खोजखबर

द्रुतमार्गको निर्माण निर्धारित समयमै सक्ने सेनाको दावी

सौर्य अनलाइन २०७५ असोज ५ गते ९:३३ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशंका नगर्न आग्रह गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवं रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे ।

सडकको रेखांकनअनुरूप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररूपमा भइरहेको जानकारी दिँदै उनले भने, ‘कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।’

सस्तो मूल्यमा गुणस्तरीय ढंगबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई संगठनले इतिहास रच्ने अवसरका रूपमा लिएर काम गरिएको पनि सो अवसरमा जानकारी दिइयो । उक्त द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ ।

उक्त कम्पनीसँग यही महीनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महिनाभित्र डिपिआर तयार हुने सेनाले जनाएको छ । उक्त डिपिआर करिब १० करोड १५ लाखको लागतमा तयार हुनेछ । द्रुतमार्गले काठमाडौं र तराईलाई भावनात्मक र भौगोलिक रूपमा जोड्ने विश्वास गरिएको छ । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जनाएको छ ।

नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार १ सय १४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५ सय २६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।

प्रतिक्रिया