सम्पादकीय

तिहार र कुसंस्कार

सौर्य अनलाइन २०७५ कार्तिक २१ गते ७:०८ मा प्रकाशित

नेपालमा मनाइने चाडपर्वमध्ये तिहारको आयतन सबैभन्दा ठूलो छ । खस आर्य, जनजाति र मधेसी गरी नेपालमा तीन वटा समुदायको बसोवास छ । यी तीनवटै समुदायले उच्च महत्वका साथ मनाउने पर्व तिहारबाहेक नेपालमा अर्को छैन । त्यसैले तिहार पर्व नेपालको सबैभन्दा ठूलो मात्रै होइन राष्ट्रिय एकता तथा अखण्डताको सूत्र पनि हो । खस आर्य समुदायले लक्ष्मी पूजा र भाइटीका विशेष महत्वका साथ मनाउने गरेका छन् । मधेसी समुदायले दीपावलीका रूपमा महत्वका साथ मनाउने गरेका छन् । जनजातिमध्ये नेवार समुदायको त तिहार सबैभन्दा ठूलो चाड हो । तिहारको लक्ष्मीपूजाको भोलिपल्ट नेपाल संवत्को नया“ वर्ष सुरु हुन्छ । खासगरी राजधानी काठमाडौं उपत्यकाको नेवार समुदायले नेपाल संवत्अनुसार नै आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप मनाउँदै आएका छन् । लक्ष्मीपूजाको दिन पुरानो खाता बन्द गर्ने र भोलिपल्ट नया“ वर्षको दिन नया“ खाता आरम्भ गर्ने प्रचलन नेवार समुदायमा छ । जनजातिमध्येकै अरू समुदायमा पनि तिहारका अवसरमा खेलिने द्यौसी भैलोको परम्पराको महत्व ठूलो छ । खासगरी मगर समुदायले द्यौसी भैलोलाई मनोरञ्जनका रूपमा धुमधामका साथ मनाउ“छन् ।

तिहार पर्वको धार्मिक महत्व जति छ सांस्कृतिक तथा मनोरञ्जनको महत्व पनि कम छैन । अघि पछि गाली गर्दा कस्तो कुकुरजस्तो, कस्तो गोरुजस्तो, कस्तो कागजस्तो भनिन्छ, तर तिहारमा यिनै कुकुर, गोरु तथा कागको पूजा गरिन्छ । कृषिप्रधान युगमा कुकुर, गोरु तथा कागको सर्वाधिक महत्व रहेको कुरामा दुईमत छैन । गाईको महत्वको विषयमा त अहिलेका वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेकै छन् । जन्मघर छाडी विवाह गरेर कर्मघर जाने दिदी–बहिनी र दाजु–भाइबीचको सम्बन्धलाई अझ गाढा र ताजा बनाउन पनि तिहार पर्वले महत्वपूर्ण भूिमका खेलिरहेको हुन्छ । यसैगरी तिहार पर्वको महत्वपूर्ण पाटो भनेको मनोरञ्जन हो । तिहारका पाँच दिन नाचगान गरेर द्यौसी भैलो खेलिन्छ । द्यौसी भैलो खेल्न आउनेलाई आफ्नो गच्छेअनुसार दान दक्षिणा दिने परम्परा छ । तिहारका पाँच दिन जुवा खेल्न छुट दिने परम्परा पनि थियो । त्यतिवेला मनोरञ्जनका अरू माध्यम नभएकोले जुवालाई पनि मनोरञ्जनको एउटा माध्यम बनाइएको थियो । तर, यतिवेला मनोरञ्जनका अरू थुप्रै माध्यम भएका कारण र जुवाले विकृतिको रूप लिएका कारण त्यसलाई निरुत्साहित गरिन थालिएको छ । वर्षदिनभरीको सबैभन्दा उज्यालो रातका रूपमा बडादसैँको कोजाग्रत पूर्णिमालाई लिइन्छ भने सबैभन्दा अँध्यारो रातको रूपमा तिहारको औँसीलाई लिइन्छ । तर, तिहारको औँसीलाई झिलीमिली बत्ती बालेर कोजाग्रत पूर्णिमाको जस्तै उज्यालो बनाइन्छ ।

तिहार संस्कृतिका राम्रा पक्ष ओझेलमा पर्दै गएको र नराम्रा पक्षले व्यापकता पाउ“दै गएको पनि देखिएको छ । भनिन्छ, ‘कुलत सिकाउन कुनै गुरु चाँहिदैन, तर सुलत सिकाउन योग्य गुरुलाई पनि हम्मेहम्मे पर्छ ।’ अनुशासन तथा नैतिकतामा बा“ध्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने धार्मिक अनुष्ठान तथा उपासनाका विधिहरू मानिसले बिर्संदै गएका छन् वा कर्म काण्डमै सीमित हुन थालेका छन् । तर, मनोरञ्जनका विधिहरूले भने अझ तडक, भडकका साथ निरन्तरता पाइरहेका छन् । उदाहरणका लागि जुवालाई नै लिन सकिन्छ । रातभरी जाग्रम बस्नका लागि जुवा खेल अपनाइन्थ्यो । तर, जुवा खेलमा धेरै नै विकृति उत्पन्न भएकोले तिहारका अवसरमा समेत राज्यद्वारा नै आफ्ना संयन्त्र प्रयोग गरी जुवा रोक्नुपर्ने अवस्था सिर्जना भएको छ । तिहार सुरु हुँदा नहुँदै जुवा खेलेको अभियोगमा देशभरी एक हजार जनाभन्दा बढी पक्राउ परिसकेका छन् । यमराजले समेत तिहारका पाँच दिन छुट्टी मनाउने विश्वास गरिन्छ, जेलमा रहेका कैदीलाई समेत दिदी बहिनीको हातबाट टीका लगाउन बिदा दिइने धार्मिक मान्यता छ तर हाम्रो मुलुकमा तिहारको वेला जेलमा कैदीहरू थपिन्छन् । द्यौसी भैलो खेलेर रात छर्लंग बनाउने हाम्रो परम्परा हो । तर, द्यौसी भैलोका नाममा अमर्यादित क्रियाकलाप हुन थालेपछि राति १० बजेपछि द्यौसी भैलोलाई प्रतिबन्ध लगाउनुपर्ने बाध्यतामा राज्य पुगेको छ । लक्ष्मीपूजाको समय आरम्भ भएको र समाप्त भएको सन्देश दिन बन्दुक पड्काउने परम्परा थियो । तर, रातभरी पटका पड्काएर तमासा देखाउने विकृति सुरु भयो । झिलिमिली बत्ती बाल्ने नाममा भएका तडकभडकले पनि विकृतिको रूप लिन थालेको छ । यस्ता विकृति भनेका कुसंस्कार हुन् । कुसंस्कारले सुसंस्कारलाई ओझेलमा पार्दै लैजाने त होइन ? भन्ने विषयमा सबै सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय