मत-विमत

वामदेवकाे इच्छा र चुनावी हल्ला

रामबहादुर जिसी २०७५ असोज २५ गते ८:१६ मा प्रकाशित

यतिवेला वामदेव गौतमलाई निर्वाचनमा होमाउने चलखेल भइरहेको छ । यसले उनी स्वयंलाई मात्र होइन, सिंगो नेपाल कम्युनिस्ट पार्टीलाई समेत ठूलो क्षति हुने निश्चित छ । कुनै कारण खाली भएको क्षेत्रमा लड्नु छुट्टै कुरा हो तर काम गरिरहेका सांसदलाई राजीनामा गराएर निर्वाचनमा जानु अत्यन्तै घातक हुन्छ ।

असोज २३ गते बिहानैदेखि प्रतिनिधिसभा काठमाडौं क्षेत्र–७ मा निर्वाचित सांसद रामवीर मानन्धरले नेकपाका नेता वामदेव गौतमका लागि पद त्याग गरेको चर्चा चलिरहेको थियो ।

अपराह्न स्वयं रामवीर मानन्धरले पत्रकार सम्मेलन गरेर वामदेव गौतमका लागि आफूले पदबाट राजीनामा दिएको समाचार अनलाइनमा हेर्दै थिएँ । नेपाल पत्रकार महासंघ बाग्लुङका सचिव राम थापाको फोनले समाचारबाट ध्यान फोनतर्फ गरायो ।

अति मृदुभाषी थापाले राम सर, महासंघको कार्यालयमा आउनु पर्यो भने । आजभोलि म प्रायः कार्यक्रमहरूमा जादिनँ तर राम जीले फोनै गरेर आउन भनेको विशेष कार्यक्रमहरूमा जाने गरेको छु ।

उनले भनेपछि खास होला भन्ने लाग्यो, अनि सोधेँ केही विशेष छ र सर ? उताबाट राम थापाको जवाफ थियो । वामदेव गौतम आएका छन् । पत्रकार सम्मेलन हुँदै छ, बरू छिट्टै आउनु होला ।

म हतारहतार महासंघको कार्यालयतर्फ लागेँ । म पैदल नै हिँड्छु, गाडीमा हिँड्ने साथीहरू अगाडि नै पुगिसके होलान् भन्दै हतारहतार बाटोमा हिँड्दै थिएँ मनमा अनेक तरंगहरू आउन थाले ।

कमरेड वामदेव गौतमले काठमाडौं क्षेत्र–७ बाट लड्ने निर्वाचनको घोषणा हाम्रै बाग्लुङबाट गर्ने निधो गरेछन् । बाग्लुङ फेरि एकपटक चर्चामा आउने भयो भन्ने लाग्यो, सम्झेँ तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबीच ०६२ साल कात्तिकमा भएको ६ बुँदे सहमतिका बारेमा पनि उनले बाग्लुङमै आयोजित पत्रकार सम्मेलनबाट सार्वजनिक गरेका थिए ।

अब दुई धु्रवको लडाइँ हुन्छ, सबै दल एकातर्फ र राजतन्त्र एकातर्फ हुन्छ र छिट्टै राजतन्त्र समाप्त हुन्छ भन्दै उनले सबैलाई राजतन्त्रको विरुद्ध एकाकार हुन आह्वान गरेका थिए । यस्तै कुरा मनमा खेलाउँदै महासंघको कार्यालयमा पुग्दा रामजीले कार्यक्रमको सुरुआत गर्न लागेका थिए ।

उनले पत्रकार सम्मेलनको औपचारिक सुरुआत गर्दै अध्यक्ष दिल शिरीषलार्ई अध्यक्षताको आसन ग्रहण गर्न लगाए । प्रमुख अतिथिको रूपमा गौतम कमरेडलाई आसन ग्रहण गराए । कार्यक्रममा नेकपाका स्थानीय थुप्रै नेता, कार्यकर्ता र पत्रकारहरूको उपस्थिति थियो । सबैलाई एकमुष्ट आसन ग्रहणपछि सञ्चालक थापाले सिधै वामदेव गौतमलाई समसामयिक विषयमा बोल्न आग्रह गरे ।

वामदेव गौतमले बसेरै आफ्नो सम्बोधन गर्न थाले । पत्रकारलगायत उपस्थित सबैले आफूसँग भएका क्यामेरा, ट्याब, फोनबाट फोटो खिच्न थाले । सबैलाई उनले व्यक्त गर्ने विचारप्रति निक्कै चासो थियो । त्यसकारण महासंघको सभाहलमा सियो खसे पनि सुनिने गरी शान्त थियो ।

गौतम कमरेडले बोल्दै गए, सम्बोधनका क्रममा उनले समसामयिक राजनीतिक विषयमा केही कुरा राखे र सिधै आफ्नो बारेमा बोले । उनले रामवीर मानन्धरले राजीनामाको घोषणा गरेर आफूलाई सांसद बन्ने बाटो खुलाई दिएकामा धन्यवाद दिए । वामदेवलाई कसैले पनि पद छोडी दिँदैनन् भन्नेहरूको मुख बन्द भएको पनि बताए ।

बोल्दै जाँदा उनले अन्तिम शब्द यस्तो भने कि, रामवीरले राजीनामा दिए पनि त्यो कार्यान्वयन हुँदैन र म आफू कुनै हालतमा कसैलाई राजीनामा गराएर निर्वाचनमा जाने कुरै हुँदैन भन्ने घोषणा पो गरे । हल अचम्मित भयो । एकछिन झन् सबै अक्क न बक्क भइयो । साँच्चिकै उपस्थित सबैको अपेक्षा विपरीत कमरेड गौतमले व्यक्त गरेको भनाइपछि एक आपसमा खासखुस पनि चल्न थाल्यो ।

रामवीरले राजीनामा दिएर चुनाव लड्न गरेको आग्रह र आफू चुनाव नलड्ने प्रतिबद्धताले वामदेव गौतम संसद्मा जानका लागि मरिहत्ते गरेका छन् भन्ने आफ्ना विरोधीहरूलाई गतिलो झापट हो गौतमले भने । सबैले तरररर…. ताली बजाए । नेता भनेको त यस्तो पो हुनुपर्छ ? मेरो आडैमा बसेका एकजनाले चर्कै स्वरमा भने ।

मैले पनि गज्जबले ताली बजाएँ, मलाई पनि कमरेडको शब्दले अत्यन्तै खुसी तुल्यायो । खुसीले गद्गद् भएँ । आडैमा बसेका साथीहरूलाई खुसी बाड्न खोज्दा सँगैको साथीले झर्कंदै तपाईं त साह्रै खराब मान्छे हुनुहुँदो पो रहेछ, किन मलाई कोपर्नु हुन्छ भनेपछि पो म झसंग भएँ । गाडी एक रफ्तारमा दौडिरहेको रहेछ ।

काठमाडौंबाट रात्रि बसमा बाग्लुङ जाँदै गरेको म सपनामै रमाएको रहेछु । त्यसपछि निन्द्रा लागेन, त्यही कुराले मनमा घोची रह्यो । के मैले सपनामा देखेको जस्तै होला त ? वामदेव कमरेडले भोलि पत्रकार सम्मेलन गरेर म निर्वाचन लड्दिनँ भन्ने होलान् त ? यस्तै यस्तै सोचेर मेरो यात्रा अगाडि बढ्यो । यतिवेला वामदेव गौतमलाई निर्वाचनमा होमाउने चलखेल भइरहेको छ ।

यसले उनी स्वयंलाई मात्र होइन, सिंगो नेपाल कम्युनिस्ट पार्र्टीलाई समेत ठूलो क्षति हुने निश्चित छ । कुनै कारण खाली भएको क्षेत्रमा लड्नु छुट्टै कुरा हो, काम गरिरहेको सांसदलाई राजीनामा गराएर निर्वाचनमा जानु अत्यन्तै घातक हुन्छ । मनमा भएको कुरा सपनामा पनि आएपछि सपनामा त निकै आनन्द लागेको थियो ।

तर, विपनामा के होला ? यस्तै प्रश्नले मलाई घेरिरहेको छ । नेपाली कांग्रेसले ०१५, ०४८ र ०५६ सालमा बहुमत प्राप्त गरेर पनि सरकार चलाउन सकेन जसका कारण आज कांग्रेस झन्डै झन्डै कोमामा छ, त्यही कांग्रेसलाई सम्झने दिनको काम गर्दै छाैं, भन्ने कुराको शीर्ष नेताहरूले मनन् गरेर जनताको चाहनाअनुसार समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न सके राम्रो हुन्थ्यो ।

मेरो यहाँभन्दा बढी भन्ने र गर्ने हैसियत नै के छ र ? जनताको भावनालाई सत्ताको आडमा कुल्चदै जाँदा ज्ञानेन्द्र शाहहरू आज गुमनाम भएका छन् । अरू वामदेव र अन्य नेताहरूले नै जानून् ।  (पूर्व–अध्यक्ष, नेपाल पत्रकार महासंघ बाग्लुङ)

प्रतिक्रिया