मत-विमत

व्यवस्थाप्रति नै जनता निराश हुनु खतराको घण्टी

डा. डिआर उपाध्याय २०७५ कार्तिक २१ गते ७:०२ मा प्रकाशित

ठूलाठूला स्वरमा भाषणमार्फत विकासका नाराहरू जनतालाई सुनाइयो । सरकार बनेको आठ महिना बितिसक्दा पनि मुलुकको अवस्था जस्ताको तस्तै छ । के हो यो ? देशमा कम्युनिस्टको दुइतिहाई बहुमत सहितको सरकार छ । तर, सरकारले काम गर्न सकिरहेको छैन । यो नै समस्या हो ।

सरकारको कार्यशैलीका कारण जनतामा शासन व्यवस्थाप्रति र्न निराशा आउन थालेको छ । शासन व्यवस्थाप्रति जनतामा निराशा आउनु भनेको खतराको घण्टी हो । राजनीतिक दल र तिनका नेताहरूले विकास र समृद्घिका कुरा गर्न थालेको धेरै भयो । तर विकास र समृद्धिले कुनै बाटो लिन सकेको छैन । यो नै शासन व्यवस्था टिक्छ कि टिक्दैन भन्ने मुख्य चिन्ताको विषय हो ।

जनतालाई ढाँटने र भ्रमको राजनीति गर्दै आएका दलहरू अझै पनि सुध्रर्ने कुनै संकेत देखाउँदैनन् । जसले गर्दा आमजनता निराश बन्दै गएका छन्् । जनतामा निराशा आउनु भनेको ठूलो खतराको संकेत हो । यो कुरामा मूलधारका दलहरू गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको छ । जनताका आवश्यकताहरू चुलिँदै गएका छन् । सरकार खासै गम्भीरताका साथ लागेको देखिँदैन ।

सरकारले आफ्नो गति बढाउनुपर्ने जरुरी देखिएको छ । विकास र समृद्धिका कुरा मात्र गर्ने तर काम भने अहिलेसम्म सिन्कोसमेत भाँच्न नसक्ने सरकारको शैलीले जनतामा निराशा मात्र बढाएको छ । मुलुकमा गणतन्त्र आएको पनि १३ वर्ष भइसक्यो । राजनीतिक दलहरूले संविधान जारी भएपछि देशमा तीव्र आर्थिक विकास हुने कुरा गरे ।

स्थानीय निर्वाचन भएपछि विकासको गति बढाउने कुरा गरे । अनि, संघीय सरकार निर्वाचनपछि देशमा विकास र समृद्धिको गतिलाई अब कसैले रोक्न नसक्ने बताए । दलहरूका यी भाषण र आश्वासनले अहिले जनता दिक्क बनेका छन् । निर्वाचनका वेला आ–आफ्ना घोषणापत्रमार्फत नागरिकलाई आकर्षण गर्ने काम सबैले दलले गरे तर चुनाव सकिए पछि दल र तिनका नेताहरूले सबै प्रतिबद्धता भुल्दै आएका छन् ।

ठूलाठूला स्वरमा भाषणमार्फत विकासका नाराहरू जनतालाई सुनाइयो । सरकार बनेको आठ महिना बितिसक्दा पनि मुलुकको अवस्था जस्ताको तस्तै छ । के हो यो ? देशमा कम्युनिस्टको दुइतिहाई बहुमत सहितको सरकार छ । तर, सरकारले काम गर्न सकिरहेको छैन । यो नै समस्या हो ।

हाम्रो मुलुक आर्थिक मापदण्डका आधारमा उच्च, मध्यम र निम्न गरी तीन वर्गमा विभाजित छ । उच्च वर्गलाई राजनीतिक परिवर्तनले खासै प्रभाव पारेको छैन । यो सुविधा सम्पन्न वर्गले सामाजिक, राजनीतिक, शैक्षिक तथा आर्थिक सुविधाको उपयोग गरेको हुन्छ । यो वर्ग सधैँ अगाडि छ ।

मध्यमवर्गको कुरा छ, यो वर्गले देश विकास होस् भन्ने चाहेको छ । प्रायजसो मध्यमवर्गका युवा शैक्षिक रोजगारका लागि विदेशमा छन्। गाउँघरमा दक्ष तथा अर्धदक्ष जनशक्तिको अभाव छ । जसले गर्दा पनि देशको विकास र समृद्धिको नारालाई पूरा गर्न सम्भव देखिँदैन ।

हाम्रो देशमा गरिबीको रेखामुनि बाँच्न धेरै नागरिक बाध्य छन्् । जतिसुकै देशमा परिवर्तन भए पनि गरिब किसानले केही लाभ पाउन सकेका छैनन् । गरिब किसान र मजदुर वर्गको पनि राजनीतिक परिवर्तनमा ठूलो योगदान छ ।

यही वर्गको आडमा माओवादीको १० वर्षे जनयुद्घ भयो । ०६२-६३ सालको जनआन्दोलन सफल भयो । तर यो वर्गले के पाउन सक्यो ? के सरकार यो विषयमा गम्भीर छ ? छैन तथापि, देशको आजको यो अवस्थाले यो वर्गलाई गरिबी, अभाव, अशिक्षा, सामाजिक असमानता र पछौटेपनमा बाँच्न बाध्य भएको अवस्था छ ।

०६३ सालको दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका राजनीतिक घटनाक्रममा नेपाली जनताको ठूलो बलिदानी त्याग तपस्या छ । देशमा भएको राजनीतिक परिवर्तनले सीमित राजनीतिकदलहरू र तिनका नेताहरूलाई मात्र फलिफाप भएको छ । आम जनताका लागि अनुकूल बन्न सकेको अवस्था छैन ।

०४६ सालमा प्रजातन्त्रका लागि भएको जनआन्दोलन, १० वर्षे माओवादी जनयुद्घ, ०६२-६३ सालको दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका राजनीतिक घटनाक्रममा नेपाली जनताको ठूलो त्याग, तपस्या र प्रत्यक्ष सहभागिता छ ।

दोस्रो जनआन्दोलन ०६२-६३ बाट प्राप्त उपलब्धिलाई व्यवस्थापन गर्दै देश र जनताको भाग्य र भविष्य निर्माण गर्ने गहन जिम्मेवारीबाट राजनीतिक दल र तिनका नेताहरू आजसम्म चुकेको अवस्था देखिन्छ । गणतन्त्रका १३ वर्ष आमनागरिकका लागि कागलाई बेल पाक्यो हर्ष र विस्मात भनेझैं भएको छ ।

गरिबी, अभाव, महंगी, भ्रष्टाचार, नातावाद, कृपावाद, तस्करी, कालोबजारी, वैदेशिक रोजगारको बाध्यता जस्ता समस्याको अन्य गर्न जरुरी छ । सरकार किन सफल हुन सकेको छैन । किन सरकारले चासो दिइरहेको छैन ?

नेपालमा हरेक राजनीतिक परिवर्तनपछि आमजनताले विकासको आशा गरेका थिए । तथापि, आम जनताको दैनिकीमा परिवर्तन हुन सकिरहेको छैन । देशमा लामो समयसम्म राजनीतिमा थुप्रिएको फोहोरमैला, भ्रष्ट आचरण, नातावाद, कृपावाद, जस्ता क्रियाकलापको अन्त्य हुन सकेको छैन ।

जसले गर्दा देशमा समस्या थपिँदै गएका छन्् । शासक प्रशासकहरू मोटाउँदै गए, देश दुब्लाउँदै गयो । गरिब, निमुखाहरूको दैनिकी झन् पछि झन् कष्टकर बन्दै गएको छ । देश विकासको लागि बौद्घिकवर्ग तथा नागरिक समाजले अब साँच्चै दबाबमूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिएको छ । देशमा बिग्रिएको राजनीतिक संस्कारलाई ठीक बाटोमा हिँडाउन बौद्घिक जगत एवं नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

नेपालमा राजनीतिक परिवर्तन मात्र जनताको चाहना थिएन । नागरिकले एक थान संविधान मात्र चाहेका होइनन् । पुँजीवाद वा जनवाद जस्ता सैद्घान्तिक दर्शनका कुराले खासै अर्थ राख्दैन । जबसम्म आम सर्वसाधारणको दैनिकीसँग जोडिएका तमाम समस्याको समाधान र आर्थिक आय आर्जनका अवसर प्राप्त हुन सक्दैन, तबसम्म राजनीतिक उपलब्धि जनताका लागि हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हुन्छ । अहिले त्यहि अवस्था भइरहेको छ । हालसम्म देशमा राज्यव्यवस्था धेरै परिवर्तन भए । प्रधानमन्त्री तथा मन्त्रीहरू बदलिए । तर जनताका समस्या अझै समाधान हुन सकेका छैनन् ।

समाजमा पिछडिएका महिला, जनजाति, मुस्लिम, थारू, सीमान्तकृत, गरिब, दलित, पूर्वहलिया, कमलरी, माझी, कुसुण्डा, भूकम्प पीडित, बाढीपहिरो पीडित लगायतका नागरिकको अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन । किसान, मजदुर, भरिया लगायतको जीवन झन् कष्टकर बन्दै छ । जनतामा आर्थिक परिवर्तन आउन सकेको छैन ।

०७२ सालको महाभूकम्पमा घर भत्किएका नागरिकका घरबार अझै पनि किन बन्न सकेनन् ? भूकम्पमा भत्किएका संरचना तथा शैक्षिक भवन किन निर्माण हुन सकेनन् । जनताहरू गास, बास र कपासको अभावमा तड्पिएका छन् । महँगी किन नियन्त्रण हुन सक्दैन ? आमजनताले प्रश्न गरिरहेका छन्् ।

आमनागरिकको जीवनयापनमा सुधार गर्नका लागि रोजगारीको अवसर आवश्यक ठानिन्छ । योग्यता अनुसारको रोजगारीको सिर्जना गर्न राज्यले कृषि उत्पादनमा आधारित उद्योगहरू खोल्नुपर्छ । बन्द भएका कलकारखाना पुनर्निर्माण गर्नुपर्छ । वैदेशिक रोगगारीमा जान बाध्य भएको युवाजनशक्तिलाई देशभित्रै आयआर्जनको अवसर प्रदानगर्न सक्नुपर्छ ।

नागरिकलाई गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच दिनु राज्यको दायित्व हो । सरकारले केही काम गर्न सकिरहेको छैन । अहिले आम नागरिकको चाहना देश र जनताका लागि काम गर्न सक्ने सफल नेतृत्वको हो । रोजगारीको अवसर, महँगी नियन्त्रण, सुशासन, शान्ति सुरक्षाका साथै हरेक नागरिकको झुपडीमा राज्यको उपस्थिति होुस् भन्ने हो ।

दुई तिहाइ जनमतका आधारमा निर्माण भएको सरकारले किन जनचाहनाको सम्बोधन गर्न सक्दैन ? यो सरकारले देश र जनताको पक्षमा लोकप्रिय काम गर्न सकेन भने भोली ठूलो समस्या सामना गर्नुपर्ने अवस्था आउन सक्छ । सरकार देश प्रति जिम्मेवार ढंगले अघि बढनुपर्ने आवश्यकता समयले देखाएको छ । देशमा रहेका सवै शक्तिहरूसँग मिलेर देश विकास र समृद्धिको नारालाई पूरा गर्ने दिशातर्फ सरकार अघि बढनुपर्छ । जनता निराश भए भने वैकल्पिक शक्तिको उदय हुन सक्ने खतरा आउन सक्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय