मत-विमत

गच्छदारको पुनरागमन

अञ्जु कार्की २०७५ कार्तिक २८ गते ७:१० मा प्रकाशित

देउवाले पूर्व सर्तअनुसार गच्छदारलाई उपसभापति पदमा मनोनयन गर्न ढिलाइ गर्दै गए । यो ढिलाइलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा लिने गरेका थिए । भ्रष्ट नेता र ठग कार्यकर्ता मुक्त कांग्रेस बनाएर देउवाले गतिलो विकल्प देलान भन्ने अनुमान धेरैको थियो ।

नेपाली कांग्रेसले यतिवेला प्रतिपक्षमा रहँदा पनि लोकप्रियता बढाउन सकेको छैन । सामान्यतया कुनै पनि दल सत्तामा रहेको वेला अलोकप्रिय हुने र प्रतिपक्षमा रहेको वेला लोकप्रिय हुने राजनीतिक नियम नै हो । यतिवेला स्वाभाविक रूपमा सत्तारुढ नेकपाको लोकप्रियता खस्केको छ । तर, प्रतिपक्षी नेपाली कांग्रेसको लोकप्रियता पनि खस्किएको छ ।

प्रतिपक्षको लोकप्रियता खस्कनु मुलुकको शासन व्यवस्थाका लागि राम्रो संकेत भने होइन । प्रतिपक्षी पार्टी भनेको सत्तारुढ पार्टीको विकल्प हो तर यतिवेला जनताहरू विकल्पप्रति समेत आशावादी हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा लाभ प्राप्त गर्ने भनेको प्रतिगामी शक्ति वा विद्रोही शक्तिले हो । यतिवेला विद्रोही शक्ति विप्लव माओवादी जति उत्साहित छ, प्रतिगामी शक्ति राजावादीहरू पनि त्यत्तिकै रूपमा आशावादी छन् ।

गतसाता कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिप्रश्न गरे, ‘कांग्रेसले के गर्नुपर्नेमा के ग¥यो ? सुझावमूलक प्रश्न सोध्नुहोस्, आरोपका लागि आरोप नलगाउनुहोस् ।’ तर, प्रश्नकर्ता पत्रकारको पूर्व तयारी नदेखिएका कारण स्रोतालाई खल्लो महसुस भयो ।

मुलुक संघीय संरचनामा गएको यति लामो समयसम्म पनि नेपाली कांग्रेस किन एकात्मक विधानअनुसार चलिरहेको छ ? १४औँ महाधिवेशनको नियमित मिति आउन लागि सक्दासमेत किन पार्टीको केन्द्रीय संगठनले पूर्णता पाउन सकिरहेको छैन ? भ्रातृ संस्थाहरू किन निस्क्रिय छन् ? यी र यस्तै पेचिला प्रश्नको जवाफ नेपाली कांग्रेसबाट जनताले खोजिरहेका छन् । वास्तवमा कांग्रेसले प्रतिपक्षका रूपमा दरिलो भूमिका निर्वाह गर्न नसकी जनतालाई निराश बनाएको यही कारणले हो ।

भ्रष्ट नेता र ठग कार्यकर्ताको सञ्जाल तोड्न नसकेकै कारण आफू अनिर्णयको बन्दी भएको पीडा सभापति देउवाले आफ्ना निकटस्थसँग पोख्ने गरेको सुनिन्छ । यो जञ्जाल तोड्नुको सट्टा यही जञ्जाललाई नै निरन्तरता दिन सभापति देउवाले सहज ठानेका हुन् कि ? भन्नेजस्तो पछिल्लो समयमा देखिएको छ ।

देउवाले हालै विजयकुमार गच्छदारलाई उपसभापति पदमा मनोनयन गरेका छन् । गच्छदारको पृष्ठभूमि राजनीतिमा चासो राख्ने आमनेपालीलाई थाहा छ । गच्छदार नेपाली राजनीतिका व्यक्ति नभएर प्रवृत्ति हुन् । ०४८ सालपछि नेपाली राजनीतिमा एउटा प्रवृत्ति हाबी भयो । सत्ताको दुरुपयोग गरेर पैसा बटुल्ने र त्यही पैसा कार्यकर्ताहरूमा लगानी गरी आफू शक्तिशाली बन्ने प्रवृत्तिले सबै पार्टीमा जरो गाड्यो ।

कम्युनिस्ट पार्टीहरूमा वामदेव गौतमहरूको उदय भयो, लोकतान्त्रिक पार्टीहरूमा गच्छदारहरूको उदय भयो । करिब एक महिनाअघि मात्रै सत्तारुढ नेकपाभित्र वामदेवको प्रवृत्ति उत्कर्षकमा पुगेको थियो । गत आमनिर्वाचनमा चुनाव हारेका वामदेवलाई काठमाडौंको क्षेत्र नं ७ खाली गराएर प्रतिनिधि सभामा ल्याउने तयारी हुँदै गर्दा जनताले हस्तक्षेप गरे ।

जनताको यो हस्तक्षेपपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हात झिके । अब सत्तारुढ नेकपामा वामदेव प्रवृत्तिको ढाड भाँचिएको विश्लेषण गरिएको छ । तर, प्रतिपक्ष नेपाली कांग्रेसमा भने यो प्रवृत्तिको पुनरागमन भएको छ । विधानबमोजिम गर्नुपर्ने तमाम काम थाति राख्दै कांग्रेस सभापति देउवाले गच्छदारलाई उससभापति बनाएका छन् ।

को हुन् गच्छदार ?
०४८ सालपछि मुलुकमा सम्पन्न सबै आमनिर्वाचनमा चुनाव जित्ने नेताहरू नेपालमा २ जना मात्रै छन् । ती दुई जनामध्ये देउवा र गच्छदार मात्रै हुन् । ०५३ सालसम्म नेपाली कांग्रेसमा सबै केन्द्रीय सदस्यहरू मनोनित हुन्थे । ०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा पाँच विकास क्षेत्रबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रावधान राखियो । जसमा पूर्वाञ्चलबाट गच्छदार, मध्यमाञ्चलबाट भीमबहादुर तामाङ, पश्चिमाञ्चलबाट रामचन्द्र पौडेल, मध्यपश्चिमाञ्चलबाट सुशील कोइराला र सुदूर पश्चिमाञ्चलबाट शेरबहादुर देउवाले चुनाव जिते ।

त्यतिवेलादेखि नै गच्छदार नेपाली कांग्रेसको भावी नेताका रूपमा स्थापित भएका हुन् । त्यतिवेला चुनाव जित्ने ५ मध्ये सुशील कोइराला, देउवा र पौडेल नेपाली कांग्रेसको नेताका रूपमा स्थापित भए । भीमबहादुर तामाङ दिवंगत भएका कारण सम्भावना रहेन । तामाङसँग चुनाव हारेका विमलेन्द्र निधि पनि राष्ट्रिय राजनीतिमा स्थापित भएका छन् ।

सुशीलसँग चुनाव हारेका पूर्णबहादुर खड्का पनि कांग्रेसको राजनीतिमा स्थापित भएका छन् तर गच्छदार भने बीचमा पार्टी छाडेका कारण संकटमा परेका थिए । पुनः कांग्रेसमा फर्केर उपसभापति बनेका कारण गच्छदारले कांग्रेसको नेतृत्व लिन सक्लान त ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ ।

कांग्रेसमा रहुन्जेल ०४८ देखि ०६४ सालसम्म व्यक्तिगत रूपमा सबैभन्दा बलिया गच्छदार नै थिए । उनी निरन्तर मन्त्री बनिरहन्थे । उनले जुन लवीलाई साथ दियो उसैले बाजी मार्ने अवस्था थियो । अब कांग्रेसमा फर्केर उपसभापति पद प्राप्त गरिसकेपछि गच्छदारको पुरानै हैसियत रहने कुरामा शंका नरहेको धेरै राजनीतिक विश्लेषकहरू बताउँछन् ।

मुलुकमा थारूको जनसंख्या करिब ६ प्रतिशत छ । थारू समुदायमा नेपाली कांग्रेसभित्र गच्छदारको एकलौटी वर्चश्व छ । कांग्रेसका करिब ३ हजार महाधिवेशन प्रतिनिधिमध्ये करिब ३ सय जना अर्थात् १० प्रतिशतमा गच्छदारको होल्ड रहने अवस्था छ । यो १० प्रतिशतले जसलाई साथ दियो उसैले सभापति पदमा चुनाव जित्ने अवस्था छ । यही कारण देउवाले गच्छदारलाई उपसभापति पदमा मनोनित गरेका हुन् ।

आगामी महाधिवेशनमा बिमलेन्द्र निधि आफैँसभापति पदमा उम्मेदवार हुने सम्भावना बढेका कारण पनि गच्छदारसँग सम्झौता गर्न देउवा बाध्य भएका हुन् । गच्छदार र देउवाबीचको यो सम्झौताले सबैभन्दा बढी घाटा निधिलाई परेको नेपाली कांग्रेसका विश्लेषकहरू बताउँछन् । व्यक्तिगत रूपमा निधिभन्दा गच्छदार बलिया छन् । विश्लेषकहरू भन्दछन्, ‘निधिसँग नैतिक तथा बौद्धिक ताकत मात्रै हो, कार्यकर्तामा बलियो पकड छैन तर गच्छदारसँग आर्थिक ताकत छ र कार्यकर्ता मिलाउने बलियो पकड पनि छ ।’

विगतमा कोइराला परिवारको हुनमानका रूपमा गच्छदारलाई लिइन्थ्यो । कोइराला परिवारभित्र पनि उनी नोना कोइरालासँग नजिक थिए । उनलाई कतिपयले नोना आमाको धर्मपुत्र पनि भन्थे । गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई अघि सार्दै भाउजू नोनाका लागि जुन दिन मूलढोका बन्द गरिदिए, त्यसैदिनदेखि गच्छदार देउवा लवीतिर लागेका हुन् । ०५९ सालमा देउवाले पार्टी विभाजन गरे ।

उक्त पार्टीको महामन्त्री खुमबहादुर खड्का र सह–महामन्त्री गच्छदार बने । खुमबहादुर कोइरालातिर फर्केपछि देउवाले गच्छदारलाई महामन्त्री बनाए । तर, गच्छदार १२ बुँदे दिल्ली सम्झौता तथा जनआन्दोलन ०६२-६३ को विपक्षमा उभिए । जनआन्दोलनमा सहभागी नभएपछि देउवाले गच्छदारलाई हटाएर निधिलाई महामन्त्री बनाए । यही दिनदेखि गच्छदार देउवाको विपक्षमा खुलेरै उभिए ।

जनआन्दोलन ०६२-६३ पछि संसद् पुनर्बहाली भयो । संसदीयदलको पुनः निर्वाचन भयो । यो निर्वाचनमा गच्छदारले देउवाविरुद्ध उम्मेदवारी दिए । देउवाले २३ मत पाए भने गच्छदारले १८ मत । झिनो मतको अन्तरले संसदीयदलको नेता निर्वाचत भएपछि देउवाले आफूलाई असुरक्षित महसुस गरे । उनले गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरी पार्टी एकीकरण गरे । एकीकरणपछि गच्छदार कोइराला र देउवा दुवैको खेदाइमा परे ।

दुवै लवीको खेदाइलाई गच्छदारले थेग्न सकेनन् । उनी ०६४ सालको संविधानसभा निर्वाचनको पूर्व–सन्ध्यामा दलबलसहित मधेसी जनाधिकार फोरममा प्रवेश गरे । आफ्ना केही कार्यकर्ताले टिकट नपाएपछि उनी कांग्रेस छाडेर मधेसी जनाधिकार फोरममा प्रवेश गरेका हुन् । गच्छदारलाई शक्तिविहीन बनाउने मामिलामा कोइराला र देउवा एक ठाउँमा उभिएका थिए । गच्छदारले छाडेपछि कांग्रेसले तराईमा निकै ठूलो क्षति बेहो¥यो । तर, गच्छदारले भने चुनाव जितेर निरन्तर उपप्रधानमन्त्री बनी नै रहे ।

गत निर्वाचनमा गच्छदार न त मधेसी दलसँगको एकतामा सहभागी हुन सके, न त वामगठबन्धनमा । यता वामगठबन्धन बनेका कारण कांग्रेस संकटमा प¥यो । यो संकटबाट पार पाउन गच्छदारले आफ्नो पार्टीलाई कांग्रेसमा विलय गराए । त्यतिवेलै उनले आफूलाई सेकेन्ड म्यान र आफ्ना १५ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने सर्त राखेका थिए ।

कांगे्रसले यो सर्त मानेको थियो । चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्यो जसमध्ये सुनसरीका ३, रौतहटको १ र बर्दियाको १ गरी ५ सिट गच्छदारको कारणले जितेको हो । समानुपातिकतर्फ पनि गच्छदारका कारण २ सिट थपिएको छ । गच्छदारकै कारण सभापति देउवाले संसदीयदलको नेता पदमा चुनाव जितेका हुन् ।

यदि, गच्छदारले प्रकाशमानलाई समर्थन गरिदिएको भए देउवाका लागि निकै भारी पर्ने अवस्था थियो । तर, पनि देउवाले पूर्व सर्तअनुसार गच्छदारलाई उपसभापति पदमा मनोनयन गर्न ढिलाइ गर्दै गए । यो ढिलाइलाई राजनीतिक विश्लेषकहरूले अर्थपूर्ण रूपमा लिने गरेका थिए । भ्रष्ट नेता र ठग कार्यकर्ता मुक्त कांग्रेस बनाएर देउवाले गतिलो विकल्प देलान भन्ने अनुमान धेरैको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय