सम्पादकीय

धनीलाई दसैँ, गरिबलाई दसा

सौर्य अनलाइन २०७५ असोज ३० गते ८:४४ मा प्रकाशित

नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ एक साता अघिदेखि सुरु भएको भएको छ । घटस्थापनादेखि पूर्णिमासम्मका १५ दिन बडादसैँका रूपमा मनाईने परम्परा छ । यस मध्ये घटस्थापनादेखि दशमीसम्मका दश दिन विशेष रूपमा मनाउने प्रचलन छ । खासगरी दसैँ पर्वका दुई वटा पाटा छन् । भक्ति र मनोरन्जन ।’ घटस्थापनादेखि फुलपातिसम्म देवीको भक्ति गरिन्छन् । अष्टमीदेखि दशमीसम्म देविको भक्तिका अलवा मनोरञ्जन गरिन्छ । नेपालीहरूले दसै“ पर्वमा भक्तिलाई भन्दा मनेरञ्जनलाई जोड दिएको पाइन्छ । गाउँघर तिर घटस्थापना शुरु हुना साथ घर आँगलनको लिपपोत तथा रंगरोगन गरिन्छ । बाटोघाटो मर्मत तथा सरसफाई गरिन्छ । कृषि पेशामा लाग्नेहरूलाई खेतिपातीको नियमित कामबाट फुर्सद हुने सिजन भएका कारण पनि गाउँघरको सरसफाई तथा श्रृंगारका लागि समय मिल्छ । परदेश गएकाहरू घर फर्कने हुँदा परिवारिक तथा इष्टमित्रको मिलन हुन्छ । अघिपछि नसक्नेहरूले पनि दसैँमा नयाँ कपडा किन्ने प्रचलन छ । मनोरञ्जनका लागि गाउँ घरतिर पिङ बनाइन्छ । रातभरी मादल बजाउँदै नाच गान गरेर युवा युवतीहरू पिङ खेल्न मस्त हुन्छन् । दस“ैका लागि भनेर मीठो मसिनो साँचेर राख्ने परम्परा पनि छ । आफ्ना जात परम्परा तथा संस्कृति अनुसार भेडा–च्याङ्ग्रा , खसी, बोका , हाँस–कुखुरा , राँगा भैँसी तथा सु“गुर काटेर मासुको जोहो गरिन्छ । अष्टमीदेखि दशमीसम्मका तीन दिन प्रायका घरमा मासु बाहेक अरु तरकारी पाक्दैन अर्थात पकाउनै हुन्न ।
दसै“ पर्वसँग जोडिएका अनेक उखान छन् । कसैलाई तत्काल राम्रो फलिफाप भयो भने फलानालाई त ‘दसैँ आयो’ भन्ने चलन छ । यसैगरी ‘आयो दसैँ ढोल बजाई गयो दसैँ ऋण बोकाई’ भन्ने उखान पनि निकै प्रचलित छ । हुन पनि गरिवका लागि दसै“ भनेको एक प्रकारको दशा हो । दसैँ मनाउँदा लागेको ऋण तिर्न वर्षभरी साहुकहाँ जोतिनुपर्ने वाध्यतामा अहिले पनि कयौं नेपालीहरू छन् । नेपालमा अहिले पनि गरिवीको रेखामुनि रहेकाहरूको संख्या २१ प्रतिशत छ । यी २१ प्रतिशत जनताले ऋण नलिई दसैँ मान्न सक्दैनन् । जस्तै कन्जुस्याँइ गरेपनि दसैँ मनाउन एउटा सानो परिवारका लागि पनि २५–३० हजार रूपैयाँ आवश्यक पर्छ । बिहान बेलुका हातमुख जोड्न धौधौ पर्नेहरूका लागि २५–३० हजार जुटाउन साहुसँग चर्को व्याजमा ऋण काढ्नुको विकल्प छैन । यो ऋण हरेक वर्ष बढ्दै जाने गरेकोले भएको खेतवारी पनि सकिएर सुकुम्वासी बन्न कतिपय परिवार बाध्य भएका छन् । दसैँ मनाउनका लागि लिइएको ऋणकै कारण सुकुम्बासी बन्न पुगेका परिवारको संख्या नेपालमा निकै ठूलो हुनुपर्छ ।
सरकारले सबै भन्दा ठूलो चाड भन्दै दसैँका अवसरमा कर्मचारीहरूलाई एक साता भन्दा बढी विदा दिने गरेको छ । साथै दसैँ मनाउन एक महिना बरावरको थप तलव उपलव्ध गराउँदै आएको छ । यो वर्गका लागि दसैँ भनेको मस्तीको चाड हो । साथै प्रसस्त आम्दानीहुनेहरूका लागि पनि दसैँ मस्तीको चाड हो । व्यापारी ,व्यवसायीहरूका लागि पनि दसैँ मस्तीको चाड हो । किसानका लागि बालि भित्र्याउने समय जति आनन्ददायी हुन्छ त्यसैगरी कर्मचारी वर्ग तथा व्यापारी व्यवसायी वर्गका लागि पनि दसैँ त्यसरी नै आनन्ददायी समय हो । ‘धनीका लागि दसैँ र गरिवका लागि दशा’ बन्ने गरेको यो चाडको विषयमा राज्यले विशेष ध्यान दिनु जरुरी छ । गरिवले पनि ऋण नलिई दसैँ मान्न सक्ने अवस्था भयो भने मात्रै दसैँलाई राष्ट्रिय चाड भन्नु उपयुक्त हुन्छ । तर दसैँमा काला व्यापारीहरूले अघि पछिको तुलनामा हरेक समानको मुल्य उल्लेख्य बृद्धि गर्छन् । यस पटकको दसैँको उदाहरण लिने हो भने पनि चिनीको मुल्य प्रतिकेजी २० रूपैंया बढेको छ , मासुको मुल्य प्रतिकेजी १ सय ५० रूपैंया बढेको छ । गाडी भाडा सरकारले १० प्रतिशत मात्रै बृद्धि गरेको हो तर व्यवसायीहरूले ५० प्रतिशतसम्म बृद्धि गरेका छन् । दसैँ मनाउन राजधानीबाट घर जाने यात्रुहरूले त निर्धारित दर भन्दा दोब्बर भाडा तिरिरहेका छन् । निश्चित काला व्यपारीहरूले गरिव चुस्ने चाडका रूपमा दसैँ विकसित हुँदै गएको छ । यसबारे सरकार बेखवर छैन । सरकार तमाशे बनिरहेको छ । दसैँको मुखमा बस दुर्घटना भई मृत्यु हुनेहरूको संख्या यस वर्ष पनि उल्लेख्य बढेको छ । दसैँको मौका छोपेर थोत्रा बसहरू संचालन गर्ने विकृति यस पटक पनि नियन्त्रण गर्न सरकारले सकेन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय