खोजखबर

गंगा उप्रेती कुलपतिमा दोहोरिए

सौर्य अनलाइन २०७५ असोज २१ गते १४:३६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष उक्त प्रतिष्ठानका नवनियुक्त कुलपति गंगाप्रसाद उप्रेतीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनी आजै उक्त पदमा दोस्रो पटक नियुक्त भएका हुन् । सोही अवसरमा कुलपति उप्रेतीले नवनियुक्त सदस्यसचिव जगप्रसाद उपाध्यायलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई वर्तमान परिवर्तित समयअनुसार गतिशील र आधुनिक बनाउन आग्रह गर्दै असाधारण प्रकृतिका कला, संस्कृति, मूल्य र मान्यतालाई संरक्षण गर्न नेतृत्व तहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानले कृति प्रकाशनको संख्या वृद्धिभन्दा पनि गुणात्मक सिर्जना प्रकाशनमा ध्यान दिन तथा संस्थाको गरिमा र मर्यादा बढाउन पनि सुझाव दिए ।

प्रतिष्ठाननलाई विवादरहित बनाई सबै विधा र पक्षको विकास गरी त्यसलाई सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उहाँले निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत अन्य पदाधिकारीको सो अवसरमा सहभागिता थियो ।

प्रतिक्रिया