खोजखबर

बादी महिलाको दैनिकी गिट्टी बालुवामा

मीना बुढाथोकी २०७५ असोज २५ गते ८:३८ मा प्रकाशित

सल्यान । ३५ वर्षीया सायरा बादी घरमा सबैभन्दा पहिला बिहानै उठ्छिन् । परिवारका अन्य सदस्य उठ्नुभन्दाअघि नै घरको आधाजति काम सकिसकेकी हुन्छिन् ।

अनि त्यसपछि बिहानको खाना पकाउने छोराछोरी स्कुल पठाउने र घरको सबै काम सकेपछि बालुवा गिट्टी संकलन गर्न शारदा नदीमा पुग्छिन् ।

जाडो गर्मी घामपानी केही नभनी वर्षभरि गिट्टी बालुवा संकलन गर्दैमा उनको १० वर्ष बितिसकेको छ । उनले परिवारको दैनिक खर्चको जोहो गर्न दैनिक रूपमा गिट्टी बालुवा संकलन गर्दै आएकी छन् ।

उनी मात्रै होइन शारदा नगरपालिका–१ शान्तिनगरका २० घरधुरी वादी समुदायका अधिकांश महिला गएर शारदा नदीमा बालुवा संकलन गर्ने र गिट्टी कुटेर जीविका चलाउँदै आएका छन् । पुख्र्यौली पेसा संकटमा पर्दै गएपछि शान्तिनगरका २० घरभन्दा बढी वादी समुदायको जीविका बालुवा र गिट्टी बिक्री गरेर चलिरहेको हो ।

शान्तिनगरकी ३५ वर्षीया सायरा वादीले विगत १० वर्षदेखि शारदा नदी किनारमा बालुवा गिट्टी कुट्दै आइरहेकी छन् । पुख्यौली पेसा संकटमा परेको र नयाँ पुस्ता बेरोजगार बस्नु परेकाले नदीको बालुवा गिट्टी नै आप्mनो जीविकोपार्जनको सहारा बनेको उनले बताइन् ।

शारदा नदीको किनारमा बालुवा गिट्टी संकलन गरेर बिक्री गरे पनि जीविकोपार्जन गर्न धौधौ पर्ने गरेको गीता नेपालीको भनाइ छ । उनले भनिन्, ‘मैले विगत ६ वर्षदेखि यही नदीमा दिनरात नभनेर बालुवा गिट्टी कुट्दै आइरहेकी छु । तैपनि, घर खर्च चलाउन धौधौ पर्दै आइरहेको छ ।’

माछा मार्ने र मादल बनाउने पुख्र्यौली पेसा हराउँदै गएकाले परिवार पाल्नका लागि बालुवा गिट्टी निकाल्ने गरेको नेपालीको भनाइ रहेको छ । हाम्रो आयआर्जन गर्ने माध्यम अरू केही पनि छैन ।

‘छोराछोरीलाई यही बालुवा गिट्टी बेचर जसोतसो पढाइयो’, उनले भनिन्, ‘अब छोराछोरीले पढेपछि केही गर्छन् भनेको, तर अहिले आएर एसएलसी र प्लस टु गरेकाहरूले पनि हामीसँगै बालुवा चाल्नुपरेको छ ।’

जनता आवास कार्यक्रममार्फत घर बनाउन अनुदान पाएका बादी परिवारले घर निर्माणको कर्जा तिर्नसमेत बालुवा संकलन गर्नुपरेको छ । ‘घर निर्माण गर्न सरकारले दिएको रकमले पुगेन, त्यसैले नजिकका सहकारीबाट ऋण निकाल्यौँ’, नेपालीले भनिन्, ‘त्यसैको किस्ता तिर्न र घरखर्च चलाउन बिहानदेखि साँझसम्म गिट्टी बालुवा संकलन गरेर बिक्री गर्दै आइरहेका छौँ ।’

बादी समुदायको घर निर्माणका लागि सरकारले २ लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । सबै घरधुरीले ५० हजार बढी रकम थप लगानी गरेका छन । बस्तीका १० महिलाले सामूहिक रूपमा गिट्टी बालुवा निकाल्ने गरेको उनले बताइन् ।

स्थानीय संगीता नेपालीका अनुसार सामूहिक रूपमा दैनिक एक-दुई ट्र्याक्टर बालुवा निस्कने गरेको छ । प्रतिट्र्याक्टर दुई हजार रुपैयाँमा उनीहरूले बालुवा बिक्री गर्ने गरेका छन् । व्यक्तिगत भाग लगाउँदा दैनिक दुई सय रुपैयाँ मात्र कमाइ हुने उनको भनाइ छ । उनले भनिन्, ‘त्यो रकमले घरखर्च चलाउने कि समूहको ऋण तिर्ने धेरै समस्या भयो, आर्थिक समस्याका कारण छोराछोरीलाई राम्ररी पढाउन सकिएको छैन ।’

नजिकिँदै गरेको दसँैलाई मध्यनजर गरेर पनि बढी मिहिनेत गर्नु परिरहेको गीताको भनाइ रहेको छ । ‘हामीहरूका लागि त कहिले पनि चाडवाड नआए हुन्थ्यो भन्ने लाग्छ तर के गर्नु हामी गरिबले भनेको कसले नै सुन्छ र !’ छरछिमेक वरपर अन्य जातका छोराछोरीहरूले नयाँ कपडा लगाएको मीठो मसिनो खाएको हाम्रा छोराछोरीहरूले देख्छन् अनि हामीसँग माग्छन् तर हामीले कहाँबाट पुर्याउन सक्नु छोराछोरीहरुको आशा ? वर्षमा एक सरो कपडा फेर्न पनि निकै मुस्किल पर्ने गरेको उनको भनाइ रहेको छ ।

सरकारले पनि आफ्नाे पढेलेखेका छोराछोरीलाई रोजगारीको सिर्जना गर्न नसकेको गुनासो गर्दै उनीहरूले स्थानीय सरकार आएपछि केही आशा पलाएको जानकारी दिए । तर, स्थानीय सरकारले पनि निर्वाचनमा तपाईंहरूका छोराछोरी अब बेरोजगार रहने छैनन् भन्दै भोट माग्नलाई मात्रै आशा जगाएको उनीहरू बताउँछन् । गाउँगाउँमा सिंहदरबार आए पनि आफ्नो समुदायका लागि केही नयाँपनको अनुभूति नभएको उनीहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया