खोजखबर

खाडीबाट महिला अनेक समस्या बोकेर फर्कन्छन्

सौर्य अनलाइन २०७५ असोज २९ गते ९:२० मा प्रकाशित

सरकारले नेपाली महिलालाई खाडी र मध्यपूर्वी देशमा घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको छ । तर, सरकारले प्रतिबन्ध लगाए पनि ती मुलुकमा गएर घरेलु कामदारका रूपमा काम गर्ने र त्यसबाट अनेक समस्या उत्पन्न हुनेक्रम भने रोकिएको छैन । नेपालबाट कानुनी रूपमा जान नपाएपछि दलालीको साथमा भारतीय बाटो हुँदै वा पर्यटकीय भिसामा गएर खाडीमा घरेलु कामदारका रूपमा काम गरिरहेका महिलाको संख्या ठूलो छ ।

कानुनी रूपमा गएका भए, त्यो संख्या राज्यसँग हुने थियो । तर, त्यसको यथार्थ तथ्यांक कोहीसँग पनि छैन । अझ कैयौँ महिला अरूको राहदानीसमेत प्रयोग गरेर जाने गरेको घटना वेलावेला सार्वजनिक हुने गरेका छन् भने कोहीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइने गरिन्छ । यसै सन्दर्भमा तयार पारिएको एक रिपोर्टः

खाडी मुलुकमा काम र दामको लोभमा गएका धेरैजसो नेपाली महिला कुनै न कुनै समस्या बोकेर फर्कने गरेका छन् । अपवादमा एक दुइले सोचेजस्तो काम र दाम कमाए पनि धेरैले न सोचेजस्तो काम पाएका छन् न त भनेजस्तो दाम ।

त्यसो त खाडी र मध्यपूर्वी देशमा जाने महिलाहरू रहरले भन्दा पनि बाध्यताले जाने गरेका छन् । यहाँ अनेकौँ समस्यामा परेर पार नलाग्ने छाँट भएपछि पुग्छन् खाडीको चुलोचौकोमा नेपाली महिलाहरू ।

उनीहरूले चुलोचौकोमा श्रम गर्दासम्म समस्या कम हुन्छ । तर, उनीहरूको शरीरमा जब साहू र अरू कसैको गिद्दे दृष्टि पर्न थाल्छ समस्या बढ्दै जान्छ । धेरैजसो महिला पारिवारिक समस्या र आर्थिक अभावका कारण ती मुलुकमा जाने गरेका छन् ।

खाडीबाट दु:ख पाएर आएका त्यस्ता महिलालाई सहयोग गर्ने केही सामाजिक संस्था पनि खुलेका छन् । तर, त्यसबाट केही दिनको आश्रय पाए पनि दीर्घ रूपमा न्याय पाउन सकेका छैनन् उनीहरूले।

केही दिनअघि पौरखी नेपाल नामक सामाजिक संस्थामा भेटिएकी एक महिलाले आफ्नो व्यथा सुनाइन् । मोरङ घर भएकी शारदा तामाङ (नाम परिवर्तन) ले भनिन्, पतिसँग सम्बन्ध राम्रो भएन ।

उनीसँग अलग भएर बसेको वर्षौँ भयो, पतिसँग अलग भएर छोराछोरी त्याग्न सकिनँँ । एक छोरा र एक छोरी छन् । छोरा बिरामी हुँदा लागेको अढाइ लाख ऋण तिर्न सकूँला भनेर कुबेत गएकी साहूले तीन महिनामै फर्काइदियो ।’ घरेलु कामदारका रूपमा भारतको बाटो हुँदै कुबेत गएकी उनलाई साहूले फर्काउनुको कारण पनि थाहा छैन ।

उनले सुनाइन्, ‘गएको केही दिनमा साहूले स्वास्थ्य जँचाउन पर्यो भने । उनैले रगत, पिसाब, खकार जँचाए र छातीको एक्सरे पनि गराए । रिपोर्ट के आयो मलाई थाहा छैन, रिपोर्ट आएपछि साहूले एक्कासी भन्न लागे, तँ बिरामी छेस् गई हाल भन्दै कम्पनीमा पुर्याए त्यहीँबाट नेपाल फर्काइयो ।’ हेर्दा शारीरिक रूपमा स्वस्थ देखिने उनलाई आफूमा के स्वास्थ्य समस्या छ थाहा छैन ।

आफूलाई कतै दुख्ने वा कुनै समस्या नभएको उनले सुनाइन्, ‘मलाई केही भएको थाहा छैन, कतै केही समस्या पनि छैन, त्यहाँको रिपोर्टमा के आयो ? साहूले किन फर्कायो बुझेकी छैन ।

यहाँ आएपछि यही पौरखीकोे दिदीहरूले रगत जँचाउन पठाएका छन् तर रिपोर्ट आएको छैन ।’ नेपाल आएको १० दिन भएको उनले सुनाइन् ।

त्रिभुवन विमानस्थलबाट सिधै उक्त संस्थामा पुगेकी उनलाई यति वेला साहूको ऋण र आफूलाई के भएको होला भन्ने चिन्ताले सताएको छ ।

सामान्य अक्षरसम्म नचिन्ने उनलाई न आफ्नो बिमार थाहा छ न वेला न कुवेला नेपाल फर्काइनुको कारण थाहा छ । अब त उनलाई आफ्नो रोग के भनेर आउला भन्ने ठूलो चिन्ता हुन पो थालेको सुनाइन् ।

गाउँले भाइको सहयोगमा कुवेत गएकी उनले त्यहाँसम्म पुग्दा एक रुपैयाँ पनि खर्च नगरेको बताइन् । सिलगुडीबाट कोलकाता हुँदै गए पनि आफू कहाँ कहाँ हुँदै कुबेत पुगेँ, उनलाई थाहा छैन ।

‘पढ्न जान्दिनँ, सिलगुडी हुँदै जहाजमा चढेर गएकी हुँ, जानेवेला महिनाको कुबेती पैसा एक सय दिने भनेको थियो, पहिलो महिनाको पैसा दियो घर पठाएँ । बाँकी लिएर आएँ,’ उनले भनिन् ।

उनले यसअघि ओमनमा २ वर्ष र साउदी अरबमा ४ वर्ष घरेलु कामदारको रूपमा बिताएको बताइन् । उनी गएको दुवै देशमा काम गर्न गाह्रो नभएकाले पछि कुबेत गएको उनले बताइन् । अब के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भनिन्, खै के गर्ने आफूलाई टाउको पनि दुखेको छैन, उता साहूले बिरामी छ भन्दै पठायो, के बिरामी छु, त्यो पनि थाहा छैन् ।

घरमा ऋण छ यहाँ काम गर्नलाई पढाइ चाहिन्छ त्यो मसँग छैन, जग्गाजमिन भएको भए खेती गरेर खान्थेँ त्यो पनि छैन, छोरा छोरीले औषधि गरेर घर आउनू भनेका छन्, अब हेरौँ के गर्ने ?’ आफ्नो भविष्यको अन्योलता सुनाइन् उनले । कुबेत पुगेर फर्कंदासम्म उनलाई काम गर्न विदेश कसरी जानुपर्ने थियो थाहा नभएको सुनाइन् ।

न श्रमका कुरा उनले बुझेकी थिइन, न स्वास्थ्य परीक्षण र बिमाको बारेमा जानकारी नै थियो, उनलाई । जानुपूर्व पठाउने मान्छेले भनेअनुसार उनले बिराटनगरमा छातीको एक्सरे गराएको बताइन् । उनका अनुसार त्यो परीक्षण औपचारिकताका लागि मात्रै थियो । उनको अघिल्ला दुइपटकका वैदेशिक रोजगारीका बाटो पनि अहिलेको जस्तै गैरकानुनी थियो ।

त्यहाँसम्म पुगेर तोकिएको समयअघि नै आउनुपरेको उनले न गुनासो गर्ने ठाउँ छ न उजुरी गर्ने निकाय ? कानुनी बाटोबाट गएको भए उनले उजुरी गर्ने र गुनासा गर्ने निकाय पक्कै हुने थिए । तर, उनको गुनासो सुन्ने ठाउँ भनेको उनीले आश्रय लिइरहेको पौरखी नेपालजस्तो संघ÷सस्थाबाहेक कहीँ छैन । अहिले कुबेती साहूले अन्योलमा राखेको रोग र चिन्तामा रिपार्ट कुरेर बसेकी छन् ।

उनी प्रतिनिधि पात्र मात्रै हुन् उनीजस्तै समस्या बोकेर आउने धेरै नेपाली महिलाका दुःखका कथा उनका जस्तै छन् । मान्छेले कि ‘आफू परेर जान्छ कि पढेर’ यसमा धेरै सत्यता छ । वर्षाैं पहिला पर्यटक भिसामा जापान पुगेकी मन्जु गुरुङ आफूले जापानमा भोगेका समस्याले आज त्यसै क्षेत्रमा दु:ख पाएका महिलाका लागि सहयोगी बनेकी छन् ।

पति जापानमा भएका कारण उनी पर्यटकीय भिसामार्फत जापान गएकी थिइन् । भिसा सकिएपछि उनले पनि त्यहाँ अनेक समस्या झेल्नुपरेको सुनाइन् । ‘आफू गैरकानुनी रूपमा बसेपछि प्रहरी देख्यो कि डर लागि हाल्थ्यो, मलाई नै खोजेको होला भन्ने मनमा लाग्ने ।

‘वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खायो’ भन्ने नेपाली उखानजस्तै भए उनका गैरकानुनी रूपमा जापान बसाइका दिनहरू । आफ्नो भोगाइ सुनाइन् उनले, ‘त्यहाँ पनि विभेद थियोे, त्यही काम गरेको पुरुषले ६ सय पाउँथे, महिलालाई भने १ सय ५० मात्रै दिन्थे ।’

त्यति वेला त्यही ठीक होला भन्ने ठान्थेँ । तर, त्यो ठूलो विभेद रहेछ पछि बुझेँ । भाषा नबुझेका कारण उनीहरू एउटा सामान माग्थेँ म अर्कै दिन्थेँ, उनी एउटा काम अह्राउँथे म अर्कै गर्थें । त्यहाँको संस्कृति थाहा थिएन, खाना मीठो नलाग्ने जेमा पनि समुद्रको गन्ध आउँथ्यो ।’

आफ्ना विगतका भोगाइ सुनाइन् उनले । वैदेशिक रोजगारीमा गएर दुःख पाएर फर्किएका महिलाहरूका लागि सहयोग गर्न सन् २००३ पौरखी नेपाल नामक संस्था खोलेर सहयोग गर्दे आएकी मन्जु अहिले सो संस्थाको अध्यक्ष छिन् ।

संस्थाले दुःख पाएर आएका महिलालाई संरक्षण दिने, न्यायका लागि पहल गर्ने र जानुअघि सोका बारेमा विस्तृत जानकारी गराउने, रेडियोमार्फत सूचना दिने र हटलाइन चलाउँदै आएका छन् ।

उनको संस्थामा कहिले काहीँ वैदेशिक रोजगारीबाट अनेक समस्यामा परेर आएका २०÷२५ जनासम्म महिला हुने गरेको उनले सुनाइन् । विदेशबाट फर्केर आएका महिलाले राम्रो कमाई गरी आएमा परिवारले राम्रो व्यवहार गर्ने र दुःख पाएर आएमा वास्ता नगर्ने गरेको उनले सुनाइन् ।

उनका अनुसार वैदेशिक रोजगारीबाट फर्कने महिलाहरूमा बढी स्वास्थ्य समस्या हुने गरेको छ । रगतको क्यान्सर, किड्नी खराबजस्तो प्रमुख समस्या लिएर आउने गरेका उनको अनुभव छ । समयमा खान नपाउने र आराम गर्न नपाएका कारण स्वास्थ्यमा धेरै समस्या देखिने गरेको उनले सुनाइन् ।

कैयाैं महिला भने यौन हिंसाको सिकार भएर पनि फर्कने गरेको उनको अनुभव छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने ९९ प्रतिशत महिला गैरकानुनी रूपमा जाने गरेको उनको भनाइ छ । १५ वर्षको उनको अनुभवमा खाडी र मध्यपूर्वका देशबाट आउने कैयौँ महिला घरेलु हिंसाको सिकार भएका कारण अवाञ्छित गर्भ र काखमा बच्चा लिएर पनि आउने गरेको उनले सुनाइन्।

पौरखी नेपालमा उनीसँग कुरा गरिहेको वेला पनि एक महिला तीन महिनाको छोरा काममा लिएर आइन । वैदेशिक रोजगारीमा गएकी उनले पैसा कमाउनु त कहाँ हो कहाँ झन् समस्या झुल्नुपरेको कुरा काखको बच्चा हेरेर प्रष्ट हुन्थ्यो ।

उनको अनुभवका आधारमा ती देशहरूमा जाने अधिकांश महिलाहरू घरमा आर्थिक समस्या भएका, पतिले अर्की ल्याएका, धेरै लेखपढ्न गर्न नसकेका र द्वन्द्व पीडित हुने गरेका छन् ।

उनले भावुक हुँदै सुनाइन्, ‘त्रिभुवन विमानस्थलमा उत्रँदा कैयौँ बोल्न नसक्ने अवस्थाका हुन्छन्, कैयौँको बोली सुन्न महिनौ लाग्यो । एक दिन एकजना महिला पूरै कालो बुर्कामा विमानस्थलमा आइन्, उनको शरीरमा बुर्काबाहेक केही थिएन, साथामा सानो कपडाको पोका थियो । ‘ठेगाना खुमानको डाँडा, चाइचोर कामी’ मात्रै लेखेको थियो ।

त्यो पत्ता लगाउन महिनौँ लाग्यो उनी केही बोल्दिन थिइन, महिनौपछि उनको बोली खुल्यो ।’ कोही साना बच्चा काखमा च्यापेर आउँछन्, कोही गर्भमा बच्चा लिएर ।’ महिलाहरूका शारीरिक तथा मानसिक अवस्था देख्दा सबैका आँखा रसाउँछन् । कैयौैँको जिउभरि तातो पानीले पोलेका फोकै फोका र आइरनले डामेका घाउ हुन्छन् ।’ खाडीबाट फर्किएका महिलाहरूका दर्दनाक अवस्था सुनाइन् उनले ।

जाने सबैको अवस्था नराम्रो हुन्छ भन्ने छैन । उनका अनुसार कैयाैंले इज्जतसँग काम गरेर राम्रो कमाएका पनि छन् । तर, सबैको अवस्था राम्रो नभएको उनले बताइन् । कसैले कमाएको देखेर जाने र फर्कंदा अनेक समस्या झेल्नेको संख्या ठूलो रहेको उनको अनुभव छ । भाषाको ज्ञान नहुँदा, त्यहाँको संस्कार र संस्कृति बुझ्न नसक्दा बढी समस्या आउने गरेको उनको अनुभव छ ।

‘नेपालको खानपान र उनीहरूको खानपान मिल्दैन, यहाँ सामान्य केही नजानेका पनि जान्छन्, उता गएपछि उनीहरूले आफ्नो इच्छाअनुसार काम गरून् भन्ने चाहन्छन्, पढेका हुँदैनन्, खाने कुरामा लेखेको नाम थाहा हुँदैन । यतिसम्म कि उनीहरूकहाँ गएर कसरी कपडा धुनेसम्म थाहा हुँदैन कैयौँलाई ।’ उनले भनिन् हामी जाँदै नजाने भन्न सक्दैनौँ । नेपालमा रोजगारी छैन समस्या नै समस्या छन् ।

तर, कमसेकम जाँदा कानुनी बाटो र सीप ज्ञान बनाएर जाँदा दुःख नपाइने उनले बताइन् । नेपाल सरकारले खाडी मुलुकमा महिला कामदार जान रोकेको राम्रो भए पनि जानेक्रम भने नरोकिएको उनले दोहोर्याइन् । ‘नेपालमा प्रगतिशील कानुन बन्यो तर, त्यो कार्यान्वयन भएन । सरकारले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने सीप र क्षमताको विकास गर्नुपर्छ ।

वैदेशिक रोजगारीमा गएका महिलाले कमाएको पैसाबाट राज्यलाई पनि लाभ भएको छ तर महिलाले कमाएको पैसाको लाभको राज्यले लेखाजोखा गर्न सकेको छैन । वैदेशिक रोजगारीमा गएर महिलाले कमाएको पैसा शिक्षा र स्वास्थ्यमा बढी लगानी भएको छ । यसलाई भुल्नु हुँदैन’ उनले भनिन् । राज्यका कारण महिला दलालको पछि लागेर खाडी मुलुकमा जान बाध्य परेको उनले सुनाइन् ।

‘सरकारले रोकेर जानेक्रम रोकिएको छैन, कुनै न कुनै बाटो भएर जानेक्रम जारी छ ।’ दलालीको पछि लागेर जाँदा धेरै जोखिममा पर्ने गरेको उनले भनाइ छ ।’ सरकारले कानुनी रूपमा जाने वातावरण बनाएमा महिलाले समस्या परेमा उजुरी र गुनासो गर्ने ठाउँ रहने र समस्या कम हुन सक्ने उनले बताइन् । खाडी मुलुकमा जाने महिलाका विषयमा वेला–वेला विवाद उठ्ने गरेको छ ।

सरकाले खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको छ । सरकारको उक्त निर्णयप्रति मान्छेका फरकफरक धारणा हुने गरेको छ । एकथरी मान्छेले खाडी मुलुकमा महिला कामदार पठाउ नै नहुने भन्दै आएका छन् भने कोहीले घरेलु कामदारबाहेक पठाउन उचित हुने भन्दै आएका छन् ।

कोही सरकारले पुरुषलाई जस्तै सम्पूर्ण सरकारी प्रक्रिया पुर्याएर पठाउन उचित हुने सुझाब दिने गरेका छन् । आजको दिनसम्म पनि खाडी मुलुकमा गएर फर्कने महिला दाम कमाउनुभन्दा बढी समस्या बोकेर आउने गरेका छन् । राज्यले यस विषयका बारेमा वेलैमा सोच्नुपर्ने देखिन्छ । सपना बोकेर जानेले समस्या बोकेर नआऊन् । प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय