मत-विमत

यसरी सम्भव छ, विकास र समृद्धि

डा. डिआर उपाध्याय २०७५ असोज २५ गते ८:१० मा प्रकाशित

सरकारले राम्रो ठाउँमा लगानी गर्नुपर्छ । लगानीविना समृद्धि हुँदैन । सरकारले यस्तो क्षेत्रमा लगानी गरोस्, जसबाट उत्पादन बढोस् र रोजगारी पनि बढोस् । त्यो गरिबसम्म पुगोस् । त्यसो भयो भने गरिबहरू माथि उठ्न सक्छन् । यसका लागि कृषि क्षेत्रलाई प्रमुख प्राथामिकता दिएर लगानी गर्ने काम सरकारले गर्नुपर्छ । पर्यटन क्षेत्र पनि आम्दानीको स्रोत हो । पर्यटन विकासलाई पनि जोड दिने काम गरौँ ।

विकास र समृद्धिका कुरा धेरै भए । तर, विकास र समृद्धिको मार्ग चित्र कोर्न सरकार सकिरहेको छैन । पूरा समाजले नै फड्को मार्न सक्यो भने मात्र समृद्धि प्राप्त गर्न सकिन्छ ।

समाजले फड्को मार्नु नै समृद्धि हो । यो बारेमा कुरा बुझ्न जरुरी छ । अहिले हाम्रो समाज कहाँ छ ? समाजको अवस्था कस्तो छ ? यो बारेमा राज्यले बुझ्न जरुरी छ । समृद्धिको कुनै सीमा हुँदैन ।

आर्थिक वृद्धिदर हुनु नै विकास हो । विभिन्न अर्थशास्त्रीहरूको आआफ्नो तर्क छ । तर, वास्तविकता यो हो । देशको विकास समृद्धिका लागि अर्थतन्त्र बलियो हुनैपर्छ ।

आर्थिक वृद्धिदरले मात्रै समृद्धिको बाटो कोरिन सक्छ । अहिले हाम्रो देशमा जनताको ठूलो तप्का चरम गरिबीमा छ । आर्थिक वृद्धिदरको फल गरिब जनताले चाख्न पाउनुपर्छ । त्यो स्थिति अहिले देखिँदैन ।

गरिब जनता गरिबीकै चंगुलमा रहिरहे भने मुलुक समृद्ध हुन सक्दैन । मुलुक समृद्ध बन्न आर्थिक वृद्धिदरको फल गरिबसम्म पुग्नैपर्छ । ती जनता गरिबीको रेखाबाट बाहिर आउनैपर्छ । त्यसो भयो भने मात्र मुलुकको विकास र समृद्धिको सपना पूरा हुन्छ ।

समृद्धि भनेको के हो ? समृद्धि कसरी प्राप्त गर्न सकिन्छ ? यो बारेमा कुनै बहस नै गरिएन । विकास र समृद्धिको नारा मात्र लगाइयो । सरकार चलाउनेहरूले रेल अनि पानीजहाजका कुरा गरेर समृद्धि ल्याउने कुरा मात्र गरेका छन् । यी परियोजना भनेका समृद्धिका साधन हुन्, साध्य होइनन् ।

समृद्धिका लागि रेल चाहिन्छ । नचाहिने भनेको होइन । अब व्यवहारमा कार्यान्वयन गर्नुपर्ने कुरा महत्वपूर्ण हो । समाजवाद उन्मुख भनियो संविधानमा, संविधानले परिकल्पना गरेको समाजवादमा पुग्न कति समय लाग्ला के यो बारेमा सरकारसँग कुनै योजना छ ?

जनताले खोज्ने वेला आइसकेको छ । जनतालाई भ्रममा कुनै पनि दलहरूले नराखौँ किनभने यो २१औँ शताब्दीको युग हो । जनता नेताभन्दा धेरै पढेलेखेका र बुद्धिजीवि छन् । अहिलेको समयमा भ्रमको राजनीति गर्नु भनेको आफ्नो खुट्टामा आफै‌ं बन्चरो हान्नु हो । अहिले देशमा कम्युनिस्टको सरकार बलियो छ ।

यो सरकारले चाहने हो भने केही न केही गर्न सक्छ । तर, अहिलेसम्म केही गर्ने सुरसार नै गर्दैन । जनताहरू निरास् हुन थाले । अब सरकारले गर्ने भनेको उत्पादन बढाई रोजगारी सिर्जना हो । योबाहेक अरू कुनै विकल्प छैन । सुरुमा यो कामको थालनी गर्नुपर्छ । बेरोजगारी घटाउने सोच सरकारसँग छ भने अब काम गर्न सुरु गर्नुपर्छ ।

हामी विकासको पहिलो चरणमा छाैं । शून्यबाट काम सुरु गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले राम्रो ठाउँमा लगानी गर्नुपर्छ । लगानीविना समृद्धि हुँदैन । सरकारले यस्तो क्षेत्रमा लगानी गरोस्, जसबाट उत्पादन बढोस् साथै रोजगारी पनि बढोस् । त्यो गरिबसम्म पुगोस् ।

त्यसो भयो भने गरिबहरू माथि उठ्न सक्छन् । यसका लागि कृषि क्षेत्रलाई प्रमुख प्राथामिकता दिएर लगानी गर्ने काम सरकारले गर्नुपर्छ । पर्यटन क्षेत्र पनि आम्दानीको स्रोत हो । पर्यटन विकासलाई पनि जोड दिने काम गराैं । उत्पादन बढाउन कृषिमा संरचनागत सुधारको आवश्यकता छ ।

अहिलेको अवस्थामा वैज्ञानिक ढंगले कृषि उत्पादन गर्ने सोच राज्यले ल्याउनुपर्छ । कृषि पेसाबाट अहिले सोचे अनुसारको आम्दानी कृषकले गर्न सकिरहेका छैनन् । परम्परागत कृषि प्रणालीले कृषिमा प्रगति गर्न सकिँदैन । आज धेरै किसानले उत्पादनबाट घाटा खाइरहेका छन् ।

खेती गर्दा घाटा हुने देखेपछि धेरैले खेतबारी बाँझो राखेका छन् । यो नै विडम्बना हो । सरकारले किसानलाई पेन्सनको व्यवस्था गरिदिने नारा त दिएको छ । तर, गृहकार्य केही देखिँदैन । कृषिलाई पर्यटनसँग जोड्नुपर्छ । वार्षिक २० लाख जति पर्यटकहरूलाई हामीले उत्पादन गरेको खाना खुवाउन सक्यौँ भने हाम्रो देशको प्रगति के होला ?

हामीले आत्मनिर्भर हुने कुरा त बारम्बार गरिरहेका छाैं । तर, खै योजना । आजदेखि कामगर्न सुरु गर्ने हो भने १० वर्षमा देशले फड्को मार्न सुरु गर्छ । कुरा गर्ने काम नगर्ने मान्छेको जमात नै धेरै भयो । यस्तो भएपछि देशले कसरी प्रगति गर्छ । राजनीति गर्ने धेरै भए, काम गर्ने थोरै भए ।

हाम्रोजस्तो यति सानो देशमा नेता धेरै भए । जुन देशमा धेरै नेता हुन्छन् त्यो देशमा विकास र समृद्धि हुन सक्दैन । जुन देशमा धेरै जनप्रतिनिधिहरू हुन्छन् त्यो देशले प्रगति गर्न सक्दैन र समृद्धि पनि हुँदैन । अरू टाढा जानु नै पर्दैन हामै्र देशमा नै हेरे हुन्छ ।

हामीले तिरेको करबाट कति धेरै जनप्रतिनिधि पाल्नुपरेको छ । नागरिकले तिरेको करबाट उठेको सबै पैसा यिनै नेता जनप्रतिनिधिहरूलाई पाल्दा नै ठिक्क छ । अनि देशको समृद्धि कसरी हुन्छ ? अहिले जनता उकुसमुकुसको अवस्थामा बाँच्न बाध्य छन् । देशमा सबै कुराको महँगीले जनता बाँच्न नसक्ने अवस्थामा पुगेका छन् ।

सरकारले कुनै चासो नदेखाएको जनगुनासो आइरहेको छ । सरकार सफल बनाउन सत्तारुढ पार्टीका कार्यकर्ताले जनताको काम गर्नुपर्छ । जनताको काम भएन भने जनताले नै सरकारको विकल्प खोज्छन् । कम्युनिस्ट सरकार बन्यो अब के के न हुन्छ भनेर आशा गरेका आमजनता धेरै नै निराश छन् यतिवेला ।

यो नै दु:खद कुरा हो । जनतामा एक खालको आशा जगाउने काम सरकारले गर्नु पर्दथ्यो । तर, सकिरहेको छैन । सरकारले जुन गतिका साथ मुलुकलाई अघि बढाउनुपर्ने थियो । त्यो देखिँदैन । जनताका आवश्यकताहरू दिन प्रतिदिन बढ्दै छन् । सरकारले कुनै कुरामा गम्भीरता प्रदर्शन गरेको देखिँदैन ।

सत्तारुढ दलहरूका शीर्ष नेताहरूले नै भन्न थाले अब देश डुब्न थाल्यो । कसरी बचाउने होला भनेर । यस्तो भएपछि जनताले यिनीहरूबाट के आशा गर्ने ? के यिनीहरूबाट विकास र समृद्धि होला त ? सत्ता, स्वार्थ र पदको स्वार्थमा चुर्लुम्मै डुबेका नेताहरूले देशलाई केही गर्लान् भन्ने जनताको सोच बेकार हुने देखिन्छ ।

सरकार बनेको यति धेरै समय भयो तर एउटा पनि माखो (झिँगा) मार्न सकिरहेको छैन । सबैले सरकारको आलोचना मात्र गरिरहेका छन् । सुशासन कायम हुन सकिरहेको छैन । जता हेर्यो उतै भ्रष्टाचारले जरो गाडेर बसेको छ । सबैभन्दा बढी कर्मचारीहरूले भ्रष्टाचार गरेर देश खोक्रो बनाएका छन् ।

अरूका कुरा छोडौँ सामान्य पदको कर्मचारीले काठमाडाैंमा घरजग्गा जोडेर बसेको छ । यसरी भन्न सकिन्छ कि, कर्मचारीतन्त्रले देश लुटेर खोक्रो बनाए । जबसम्म सरकारले सोचविचार गरेर यी भ्रष्टहरूलाई ठेगान लगाउन सक्दैन तबसम्म देशले विकास समृद्धि गर्न सक्दैन ।

कर्मचारीदेखि नेता र देशका सबै जनप्रतिनिधिहरू इमानदार नहुँदासम्म देशले कुनै हालतमा प्रगति गर्न सक्ने छैन । राजनीतिक दलहरू पनि देश र जनताप्रति इमानदार बन्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो देशका राजनीतिक दलहरू र तिनका नेताहरू अधिकांश भ्रमको राजनीति गर्ने खालका छन् ।

सबै त्यस्ता नहोलान् । कोही निष्ठाको राजनीति गर्ने पनि छन् । तर, तिनीहरूले लाभको पद पाउन सकिरहेका छैनन् । राजनीतिलाई पेसा बनाएर हिँड्न थालियो भने देश बर्बाद हुन्छ । अहिले भएको त्यही नै हो ।

सारांशमा भन्नुपर्दा जब हाम्रो देशका राजनीतिक दलहरू र तिनका नेताहरूले राजनीतिलाई समाजसेवाको रूपमा लिएर काम गर्छन् त्यस वेला मात्र देशले विकास र समृद्धिको बाटो समाउनेछ । व्यक्तिगत स्वार्थ त्यागेर नेताहरू राजनीतिमा आउनुपर्छ । तब मात्र आशा गर्न सकिन्छ ।

प्रतिक्रिया