खोजखबर

मलाई हेर्ने सरकार छ ?

सौर्य अनलाइन २०७५ असोज २२ गते ९:०० मा प्रकाशित

मान्छेको जीवनमा दुःख कसले पो चाहन्छ र ? सुख होस्, साथमा घरपरिवार आफन्त होऊन्, बस्नलाई झरीमा टाउको लुकाउने वास होस् र खानलाई मीठोमसिनो दुई गाँस होस् । सबैले चाहना राख्छन् । तर, यी सबै कुरा सबै मान्छेको जीवनमा चाहेर मात्रै पनि प्राप्त हुँदैन । बझाङ जिल्लाको खप्तड–खान्ना गाउँपालिका कालुखेती मतुवामा बस्ने झुप्री आग्रीको जीविका मागेर वा गाउँलेको धान ओखलीमा कुटेर चलेको छ ।

आफ्नो उमेरसम्म कति हो भन्न नसक्ने उनी आँखा पनि देख्दिनन् । एक्ली झुप्रीका न आफन्त छन् न त सम्पत्तिका नाममा केही । उनको सम्पत्ति भनेको दुई पाखुरी मात्र हुन् जुन चलेका दिन मुखमा माड लाग्छ । नत्र कहिलेकाहीँ चिसो ओछ्यानमा खाली पेट रात काट्नुपर्छ । बझाङ यात्राका क्रममा कालुखेती मतुवामा भेटिएकी आग्रीले सुनाइन् आफ्ना भोगाइ र दुःखका कथाव्यथा : चमिना भट्टराइकाे रिपाेर्ट

मैला लुगा, चाउरिएका गाला, चिम्सा पानी बगिरहेका रसिला आँखा, पाको उमेर र कुप्रिएको शरीर भएकी झुप्री आग्रीको नामजस्तै हुलिया पनि झुप्री नै छ । आफ्नो उमेरसम्म थाहा नभएको उनले यो खुला संसारमा रहेका मान्छेको जीवनशैली, आफू बसेको गाउँसमेत देख्न पाएकी छैनन् ।देखून् पनि कसरी ? उनले दुवै आँखा देख्न छोडेको वर्षौं भयो ।

बझाङ जिल्ला छान्ना–खप्तड गाउँपालिकाको मतुवामा बस्ने झुप्रीको दैनिकी अत्यन्तै कहालीलाग्दो छ । उनकै हाराहारी उमेरका गाउँका अरू कैयौँ महिलाका घरमा पति, साथमा छोराबुहारी नातिनातिना छन् र उनीहरूको मायाको जालमा दंग पनि छन् । उनीहरूको दुःखसुख सुनाउने ठाउँ छ ।

उमेर त झुप्रीको पनि नाति नातिना मात्रै होइन, पनाति खेलाउने भएको छ । तर, साथमा समाउने लठ्ठीबाहेक उनीसँग कोही छैन । करिब ७५÷८० वर्षको उमेरमा हिँड्दै गरेकी उनको सानैमा बिफरका कारण देख्ने शक्ति गुम्यो ।

अहिलेको जस्तो चेतना, सुविधा र उपचारको व्यवस्था भएको भए उनले पनि खोप लगाएर संसार देख्ने थिइन् होला । तर, उनले बाल्यकालमै गुमाइन् त्यो अवसर । जसका कारण संसार हेर्ने उनको रहर बाल्यकालमै खोसियो ।

आवाजका भरमा फलाना होलान् भनेर अनुमान लगाउने र सोधेर चिन्छिन मान्छे ।  वर्षौंदेखि सुनेका आवाजका कारण कतिलाई उनी सहजै चिन्छिन् । बाटो छामेरै तल्लो र माथिल्लो घर हिँड्दाको साथी एउटा लठ्ठीबाहेक कोही छैन, उनका साथमा ।

त्यसले पनि कहिलेकाहीँ उनलाई धोका दिन्छ र लर्बराउँदै लड्न पुग्छिन् । त्यो अवस्था उनले धेरै भोगिन् । उनका लागि यो समान्यजस्तै भएको छ । युवा अवस्थामा हुँदा उनले आँखै नदेखे पनि मनले एक पुरुषलाई रोजेकी थिइन् । तर, त्यो सम्बन्ध महिना दिन पनि टिक्न सकेन ।

‘उनले माया गर्छु मसँग हिँड् भने, होला त आखिर एक जनासँग जीवन काट्नैपर्छ भनेर पतिको घर गएँ । उनको घरमा त मभन्दा ठुल्ठूला पाँच वटी छोरी र पत्नी रहेछन्, उनले घरमा पत्नी र छोरीहरू भएको ढाँटेका थिए । सबै थाहा पाएपछि त्यहाँ बस्नै मन लागेन । अरूको सौता भएर आफूभन्दा जेठी छोरीहरू भएको पत्नी भएर के बस्नु ?

बरू आफू जन्मेहुर्केको गाउँ जान्छु र ठकुरानीहरूको धान ओखलीमा कुटेर खान्छु भनेर आएँ’, उनले आफ्नो विगत सम्झँदै बताइन् । अहिले उनको दैनिकी उनले भनेजस्तै टोलका ठकुरीहरूको धान कुटेर दिएको ‘माना मुठी’ चामलले धान्नुपर्ने बाध्यता छ । धान कुटेको ज्याला दिन्छन् त ?

‘ओठ लेप्राउँदै’ उनले भनिन्, ‘कसैले अलि दिन्छन् कसैले त्यो पनि राम्रोसँग दिँदैनन्, मैले आश गरेजस्तो छैन, कति त काम लगाएर टार्न पाए हुन्थ्यो जस्तो पो गर्छन् त ।’

उनले आफ्ना असन्तुष्टि पोखिन् । उनले भनिन, ‘उमेर छँदाजस्तो काम गर्न, सक्दिनँ, कमजोरी भएँ हात गोडा दुख्छन्, शरीर काम्छ, कहिलेकाहीँ त काम गर्न पनि सक्दिनँ, त्यस्तो वेला भोकै बस्नुपर्छ, काम नगरेका दिन खान दिँदैनन्’, पीडा सुनाइन् उनले ।

‘गाउँमा सबै एकैनासे छैनन्, उनले गाउँलेको भावना सुनाइन्, ‘कोही ठकुरानी दयालु छन्, तैँले के खाइस् झुप्री भनेर पनि सोध्छन्, घरमा पाकेको दिन्छन्, कोही कति आउँछे यो झुप्री भन्दै झर्कन्छन् ।

उहाँहरूको घरमा नआएर कहाँ जाऊँ ? वैँशमा बिहे गरेको पतिभन्दा बढी विश्वास यिनैलाई गरेर आएकी हुँ’, आफ्नो विश्वास सुनाइन् ।

अधिकांश ठकुरीहरूको बस्ती रहेको मतुवामा झुप्रीलाई तिमीसम्म भनेर बोलाउने भेटिन गाह्रो रहेछ ।

साना केटीसम्मले उनलाई ‘तँ’ भनेर सम्बोधन गर्दा रहेछन् । ‘ऊ झुप्री आई, के खाइस्, धान कुटिदेन,’ उनलाई गरिने सम्बोधन यस्तो सुनिन्छ।

सुन्निएका र चाउरिएर मुजैमज्जा परेका हात देखाउँदै उनले भनिन, ‘शरीरमा बल र उमेर छँदा यी हातले कति धान कुटेँ गिन्ती नै छैन अहिले बल पनि छैन वैँश पनि छैन, पहिला त जसले जे भने पनि गर्थें ।’

कहिलेकाहीँ धान कुट्छु बाँकी आशमा बित्छ दिन ।’ आँखा नदेखे पनि झुप्री अरू समान्य मान्छेलेजस्तै ओखलीमा धान कुट्न सक्छिन् । दुई हातले ओखली समाउँदै खुट्टाले धान लगाउँदै धान कुट्न सिपालु छिन् उनी ।

आग्रीले आफू दलित भएका कारण कैयौँपटक अरूका घरबाट समेत लखेटिनु परेको हृदयविदारक अतीत सुनाइन् ।आफ्नो नाममा घर सम्पत्ति केही नभएको र आफन्तसमेत नभएका कारण कहिले कसको गोठ त कहिले पाली कुरेर बस्ने गरेको उनले सुनाइन् ।

‘के गर्नु मेरो आफ्नो न सम्पत्ति न आफन्त अरूको घरमा आश्रय लिएर बस्छु त्यहाँबाट पनि कहिलेकाहीँ खेदाउँछन् । मलाई रहर त छैन नि अरूको घर गोठमा बस्न, कहाँ जाऊँ यही ठाउँमा ओखली कुटेर दिन काटुँला भनेर बिहे गरेर गएको घर छोडेर आएँ ।

आएदेखि न मैले त्यो परिवार सम्झेँ, परिवारकाले मलाई सम्झे, मेरा आफन्त जे भने पनि यिनै गाउँले त हुन् नि ।’ भावुक हुँदै दुःख बिसाइन् उनले । सरकारले दिने भत्तामा समेत आफूलाई विभेद गरिएको उनको गुनासो छ । राज्यले दलितलाई दिने भनिएको सुविधाबाट पनि आफू वञ्चित रहेको उनले सुनाइन् ।

‘मलाई त केही थाहा छैन । सरकारले के दिन्छ दिँदैन भनेर, अरूले भनेको सुनेकी हुँ सरकारले अपांग र दलितलाई भत्ता दिन्छ भनेको को, तर मैले भने महिनाको एक हजार मात्रै पाउने गरेकी छु ।’ उनले समस्या बिसाइन् । झुप्रीको नागरिता बनाउँदा कम उमेर उल्लिखित गरेका कारण पनि उनी सुविधाबाट वञ्चित हुनुपरेको छिमेकी प्रकाश सिंहले बताए ।

आफूजस्तो कोही नभएका र अपांग असहायका लागि सरकारले केही गरिदिए बाँचुञ्जेल आरामसँग बाँच्न सकिने आशा रहेको उनले बताइन् । ‘केही नभएका र गरी खान नसक्नेलाई त सरकारले हेर्नुपर्ने होइन र हजुर ?’ उनले प्रश्न तेर्साइन् । उनको प्रश्न स्वाभाविक र सही पनि थियो, हो भन्नुको विकल्प पनि थिएन, उनको प्रश्नमा सहमतिको टाउको हल्लाउनुबाहेक ।

युवा हुँदा उनले धेरैको धान कुटिन, जसले जे भने त्यो खुरुखुरु गर्दै आइन्, आफूले सकेको कामले गाउँलेको सेवा गरिन्, उनले । अहिले उनको उमेर र अवस्थाले चाहे जति काम गर्न सक्दिनन् निगाहले दिएको खानु र हजुर भन्दै आशा गर्नुबाहेक उनका अघि अरू विकल्प नै छैन ।

बाल्यकालमा हुर्केको वै‌ंशमा उकाली÷ओराली गरेको मतुवा गाउँ र त्यहाँका स्थानीयसँग उनी सन्तुष्ट नभएको उनका भनाइ र अभिव्यक्तिले प्रष्ट पार्छ । तर, उनका अघि यो बुढेसकालमा त्यो गाउँ छोडेर कहीँ जाने विकल्प पनि छैन ।

‘कसैले घरमा पाकेको दिन्छन्, कसैले नआए हुन्थ्यो भन्ने व्यवहार गर्छन्, आफू आँखा देख्दिनँ कहाँ जाऊँ ? अब मरे पनि यहीँ मर्छु ।’ गाउँप्रतिको माया र आफ्नो अवस्था प्रकट गरिन् उनले ।

‘खान त दुुई छाक काम गरेर वा मागेर भए पनि खान्छु, तर, एक सरो लुगा लगाउन साह्रै समस्या हुन्छ नांगै हिँड्न पनि भएन शरीर ढाक्नै पर्यो, गाउँलेले दिएका पुराना लुगा कहिले त दिएको दुई दिनमै च्यातिन्छ ।’

उनले विस्तार लगाइन् । झुप्रीका समस्या सुन्दा र उनको अवस्था हेर्दा कहालीलाग्दो छ । ‘घरले जा वनले आइजा’ भन्ने उमेर छ ।

तँलाई भोक लाग्यो होला के खान्छेस् भन्ने कोही छैनन् । आज मलाई सन्चो छैन, यो खान पाए हुन्थ्यो भनेर दुःख बिसाउने साथमा कोही छैनन् ।

अरूका परिवार मायाजाल सुन्दा उनलाई पनि आफ्ना कोही भइदिए हुन्थ्यो भन्ने पक्कै होला । तर, त्यो उनको चाहना ‘मनको लड्डु घ्यू’ सँग भनेजस्तै हो उनका लागि ।

सरकारले यस्ता घरबार र आफन्त नभएका असहाय र वृद्धाका लागि गाँस र वासको व्यवस्था गर्ने हो भने आग्रीजस्ता धेरैले अरूको गोठ र पिँढीमा ओत खोज्दै एक गाँसका लागि आशा गर्नुपर्ने अवस्था आउँदैन थियो होला ।

प्रतिक्रिया