत चतरामा वा बराहक्षेत्र नजिक बनाउने भनिए पनि जवर्जस्ती भारतीय सीमामा ब्यारेज बनाएर आफू फसेको भनेर दुःख मनाउ गरेको कुरा नेपालले एक लेखमा बताएका थिए ।

अर्थात्, ब्रिटिसकालीन थिचोमिचो, हैकमवादी तथा प्रभुत्ववादी भारतेली शासकको महाचतुर वा सोझो भाषामा महालिच्चड संस्कार र शैलीको भारतका पछिल्ला उदाहरण भीम रावलजस्ता विज्ञलाई थाहा नहुने कुरै छैन तर त्यस अनुरूपको बोली र लोली देखिएन । नेहरूले सजातिय मानिएका नेपाली नेता, पार्टी र सरकारका बारेमा अनेक षड्यन्त्रपूर्ण खेल खेलेका छन् ।

हुबहु आफूले भनेअनुसार नगर्दा पूर्वराजाहरू र नेपाली नेतालाई भारतीयले हायलकायल पारे । उपल्ला नेताहरूले विचार र विवेक नपुर्याई कुरा सडकमा छ्यालव्याल पार्दा जनमत भाँडिन सक्छ र यसलाई भोलि फेरि उठाउन र सोहोर्न सकस पर्छ । त्यसैले, उपल्ला तहका नेताले जथाभावी मनलाग्दी कुरा छर्न हुँदैन ।

रावलले बिम्स्टेक सम्मेलन लगत्तै भारतको पुणेमा हुने संयुक्त सैनिक अभ्यास भनिएको विषय सन्दर्भ विस्फोटकारी वक्तव्य दिए । तर, उनले जहिले पनि नेपाल र नेपाल सरकारलाई विवादमा पारिरहने ब्रिटिसकालीन उपनिवेश संस्कार हुबहु आत्मसात् गरेको हालको भारतीय सरकारको नियतलाई बुझ्न सकेनन् ।

शान्ति सुरक्षाको सबालमा रावलले सरकार चलाउनेहरू नै जान्लान् भन्नेसम्मको जवाफ दिएपछि उनी कति रुष्ट रहेछन् भन्ने थाहा हुन्छ । यस्तो कैफियत अभिव्यक्ति अलि सुहाएन । रावलले भारतीय कपट बुझ्ने कुरामा समस्या देखियो । उनको अभिव्यक्तिको बान्की र फन्की हेर्दा रावल सहज र आग्रह विपरीतका देखिएनन् ।

भारतले त आफू अनुकूल उपयोगमा आए पनि अनुपयोगी भए पनि नेपाली नेतालाई सिनेमामा खलनायकले प्यादाझैँ ठानेर ज्यान नै जोखिममा पारे झैँ गरेको स्पष्ट देखिएको छ । प्यादा हुनेहरूमा पछिल्लो अवधिमा केही तराई मधेसी नेता भए । एक समय भारत र तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दक्षिण एसियाका महान् नेता भने र अँगालो हाले ।

उनै कोइरालालाई ६ महिनापछि मनमोेहन सिंहले आफूसित भेट्न खोज्दा पनि भेट हुन मन गरेनन् । यस खालका सरमहारा व्यहोरा भारतीय शासकले पटकपटक गरेका छन् । भारतीय शासक र प्रधानमन्त्रीले नेपालमा आएर र वा नआएर भारतमा आमन्त्रण गरे र वा नगरेर पटकपटक विवादमा पारेको देखिन्छ ।

मोदीले विवादमा पार्ने गरी बोली र व्यवहार गरेका छन् । त्यसैले, भारतले सिर्जना गरेका कतिपय कृत्रिम विवादलाई विषय बनाएर जिम्मेवार नेताले राम्ररी नबुझी बहकिनु हुँदैन । यसरी बहकिन थालियो भने देश, मन्त्रालय मात्रै होइन आफ्नै घर व्यवहार नै बहकाउमा बग्न सक्छ । मोदीले यसभन्दा अघि नेपाल आउँदा पनि नेपाल र नेपाली सरकारसित हेपाहा व्यवहार गरे।

उनी नेपाल आउने पूर्व घोषणा विपरीत जनकपुरमा आफ्नै वायुयानमा भारतीय सैनिकका साथ ओर्लिए । बिम्स्टेकमा आउँदा पनि भारी भारतीय सेनाका साथ आउनु र उनी गएपछि पनि केही दिन भारतीय सेना नेपालमा तैनाथ हुनु ओली सरकारलाई जवर्जस्ती विवादमा तान्ने नियतले गरेका हुन् । विवादमा तान्न उनले यस्ता कृत्य बारम्बार गरेका छन् ।

यो सिद्धान्तहीन राजनीति र राजनीतिक चरित्रको यो सार्वभौम चरित्र हो । तर, त्यही उत्तरतिरको चीनले यस खालको विसंगत रवैया देखाएको पाइन्न । मोदीले जनकपुरमा भाषण गर्दा ओलीलाई भैया भनेर उल्लेखित गरे तर ओलीले मोदीको बोली भुईंमा खस्न नपाउँदै ओलीले समानताका आधारमा मोदीलाई मित्र भनेर कूटनैतिक तथा आँटिलो जवाफ दिए ।

यसरी कूटनैतिक रूपमा जवाफ हत्तपत्त जोसुकैले फर्काएको देखिएको छैन । वाध्यता नै आइलागेन भने देश र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर ज्यादा बोल्नुभन्दा धार्नीको टाउको हल्लाएर राष्ट्रहित कायम गर्नुपर्छ । कुनै पनि नेता, शासक, सत्ता, सरकार, सेना र प्रधानमन्त्रीलाई देश जनताका सबालमा अविचलित रूपमा दृढ गराउने कुरा सर्वोपरि महत्वको हुन्छ।

देश र जनताका लागि समर्पण भावले नै र यस खालको प्रशिक्षणले नै जस्तासुकै आश, त्रास र बतासका विरुद्ध दृढ रूपमा अडिने अठोट कायम हुन्छ र गर्न सकिन्छ । हाम्रा नेता, मन्त्री, सरकार, सरकार प्रमुख र सेना सबैमा यस खालको महान् दृढता पहिलो सर्त हो । यो नै लुलो र फितलो छ भने मुखका चर्का बातले केही लछार्दैन ।

मोदीले ससाना र ठूला खालका विवादमा नेपाल र नेपाली जनतालाई पारेर देशीय अन्तद्र्वन्द्वको भुमरीमा फसाउन खोजेका छन् । यस्ता सबाललाई भीम रावल जत्तिको राजकीय अनुभव प्राप्त नेताले बुझीबुझी आवेशमा आउनु जाती कुरा होइन । रावल यसरी बढ्तै जोसमा आउनुपर्ने, उनकै निजी आन्तरिक कारण पनि रहेका छन् ।

आफ्नो ज्ञान र विज्ञता क्षेत्रमा अरू प्रतिस्पर्धी व्यक्ति र नेता नहुँदा अनि त्यस चरित्रले एकछत्र कायम गरिरहने अवस्था नहुँदा व्यक्तिगत असन्तुष्टि उत्पन्न हुन्छ र यसले समूहगत असन्तुष्टिलाई निम्त्याउँछ । समावेशी सहभागितामूलक तथा प्रतिस्पर्धी नेतृत्व निर्माण र परिचालन गर्दा व्यक्ति हाबी हुने अवस्था आउँदैन ।

एउटा उचाइमा पुगेको नेताले देशी र विदेशीले पार्टीभित्र र देशमा आन्तरिक विग्रह निम्त्याउन के कस्ता हरकत गर्छन् भन्ने पनि नबुझी कैफियत बोल्नु हुँदैन ।

प्रतिक्रिया