मत-विमत

सूचना, सञ्चार र पत्रकार संहिता

फणीन्द्र फुयाँल ज्वाला २०७५ असोज ५ गते १०:११ मा प्रकाशित

सरकारले संहितामा उल्लेखित गरिएका बुँदा सच्याउन र पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयन गर्नका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले गर्ने कार्य भने हेर्न बाँकी छ ।

यतिवेला संविधानको प्रस्तावनामै उल्लेखित भएको पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नका लागि र खोसिन लागेको सूचनाको हक जोगाउनका लागि आमनेपाली पत्रकारहरू आन्दोलित छन् ।

नेपाल पत्रकार महासंघलगायत देश तथा विदेशमा रहेका पत्रकारका विभिन्न संघ÷संस्था, संगठन र पत्रकारहरू फौजदारी संहिताको स्वतन्त्र प्रेस विरोधी दफाहरू खारेज गर्नका लागि सरकारलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रम घोषणा गरी अघि बढिरहेका छन् ।

यद्यपि, सरकारले संहितामा उल्लेखित गरिएका बुँदा सच्याउन र पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयन गर्नका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले गर्ने कार्य भने हेर्न बाँकी छ ।

सञ्चार भन्ने बित्तिकै एक व्यक्ति वा समूहसम्म बोली, शब्द, संकेत, चिह्न, लिपि, अंक, इशारा वा अन्य कुनै प्रकारले विचार, धारणा एवं जानकारी आदान–प्रदान गरिने प्रक्रिया भन्ने बुझिन्छ । प्रष्ट रूपमा भन्नुपर्दा समाज परिवर्तन सञ्चारकै कारण सम्भव हुन्छ भन्ने बुझिन्छ । पुरातन युगबाट आधुनिक सूचनाको युगसम्मको सामाजिक परिवर्तनको मुख्य कारण भनेकै सञ्चार हो ।

निरन्तर रूपमा सञ्चार प्रक्रियाको विकास भएको कारणले नै आजको अवस्थामा मानव समाज यो अवस्थासम्म आइपुगेको हो । सामाजिक परिवर्तन तथ्य, विचार, धारणा र सूचनाको विनिमयबिना असम्भव हुन्छ । सञ्चारलाई विभिन्न दृष्टिबाट हेरिएको छ । यी सबै दृष्टिकोण कुनै न कुनै रूपमा सामाजिक परिवर्तनसँग सम्बन्धित छन् । सूचना साझेदारी वा सन्देश आदान–प्रदान प्रक्रिया, मानव क्रियाकलाप, ज्ञानको एक विधा, एक पेसा र एक उद्योग आदि दृष्टिकोणहरू हुन् ।

सञ्चार एउटा प्रक्रिया हो । यो प्रक्रिया पूर्णतया सामाजिक परिवर्तनसँग सम्बन्धित छ । जसका आफ्नै पूर्वसर्तहरू विद्यमान् छन् । साझा सञ्चार वातावरण, प्रेषक र प्रापकबीच सहकार्य, माध्यमको चयन, सन्देश वा सूचनाको उपयुक्त संकेत वा अभिव्यञ्जन र प्रतिसंकेतन वा बोध र अपेक्षित प्रतिक्रियाको प्राप्ति यी सबै कारणले नै सामाजिक परिवर्तन हुन पुग्छ ।

एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउन तथा जनसमुदायलाई कुनै सूचना दिनका लागि प्राचीनकालमा कुनै व्यक्ति विशेषलाई जिम्मा दिइने कटुवाल प्रथा रहेको थियो । साथै, मानिसहरूको ध्यानाकर्षण गर्नका लागि ढोल, दमाहा, नगरा, झ्याली बजाउने प्रचलन रहेको थियो ।

परेवा तथा घोडालाई तालिम दिई एक ठाउँको खबर अर्को ठाउँमा पुर्याउने कार्यमा तिनीहरूको प्रयोगसमेत गरिन्थ्यो । हाम्रो देशमा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको वेलामा गन्धर्व (गाइने) हरूको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रभावकारी तवरले प्रवाह गरेका थिए ।

लोक सञ्चार माध्यमअन्तर्गत अझै पनि गीत संगीतमार्फत, सत्यनारायणको पूजा, तिज आदि पर्वहरूमा गीत तथा श्लोकमार्फत सन्देश प्रवाह गरिँदै आएको छ । सूचना लेखी सार्वजनिक स्थलमा टाँसेर पनि जनसमुदायलाई सूचित गर्ने प्रयास गरिन्थ्यो । यसैगरी, मठमन्दिरहरूमा काष्ठकलाको प्रयोग गरी, ढुंगामा शिलालेख लेखी सन्देश दिने हाम्रो पुरानै सञ्चार शैली हो ।

यी सबै सञ्चारका परम्परागत वा पुराना तरिकाहरू हुन् । आधुनिक मानव समाजमा नयाँ–नयाँ प्रविधिसँगै सञ्चारका साधनहरू पनि विकसित हुँदै गए ।  आज हामीसँग सञ्चारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालजस्ता साधन रहेका छन् ।

भू–उपग्रह, उपग्रह, कम्प्युटर र अप्टिकल फाइबर आदिले गर्दा सञ्चार सुविधा पहिलेभन्दा अझ बढी छिटोछरितो र सहजसमेत बनेको छ । वास्तवमा मानिसले समय र दूरीको अवरोधलाई प्रविधिको उपयोगबाट जित्ने प्रयास गरिरहेको छ । विश्वभरका घटना विवरण तत्काल घरमै बसीबसी हेर्न र सुन्न सकिएको छ ।

यसरी, आपसी सम्पर्क व्यापक मात्रामा हुन सकेकाले विश्वबन्धुत्व भावनामा समेत वृद्धि भई विश्वग्राम (ग्लोबल भिलेज) को अवधारणालाई बल पुगेको छ र सार्थकता पनि भएको छ । सञ्चार क्षेत्रमा भएका नयाँ–नयाँ परिवर्तनले हरेक देशको संस्कृतिमाथि प्रभाव पारिरहेको छ । सञ्चार साधनको उपलब्धताले मानिसको दिनचर्या नै बदलिएको छ ।

आजभन्दा केही वर्षअघि र अहिलेको मात्रा तुलना गर्ने हो भने पनि यो परिवर्तन स्पष्टसँग देखिन्छ । सञ्चारमाध्यमको व्यावसायिक पक्षले पनि आधुनिक मानव समाजमा ठूलो महत्व पाएको छ । सञ्चारकै कारण असीमित रोजगार प्राप्त भएको छ । वर्तमान युगमा सूचना नै वास्तविक सम्पत्ति हो ।

सञ्चारलाई जीवन पद्धति नबनाई सुखै छैन । पत्रकारिता र आमसञ्चार माध्यमको विकासक्रमसँगै विकास पत्रकारिताको पनि सुरुआत भयो । यालन चक्लीलाई विकास पत्रकारितका पिता मानिन्छ । उनले विकास पत्रकारितासम्बन्धी आफ्नो धारणा यसरी व्यक्त गरेका छन्, ‘विकासबारे आमसञ्चारका माध्यहरूले लेख्ने प्रक्रिया प्रारम्भिक चरणमा छ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि माध्यमले विकाससम्बन्धी गतिविधिले राजनीति, अपराध, र यौनपछिको चौथो स्थान पाएको छ ।’ चक्लीको यो भनाइ नेपालका अधिकांश मिडियामा लागू हुन्छ । विकास सञ्चार नेपाली मिडियाको सबैभन्दा अन्तिम विकल्प भएको छ । ‘विकासका लागि सञ्चार’ भन्ने मूल नाराकासाथ स्थापना भएको नेपाल टेलिभिजनले पनि जो सरकारमा जान्छ उसैको गुणगान गाउन छाडेको छैन ।

नेपालमा विकास सञ्चार सुरु भएको ठीक मिति यही हो भन्न त गाह्रो छ । तर, पनि ०४८ सालमा राष्ट्रिय सञ्चार योजना लागू भएपछि विकासका लागि सञ्चार भन्ने नारा घन्कियो । आमसञ्चारका माध्यमद्वारा सरकारका विकास गतिविधिको प्रचारप्रसार गर्ने उक्त सञ्चार योजनाको उद्देश्य रहेको थियो ।

भारतदत्त कोइरालाले गोरखापत्रमा आफू सम्पादक रहँदा विकास सञ्चारको अभ्यास गराएका थिए । गोरखापत्रको ‘गाउँघर’ स्तम्भ त्यतिवेला निकै लोकप्रिय र चर्चित बनेको थियो । जसका लागि पत्रकार किशोर नेपाल राजधानी नजिकैको धादिङ जिल्लाका गाउँठाउँ घुमेर विकाससम्बन्धी समाचार खोजी गर्थे ।

नेपालमा सञ्चार कसका लागि भन्ने प्रश्न निकै उठ्ने गरेको छ । विकास प्रक्रियामा सञ्चार र सञ्चारकर्मीको भूमिका कस्तो हुने भन्ने स्पष्ट व्यवस्था छैन । प्रायः नेपालका सञ्चार माध्यमहरू सुगम क्षेत्रका सहरी, बुद्धिजीवीहरू, शिक्षित एवं धनीमानीहरूको पहुँचभित्र छ।

अधिकांश विद्युतीय माध्यम सहर केन्द्रित छन् । काठमाडौंबाट प्रकाशन र प्रसारण हुने अधिकांश मिडियाको पहुँच गाउँसम्म छैन । स्थानीय मिडियाले स्थानीयका आवाज बोलिरहेका त छन् तर तिनीहरू पनि न्यून गुणस्तर तथा सामग्रीमा काठमाडौं केन्द्रित नै छन् ।

पत्रपत्रिका, रेडियो टिभी र अनलाइन ग्रामीण क्षेत्रको झलक दिने सामग्री अत्यन्त न्यून मात्रमा पाइन्छ । सामुदायिक भावनाबाट खुलेका अधिकांश नेपाली एफएम प्रसारणहरू व्यासायिकजस्ता देखिन्छन् । तैपनि, ग्रामीण सञ्चारलाई थेग्ने काम चाहिँ यिनै स्थानीय मिडियाले गर्दै आएका छन् ।

प्रतिक्रिया