खेल-खेलाडी

ओलम्पिक खेलमा नेपाल र भारत बराबरी

सौर्य अनलाइन २०७५ कार्तिक २२ गते २०:३४ मा प्रकाशित

काठमाडौँ । ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।

म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह सी अन्तर्गतको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने नेपालले लिएको थियो । खेलको ११आँै मिनेटमा नेपाली टोलीकी कप्तान नीरु थापाले गोल गर्दै सुरुवाती अग्रता लिएकी थिइन् ।

त्यस्तै खेलको पहिलो हाफको ३७औँ मिनेटमा भारतले एक गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्यायो । भारतका लागि कमलादेवी युम्नामले गोल गरिन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन । दुवै टोलीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

यस खेलसँगै नेपाल र भारतले एक एक अङ्क जोडेका छन् । भारतविरुद्धको खेलमा नेपालको यो दोस्रो बराबरी हो । यसअघि खेलेको आठ खेलमा नेपाल सात खेलमा पराजित भएको थियो भने एक खेल मात्र बराबरीमा सकिएको थियो ।

सन्  २०१६ मा भएको दक्षिण एशियाली खेलकूदको लिग चरणमा नेपाल र भारतको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो । अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकूदअन्तर्गत पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ए र बी मा पाँच पाँच राष्ट्र रहेका छन् भने समूह सी र डी मा चार चार टोली छन् ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूह सी मा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय