मत-विमत

दसैँ पर्व भारतबाट आएको भन्नु हास्यास्पद

अञ्जु कार्की २०७५ असोज ३० गते ८:३८ मा प्रकाशित

खस र किराँत दुवै समुदायको पुरानो थातथलो भनेको हिमाली क्षेत्र नै हो । त्यसैले दसैँमा देवीका सेनापतिहरूलाई पशु बलि चढाएर रगतमा मुछिएको अक्षता निधारमा र टाउकोमा जमरा लगाउने प्रचलन हिन्दुस्थानबाट आएको होइन । नेपालको मौलिक परम्परा हो । अझ स्पष्ट शब्दमा भन्नुपर्दा दसैँ भारतबाट आएको होइन, हाम्रै हो ।

नेपालमा दसैँ पर्व सुरु भएको छ । भारतमा दसेरा सुरु भएको छ । दसैँ र दसेरा एउटै तिथिबाट सुरु भई एउटै तिथिमा समाप्त हुने भएकोले नाम मात्रै फरक हो कि भन्ने तर्क धेरैको छ । तर, नेपालीले दसैँ मनाउने शैली र भारतीयहरूले दसेरा मनाउने शैलीमा जमिन आसमानको फरक छ।

भारतीयहरू दसेराभरि सकेसम्म अन्नसमेत खाँदैनन्, काटमार तथा माछामासुको कुरा त परै जाओस् । तर, नेपालमा पशु बलि तथा माछा मासुविनाको दसैँ कल्पनासम्म गरिँदैन । अर्थात् भारतीयहरूको दसेरा र नेपालीहरूको दसैँ मनाउने शैली ठीक उल्टो छ ।

पछिल्लो समय दसैँलाई नेपालीहरूको महान चाड नभनेर हिन्दूहरूको महान चाड भन्न थालिएपछि दसैँको विषयलाई लिएर नेपाली समाजमा केही द्वन्द्वहरू देखा पर्न थालेका छन् । यो द्वन्द्वको विश्लेषण गर्नुपूर्व इतिहासका केही तथ्यहरूको स्मरण गर्नुपर्ने हुन्छ । इतिहासका तथ्य स्मरणविना कुनै पनि संस्कृतिको विश्लेषण गर्न सकिन्न ।

हिन्दू भन्नासाथ हिन्दुस्थानको भूगोलमा बस्नेहरूको परिचय हो । वर्तमान भारतलाई हिन्दुस्थानको पहिचान दिएको फारसीहरूले हो । वैदिककालदेखि नै नेपालको आफ्नै परिचय छ । हिन्दुस्थानमा बस्नेहरू हिन्दू भएजस्तै नेपालमा बस्नेहरू नेपाली हुन् ।

यी दुवै भूगोलमा बस्नेमध्ये अधिकांशले वैदिक सनातन धर्म संस्कृति अवलम्बन गरेका छन् । पछिल्लो कालखण्डमा वैदिक सनातन धर्म संस्कृतिलाई नै हिन्दू धर्मको नाम दिन खोजिएपछि अन्योलता बढेको छ । यही अन्योलताले द्वन्द्व निम्त्याएको छ । मोटामोटी रूपमा बुझ्न सकिन्छ कि, नेपालीहरूले दसैँ मनाउँछन् हिन्दूहरूले दसेरा मनाउँछन् ।

नेपालीहरूले मनाउँदै आएको दसैँप्रति विगत केही वर्षदेखि दुइतिरबाट हमला भएको छ । एउटा हमाला हिन्दूहरूबाट भइरहेको छ भने अर्को हमला गैरहिन्दूहरूबाट भइरहेको छ । देवीका सेनापतिहरूलाई पशुबली चढाएर मासु ग्रहण गर्ने संस्कारलाई हिन्दूहरूले हमला गर्न थालेका छन् ।

आफूहरूले जुन शैलीमा दसेरा मनाउने गरेका छन् त्यसैको विस्तार नेपालमा पनि गर्ने अभियान हिन्दुस्थानीहरूले सुरु गरेका छन् । यता ‘जमरा र रातो अक्षता लगाउने संस्कार हिन्दूहरूको हो, हाम्रो होइन’ भन्दै जनजाति नेपालीहरूलाई उकास्ने काम पनि सँगसँगै भइरहेको छ ।

यी दुवै अभियान नेपालको मौलिकता मास्ने षड्यन्त्रबाट प्रेरित छन् । हाम्रो देशका पहिला बासिन्दा पश्चिमतर्फ खस र पूर्वतर्फ किराँती नै हुन् । नेपाली संस्कृति भनेको यिनै दुइवटा समुदायको मिसमास हो । यो कुरा बिपी कोइरालाले आफ्नो उपन्यास सुम्निमामा संकेतसमेत गरेका छन् ।

नेपाली संस्कृति खस र किँरातको फ्युजन हो भन्ने सन्दर्भमा सबैभन्दा गतिलो उदाहरण भनेको दसैँ मान्ने शैली नै हो । किराँती सुरुमा सिकारी समुदाय थियोे । सिकारीको मुख्य खाने कुरा माछामासु हुने नै भयो । यता खसहरू सिकारी युगबाट कृषि युगमा प्रवेश गरिसकेका थिए ।

तर, पनि मुख्य पूजाआजामा पशुबली दिने प्रचलनलाई खसहरूले छाडेनन् । अहिलेसम्म पनि धेरैजसो खसहरूको देवालीमा भेडोको बली अनिवार्य मानिन्छ । किराँतीहरूले दहीमा भिजाएको सेतो अक्षता लगाउने प्रचलनलाई अहिलेसम्म पनि निरन्तरता दिएका छन् ।

खसहरूले यसमा रातो रङ मिसाउँछन् । सुरुमा रगतले रातो बनाउने प्रचलन थियो पछि रङको प्रचलन आयो । रङको आविष्कार नेपालमा भन्दा हिन्दुस्थानमा पहिलो भएको हो । हिजोआज मकैको पनि जमरा बनाउने चलन छ । तर, मकैको खेती हुन थालेको धेरै शताव्दी बितेको छैन ।

त्यसमा पनि हिमाली क्षेत्रमा मकै खेती हुँदैन । हिमाली क्षेत्रको प्रमुख बाली भनेकै जौँ हो । जौँको आँकुरा नै जमरा हो । यसमा दुइमत नै छैन । खस र किराँत दुवै समुदायको पुरानो थातथलो भनेको हिमाली क्षेत्र नै हो । त्यसैले दसैँमा देवीका सेनापतिहरूलाई पशु बलि चढाएर रगतमा मुछिएको अक्षता निधारमा र टाउकोमा जमरा लगाउने प्रचलन हिन्दुस्थानबाट आएको होइन ।

नेपालको मौलिक परम्परा हो । अझ स्पष्ट शब्दमा भन्नुपर्दा दसैँ भारतबाट आएको होइन, हाम्रै हो । तिहार पनि भारतको दीपावली होइन, हाम्रै दाजुबहिनी, दिदीभाइको भावनात्मक सम्बन्धको चाड हो । दसैँ नेपालसँग जोडिएको पर्व हो भन्ने कुरा पुष्टि गर्न नेपाल र हिन्दुस्थानमा मनाइने दसैँको फेरि पनि तुलना गरौँ ।

नेपाली दसैँ भनेको मारकाटको आधिक्य भएको चाड हो । दसैँँको सप्तमी, अष्टमी र नवमीमा मौलोमा बाँधेर जनावरको बलि दिने चलन छ । सप्तमी, अष्टमी र नवमी मासु पर्व हुन् । दशमीको दिन टीकाको दिन हो । नेपालभित्रै पनि कतिपय गण्डकी प्रदेशको पूर्विया खस समुदायमा दशमीको टीका लगाएपछि दसैँ सकिने चलन छ ।

कतिपय स्थानमा पूर्णिमासम्मका पाँच दिन टीका लगाउने चलन छ । कति दिन टीका लगाउने भन्नेमा विवाद भए पनि सप्तमी, अष्टमी र नवमीमा मासुको चाड बनाउने कुरामा कतै कसैको विवाद भएको पाइँदैन । तर, भारतमा मासुको प्रयोग दसैँभरि गरिँदैन । दसेरा भने पनि त्यता फूलपाती मात्रै प्रयोग हुन्छ ।

अक्षता र जमराको समेत प्रयोग हुँदैन । दसैँ हिन्दू मात्रको धार्मिक चाड नभई सारा नेपालीको सांस्कृतिक पर्व बनिसकेको छ । तर, अफसोचको कुरा या त कम्युनिस्टहरूले यो राष्ट्रिय चाडको उचित पहिचान गर्न सकेनन् । या त पश्चिमाहरूको लहैलहैमा लागे ।

१५ दिनसम्म चल्ने यो चाडमा पहिलो दिन घटस्थापना गरी जौँ र मकै रोपी दुर्गाको आह्वान गरी ९ दिनसम्म पूजा गरी दसौँ दिन विजयादशमीमा त्यही घडाको जल अभिषेक गर्ने, जमरा प्रसादका रूपमा मान्यजनको हातबाट लगाउने गरिन्छ । तर, सरकारले जमरा लाउने दिनको विदा यसपटक कटौती गर्यो ।

दसैँ कोठामा फूलपाती भित्र्याउने, काली अनि नवदुर्गाको पूजा गर्ने दिनहरू फूलपाती, महाष्टमी, महानवमीको दिन पनि विदा नै छ । तर, दुर्गा आह्वान गर्ने, जमरा रोप्ने दिनको भने विदा कटौती गरियो । अनेकौँ तन्त्र, दिवसहरूजस्तो होइन, घटस्थापना ।

वैज्ञानिक महत्व
सबैभन्दा धेरै दिन र लामो पूजा गरिने चाड हो दसैँ । दसैँ यसै पनि धेरै फूल फुल्ने मौसम हो । तर, तिते पातीको फूल तथा जमराको विशेष प्रयोग हुन्छ । सर्वसुलभ रूपमा पाइने तितेपातीको औषधीय महत्व पनि छ ।

जमराको औषधीय महत्वको त ज्यादै धेरै छ क्यान्सरजस्तो घातक रोगमा समेत जमराको सेवन फलदायी हुने तथ्य वैज्ञानिकहरूले पुष्टि गरिसके ।

शिवमहापुराण, उमा संहिताको अध्याय ५१ को श्लोक ४८ अनुसार देवीलाई कमलको फूल विशेष रूपमा मन पर्दछ भनिएको छ भने शंखपुष्पी (विष्णुक्रान्ता) र तुलसीको फूल सकेसम्म नटिप्नु भनिएको छ । अझ नीलो शंखपुष्पीलाई त कडाइका साथ निषेध गरिएको पाइन्छ ।

तुलसीको औषधीय महत्व धेरैलाई थाहा छ तर शंखपुष्पीको महत्व धेरैलाई थाहा छैन । आयुर्वेदका अनुसार स्मरण शक्तिलाई बलियो बनाउने औषधीय गुण भएको दुर्लभ फूल हो शंखपुष्पी ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय