अर्थबजार

एनआरएनए नेपाल विज्ञहरूको विश्व सम्मेलन शुक्रबारदेखि

सौर्य अनलाइन २०७५ असोज २५ गते ८:५० मा प्रकाशित


काठमाडौं । गैरआवासीय नेपाली विज्ञहरूको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सिकेको ज्ञान, सीप र पुँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरूको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १ सय ६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताए । एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले सम्मेलनमा ३ सय ५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिए । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

‘हाम्रो देश आफैँ बनाउन सक्षम छौँ भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौँ, उपाध्यक्ष डा. शर्माले भने ‘यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।’ सम्मेलनमा पहिलोपटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रूपमा पाँच उपाध्यक्ष पुर्याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ ।

सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत््, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ ।

लाप्राक नमुना गाउँको निर्माण ७० प्रतिशत पूरा
एनआरएनएका महिला उपाध्यक्ष सफिला राजभण्डारीले भूकम्पले क्षति पु¥याएको गोरखाको लाप्राक गाउँमा नमुनाबस्ती निर्माणको काम तीव्र पारिएको जानकारी दिए । करिब ७० प्रतिशत काम पूरा भएकाले आगामी वैशाख १२ गते उक्त गाउँ हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ थियो ।

एनआरएनएले भूकम्पपछि एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । तर लाप्राकमा १८ हेक्टर क्षेत्रफलमा ५ सय ७६ घर निर्माण भइरहेको भण्डारीले बताए ।

घर निर्माणमा स्थानीयवासीलाई सहभागी गराइएको छ । दुई वर्षअघि सो घर निर्माण गर्न सम्झौता भएर काम सुरु गरिएको थियो । गैरआवासीय नेपाली दिवसको अवसरमा घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको भए पनि विभिन्न कारणले ढिलाइ हुन पुगेको हो । निकै चुनौतीका बीच लाप्राकको बस्ती निर्माणमा आफूहरू लागेको अध्यक्ष भट्टले बताए ।

शंखमूल पार्क बिहीबार हस्तान्तरण
सरकारको समन्वयमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शंखमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिने छ । करिब तीन करोड लागतमा सो पार्क बनाइएको उपाध्यक्ष कुलप्रसाद आचार्यले जानकारी दिए । सन् २०१४ मा सम्झौता भएको पार्क निर्माणको काम सन् २०१६ बाट सुरु भएको थियो ।

१० अर्बको कोष बनेपछि लगानी बढ्ने
एनआरएनएका अध्यक्ष भट्टले १० अर्बको कोष संकलन भएपछि नेपालमा लगानी बढ्ने बताए छ । कोष निर्माणको प्रक्रियामा चलिरहेको भन्दै भट्टले यसलाई सामूहिक लगानी कोषको रूपमा खडा गर्ने उद्देश्य रहेको बताए । कोषमा नेपाल सरकारको ५, एनआरएनएको ५, स्थानीयवासीको ५ तथा ८५ प्रतिशत एनआरएनएको अगुवाइमा सर्वसाधारणको लगानी रहने छ ।

यसैबीच, गैरआवासीय नेपाली दिवसको अवसरमा बिहीबार बिहान ७ बजे स्वयम्भूमा एक लाख बत्ती बालिने, ९ बजे पशुपतिमा पूजा, १ बजे पुस्तकालय स्थापनाका लागि नेपाल पत्रकार महासंघसँग सम्झौता गर्ने कार्यक्रम रहेको महासचिव बद्री केसीले जानकारी दिए ।

दिवसको अवसरमा दिउँसो २ बजे माइतीघर मण्डलामा झण्डोत्तोलन गर्ने कार्यक्रम छ । कार्यक्रममा अध्यक्ष भट्टले पछिल्लो समयमा ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना निर्माण गरिएको, जनकपुर धामको संरक्षणका लागि परियोजना अगाडि बढेको र काठमाडौं मुग्लिनको सडक सुरक्षा योजना तयार पारिएको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय