खोजखबर

पाटन दरबार क्षेत्रका आठ स्मारकको निर्माण

सौर्य अनलाइन २०७५ कार्तिक २९ गते १६:३८ मा प्रकाशित

ललितपुर । पाटन दरबार क्षेत्रका आठ स्मारकको निर्माण सम्पन्न भएको छ । भूकम्पभन्दा केही समय पहिलेदेखि पुनःनिर्माण शुरु भएको थियो । पाटनको कृष्ण मन्दिरसँगै, बहादुर शाहको बैठक, मूलचोकको तलेजु मन्दिर र सुन्दरीचोकको पूर्वी भागको पुनः निर्माण सकिएको छ । दुई मणिमण्डप र दुई स्तम्भको पनि काम सम्पन्न भइसकेको छ । भीमसेन मन्दिरअघिको सिंहस्तम्भ र योगनरेन्द्र मल्लको शालिक स्तम्भको निर्माण सकिसकेको छ ।

ललितपुर जिल्लामा रहेका स्मारकमध्ये कुनैको पुनःनिर्माण काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी), कुनै गुठी संस्थान र कुनैको स्थानीय समुदायले गरिरहेका छन् । कोषले यहाँका ११ स्मारक पुनः निर्माणको जिम्मेवारी लिएको थियो । तीमध्ये तीनको काम धमाधम भइरहेको छ । आगमी एक वर्षभित्र निर्माण सक्ने गरेर तिनको पुनःनिर्माण भइरहेको हो । चार नारायण , हरिशङ्कर र विश्वनाथ मन्दिरको निर्माणको धेरै काम सकिएको छ । आगामी वर्षसम्म सबै काम सम्पन्न भइसक्ने पाटन स्मारक तथा दरवार हेरचाह कार्यालयले जनाएको छ ।

चार नारायण र हरिशङ्कर मन्दिर कोषले नै बनाइरहेको छ । विश्वेश्वर मन्दिरको पुनःनिर्माण पाटन सांस्कृतिक समाजले गरिरहेको छ । यसको प्राविधिक पक्ष कोषले नै हेरिरहेको छ । कोषले जिम्मेवारी लिएका स्मारकको पुनः निर्माण भने सम्झौता भएको भन्दा चाँडो सकिने कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । उनले भने, “भूकम्पपछि शुरु भएका स्मारकको पुनःनिर्माण चार पाँच वर्षमा सक्ने भए पनि त्यसअघि नै सकिने देखिएको छ ।

कोषले भूकम्पभन्दा पहिलेदेखि पाटनमा रहेका स्मारकको मर्मत गरिरहेको थियो । कोषले जीर्ण स्मारकको भूकम्प पहिलेदेखि मर्मत गरेकाले पाटनमा भक्तपुर र काठमाडौँका दरबार क्षेत्रमा भन्दा कम क्षति पुगेको हो । अहिले पनि कोषले गरेको काम समयभन्दा पहिले नै भइरहेको र काममा कुनै पनि गुनासो नभएको प्रमुख प्याकुरेलले बताए । उनले भने, “पाटनमा उपभोक्ता समिति वा अरू कसैलाई कामको जिम्मा दिँदा केभिपिटीले जत्तिको नगर्ने हो कि भन्ने छ ।

कोषले गरेका बाहेक गुठी संस्थान आफैँले वा दातृ निकायको सहयोगमा निर्माण भइरहेका स्मारकको पुनःनिर्माण भने सुस्त छ । यसअघि लुभूको महालक्ष्मी सत्तल र पिलाछेँ गणेशको काम सकिए पनि अरू स्मारकको काम सुस्त भइरहेको छ । विभागले उपभोक्ता समितिलाई जिम्मेवारी दिएको कुम्भेश्वर र राधाकृष्ण मन्दिरको काम ढिलो भइरहेको छ । कुम्भेश्वर मन्दिर पुनःनिर्माणका लागि पहिले स्थानीयवासीका कारण ढिलो भएको थियो । कति तलासम्म भत्काएर मन्दिर पुनःनिर्माण गर्ने भन्ने र त्यहाँको सामानको सुरक्षाले विषयले गर्दा काम शुरु हुन नै समय लाग्यो ।

नेपाल प्रहरीले सामानको सुरक्षा गर्ने र क्षति पुगेका तलामा मात्रै काम गर्ने भन्ने सहमतिपछि पुनःनिर्माण शुरु भएको थियो । अहिले पनि कामले गति लिइरहेको छैन । श्रीलङ्का सरकारको सहयोगमा निर्माणाधीन रातो मछिन्द्रनाथको मन्दिरको पुनःनिर्माण सम्झौता सकिएर थपिएको अवधिमा समेत पूरा नहुने भएको छ । ठेकेदारमार्फत काम भइरहेका ठाउँमा ठेकेदारले अनेक बहाना गरेर काममा ढिलाइ गर्दै आएको कार्यालयले जनाएको छ । कहिले निर्माण सामग्री त कहिले कामदारको अभाव त था कहिले स्थानीयवासीको अवरोध भन्दै ढिलाइ गरिरहेको हो । प्रमुख प्याकुरेलले भने, “हामीले चासो राख्दा केही काम भए पनि त्यसपछि फेरि रोकियो ।

स्थानीयवासीले आफ्नो क्षेत्रका स्मारकको पुनःनिर्माणमा चासो दिने गरेको प्रमुख प्याकुरेलले बताउनुभयो । थोरै ठाउँमा अनावश्यक झमेला निकालेर स्थानीयवासीले पुनःनिर्माण ढिलो गर्दै आएका छन् । अधिकांश स्थानमा भने स्थानीयवासीले सकारात्मक सुझाव दिइरहेको उनले बताए । आफ्नो टोलमा रहेका मन्दिर, पाटीलगायत स्मारक समयमा काम भइरहेको छ÷छैन र गुणस्तरीय छ वा छैन भन्दै स्थानीयवासीले आवाज उठाएका छन् । उनले भने, “स्थानीयवासी तात्दा मात्रै स्मारकको पुनःनिर्माण चाँडो र राम्रो हुन सक्छ ।

मत्स्येन्द्रनाथ जात्रा तयारी

सहकालका देवताका मत्स्येन्द्रनाथको जात्राका लागि तयारी शुरु भएको छ । रथ बनाउनका लागि आवश्यक काठको कटाइका लागि प्रक्रिया थालिएको गुठी संस्थान ललितपुरले जनाएको छ । अनुमानको काम सकिएकाले तिहार र छठ सकिनासाथ कटान हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताए । उनले भने, “काठ कटान गर्नेहरु छठका लागि तराई गएकाले फर्केलगत्तै काम हुनेछ ।

एकातिर काठको काम भइरहँदा अर्कातिर देवतालाई पाटन ल्याउने साइत हेरिँदैछ । पुसमा देवता ल्याउन शुभ नहुने भएकाले मङ्सिरमै ल्याइसकिने प्रमुख पौडेलले बताए । मङ्सिरको पहिलो साता मङ्गलबजारस्थित सोह्रखुट्टे पाटीमा साइत हेरिनेछ । उनले भने, “जोशीहरुले साइत हेरेपछि कहिले साइत निस्कन्छ त्यही दिन यहाँ ल्याइन्छ ।मत्स्येन्द्रनाथलाई झण्डै छ महीना पाटन र छ महीना बुङ्मतीमा राखिन्छ । बुङ्मतीमा हुँदा केही पर्व सञ्चालन भए पनि पाटनमा धेरै पर्व हुन्छ । छ महीना चल्ने जात्राका लागि कार्यालय भने वर्षभर नै तयारीमा लाग्छ  ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय