मत-विमत

गोठ भत्कियो तर सोच भत्किएन

अञ्जु कार्की २०७५ असोज २ गते ९:२० मा प्रकाशित

‘हामीले मध्य तथा सुदूरपश्चिममा रहेको रजस्वला हुँदा घरबाट निलम्बन गर्ने (छाउपडी) प्रथा हटाउने अभियान चलायौँ । यस्ता गोठहरू भत्कायौँ तर दिमागमा रहेको सोच अझै भत्काउन सकेका छैनौँ ’

नेपाली महिलाहरूको सबैभन्दा ठूलो चाड तिज भर्खरै सकिएको छ । तिज पर्व मनाउने सिलसिलामा पछिल्लो पटक फस्टाउँदै गएको महिनौँसम्मको पार्टी प्यालेस संस्कृतिलाई व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेको पनि देखियो । ‘विश्वको सबैभन्दा लामो र महँगो चाड कुन हो ?’

यो प्रश्न सत्य हो । विगत केही वर्षदेखि तिज विश्वकै सबैभन्दा लामो र महँगो चाड सावित भएको छ । संस्कृतिका राम्रा पक्षलाई निरन्तरता दिनुपर्ने र नराम्रा पक्षलाई त्याग्दै जानुपर्नेमा राम्रा पक्षलाई त्याग्ने र नराम्रा पक्षलाई निरन्तरता दिँदै जाने डरलाग्दो अवस्थामा हामी नेपाली गुज्रिरहेका छौँ कि ?

ठण्डा दिमागले सोच्नुपर्ने वेला आइसकेको छ । तिज पर्वसँग प्रेम र मनोरञ्जन जोडिएका सन्दर्भका विषयमा धेरैले कलम चलाएका छन् । तिजको अन्तिम दिन पञ्चमीको अवसरमा रजोदोष मेट्न भन्दै सप्तऋषिहरूको पूजा गर्ने परम्परा छ ।

तर, यो परम्पराको वैज्ञानिक पक्षबारे धर्मग्रन्थमा खासै व्याख्या गरिएको छैन । रजस्वला हुनु भनेको पाप हो भन्ने सन्दर्भका कथाहरू सुनाउने गरिन्छ । जसरी जिउँदै मान्छेलाई जलाउनु ठूलो धर्म हो भन्ने गरुड पुराणको कथालाई निरन्तरता दिइएको छ त्यसरी नै रजस्वला हुनु महापाप हो भन्ने कथालाई ऋषिपञ्चमी पूजामा पनि निरन्तरता दिइएको छ ।

अपराधलाई प्रोत्साहन गर्ने कथालाई धर्मका रूपमा निरन्तरता दिइएका कारण ऋषिपञ्चमी पूजाप्रति आस्था घट्न थालेको छ । ऋषिपञ्चमी पूजालाई धेरैले बहिष्कार गर्न थालेका छन् । ऋषि पञ्चमी पूजाको बहिष्कार सुरु हुनु भनेको तिज पर्वको महत्व घट्नु पनि हो । त्यसैले, ऋषिपञ्चमीको पूजा संस्कृतिलाई समय सान्दर्भिक रूपमा परिमार्जन गर्नु जरुरी छ ।

सर्वप्रथम त रजस्वला हुनु पाप होइन धर्म हो भन्ने यथार्थतालाई स्थापित गराउनु जरुरी छ । सृष्टिको नियम कसरी पाप हुन सक्छ ? रजस्वला हुनु भनेको फूल फुल्नु हो । सृष्टिका लागि सर्वप्रथम फूल फुल्नु पर्छ । अनि फूलमा परागसेचन हुनुपर्छ, त्यसपछि मात्रै फल लाग्छ । फल भनेकै सृष्टि हो ।

तर, फूल फुल्नुलाई पाप भनिदिने, परागसेचन कर्मलाई पापकर्म भनिदिने, फटाहरूको बिगबिगी भयो । उसो भए सृष्टि भनेकै पाप हो त ? ऋषि पञ्चमी पर्वको परम्परागत पूजा विधिलाई परिमार्जन गर्नु जरुरी छ । रजस्वला हुनु भनेको पाप होइन धर्म हो । जसरी हरेक सृष्टिका आआफ्ना धर्म हुन्छन् । त्यसैगरी, रजस्वला पनि महिलाको धर्म हो ।

आगोको धर्म तातो हुनु, पानीको धर्म तिर्खा मेट्नु, रुखको धर्म छहारी र प्राणवायु उत्पादन गर्नु हो त्यसरी नै महिलाको धर्म भनेको सृष्टि गर्नु हो । रजस्वला सृष्टिको पहिलो खुड्किलो हो । हामीले मध्य तथा सुदूरपश्चिममा रहेको रजस्वला हुँदा घरबाट निलम्बन गरेर टाढा गोठमा राख्ने (छाउपडी प्रथा) हटाउने अभियान चलायौँ ।

यस्ता गोठहरू भत्कायौँ तर दिमागमा रहेको सोच अझै भत्काउन सकेका छैनौँ । सृष्टिको पहिलो खुड्किलोलाई नै पाप भनेर लेखिएका ग्रन्थहरू धर्मग्रन्थ नभएर पाप ग्रन्थहरू हुन् । जबसम्म यी पाप ग्रन्थहरू च्यातिँदैनन् तबसम्म छाउपडी गोठहरू भत्काउनुको कुनै अर्थ छैन ।

फेरि ठडिन्छन् । फोहरको थुप्रो रहेसम्म लामखुट्टे मारेर सकिन्न । यो पाप सोच भत्काउने हो भने छाउपडी गोठहरू आफैँ भत्किनेछन् । भगवान्ले हरेक मानव आफैँ रचना गर्न सक्दैनन् । त्यसकारण उनले आफ्नो अंशका रूपमा नारीको रचना गरेका हुन् ।

सृिष्टकर्ता कहिल्यै अपवित्र हुन्छ र ? अझ रजस्वला भनेको त सृष्टिका लागि तयार भएको अवस्था हो । ऋषि पञ्चमीमा सुनाइने कथाबाहेक कुनै पनि धार्मिक ग्रन्थमा रजस्वला भएको अवस्थामा मन्दिर प्रवेश गर्नु हुन्न भनिएको छैन । यदि, कुनै शास्त्र विशेषमा भनिएको छ भने पनि समयानुकूल विश्लेषण र पुनः व्याख्या हुन जरुरी छ ।

नेपाली जनजिब्रोमा रजस्वला हुँदाको अवधिलाई पर सर्नु भनिन्छ । यसको अर्थ यो अवधिमा शरीरको देखभाल विशेष किसिमले गर्नुपर्छ भन्ने हो । सृिष्टका लागि तयार भएको अवस्थाको शरीरलाई अघिपछिको तुलनामा बढी देखभाल तथा आरामको आवश्यकता पर्ने भएका कारण यो अवधिमा महिलालाई शारीरिक तथा मानसिक श्रमबाट छुट्टी दिने परिपाटी सुरु गरिएको हो ।

शरीरबाट रगत जाँदा कमजोरी पनि हुन सक्ने भएकोले आरामका लागि यो अवधि छुट्याइएको हो । प्राचीन संस्कार र संस्कृित पछाडिको ज्ञान हेर्ने जरुरी छ । पुरातन समाजमा हाइजिनर सेनिटेसन कायम गर्ने आधुनिक साधन थिएनन् । रगतलाई नियन्त्रण गर्न प्याडहरू थिएनन् त्यसैले, स्वास्थ्यलाई ख्याल गरेर भान्सामा नछिर्नु भनियो । तर, कालान्तरमा यो निषेध को रूपमा बुझियो।

परम्परागत समाजमा बोटबिरुवा छुन हुँदैन भनियो किनकि, कुनै बोटबिरुवा विषालु पनि हुन्छन् । अहिलेको भाषामा ‘एलर्जी’ हुन सक्थ्यो । फूल फूलेका बोटबिरुवामा मौरी मात्रै हुँदैनन्, विषालु किरा पनि हुन्छन् । रजस्वला भएको अवस्थामा यस्ता विषालु किराबाट टाढै रहन भनिएको हो । रजस्वला भएकी नारीलाई संस्कृतमा ‘पुष्पिणी’ र ‘पुष्पहंसा’ भनिन्छ । यसको अर्थ हो, ‘फूल फूलेकी, धर्म धारण गरेकी ।’

यो महानता आफूमा रहेको आत्मबोधका लागि पहिलोपटक रजस्वला हुँदा गुप्तबासको प्रचलन सुरु गरिएको हो । नारीलाई नारी शक्तिको आत्मबोधको अवसर हो गुप्तबास । आत्मसाक्षात्कारको अवसर पनि हो । तर, कालान्तरमा पापको संज्ञा दिएर लुकाउने कुसंस्कृति सुरु भयो । कालान्तरमा यसले छाउपडी गोठको रूपधारण गर्यो । वास्तवमा छाउपडी गोठ गलत होइन, बरु हाम्रो सोच गलत हो ।

भगवान् महावीरको उपबास होस् वा ऋषिमुनिको वनबास होस् बुद्धको वनबास । ध्यान तथा तप आफैमा एकान्तमा गरिन्छ । सधैँभरि घरको धन्दामा व्यस्त हुने नारीलाई सनातन धर्ममा मासिक रूपमा आत्मसाक्षात्कार, आत्मबोध, आत्मचिन्तनको समयावधि व्यवस्था गरिएको थियो ।

तर, यसलाई गलत रूपमा प्रयोग गरेर गोठमा राख्ने घरबाहिर राख्ने गरियो । यसको दोष वैदिक सनातन धर्मलाई दिन मिल्दैन । नेपालको शैक्षिक, आर्थिक, सामाजिक अवस्था जिम्मेवार छ । रजस्वला भएकी स्त्री शारीरिक रूपमा कमजोर हुन्छिन् । शारीरिक रूपमा कमजोर नारीसँग यौन सम्पर्क गर्ने पातकी कुरा हो ।

रजस्वला भएकी स्त्रीसँग सहबास नगर भन्नुको अर्थ छुँदै नछुनु, सँगै बस्दै नबस्नु भनेको होइन । स्त्रीलम्पट बनेर नारीको शरीर भोग नगर भनिएको थियो । रजोधर्ममा रहेकी नारीले यौन सम्पर्क गर्दा सृष्टिको फूललाई असर पर्न सक्छ । किनकि, यस्तो अवस्थामा परागसेचन सम्भव हुँदैन । जुन वेला परागसेचन सम्भव हुँदैन त्यो वेला नारीलाई सम्भोगको इच्छा पनि हुँदैन ।

दुवैको इच्छा विनाको सम्भोग बलात्कारजस्तै हो । अहिले पनि गाउँघरतिर भन्ने गरिन्छ दिसा नधोएको अवस्थामा, खाना खाएर नचुठेको अवस्थामा र सुतेर उठेपछि मुख नधोएको अवस्थामा तुलसी छुनु हुँदैन । अर्थात् अपवित्र भएको अवस्थामा पवित्र चिजलाई छुन नहुने धार्मिक मान्यता छ । रजस्वला नारीको अत्यन्त पवित्र अवस्था हो । यो अवस्थामा अपवित्रहरूले छुन हुन्न भनिएको हो ।

तर, यहाँ त ठीक उल्टो भयो । अपवित्रहरू (फोहरी) ले नछोऊन भन्नाका लागि रजोधर्म (पवित्र) भएको वेला नारी छुट्टै बस्ने परम्परा सुरु भएको हो । रजोवती नारीले म रजोवती भएकी छु भनेर निधारमा लेख्न सम्भव पनि थिएन । त्यसैले, आफैँ छुट्टै बस्ने प्रचलन थियो ।तन्त्रको एउटा पन्थमा रजस्वला स्त्रीको योनीबाट निस्कने रगतलाई पवित्र मान्ने प्रथा नै छ ।

पाटनको एउटा मूर्तिमा रजस्वला देवीको योनीमै मुख लगाइराखेको एउटा साधक देखिन्छ । यो भक्तिको प्रतीक हो । यो समर्पणको प्रतीक हो । विज्ञान–प्रविधि, सूचना तथा सञ्चारको विकास अनि विस्तारसँगै समाजको परिभाषा र संरचना बदलिँदै छ । समाजको रूपान्तरणसँगै धार्मिक अभ्यास संस्कृति र संस्कारलाई पनि रूपान्तरण गर्दै लैजानुपर्छ ।

रूपान्तरणकै अभावमा धेरै संस्कृति तथा संस्कार लोप भएका छन् । हामीले अँगाल्दै आएको वैद्धिक सनातन धर्मका कतिपय शास्त्रका ठोस दस्तावेजहरूको समयसापेक्ष व्याख्या हुन जरुरी छ । हाम्रो धर्म संस्कृति कतैबाट संकटमा परेको छ भने गलत व्याख्याकै कारण संकटमा परेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय