खोजखबर

साँखुवासीलाई पुरानै शैलीमा घर बनाउन हम्मेहम्मे

आदित्य दाहाल २०७५ असोज ६ गते १०:५७ मा प्रकाशित

भूकम्प गएको झन्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको सहर साँखुमा घरहरू अझै पुनर्निर्माण हुन सकेका छैनन् । ०७२ सालको भूकम्पबाट प्राचीन सहर साँखु बजारका मौलिक शैलीका धेरै घरहरू क्षतिग्रस्त भए । अहिलेसम्म भत्किएका धेरै घरहरू बनिसक्नुपथ्र्यो ।

तर, यहाँ पुनर्निर्माणको कामले गति लिएकै देखिएको छैन । साँखुलाई लिच्छवीकालीन सहर मानिन्छ । प्रा. डा डिल्लीराज शर्मा र प्राडा टेकबहादुर श्रेष्ठद्वारा लिखित ‘साँखु : हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ नामक पुस्तकमा साँखुको ऐतिहासिक र सांस्कृतिक पक्षबारे व्याख्या गरिएको छ ।

पुस्तकमा साँखु क्षेत्रको बसोबास, बज्रयोगिनी देवीको ऐतिहासिक र धार्मिक महत्व, त्यस वरिपरि छरिएका कला र वास्तुकलाको रचना तथा साँखुमा मनाइने चाडपर्व र जात्राको विस्तृत अध्ययन समावेश गरिएको छ । इतिहासकार दया शर्मा र श्रेष्ठका अनुसार साँखु करिब ३ हजार ३ सय वर्ष पुरानो इतिहास बोकेको बस्ती हो ।

शंखरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनर्निर्माण गर्ने भन्ने अन्योल, आर्थिक भार, जग्गा विवादलगायतका कारण साँखु बजार क्षेत्रको पुनर्निर्माण हुन नसकेको स्थानीयवासी बताउँछन् । भूकम्प गएको दुई वर्षसम्म नगरपालिकाले सहरको पुनर्निर्माण कसरी गर्ने भन्ने डिजाइनसहित नक्सा तयार गर्न सकेन ।

दुई वर्षपछि मात्रै ऐतिहासिक घररूको पुनर्निर्माण पुरानै शैलीमा गर्ने निर्णय गर्यो । ‘ऐतिहासिक सहर भएकाले पुनर्निर्माण कुन शैलीमा गर्ने र कसले गर्ने भन्ने अन्योल दुई वर्षसम्म कायम रह्यो, त्यसैले पनि पुनर्निर्माणमा ढिलाइ भयो’, नगर प्रमुख सुवर्ण श्रेष्ठले भने । नगरपालिकाले पुरानै शैलीमा घरहरू पुनर्निर्माण गर्ने निर्णय गरे पनि डिजाइनलगायतका काम छिटोछरितो तवरबाट हुन सकेन ।

‘सहरको पुनर्निर्माण पुरानै शैलीमा गर्ने निर्णय भए पनि आवश्यक जनशक्ति नहुँदा स्थानीयवासीलाई समयमै नक्सालगायतका प्राविधिक सहयोग उपलब्ध गराउन सकिएन’ नगर प्रमुख श्रेष्ठले भने । सहरको पुनर्निर्माण कसले गर्ने, नक्सा र प्राविधिक जनशक्ति कसरी व्यवस्थापन गर्नेजस्ता विषय समयमै टुंगो नलागेर सहर पुनर्निर्माणमा ढिलाइ भएको सरोकारवालाको भनाइ छ ।

पीडित टहरामै बसिरहँदा सिंहदरबारबाट करिब २० किलोमिटरको दूरीमा रहेको साँखुमा भूकम्पको एक वर्षसम्म एकजना इन्जिनियरसम्म पुगेनन् । पीडितहरू तीन वर्षसम्म पालमै बस्न बाध्य भए ।  एकातिर सम्बन्धित निकाय पुनर्निर्माणमा उदासीन देखिए भने अर्कोतर्फ सरकारी सहयोग नपाएका केही स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन सुरु त गरे तर अत्यधिक महँगो पर्ने भएपछि हच्किए ।

अहिलेको बजार मूल्यअनुसार पुरानै शैलीमा घर पुनर्निर्माण गर्दा एउटा घर बन्न ५० देखि ९० लाख रुपैयाँसम्म खर्च लाग्ने इन्जिनियरलाई उद्धृत गर्दै शंखरापुर वडा नं ७ का दिनेशलाल श्रेष्ठले बताए । श्रेष्ठ स्वयंले अहिले घर पुनर्निर्माण गरिरहेका छन् । उनका अनुसार पुरानै शैलीमा घर निर्माण गर्न अहिले दक्ष कामदारको समेत अभाव छ ।

‘लिच्छवीकालीन झ्यालढोकाको निर्माणका लागि कालिगढै पाइँदैन, पाइहाले पनि अत्यधिक महँगो र ढिलो काम हुँदा साँखुवासी पीडित बनेका छन्, एउटा घर निर्माण हुनै दुई÷तीन वर्ष लाग्लाजस्तो छ’ उनले भने । यहाँका बासिन्दालाई पुरानो शैलीमा घर निर्माण गर्नैपर्ने बाध्यता छ र त्यसका लागि बजार मूल्य जति नै बढे पनि बेहोर्न उनीहरू तयार हुनुपर्छ । यसै कारण पीडितहरूलाई चार वर्षसम्म टहरामा कष्टकर जीवन जिउनुपर्ने बाध्यता आइपरेको गुनासो स्थानीयवासी दिवश श्रेष्ठले गरे ।

नगरपालिकाले भत्किएका घरहरू पुरानै शैलीमा पुनर्निर्माण गर्ने त भन्यो तर, कसरी गर्ने, सुलभ र सजिलो तरिकाले के हुन सक्छ, आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई के सहयोग गर्ने भन्ने विषयमा निर्णय नगरिदिँदा पुनर्निर्माणमा झनै समस्या परेको अर्का स्थानीयवासी शंखरापुर–७ कै बलराम श्रेष्ठ बताउँछन् ।

‘सरकारले उपलब्ध गराउने तीन लाख र नगरपालिकाले घर निर्माण सम्पन्न गरेपछि दिने भनेको एक लाख रुपैयाँले एउटा झ्यालढोका पनि आउँदैन, कसरी पुनर्निर्माण गर्ने ?’ उनको प्रश्न थियो । स्थानीयवासी संगीता श्रेष्ठले घरको पुनर्निर्माण सम्पन्न गरेकी छन् । घर बनाउन उनले ९० लाख खर्चिन् ।

उनले भनिन्, ‘झ्याल बनाउन मात्र बाँकी छ, अरू सम्पूर्ण निर्माणका काम सकियो । पुर्खाको पालादेखिको घर हो, जति दुःख र ऋण भए पनि बनाउनुपर्छ भनेर निर्माण थालेँ । अहिले तेस्रो तला निर्माण गरिसक्दा झ्यालबाहेक ९० लाख खर्च भइसक्यो ।’ भएको जग्गासमेत बेचेर पुरानै शैलीमा आवास पुनर्निर्माण गरेको संगीता बताउँछिन् ।

हुनेले ऋण लिएर वा जग्गा बेचेर पुनर्निर्माण सुरु गरेका छन् तर, नहुनेले अझै बनाउन सकेका छैनन् । सरकारले उपलब्ध गराउने तीन लाखको अनुदानबाट एकजोर झ्यालसम्म नआउने भएपछि स्थानीयवासी पुरानै शैलीमा घर निर्माण गर्ने कि नगर्ने भन्ने द्विविधामा थिए ।

तर, नगरपालिकाले पुरानो शैलीमा घर पुनर्निर्माण नगरे अनुदान रोक्ने र नगरपालिकाको तर्फबाट दिइने थप एक लाख रुपैयाँ सहयोग पनि नदिने बताएपछि स्थानीयवासी अहिले बैंकबाट चर्को ब्याज र जग्गा–जमिन बेचेरै भए पनि पुनर्निर्माण गर्न लागेका छन् । संगीताले १८ प्रतिशत ब्याजमा ऋण लिएकी छिन् ।

पुरानो शैलीमा घर निर्माण नगरे तीन लाखको सरकारी अनुदान रोक्ने र नगरपालिकाको तर्फबाट दिइने थप एक लाख पनि नदिने नगर कार्यपालिकाले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले बताए । स्थानीयवासी सुरेन्द्र श्रेष्ठले साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार घर सम्पन्न गरेको बताए ।

उनका अनुसार साढे तीन तलाको घर निर्माणमा ४२ लाख १५ हजार रुपैयाँ खर्च भयो । उनले भने, ‘मौलिकता झल्किने घर निर्माणका लागि बुट्टेदार काठका झ्याल र ढोका प्रयोग गर्दा लागत अझै निकै बढ्छ । मैले घरको चारवटा झ्याल निर्माणमा मात्रै तीन लाख खर्चिनु पर्यो । भूकम्पले आंशिक क्षति पारेको मूल ढोका भने मर्मत गरेर पुरानै राखेँ ।’

सरकारले विना धितो ऋण वा सहुलियतपूर्ण ऋण वा व्यक्तिगत तवरमा हुने पुनर्निर्माणमा अतिरिक्त अनुदानको व्यवस्था गरिदिएको भए सहरको मौलिकता नमर्ने गरी पुनर्निर्माण गर्न सकिने स्थानीयवासीको भनाइ छ । नगरपालिका, पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरण कुनैले पनि यसका लागि पहल नगरेको उनीहरूको दुखेसो छ । बैंकबाट ऋण पनि सजिलै पाइँदैन ।

यता, नगरप्रमुख श्रेष्ठले सहरको मौलिकता नझल्किने गरी घर निर्माण गर्न नदिएको प्रष्ट पार्नुभयो । घरमा सटर हाल्न पाइँदैन । झ्यालढोका काठकै पुराना शैलीको हाल्नुपर्नेछ । तेस्रो तलासम्म छत राख्न पाइने गरी नियम बनाइएको र सोहीअनुसार पुनर्निर्माण भइरहेको उनले जानकारी दिए । परम्परागत शैलीका घर पुरानै जगमा बनाउनुपर्नेछ र त्यसमा सडक मापदण्डले कुनै फरक पार्दैन ।

पुरानै शैलीमा घरहरू पुनर्निर्माण गर्ने भनिए पनि नगरपालिकासँग स्थानीयवासीलाई सहयोग गर्ने कुनै योजना भएको देखिँदैन । नगरप्रमुख भन्छन्, ‘पुरानै शैलीमा घर बनाए एक लाख रुपैयाँ दिन्छौँ ।’ यस्ता घर बनाउन लाग्ने कुल लागतको तुलनामा यो सहयोग नगण्य हो । साँखुमा परम्परागत शैलीका एक हजार घर थिए जसमध्ये तीनसय वटामा आंशिक क्षति पुगेको थियो ।

बाँकी सात सय घर पूर्णरूपमा क्षतिग्रस्त भएको नगरपालिकाको तथ्यांक छ। पुनर्निर्माण प्राधिकरणले दिएको जानकारीअनुसार ७ सयमध्ये १ सय ५० वटा सम्पन्न हुने चरणमा छन् भने जसमध्ये ६ वटा घर बनिसकेका छन् । भूकम्पमा परी शंखरापुर नगरपालिकामा मात्र २६ पुरुष र ७२ महिला गरी ९८ जनाको मृत्यु भएको थियो ।

यहाँ ६ हजार ४ सय ५२ घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । जनस्तरबाट मात्र होइन सरकारका तर्फबाट पनि यस्ता ऐतिहासिक संरचनाहरूको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चीरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् डा. श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया