मत-विमत

राष्ट्रिय एकता र अखण्डताको प्रतीक तिहार पर्व

विश्वनाथ खरेल २०७५ कार्तिक २१ गते ६:५५ मा प्रकाशित

मृत्युका देवता यमराज पनि आफ्नी बहिनी यमुनालाई भेट्न भनी वर्षदिनमा पाँच दिन यमदण्ड परित्याग गरेर बहिनीसँग कुशलमंगल गरेर बिताउँछन् । त्यसकारण यमपञ्चकको पाँच दिनभित्रमा मर्ने जस्तोसुकै पापी पनि नरक होइन स्वर्गमा पुग्दछ

नेपालीले मान्दै आएको बौद्धिक सनातन संस्कृतिमा धर्मका विविध पक्षहरू छन् । त्यसकारण हाम्रो देशमा मनाइने पर्वहरूमा चार मुख्य मान्न सकिन्छन्–श्रावणमा मनाइने श्रावणी (ऋषितर्पणी, रक्षाबन्धन, तागो बाँध्ने दिन) आश्विनमा मनाइने बडादसैं ( नवरात्र) कार्तिकमा मनाइने तिहार ( काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार, भाइ तिहार) हुन् । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँचदिनसम्म रहन्छ र यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

त्यसमा कार्तिक कृष्ण त्रयोदशी धनत्रयोदशी भनिन्छ । यस दिनमा धातुका पात्र (भाँडा) हरू, सुवर्ण, रत्न आदि किन्नु राम्रो हुन्छ भन्ने चलन छ । यसै दिन आयुर्वेद चिकित्सा शास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको प्रादुर्भाव भएको हो र उनको पूजा यसै दिन गर्ने विधान देखिन्छ । यो चिकित्साकर्मीहरूको महत्वपूर्ण दिन मानिन्छ ।

जसरी दक्षिणायमा पर्ने शुक्ल र कृष्ण पक्षमा आ–आफ्नै किसिमका पर्वहरू पर्दछन् भने त्यस्तै गरी तिहार महान चाड मध्ये दोस्रो पर्व हो । वसन्तलाई ऋतुहरूको राजा भनिन्छ तापनि शर्द ऋतुको झन् बढी महत्व छ । न जाडो, न गर्मी हुने शरद् ऋतुमा झरी, बादल र वर्षा पनि विरलै हुन्छ । वर्षदिनको सबैभन्दा ठूलो चाड बडादसैं र तिहारको महोत्सव यसै ऋतृमा मनाइन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, अधर्ममाथि धर्मको र अज्ञानमाथि ज्ञानको विजयको सनातनकालीन शाश्वत सत्यलाई उजागर गर्ने पर्व बडादसैं र तिहार हुन् ।

कार्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ तिहार पर्व पाँच दिनसम्म चलेर कार्तिक शुक्ल द्वितीयाका दिन सम्पन्न हुन्छ । यम पञ्चकको नामले चिनिने तिहार पर्वसँग यमराजको नाम पनि गाँसिएको छ । यस चराचर जगत्का सम्पूर्ण प्राणीप्रति दया, स्नेह र समता भाव राख्न तिहार पर्वले अभिपे्ररित गर्दछ । परमेश्वरका सृष्टिमा सर्वोच्च प्राणी मानव हुन् ।

मानवलाई परमेश्वरले वृद्धि र विवेक दिनुभएको छ । अन्य प्राणीमा यी दुई वस्तुको अभाव छ । विवेकपूर्ण चेतनाले मानव समुदायले काम गर्ने भएकाले अन्य प्राणीको तुलनामा मानवका क्रियाकलाप त्रुटिरहित हुन्छन् । जन्मजात पाएको ज्ञान, विवेकलाई मानव समुदायले यथोचित प्रयोग गरेको खण्डमा यस जगत्मा अन्याय, अत्याचार हुन सक्तैन । तर, समाजका बोझ बनेका, संस्कारविहीन, विवेकशून्य र बुद्धिहीन केही व्यक्तिका अपराधमूलक प्रवृत्तिले समाजमा अन्याय र अपराध प्रवृत्ति बढ्दछ ।

सबै प्राणीप्रति दयाभाव देखाउन, सबैमा समानभाव प्रकट गर्न हामी नेपाली चाड पर्व मनाउँछौ । यसै क्रममा तिहार पर्व आउँछ । धन धान्य र वैभवकी स्वामी लक्ष्मीदेवीको पूजा आराधना एवं दीपावली गरेर तथा सबै प्राणीको सम्मान गरेर तिहार पर्व मनाउने नेपालीहरूको आफ्नै पन छ । स्थलचर, नभचर, जलचर सबै परमेश्वरका सृष्टि भएकाले उनीहरूको रक्षा गर्नु मानव समुदायको कर्तव्य हो ।

यम पञ्चकको पहिलो दिन चराचुरुंगी प्रति दयाभाव देखाउन कागको पूजा गर्ने, खान दिने चलन छ । नभचरको प्रतिनिधित्व गर्ने कागलाई उत्सव मनाएर पूजा गरी खान दिएर समस्त पंक्षी जगत्प्रति मानव समुदायको सद्भावना व्यक्त गरिएको हो । अहिंसालाई धर्म मान्नेहरूले सबै जीवजन्तुप्रति दयाभाव राख्तछन् ।

वातावरणलाई स्वच्छ राख्न पंक्षी जगत्ले पनि विशेष भूमिका खेलेको हुन्छ । त्यसैकारण शास्त्रीय आधार दिएर काग तिहार मनाइएको हो । शिकार एवं अन्य कारणले विश्वबाट दुर्लभ पंक्षीहरूसमेत निमिट्यान्न हुन लागेको र वातावरण प्रतिकूल भइरहेको वर्तमान परिप्रेक्ष्यमा पंक्षीप्रति दयाभाव प्रदर्शन गर्ने तिहार हिन्दू धर्मालम्बीले मात्र होइन सबै धर्मका अनुयायीले र विश्वले नै मनाउनु अपरिहार्य भएको छ । वर्षको एक दिन पंक्षीप्रति सम्मान देखाउने पंक्षी दिवस मनाउनु सर्वजनाहिताय नै हुनेछ ।

त्यसैगरी, यमपञ्चकको दोस्रो दिन कुकुर तिहारको रूपमा कुकुरलाई पूजा गरी खान दिएर मनाउने परम्परा छ । घरेलु जनावर कुकुर मानिसको सच्चा साथी र हितैषी मानिन्छ । पश्चिमा मुलुकमा वृद्धावस्था र यौवनावस्थामा समेत एक्लै बस्न बाध्य कतिपय मानिसका एक मात्र साथी एवं सहारा कुकुर बनेका छन् ।

बोलीले अभिव्यक्त गर्न नसके पनि इसाराले कुकुर आफ्ना स्वामी र उनका परिवारप्रति स्नेह र आस्था प्रकट गर्न पछि हट्दैन । सुरक्षा कार्य, अनुसन्धान कार्यमा समेत कुकुर एकदमै उपयोगी सावित भएको छ । सर्वतोभावेन हितैषी कुकुरको सम्मानमा कुकुर तिहार मनाउने परम्परा चलाएर आर्य धर्मावलम्बीले आफ्ना हितैषी साथी सेवकको यथोचित कदर गरेका छन् ।

त्यसरी नै तिहारको सबैभन्दा रमाइलो दिन लक्ष्मीपूजा मानिन्छ । औंसीको रातमा पनि पूर्णिमाको रातभन्दा बढी प्रकाश दिने दीपावली लक्ष्मीपूजाको अर्को नाम हो । मलमूत्रदेखि लिएर दूधसम्म अमृत समान हुने गाईको पूजा बिहान गरेर बेलुका लक्ष्मीपूजा गरिने भएकाले यमपञ्चकको तेस्रो दिनलाई गाई तिहार पनि भनिन्छ । दूध र मलमूत्र दुवैको उत्तिकै उपयोगिता भएको गाईलाई आर्यहरू आमाको रूपमा मान्दछन् ।

गाईको दूध जति पौष्टिक पदाथै केही नभएको, बाल, वृद्ध, रोगी सबैका लागि अत्यन्त आवश्यक दूध दिने गाईको अत्याधिक महत्व हुन्छ । वैदिककालमा दक्षिणास्वरूप गाई दिइन्थ्यो, गाईदान गरिन्थ्यो । अहिले पनि गोधनको महत्व त्यत्तिकै रहेको तर, गौशालाको कमी भएकोले मानिसहरू गाईको सट्टा पैसा दान गर्दछन् । धनधान्यकी देवी लक्ष्मीको आराधना सबैले गर्दछन् । लक्ष्मी पूजाको दिन गरिने विशेष पूजाआराधना र दीपावली अत्यन्त हर्षवद्र्धक भएको छ । गाउँघर घुमेर, आफन्त गाउँलेलाई सुख समृद्धिको आशीर्वाद दिएर लक्ष्मीको बखान गर्दै द्यौसी र भैलो खेल्ने अर्को अनौठो परम्परा हामीकहाँ छ ।

लक्ष्मी पूजाकै दिन नेपाली साहित्यका नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएकाले लक्ष्मी जयन्तीका रूपमा साहित्यकार एवं साहित्यप्रेमीले मनाउने गरेका छन् । त्यस्तै गरी तिहारको चौथो दिन हामी गोवद्र्धनपूजा, गोरु पूजा गर्दछौँ । कृषि एवं दुवानी क्षेत्रमा सश्रम योगदान पुर्याउने गोरु एसियाली राष्ट्रमै महत्वपूर्ण चौपाया मानिन्छ । जमीन जोतेर, सरसामान ओसारेर गोरुले मानवजातिलाई ठूलो सेवा पु¥याएको छ ।

गोरुको नकारात्मक अर्थ पनि लगाइन्छ तर, हामीले गोरुतिहार मनाएर श्रमिक पशुधनको कदरै गरेका छौँ । यसै दिन शंखधरले प्रचलनमा ल्याएको संवत्सर फेरिन्छ । यस वर्ष ११३९ नेपाल संवत् प्रारम्भ हुने भएकोले यसको विशेष महत्व हुन्छ । तिहारको अन्तिम दिन हो भाइटीका । यम द्वितीयाको नामले प्रचलित यस चाडमा दाजु भाइलाई दिदीबहिनीले टीका लगाउने र दिदीबहिनीलाई दाजुभाइले टीका लगाई आत्मीयभाव प्रकट गरिन्छ ।

जन्मेको घर छोडेर पतिघर जान बाध्य दिदीबहिनीले चाडको रूपमा भए पनि एकदिन दाजुभाइलाई बोलाएर वा दाजुभाइकहाँ गएर आत्मीयता प्रकट गर्नु मानवीय गुण हो । पौराणिक कथनअनुसार मृत्युका देवता यमराज पनि आफ्नी बहिनी यमुनालाई भेट्न भनी वर्षदिनमा पाँच दिन यमदण्ड परित्याग गरेर बहिनीसँग कुशलमंगल गरेर बिताउँछन् । त्यसकारण यमपञ्चकको पाँच दिन मर्ने जस्तोसुकै पापी पनि नरक होइन स्वर्गमा पुग्दछ ।

बिमिरो, कटुस र ओखर एवं सेलपुरीको चाड मानिने तिहार पर्वले सबै पक्षलाई समेटेको छ । धार्मिक, सामाजिक, शैक्षिक सबै पक्षको यसमा सामञ्जस्य छ । अतः भाइ पूजामा दुबोको मुण्टाले हातमा लिएको तेलधारा भुइँमा चुहाउँदै प्रदक्षिणा गर्ने र यसै गरी जलले पनि प्रदक्षिणा गरेर तेल लगाइदिने । सात रङ्गको टीका लगाई दिने, फूलको माला लगाई दिने र टोपी लगाइदिने चलन छ ।

यसै गरी दाजुभाइले पनि दिनीबहिनीलाई तेलधाराले र जलधाराले प्रदक्षिणा गरेर टिको लगाइदिने र दक्षिणावस्त्र गहना इत्यादिले दिदीबहिनीको सम्मान गर्ने चलन छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई भोजन गराउने चलन छ ।

समग्रमा भन्नुपर्दा यो चाड हाम्रो राष्ट्रिय सभ्यता कृतज्ञता, सौमनस्यको सन्देश दिने पर्व हो । गाई, काग, कुकुरको पूजनले मानवको उपकारी प्रति कृतज्ञता र सबै प्राणीमा ईश्वरको वास छ भन्ने भाव प्रकट हुन्छ । गाईको छोरो गोरुले जोतेर हामीले अन्न खान पाउँछौ, गाईको दूध, दही, गोबर, गोमूत्र, ध्यू सबैले हामीलाई पवित्र गर्छन्, रोगनाश गर्छन ।

आधिदैविक दृष्टिले गाईका अंगमा सबै देवताको वास छ । गाईको पूजाले सबै देवताको पूजा हुन्छ । कागले खेतीका शत्रु कीरा इत्यादिको नाश गर्नाले मानवको मित्र हो । भाइतिहारले दाजुभाइ दिदीबहिनीमा परस्पर सौमनस्य र हार्दिक स्नेहको वातावरण बनाएर सामाजिक जीवनलाई सुखी बनाउँछ । यो चाड राष्ट्रिय एकता र अखण्डताको पनि प्रतीक पनि हो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय