अर्थबजार

बाख्रापालनमा आकर्षण

सौर्य अनलाइन २०७५ असोज ७ गते ११:१२ मा प्रकाशित

तनहुँ । परम्परागत रूपमा बाख्रा पाल्दै आएका तनहुँको भिमाद नगरपालिका–९ भानुमतीका श्रीमाया आलेले विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका छन् । पहिला ५÷६ वटा बाख्रा मात्रै पाल्दै आएकी आलेसँग हाल २५ बाख्रा छन् । सामान्य खोरमा बाख्रापालन गर्ने आलेले व्यावसायिक रूपमा बाख्रापालन थालेपछि लाखौँको खर्चमा सुधारिएको खोरसमेत बनाएका छन् ।

०७१ असारदेखि हेफर इन्टरनेसनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा व्यास गरिबी न्यूनीकरणका लागि व्यावसायिक पशुपालन परियोजना सञ्चालन भएपछि आले व्यावसायिक बाख्रापालनमा लागेका हुन् ।उनले १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरेका छन् ।

उक्त खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँसमेत बनाइएको छ । खोरमा दाना खुवाउन, पाठापाठी राख्न, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ । आलेलाई बाख्रापालनका लागि उनका श्रीमान टेकबहादुर आलेलेसमेत सहयोग गर्दैै आएका छन् ।

बाख्रापालनका लागि आले परिवारले १५ रोपनी क्षेत्रफलमा घाँस खेतीसमेत गरेको छ । किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाँकी र भुइँघाँसमा सुम्बा सेटारिया, सियो फोर, सियो थ्रि र मोलाटो जातका घाँसखेती गरिएको उनले बताए ।

बाख्राको ब्याड बोका र खसी बेचेर वार्षिक २ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको आलेले बताए । ‘परियोजना सञ्चालनपछि व्यावसायिक रूपमा बाख्रापालन गर्न उत्प्रेरणा जाग्यो’, उनले भने । ब्याड बोका प्रतिकिलो ८ सयका दरले (जिउँदो), खसी ३ सय ८० र पठ्यांग्री ३ सय ५० का दरले बिक्री हुने गरेको छ।

सोही ठाउँका शिवकुमार आलेले ५०, नरमाया थापाले २५, दिलमाया थापाले २५, दिलकुमार थापाले २५ र चन्द्रमाया आलेले २५ बाख्रा पालेका छन । उक्त ठाउँका १ सय ५८ परिवार नै बाख्रापालनमा आबद्ध छ । सबैजसोले २० भन्दा बढी बाख्रा पालिरहेका छन् । सो ठाउँमा सात समूह गठन गरी बाख्रापालन सुरु गरिएको थियो ।

दिदीबहिनी जनजागरण सामुदायिक संस्था, दिदीबहिनी जनजागरण आयआर्जन उपहार समूह, मिलन महिला आयआर्जन उपहार समूह, हरियाली आयआर्जन उपहार समूह, सिर्जन आयआर्जन उपहार समूह, शितला आयआर्जन उपहार समूह, नमुना महिना आयआर्जन उपहार समूह गठन गरी महिलालाई आबद्ध गराई बाख्रापालन सुुरु भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय