मत-विमत

संघीयता र अतिक्रमित स्थानका नामहरू

सौर्य अनलाइन २०७५ असोज ३ गते ९:२९ मा प्रकाशित

डा. हर्क गुरुङको ‘जनजाति सेरोफेरो’ नामक किताबमा कास्की र लमजुङ जिल्लाको ५८ वटा गाउँ र ठाउँको गुरुङ भाषामा रहेका स्थानका नामहरू कसरी नेपाली÷खसकरण भएको छ ? भनी गुरुङ र नेपाली दुवै भाषाका नामसहितको चर्चा गरिएको छ ।

एक भाषाले अर्को भाषालाई अतिक्रमण गर्ने क्रम विश्वभरि नै विगत लामो समयदेखि चलिरहेको देखिन्छ । यस क्रममा स्थानका नामहरू बढी प्रभावित रहेको देखिन्छ ।

खासगरी, विगतको विभिन्न साम्राज्यकालमा विजेताका रूपमा स्थापित भएका शासकहरूले आफ्नो वर्चश्व कायम गर्न नयाँ देश वा ठाउँमा आएपछि शासक वा उनीहरूको प्रतिनिधि÷व्यक्तिले स्थानीय वा रैथानेहरूको भाषामा रहेका मौलिक स्थानका नामहरू उच्चारण गर्न नजानेर वा अप्ठ्यारो लागेर आफू वा आफ्नो भाषा अनुकूल हुने गरी नामहरू राख्ने वा परिवर्तन गर्ने गरेका थिए ।

यसरी नयाँ शासकका रूपमा आएका शासक वा उनीहरूका प्रतिनिधिहरूले स्थानीय वा रैथानेहरूको मौलिक भाषालाई विस्थापित गरेर केही देशकै नाम परिवर्तन गरे । जस्तैः ‘म्यानमार’ लाई ‘बर्मा’ भनियो । विभिन्न देशका राजधानीको नाम पनि परिवर्तन गरियो । जस्तैः ‘म्यानमार’ को राजधानी ‘यांगुन’ लाई ‘रंगुन’ बनाइयो ।

यसरी विश्वमा धेरै देशको नाम, देशको राजाधानीको नाम, सहरको नाम, हिमालको नाम, डाँडाकाँडाको नामहरू अपभ्रंश भएको देखिन्छ । खासगरी, विश्व प्रसिद्ध व्यक्तिहरू र आफ्नै देशका प्रभावशाली व्यक्ति, राजा, महाराजालगायतको नामले पनि पहिल्यैदेखि स्थानीय वा रैथाने भाषामा रही आएका स्थानका नामहरू अतिक्रमणमा पर्ने गरेको देखिन्छ ।

स्थानीय र मौलिक नामको सट्टा आगन्तुक भाषाको नामले चिनिएका केही देशको नाम लिनुपर्दा बर्मा, इराक, इरान, कम्बोडिया, न्युजिल्यान्ड, इजिप्ट, थाइल्यान्ड, इन्डिया, श्रीलंका, जर्मनीलगायत पर्छन् । बर्मालाई नै हेरौँ, माथि भनिए झैँ बर्माको खास नाम ‘म्यानमार’ हो । यही देश बर्माका कारण नेपालीहरूबीच ‘नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै’ भन्ने आहान नै बनेको छ ।

त्यस्तै, हालको इराकलाई कुनै वेला ‘मेसोपोटामिया’ भनिन्थ्यो भने, ‘मेसोपोटामिया’ सामान्य ज्ञानमा सीमित भएको छ । त्यस्तै, हाल इरान भनेर चिनिने देशको खास नाम पनि ‘फारस’ हो । कम्बोडियालाई कम्पुचिया भनिन्थ्यो । हाल न्युजिल्यान्ड भनेर चिनिने देशको नाम सुरुमा ‘जिल्यान्ड’ मात्रै थियो । स्मरणीय छ, ‘जिल्यान्ड’ स्थानीय माओरी आदिवासीको भाषामा रहेको नाम हो ।

यता थाइल्यान्डको नाम खासमा ‘सियाम÷स्याम’ हो भने, भारतलाई आजभोलि भारत भनेरभन्दा पनि इन्डिया भनेर चिनिन नै गर्व लागे झैँ लाग्छ । अझ भारतलाई हिन्दुस्तान पनि भन्ने गरिन्छ । तर, आजभोलि भारतको सरकारी तहबाटै भारत भनेरभन्दा पनि इन्डिया भनेर चिनाउन चाहन्छ भन्ने उदाहरण त्यहाँको केन्द्रीय बैंकलगायत सरकारी निकायहरूले नै देखाएका छन् ।

त्यस्तै, हालको श्रीलंकाको.नाम पनि कुनै वेला ‘सिलोन’ थियो । त्यसैले त सार्कको नियमित शिखर सम्मेलनको क्रममा सार्कका सरकार प्रमुखहरूबीच अंग्रेजीको पहिलो अक्षरअनुसारको मर्यादामा रहनुपर्दा श्रीलंकाका सरकार प्रमुखलाई सार्क राष्ट्रका सरकार प्रमुखहरूले ‘तपाईंको देशको नाम पुरानै ‘सिलोन’ राख्नुहोस्, पहिलो लहरमै बस्न पाउनु हुन्छ’ भनेर हँसी–मजाक गर्ने एउटा माध्यम नै भएको छ ।

त्यस्तै, कुनै वेलाको मिश्र सभ्यता रहेको देश मिश्रलाई पनि हाल मिश्रभन्दा पनि बढी इजिप्ट भनेर बढी चिनिन्छ । र, जर्मनी भनेर चिनिने देशको नाम पनि खासमा ‘डोइचल्यान्ड’ हो । वास्तवमा अंग्रेजी भाषामा जर्मनी भनिए तापनि जर्मनहरू अझैँ पनि आफ्नो भाषामा ‘डोइचल्यान्ड’ भनेरै लेख्छन् । भारतको केही राज्य र सहरका नाम वेलायतीहरूको आगमनसँगै अतिक्रमणमा परेका थिए ।

त्यसरी अतिक्रमणमा परेका सहरहरूमा मद्रास, पुना, बम्बई, कलकत्ता आदि हुन् । स्मरणरहोस्, हाल मद्रास चेन्नई भइसकेको छ भने बम्बई मुम्बई भएको छ । त्यस्तै, कलकत्ता पनि कोलकाता भएको छ, पुना पनि पुर्णे भएको छ । राज्यको नाम नै पश्चिम (वेस्ट) बंगालबाट बंगाली भाषाको उपयुक्त नाम राख्नेबारेमा पश्चिम बंगालको विधानसभामा छलफल चलेको थियो।

नेपालमा अधिकांश स्थानीय स्थानका नामहरू विषेशतः हिन्दू धर्मसँग जोडिएका धार्मिक नामहरू, खस नेपाली भाषा र, अंग्रेजीलगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ । यस क्रममा पूर्वमा मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा ‘दिपेन्द्र शिखर’ भएदेखि कोशी अञ्चलको सुनसरी र धनकुटाको सीमामा रहेको भेडेटार ‘चाल्स भ्यू प्याइन्ट’ सम्म भएका छन् भने तेह्रथुमको सदरमुकाम ‘मेयोङ लुङ’ बाट म्याङलुङ भएको छ।

तेह्रथुमकै ‘हात्तीलेङे’ ( पूरै खोलालाई हिंगुवा खोला भनिन्छ ) हाल ‘ह्यातुङ’ भएको छ । स्मरणीय छ, त्यो वेला (राणा शासनकालमा) धनकुटाबाट हिउँद याममा सरकारी मान्छेहरू हात्ती लिएर गोला (ओलाङचुङ गोला) तिब्बतबाट उठ्ने कर लिन जान्थे । त्यस क्रममा साविक सम्दु गाविसको ६ र ७ वडाको बीचमा गोदाम राख्थे।

हाल पनि सो ठाउँको नाम गोदाम रहेको छ भने त्यो वेला हात्ती बाँधेको ठूलो र अग्लो ढुंगाको खाँबो अझै पनि छँदै छ । यसरी धनकुटा भएर गोला ओहोरदोहोर गर्ने क्रममा एकपटक इसिबु र सम्दुको सीमा छुट्याउने खोला ‘हिंगुवा खोला’ को झरनाबाट हात्ती लडेर मरेकोले आदिकालदेखि बस्दै आएका स्थानीय लिम्बू जातिले आफ्नो मातृभाषामा ‘तक्निवा लेङे’ भन्दाभन्दै ‘हात्ती लेङे’ हुँदै ह्यातुङ झरना भएको छ ।

हुन त ‘तक्निवा लेङे’, ‘हात्ती लेङे’ हुँदै ह्यातुङ भएको यो झरना नेपालकै अग्लो झरना पनि हो । तर, यो झरना नेपालकै अग्लो झरना भए तापनि सामान्य ज्ञानमै सीमित छ । नेपालको मध्य र पश्चिमी भागतिर लाग्ने हो भने त्यता पनि स्थानका नामहरू अतिक्रमणमा परेको देखिन्छ ।

पोखरा नजिकको ‘ह्याङ्जा’ भनिने गाउँ अहिले ‘हेम्जा’ भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ डेविड फल्स भएको छ । स्मरणीय छ, स्विस तरुनी डेबी उक्त छाँगा हेर्न जाँदा छाँगाबाट खसेर मरेपछि ‘पाताले छाँँगो’ डेविड फल्सको नामले चिनिन थालेको हो । त्यसो त नेपाली हिमालका नाम पनि हिन्दू देवीदेवता र विदेशी भाषाबाट अतिक्रमणमा परेका छन् ।

जस्तैः पूर्वमा रहेको र लिम्बू जातिले सेवालुङ भनेर पुकार्ने हिमाल कञ्चनजंघा भएको छ भने, फक्ताङलुङ कुम्भकर्ण भएको छ । जुन हिमाललाई ‘जान्नु’ भनेर पनि चिनिन्छ । त्यस्तै, कुलुङ समुदायले सेसेलुङ भनेर बोलाउने गरेको हिमालको नाम मकालु हो ।

हाल सगरमाथा भनेर चिनिने हिमालको नाम चोमोलुङ्मा हो । तर, दुःखको कुरो, अझैँ पनि धेरै जसो नेपालका मूलधारका भनिएका पत्रकार, पत्रपत्रिका, लेखक, विश्लेषक आदिले चोमोलुङ्मा नामलाई नेपालका आदिवासी जनजातिहरूको पनि नाम हो भनेर स्वीकार नगरेर तिब्बती नामको रूपमा मात्रै बुझ्छन् ।

तर, पनि आदि अनादिकालदेखि स्थानीय रूपमा बस्दै आएका कुलुङ, खालिङ, शेर्पालगायत नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूले चोमोलुङ्मा भनेरै पुकार्दै आएका छन्, सगरमाथालाई । उता लाङटाङ क्षेत्रमा रहेको उर्कीमा हिमाल वाडेन पावेल भएको छ भने खुम्बु क्षेत्रमा रहेको जासम्बा हिमाल पासाङ ल्हामु चुली भएको छ ।

नयाँ नाम राख्ने क्रममा नेपालका विभिन्न ठाउँमा वादविवाद र होडिङ बोर्ड फालाफालसमेत भएका उदाहरणहरू छन् । जस्तो केही वर्षअघि तत्कालीन ललितपुर उमनपा—१४ वडाको नखिपोट टोलको खेल मैदान नजिक आदिवासी जनजाति विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले उक्त खेल मैदान क्षेत्रलाई ‘किरात चोक’ नामाकरण गरे ।

तर, पछि तत्कालीन ललितपुर उमनपाको समेत मिलेमतोमा स्थानीय रैथानेहरूले ‘शिव चोक’ बनाए । हाल विश्वभरि नै मौलिक नाम पुनः स्थापना गर्ने चलन बढ्दो छ । फलतः भारतको बम्बई मुम्बई, मद्रास चेन्नई, कलकत्ता कोलकाता भइसकेको र, पहिलेको बर्मा पनि हाल म्यानमार भइसकेको र म्यानमारको राजधानीको नाम पनि रंगुनबाट यांगुन भइसकेको प्रसंगमाथि उल्लेखित भएको छ ।

नेपालमा जातजाति र भाषाभाषी, संघीयता, समानुपातिक समावेशीकरण, मौलिक हक, मानवअधिकार, अपनत्व आदिको चर्को कुरा गर्नेेहरूले र, संघीयताको मर्म अनुरूप पनि सगरमाथालाई चोमोलुङ्मा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोलुखुम्बुको सोताङ गाउँलाई फुसतेल, कास्कीको हेम्जा गाउँलाई ह्याङ्जा, तेह्रथुमको ह्यात्रुङ झरनालाई हात्तीलेङे, संखुवासभाको मकालु हिमाललाई सेसेलुङ र तुम्लिङ्टारलाई तुमलुङटार, ताप्लेजुङको कञ्चनजंघा हिमाललाई सेवालुङ भनी पुनः नामाकरण गर्न साथै, नेपालभरिकै अपभ्रंश नामहरू पुनः स्थापित गराउनेतर्फ पहल गर्नुपर्छ ।

उसो त स्वर्गीय धनब्रज बज्रचार्यको संकलन ‘लिच्छवीकालीन अभिलेख’ नामक किताबमा लेखिएअनुसार काठमाडौं उपत्यकालगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नाम ८० प्रतिशतभन्दा बढी किराँती परिवारको भाषामा हरेका छन् ।

त्यस्तै, डा. हर्क गुरुङको ‘जनजाति सेरोफेरो’ नामक किताबमा कास्की र लमजुङ जिल्लाको ५८ वटा गाउँठाउँका नाम गुरुङ भाषामा रहेका स्थानका नामहरू कसरी खसीकरण !, नेपालीकरण भएको छ ? भनी गुरुङ र नेपाली दुवै भाषाका नामसहितको वर्णन गरिएको छ ।

प्रतिक्रिया