खोजखबर

माटोका भाँडा बनाउने पेसा लोप हुँदै

बाबुराम बास्तोला २०७५ कार्तिक २० गते ८:३० मा प्रकाशित

संखुवासभा । कुमाल जातिको परम्परागत पेसा र पहिचान लोपोन्मुख अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई पिटेर, मुछेर आकार दिने कला कुमाल जातिको लोक संस्कृतिअन्तर्गत पर्दछ । ‘

काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानैमा सीमित हुने अवस्था आउन थालेको छ । बुढापाकाले आफूभन्दा सानालाई अर्ती उपदेश दिन प्रयोग गर्ने यो उखान यही पेसाको अनुशरण हो । संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा कुमाल जातिको बाक्लो बस्ती रहेको छ । यहँ सयभन्खा बढी घरधुरी कुमाल समुदायको मात्रै छ ।

विगत केही वर्षअघि त्यो ठाउँमा प्रशस्तै माटोका भाडा बनाउने परिवार भए पनि हाल खासै भेटिदैनन् । अहिले यो कला जानेकालाई बुढेसकालले छोयो, नजानेका विदेश गए, अथवा व्यापार र पसल गर्न थाले ।

माटोका भाँडा बनाउने पेसाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराल लगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेसा नै संकटमा परेको हो । माटाका हन्डी, घैँटा, पाला, आरी लगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् । पहिलेजस्तो माटो पनि छैन बस्ती बाक्लो भयो, जुन पायो त्यही माटोले भाँडा राम्रो बन्दैन यहाँका समुदायको गुनासो छ ।

यसबाट निर्माण हुने होन्डा (मदिरा निर्माण गर्ने), घैंटो (पानी चिसो बनाउने), हाँडी (मकै भुट्ने), खुत्रुकी (पैसा वचत गर्ने) जस्ता महत्वपूर्ण सामग्री बनाउने हस्तकलाको लोप हुँदैजाँदा कुमाल जातिको पहिचान ओझेलमा पर्ने संकेत देखिएको छ ।

माटोका भाँडा बनाउने पेसाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराल लगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेसा नै संकटमा परेको हो । माटाका हन्डी, घैँटा, पाला, आरी लगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन्

जिल्लाको सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे बजार, तुम्लिङटरमा लाग्ने शुक्रबारे बजार, एकादशी, संक्रान्ति, फागु पुर्णिमा, शिवरात्री मेलामा जिल्लाका विभिन्न बजार, रामनवमी र बालाचदुर्दर्शी मेलामा भोजपुरको दिङ्लाबजार लगायतका मेलामा यहाँका कुमाल समुदायले पैदलयात्रा गर्दै माटोको भाँडा बोकेर बेच्ने गर्दथे । अझै सम्म पनि सो पेसागर्दै आएका केहीले १३ किलोमिटरमाथि रहेको खाँदबारी बजारसम्म पैदल नै माटोका भाडा बोकेर ल्याउने गरेका छन् ।

लोपहुनुको कारण

प्लास्टिकको भाँडा बजारमा आउनु, बाक्लो बस्तीका कारण चिम्ट्याइँलो माटोको अभाव हुनु र आम्दानीभन्दा मिहिनेत धेरै गर्नुपर्ने भएकाले यो पेसा छाडेर अन्य काम गर्न बाध्य भएको भनाइ खाँदबारी–९का सुवास कुमालको छ ।

स्थानीय वासिन्दा रामबहादुर कुमालले भाँडा बनाउन माटो अभाव, जोखिमको पेसा र यो पेसाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा बनाउने काम केही वर्षदेखि कम हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेसा नै अहिले संकटमा परेको उनको दुःखेसो छ ।

स्थानीयवासी रुद्रबहादुर कुमालका अनुसार माटो, दाउराको अभाव र युवा पुस्ताको पेसाप्रति आकर्षित हुन नसक्दा यो पेसा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरे पनि अहिले भाँडा बनाउन छाडेका छन् ।

करिब १०-१५ वर्षअघि माटाका भाँडा बनाउने पेसाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रूपमा माटाका भाँडा बनाउने र घरघरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो ।

पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेसालाई अप्ठ्यारो पेसाका रूपमा लिन थालेपछि संकटमा परेको हो । परम्परादेखि माटाका भाँडा प्रयोग गर्दै आएका समुदायमा अहिले पूजापाठमा अति आवश्यक भाँडा मात्र प्रयोग हुँदै आएको खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष टीकाराम कुमालको भनाइ छ ।

स्थानीय सरकारले कुमाल समुदायका परम्परागत पेसा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेसा व्यवसाय संरक्षण हुने बुढापाकाको भनाइ छ ।

कुमालको घरमा चर्खा नै छैन

माटोको भाँडा निर्माण गर्न प्रयोग गरिने साधन चर्खा हो । यो साधन माटो, खसीबोकाको रौँ मोलेर निर्माण गरिएको हुन्छ । यहाँका अधिकांश कुमाल जातिको घरमा चर्खा नै छैन । भएका चर्खामा पनि माकुराको जालो लागेका छन् । कुमाल जातिको घरमा चाख नहुनु भनेको विद्यार्थीको झोलामा कापीकलम नहुनुजस्तै हो । चर्खालाई घुमाउँदै माटोलाई जता हातले मोड्यो त्यतै माटोको स्वरूप आउँछ र चाहेको सामग्री निर्माण गरिन्छ । यही कला र पेसा कुमालको पहिचान हो ।

धर्म, संस्कृति परम्परा लोप हुन लागेको चिन्ता छ केही अग्रज कुमालेहरूलाई । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि कुमाल जातिको संस्कृति संरक्षणमा कसैको चासो पुग्न सकेको छैन । युवापुस्ता विदेश पलायन वा व्यवसायमा केन्द्रित भएका छन् । पिँढी कुरेर बस्ने बुढापाका जवानीमा माटोको भाँडा बनाएको सम्झिँदै बस्ने गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय