अर्थबजार

विद्युत् आपूर्ति समस्याको समाधान खोजिँदै

सौर्य अनलाइन २०७५ असोज २५ गते ८:४८ मा प्रकाशित


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगञ्ज क्षेत्रमा भइरहेको विद्युत् अापूर्तिको समस्या समाधान गर्न पहल सुरु गरेको छ । प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार गरी विश्वसनीय बनाउन बाँकेको कोहलपुर सब–स्टेसनको स्तरोन्नतिको काम सुरु गरेको जनाएको छ ।

प्राधिकरणले त्यसका लागि सब–स्टेसनमा ६३ एमभिएको नयाँ ट्रान्सफर्मर जडान गर्ने भएको छ । हाल सो सब–स्टेसनमा ३०÷३० एमभिएका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन् । त्यहाँ ६३ एमभिएको नयाँ ट्रान्सफर्मर आएपछि एउटा निकालिने छ ।

नयाँ ट्रान्सफर्मर जडानपछि सब–स्टेसनको क्षमता ९३ एमभिए पुग्ने र त्यसबाट विद्युत् आपूर्ति सहज तथा सो क्षेत्रमा देखिएको भोल्टेजको समस्या समाधान हुनेछ । ट्रान्सफर्मर खरिदका लागि टे्न्डर आह्वान गरी उत्पादक तथा आपूर्तिकर्ता कम्पनी छनोट भइसकेको छ । कम्पनीले ट्रान्सफर्मरलाई नेपाल ल्याएर जडान गर्न बाँकी छ ।

नेपालगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सो क्षेत्रमा रहेको विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरी समस्या समाधान गर्न प्राधिकरणलाई निर्देशन दिए ।

‘नेपालगञ्जमा अघोषित विद्युत्  भार कटौती भइरहेको गुनासो आएको छ, छिन–छिनमा बत्ती जाने समस्या रहेछ, समस्या समाधान गरी उपभोक्तालाई विश्वसनीय सेवा दिनुपर्छ,’ मन्त्री पुनले भने । नेपालगञ्ज क्षेत्रमा भारत र नेपालतर्फका ग्रिडबाट विद्युत्् आपूर्ति गर्नुपर्ने भएकाले स्विचिङको समस्या छ । नेपालगञ्जमा मात्रै करिब २४ मेगाबाट विद्युत् माग छ । कोहलपुर क्षेत्रमा करिब १५ मेगावाट विद्युत् माग छ ।

भारतबाट विद्युत् आयात गर्दा कमजोर प्रसारण लाइनका कारण समस्या उत्पन्न भएको हो । भारतबाट ३३ केभी क्षमतामा मात्रै विद्युत् आयात भइरहेको छ । सोही कारण कम भोल्टेजले गर्दा स्तरीय विद्युत् आपूर्ति हुनसकेको छैन ।कमजोर संरचनाका कारण विद्युत्काे प्राविधिक चुहावटलाई पनि बढाएको छ ।

भारतको मानपाराबाट करिब ११ मेगावाट विद्युत् आयात गरी नेपालगञ्ज क्षेत्रमा आपूर्ति गरिएको छ । नेपालगञ्ज क्षेत्रमा भारतको मानपारा तथा टनकपुर र नेपालतर्फको अत्तरियाबाट चमेलिया, लमहीबाट कालीगण्डकी विद्युत् केन्द्रबाट विद्युत् आपूर्ति भइरहेको छ । सब–स्टेसनलगायत अन्य संरचनाका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोहपुर सब–स्टेसनको स्तरोन्नतिपछि नेपालगञ्ज आसपास क्षेत्रमा विद्युत् आपूर्तिमा भइरहेको समस्या समाधान हुने बताए । ‘विद्युत् भार कटौतीको अन्त्यपछि विद्युत् आपूर्तिमा केन्द्रित भएका छौँ, नेपालगञ्ज क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न गम्भीर भएर लागिपरेका छौँ’ उनले भने, ‘सब–स्टेसनको स्तरोन्नति, वितरण प्रणाली सुधार गर्ने लगायतका काम समानान्तररूपमा अगाडि बढेकोले समस्या छिट्टै समाधान हुन्छ ।’

प्राधिकरणले मंगलबार नेपालगञ्ज आसपासका क्षेत्रमा कार्यरत प्राधिकरणका सबै वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर स्थानीय क्षेत्रमा रहेको समस्या समाधानका लागि आवश्यक परामर्श गरेको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन, प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतले सो क्षेत्रमा रहेका समस्या समाधानका लागि आवश्यक निर्देशन दिए ।

प्राधिकरणले मंगलबार मात्रै सो क्षेत्रमा कार्यरत कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको थियो । उक्त क्षेत्रमा भोल्टेजका कारण समस्या बढेको र विद्युत्् आपूर्तिमा जटिलता देखिएकाले स्थानीयवासीले समस्या समाधान गर्न आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया