विश्व

प्रकृति जोगाउन भुटानको योगदान

अभया श्रीवास्तव २०७५ असोज २५ गते ८:४३ मा प्रकाशित

विश्वमै सबैभन्दा न्यून कार्बन उत्र्सजन गर्ने राष्ट्रको सूचीमा भुटानको नाम जोसुकैले उदाहरणका रूपमा लिइरहन्छन् । तर, व्यापक आर्थिक विस्तारको साटो यी हरित पदचिन्हमा हिँड्ने हिमाली अधिराज्य भुुटानको चाहनाले ठूलै चुनौती खडा गरेको छ ।

१८ अक्टोबरमा तेस्रो संसदीय चुनाव सम्पन्न गरेको यो हिमाली मुलुकले आफूले उत्सर्जन गर्ने कार्बन–डाइअक्साइडभन्दा तीन गुणाबढी सोस्दछ । कुल भू–भागको ७२ प्रतिशतभन्दा बढी वनजंगलकै कारण यो सम्भव भएको हो ।

‘लास्ट सांग्री–ला’ नामबाट विश्वभर चिनिएको स्वीट्जरल्यान्ड जत्रै आकारको भुटानले वातावरणलाई निर्मल र स्वच्छ राख्न निकै ध्यान दिएको छ, र कहिलेकाहिँ यसैका निम्ति नाफा पनि त्यागेको छ ।

करिब आठ लाख जनसंख्या रहेको भुटानले राम्रो सिजनमा प्रति पर्यटक दैनिक २ सय ५० डलर लिन्छ, तर त्यसका लागि पर्यटकको संख्या पनि तोकिएको छ । कतिपय ठाउँमा पर्यटकको घुँइचोले सुन्दरता उजाडिएकामा भुटान चिन्तित छ ।

यही मे महिनामा भारतको सहयोगमा क्षेत्रीय सडक सञ्जाल परियोजना सञ्चालन गर्ने प्रस्तावलाई भुटानले अस्वीकार गरेको थियो । भुटानले अन्य मुलुकका सवारी साधनले हावालाई प्रदुषित बनाउने कारण देखाउँदै उक्त परियोजनामा सहमति जनाएको थिएन ।

भुटानको संविधानमा भुटानको कम्तीमा ६० प्रतिशत भू–भाग वनजंगलले ढाकिएको हुनेछ भन्ने लेखिएको छ । वनजंगलकै लागि खेतीपाती र निकै लाभदायक काठ उद्योगलाई समेत भुटानले बेवास्ता गरेको छ ।

‘हाम्रो वन्यसम्पत्तिको दोहनका लागि ठूलै प्रयास भएका हुन् तर हामीले भविष्य हेरेका छौं,’ भुटानको राष्ट्रिय वातावरण आयोगका दासो पाल्जोर दोर्जीले बताए ।

भुटानको ११औँ पञ्चवर्षीय योजनाअन्तर्गत सन् २०२० सम्ममा वनमा आधारित इन्धनलाई व्यापकरूपमा घटाउने उल्लेख छ । यहाँ अहिले एक सय वटा विद्युत्ीय कार सडकमा गुडिरहेका छन् तर यो संख्या बढाउने नीति भुटानको छ । भुटानमा विद्युतीय कारका लागि आवश्यक चार्जिङ स्टेसन विस्तार गर्ने योजना अगाडि सारिएको छ । सन् २०१६ मा भुटानमा हावाबाट चल्ने पहिलो विद्युत्ीय टर्बाइन जडान गरिएको थियो ।

ट्राफिक बत्तीसमेत नराखिएको एसियाकै एक मात्र राजधानी थिम्पुमा हरियालीप्रतिको प्रतिबद्धता सहजै अनुभव गर्न सकिन्छ । थिम्पुका सडकमा ठुल्ठूला मेसिन प्रयोग गरेर सफा गरिरहेकोजस्तो दृश्य सायद् दक्षिण एसियामै सायद बिरलै देख्न पाइन्छ । ट्रकले एकाबिहानै अर्गानिक फोहोरमैला घरघरबाट संकलन गरिरहेको हुन्छ ।

थिम्पुबाट दुई घण्टामा पुग्न सकिने पुनाखा जिल्लामा निर्माणाधीन ठूलो जलविद्युत्् परियोजनामा बुल्डोजर लगायतका ठुल्ठूला मेसिनरीले अहोरात्र काम गरिरहेको देख्न पाइन्छ । कार्बन तटस्थता (न्युट्रल) अपनाउने योजना बमोजिम भुटानमा यस्तै १० वटा जलविद्युत्् परियोजना निर्माणका क्रममा छन् ।

यी सबै चालु एवं भावी जलविद्युत्् परियोजनामा भुटानको सबैभन्दा ठूलो साझेदार मुलुक भारतको लगानी रहेको छ । जलविद्युत् पनि भुटानको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । एसियाली विकास बैंकका अनुसार सन् २०१६ मा भुटानको कूल निर्यात आम्दानीको करिब ३२ दशमलब ४ प्रतिशत हिस्सा जलविद्युत्को रहेको थियो ।

भुटानको सम्पूर्ण विद्युत् भारत निकासी हुन्छ तर यो बंगलादेशलाई पनि बिक्री गर्ने योजना छ । तर जलविद्युत्का लागि बनाइएका बाँधले जैविक विविधतामा असर पार्ने चिन्ता पनि व्यक्त भइरहेको छ किनभने भुटानले नदी–सतही मोडेल (रन–अफ–रिभर)को साटो अग्ला बाँध (रिजभ्र्वाएर) बनाउन थालेको छ ।

हरित विकास पथको अवलम्बन गरिरहन भुटानलाई बाहिरी विश्वको साथ सहयोग जरुरी हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को पेरिस जलवायु सम्झौताबाट अलग्गिने घोषणा गरेलगत्तै भुटानजस्ता मुलुकले हरितगृह जोगाएबापतको रकम प्राप्त गर्न कठिन हुनेछ ।

उक्त सम्झौता बमोजिम, धनी राष्ट्रले विकासशील मुलुकलाई हरितगृह जोगाएबापत सहयोग गर्न वार्षिक १ सय अर्ब अमेरिकी डलरको कोष निर्माण गर्ने सहमति गरेका थिए ।

भुटानले जलवायु परिवर्तनको असरलाई राम्रोसँग बुझेको छ, किनभने यहाँ पनि केही वर्षदेखि हिमनदी पग्लने, खेतीबालीको ढाँचामा परिवर्तन हुने तथा लामखुट्टे फैलिएर रोग लाग्ने हुन थालिसकेको छ ।

भुटानको औसत तापक्रम ३० डिग्री सेल्सियस हुन थालेको छ । स्थानीयबासीमाथि गर्मी र आद्रताले सताउन थालेको छ । ‘हिउँ पर्ने ढाँचामा समेत परिवर्तन आइसकेको छ । पहिले पहिले यहाँ केही दिन हिउँ पथ्र्यो, आजभोलि मुस्किलले एकदिन पर्न थालेको छ,’ भुटानका प्रमुख वातावरण अधिकृत तेन्जिङ वाङ्मोले बताए ।

वाङ्मोले तातो हावापानीकै कारण बुम्थाङजस्ता ठाउँमा धानखेती हुन थालेको छ जहाँ पहिले कहिल्यै धान हुँदैनथ्यो । ‘जलवायु परिवर्तन हाम्रो नियन्त्रणमा छैन । हामीले केही गरेका पनि छैनौँ । तर, हामीले यसको ठूलो मूल्य चुकाउनुपरेको छ,’ उनले भने ।

यसबाहेक, माथिल्ला हिमाली भेगमा समेत बाढी रोकथाम गर्न नयाँ ढल निर्माणका लागि कामदार खटाउनुपरेको छ, वाङ्मोले भने । ‘यी कामका लागि धेरै रकम र जनशक्ति आवश्यक पर्न थालेको छ । तर, त्यस्तो रकमको जोहो गर्न र क्षमता–निर्माण गर्न भुटानजस्ता देशले कसरी सक्छन् ?’

अगस्टमा भुटानको भ्रमण गरेको हरित जलवायु कोष (जीसीएफ) को प्रतिनिधिमण्डलले न्यून कार्बन उत्सर्जन तथा जलवायु–पुनरुद्धारमा भुटानले गरेको प्रगतिलाई ध्यानमा राखी सहयोग गर्ने बताएको छ ।

‘मेरो विचारमा कार्बन उत्सर्जन रोक्न तथा प्रकृतिलाई जतिसक्दो मौलिक बनाइराख्न भुटानको योगदान अतुलनीय छ,’ दोर्जीले भने । ‘हाम्रो अभियान समर्थनको लायक छ । हामीलाई बढी होइन, कम्तीमा समान रूपबाट पुरस्कृत गर्नुपर्दछ ।’

प्रतिक्रिया