खेल-खेलाडी

‘ए’ डिभिजन लिगः मनाङ मस्र्याङ्दी क्लब विजयी

सौर्य अनलाइन २०७५ मंसिर १ गते १७:०४ मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो ।

अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो । एनआरटीले भने पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल गर्न सकेन ।

खेलमा मनाङका अञ्जनले म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । जितसँगै मनाङ दुई खेलबाट छ अङ्क जोड्दै अङ्कतालीकाको शीर्ष स्थानमा छ । समान खेलबाट एनआरटीको एक अङ्क छ ।

मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले हराएको थियो । एनआरटीले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो । सोही मैदानमा दोस्रो खेल त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिपष्र्धा जारी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय