मत-विमत

कस्ता–कस्ता छन् दुर्गाका नौवटा रूप ?

हरि लम्साल २०७५ असोज २४ गते ८:१२ मा प्रकाशित

दसैँसँग राम र दुर्गाका विजयहरू गाँसिएका छन् । रावण र महिषासुर खराब प्रवृत्तिका प्रतिनिधि हुन् भने राम र दुर्गा असल प्रवृत्तिका प्रतिनिधि हुन् । सीतालाई हरण गरेर रावणले अक्षम्य भूल गरेकै हुन् । खराब प्रवृत्तिलाई असल प्रवृत्तिले विजय गरेको खुसी भनेकै दसैँको खुसी हो । त्यसैले, गर्दा पनि होला, दसैँ हिन्दूहरूको मात्र पर्व रहेन, यो त राष्ट्रिय चाड नै होभन्दा अत्युक्ति नहोला ।

चाड भनेका संस्कृति हुन् । संस्कृति भनेका मान्छेले स्वीकारेका चलन हुन् । चाडहरूका आआफ्नै इतिहास छन्, आआफ्ना गौरव छन् । सबैका मूलहरू सङ्ला र स्वच्छ छन् । बढ्दै र फैलिँदै जाँदा बिस्तारै तिनमा नयाँ आयाम, नयाँ चलन र नयाँ चल्ती पनि थपिएका र गाँसिएका छन् । थपिएका र गाँसिएका कुराहरू धेरैजसो सुन्दर छन् ।

चाडको मुख्य स्रोत कर्म (काम) हो । कर्मबाट प्राप्ति निःसृत हुन्छ । प्राप्तिले खुसी दिन्छ । जय–विजय, प्राप्ति र विश्रान्ति चाडका सुन्दर स्रोत हुन् । दसैँसँग राम र दुर्गाका विजयहरू गाँसिएका छन् । रावण र महिषासुर खराब प्रवृत्तिका प्रतिनिधि हुन् भने राम र दुर्गा असल प्रवृत्तिका प्रतिनिधि हुन् ।

सीतालाई हरण गरेर रावणले अक्षम्य भूल गरेकै हुन् । खराब प्रवृत्तिलाई असल प्रवृत्तिले विजय गरेको खुसी भनेकै दसैँको खुसी हो । त्यसैले गर्दा पनि होला, दसैँ हिन्दूहरूको मात्र पर्व रहेन, यो त राष्ट्रिय चाड नै होभन्दा अत्युक्ति नहोला । दसैँ मनाउने चलनबारे एउटा कथन छ, एकताका महिषासुर नामक राक्षस थियो ।

उसको तपस्याबाट बाध्य भएर देवताहरूले उसलाई अजय हुने वर दिए । वर पाएपछि महिषासुरले नर्कको विस्तार गर्दै स्वर्गको ढोकासम्म पुर्यायो । उसले सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्रमा, यम, वरुणलगायतका देवताहरूको सबै अधिकार खोस्यो । आफैँलाई स्वर्गलोकको मालिक घोषणा गर्यो । महिषासुरको कृत्यबाट दिक्क र क्रोधित भएका देवताहरूले देवी दुर्गाको रचना गरे ।

दुर्गाको रचनामा सबै देवताहरूले आफ्नो सबै बल लगाए । आआफ्ना शस्त्रहरू दुर्गालाई दिए । सबै देवताको प्रयासबाट दुर्गा बलवान् भइन् । नौ दिनसम्म देवी र महिषासुरको बीचमा युद्ध भयो । अन्ततः महिषासुरको बध भयो । दुर्गा महिषासुरमर्दिनी बनिन् । यसैको खुसीयालीमा दसैँ मनाउने चलन सुरु भयो ।

असोजको शुक्ल प्रतिपदाका दिनदेखि यो चाड सुरु हुन्छ र पूर्णिमा (कोजाग्रत) सम्म रहन्छ । पहिलो ९ दिनलाई नवरात्रि भनिन्छ । नवरात्रिको अर्थ हो, नौवटा रात्रि । यी नौ दिनसम्म दुर्गाको नौवटा स्वरूपको क्रमशः आराधना गरिन्छ । दुर्गाको अर्थ हो, जीवनको दुःख हटाउने ।

दुर्गाका नौवटा स्वरूप

शैलपुत्री : दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको आराधनाबाट नवरात्रि सुरु हुन्छ । पर्वतराज हिमालयकी छोरी भएकी कारण शैलपुत्री भनिएको हो । वृषारुढा वा वृषभ (गोरु) यिनको वाहन हो भने दायाँ हातमा त्रिशुल, बायाँ हातमा कमल बोकेकी यिनको पूजामा सेतो रङको सामान चढाइन्छ । गाईको घिउ प्रयोग गरेर पकाइएको सामान र आराधना गर्नाले रोगबाट मुक्ति मिल्छ । यसै दिन जमरा राखिन्छ वा जौँ छर्ने चलन छ ।

सुरुमा प्रकृति माता, गुरुदेव र इष्टदेवलाई नमन गरी गणेशको आह्वान गरेर कलश स्थापना गरी आँपको पात र पानी राख्ने र सुपारीका साथै सिक्का आदि चढाउने त्यसपछि सरस्वती, लक्ष्मी र दुर्गा आह्वान गर्दै धुपबत्ती बालेर देवीका सबै रूपहरूको पूजा गर्ने र नवरात्र सकिएपछि कलशको जल घरमा छर्कने र कन्या पूजा गरेर प्रसाद वितरण गर्ने चलन छ ।

ब्रह्मचारिणी : नवरात्रिको दोस्रो दिन बह्मचारिणीको पूजा–अर्चना गर्दै ब्रह्मको अर्थ हुन्छ, तपस्या र चारिणीको अर्थ आचरण गर्ने खालकी भन्ने हुन्छ भने मिश्री वा चिनी र पञ्चामृतको भोग गरिन्छ । यी चीज दान गर्नाले लामो आयु प्राप्त हुन्छ।

चन्द्रघण्टा : दुर्गाको तेस्रो शक्ति चन्द्रघण्टा हो, मरत्तकमा घण्टाको आकारमा आधा चन्द्रमा, १० वटा हात, प्रत्येक हातमा अस्त्र–शस्त्र, देवीको रूप परम् शान्तिदायक र कल्याणी छ भने दूध र दूधबाट बनेका चीजहरू भोग गरिन्छ । जसले गर्दा दुःख नाश हुने गर्दछ ।

कुष्माण्डा : नवरात्रिको चौथो दिन कुष्माण्डाको उपासना गरिन्छ, आठवटा हात, सातवटा हातमा कमण्डलु, धनुष, वाण, कमलको फूल, अमृतले भरिएको कलश, चक्र र गधा लिएकी र आठौँ हातमा सबै सिद्धि प्रदान गर्नेखालको जपमाला छ । मालपुवा भोग लगाइन्छ भने दान गरिन्छ र खाइन्छ, जसले गर्दा बुद्धिको विकास हुन्छ ।

स्कन्दमाता : नवरात्रिको पाँचौँ दिन स्कन्दकुमार कार्तिकेयकी आमा भएका कारण स्कन्दमाता भनिएको हो भने कमलको आशनमा विराजमान भएकी पद्मासना पनि भनिन्छ । वाहन सिंह हो, भोग केरा लगाइन्छ, जसले गर्दा ज्ञानी बनिन्छ भन्ने छ ।

कात्यायनी : दुर्गाको छैठौँ स्वरूप महर्षि कात्यायनले छोरी प्राप्त गर्ने इच्छाले देवीको कठिन तपस्या गरी छोरीको रूपमा जन्म लिइन् । राम्रो पति पाउने इच्छा राख्नेले कत्यायनीको पूजा र व्रत बस्छन्, मह चढाइन्छ, उपासना गर्दा भक्तले सजिलै अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सक्छन् ।

कालरात्रि : दुर्गा पूजाको सातौँ दिन कालरात्रिको उपासनाले सबै अशुरी शक्तिहरूको नाश हुन्छ, तीनवटा आँखा, शरीरका अंग एकदमै काला, सख्खरको नैवेद्य र दान गरिन्छ भने यस दिनलाई फूलपाती पनि भनिन्छ ।

बेलपत्र, धानको लाभा, अनार, अनारको बोट, उखु र केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याइने हुनाले घरभित्रका नकारात्मक कीटाणु र जीवाणुहरू औषधि पालुवाको प्रभावले घरमा रहन सक्दैनन् ।

गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती बढाईं गर्दै हनुमानढोका भित्र्याइने चलन छ भने महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसिदानी आदिको यसै दिन पूजा गरिन्छ ।

महागौरी : दुर्गाको आठौँ शक्ति महागौरी हो भने सबै आभूषण र वस्त्र सेतो भएका कारण श्वताम्बरधरा पनि भनिन्छ । शिवलाई पतिको रूपमा पाउन महागौरीले कठोर तपस्या गरिन्, तपस्याबाट खुसी हुँदै शिवले शरीरलाई गंगाको जलले धोएर कान्तिमय बनाइदिए ।

यिनको उपासनाले सबै पापबाट मुक्ति पाइने र नरिवलको भोग लगाइन्छ र मनोकामना पूर्ण हुन्छ । हातहतियार र अन्य सामान पूजा गरिन्छ ।

सिद्धिधात्रि : नवरात्रि पूजाको नवौँ दिन सिद्धिधात्रीको उपासना गर्नाले सबै सिद्धि प्राप्त हुन्छ । यिनैको कृपाले महादेवको आधा शरीर देवीको भएको थियो ।

अर्धनारीश्वरको नामले प्रसिद्ध भएका थिए भने विभिन्न प्रकारका अन्नको भोग–हलुवा, चना, पुरी, खीर–पुवा आदि । नौजना कन्यालाई भेला गरी पूजा गरिन्छ, जसले जीवनमा सुख–शान्ति हुन्छ ।

विजया दशमी : १०औँ दिन यस पर्वको मुख्य दिन, बिहान अपराजिता देवीलाई पूजा गरी टीका प्रसाद ग्रहण गरिन्छ । टीका लगाउँदा दिइने आशिष–
आयु दोणसुते श्रीयं चः दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दूर्योधने ।
दानं सूर्यसुते बलं च हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

दसैँको प्रसाद ग्रहण गरेपछि बचेका अंकुरित जमराको रस बनाएर खानाले महाऔषधि मानिन्छ । शमी रुखको पूजा गर्ने गरिन्छ ।

पूर्णिमा : यस दिनदेखि दसैँ सकिन्छ । दसैँमा चंगा उडाउने कार्य र पिङ खेल्ने पनि गरिन्छ । सहरी क्षेत्रहरूमा १०औँ दिनदेखि पूर्णिमासम्मै टीका–जमरा लगाउने प्रचलन पनि बढ्दै गएको छ । दसैँमा विभिन्न दुर्गादेवी मन्दिरमा घुइँचो हुनेगरी दर्शन, पूजापाठ, बली दिने पनि प्रचलन छ ।

कुलको वंशलाई एकताको सूत्रमा बाँध्ने काम दसैँमा हुने गरेको छ भने विदेशमा रहेका नेपालीको स्वदेश फिर्ती पनि हुने गर्दछ । त्यसैले, दसैँलाई राष्ट्रिय चाड वा पर्व मानिन्छ । दसैँ पर्वमा सबै नेपालीको जीवन सुखमय, शान्तिमय र दीर्घायुमय बन्न सफल रहोस् भन्ने कामना गरिन्छ ।

प्रतिक्रिया