अन्तर्वार्ता

पार्टीका लागि मौजुदा पद त्याग्न तयार छु !

सौर्य अनलाइन २०७५ मंसिर ३ गते ८:३५ मा प्रकाशित

सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस यतिवेला आफैँभित्रको कलह र विवादका कारण सुस्त देखिएको छ । मुलुक संघीय संरचनामा गए पनि पार्टीको विधान अहिलेसम्म पुरानै ढाँचामा छ । कांग्रेसको विधान संशोधनका लागि भनेर पटकपटक बोलाइएको महासमिति बैठक सर्दै आएको छ । पछिल्लो पटक पार्टीले मंसिरको २८ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

अर्कोतर्फ पार्टीभित्रकै युवा पुस्ता दिनहुँ जस्तै भेला र छलफल गर्न व्यस्त छन् । पार्टीमा सभापति शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धीका वरिष्ठ नेता रामचन्द्र पौडलका नजिक रहेका भनिएका नेताहरूले केही दिनअघि ‘लन्च मिटिङ’ समेत गरे । उक्त मिटिङमा समेत सहभागी भएका कांग्रेसका युवा नेता गुरु घिमिरेसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको सम्पादित अंशः

कांग्रेस पार्टीका युवा पुस्ताका तपाईंहरू निरन्तर रूपमा पार्टी नेतृत्वका विरुद्व भेला बैठक गरिरहनु भएको छ, किन ?
हामीले गरेको भेला छलफललाई पार्टी नेतृत्वका विरुद्व भयो भनेर बुझ्नु हुँदैन । वर्तमान मौजुदा राजनीतिक अवस्था, मुलुकको राजनीतिक परिदृश्यमा नेपाली कांग्रेसको भूमिका अझै प्रभावकारी बनाउने र राष्ट्रिय राजनीतिको केन्द्रमा नेपाली कांग्रेसलाई पुनस्र्थापित गराउने हाम्रो उद्देश्य हो, त्यसैले हामी वेला-वेलामा छलफल गरिरहेका छौँ ।

यद्यपि, नेपाली कांग्रेस नेपाली राजनीतिको महत्वपूर्ण हिस्सा हो । त्यसैले, नेपाली कांग्रेसलाई राजनीतिको केन्द्रमा स्थापित गराउनुपर्छ भन्ने विषयमा नै हाम्रो भेला छलफल भएका हुन् । पार्टीको भूमिकालाई समयसापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा नै हाम्रो चिन्ता र चासो छ । हामीले जे गरिरहेका छौँ । त्यो पार्टी र नेतृत्वको हितमा छ ।

तपाईंहरूलाई नेतृत्वका विरुद्व लागेको आरोप छ, नि ?
हामी आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ र हामीले के कुरामा त्याग गर्नुपर्छ, त्यो गर्न तयार भएर लागेका छौं । पार्टी हितका लागि पदीय मोहबाट माथि उठेर गर्नु प¥यो भने म आफैँ पनि अहिलेको मौजुदा पद त्याग्न तयार छु । यो कुरा मैले सार्वजनिक रूपमा नै घोषणा गरेको छु ।

आगामी महाधिवेशनमा हामीले भूमिका नलिँदा पार्टी बलियो हुन्छ भने हामी त्यसमा पनि तयार छौँ । त्यसका निम्ति हामीले अहिलेको छलफल चलाएका हौँ र यसलाई अघि बढाउँदै छौँ । यसलाई पार्टी महाधिवेशनसम्म एक प्रकारले र त्यसपछि पनि अर्को रूपमा अघि बढाउने सोचमा छौँ । अहिलेको प्रमुख आवश्यकता नेपाली कांग्रेसलाई बलियो बनाउनु हो ।

पार्टीको संगठनलाई केन्द्रदेखि आधारभूत तहसम्म सुदृढ बनाउने र यसका अंगहरूलाई कामकाजी गतिशील बनाउने, पार्टीका सदस्यहरूलाई क्रियाशील बनाएर पदीय दायित्वअनुसार काम गर्ने अवसर बनाएर पार्टीका भ्रातृ संगठनलाई व्यवस्थित गरेर रोकिएका संगठनहरूका अधिवेशन समयमा नै गराउने हाम्रो उद्देश्य हो ।

यी कुराहरूमा पार्टीको नेतृत्व कमजोर देखिएको छ । नेताहरूमा त्यसबारेमा कमजोरी देखिएकै हो । एउटा नेताको पक्षपोषण गर्ने र अर्कोलाई कमजोर बनाउने कुरा हामीले बोलेका पनि छैनौँ र गर्दा पनि गर्दैनौँ । जसको जे कमजोरी दखिएको छ त्यसको आलोचना गरेका छौँ । यसलाई कसैले नेताको विरोध गरेको ठाने पनि होलान तर होइन ।

पार्टीको महासमिति बैठक पटकपटक पछाडि धकेलिनुको कारण के हो ? नेतृत्वको कारण हो वा अरू कुनै कारण छ ?
यो विषयमा गत ०७४ साल चैतमा भएको केन्द्रीय समितिको बैठकमा पार्टी सभापति स्वंयले महासमितिको बैठक चाँडै नै बोलाउँछु भन्नु भएको थियो । गएको निर्वाचनमा पार्टीले ल्याएको परिणामपछि पार्टीभित्र एक प्रकारको गम्भीर हिसाबको चिन्ता बढ्यो । पार्टीको कार्यकर्तामा एक प्रकारको निराशा, छटपटी र तनाव उत्पन्न भयो ।

त्यसकारण भनेको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम थियो । त्यसबाट कार्यकर्तालाई कसरी मुक्त गर्ने भन्ने विषयमा हामीले बैठकमा चिन्ता जाहेर गरेपछि सभापतिले असार मसान्तमा जिल्ला सभापतिको बैठक र भदौ मसान्तमा महासमिति बैठक बोलाउने भन्नुभयो । उनले भने अनुसार सभापतिहरूको बैठक भयो ।

तर, महासमिति बैठक बस्न सकेन । यो बीचमा पार्टीले महासमिति बैठकमा पेस गर्ने एजेन्डाहरू तयार गर्नुपर्ने थियो, त्यसका लागि पार्टीले बनाउनुपर्ने विभिन्न समितिहरू बन्न सकेका थिएनन् । समयमा ती समितिहरू नबन्दा बैठकमा पेस गर्ने प्रस्ताव एजेन्डा तयार भएन र भदौमा बस्ने भनिएको महासमितिको बैठक मंसिरको पाँचदेखि ९ सम्म गर्ने भनियो । त्यसबीचमा पनि प्रस्ताव तयार भएन ।

त्यसैले, अघिल्लो केन्द्रीय समितिमा भनिएको थियो । आएका प्रस्तावलाई अन्तिम रूप दिने निकाय भनेको केन्द्रीय समिति हो । केन्द्रीय समितिमा छलफल गर्न कम्तीमा हप्ता १० दिन लाग्छ । भन्ने महसुस गरेर नै महासमिति बैठक मंसिरको २८ देखि पुष ३ सम्मका लागि सारिएको हो । अब महासमिति बैठक सर्दैन ।

मुख्य नेताहरूका बीचमा बढी स्वार्थले काम गरेको छ । उहाँहरूमा जीवनमा पार्टी सभापति वा प्रधानमन्त्री हुन पाइएन भन्ने लागेको होला । कसैलाई पार्टीमा भनेजस्तो गर्न पाइएन एकछत्र गर्न पाइएन भन्ने लागेको पनि होला । त्यही द्वन्द्वका कारण उहाँहरूका बारेमा सतहमा प्रतिक्रियाहरू देखिने गरेको छ । हामीले त्यति धेरै जिम्मेवारी निर्वाह गरेका पनि छैनौँ

समितका कामहरू समयमा पूरा नहुनुको कारण के हो ? गर्न नचाहेर वा अन्य व्यस्तताले गर्दा नसकिएको हो ?
एक त नेताहरूमा एक अर्कोबीच रहेको सम्बन्ध हो । उनीहरूका बीचमा सुमधुर सौहार्दपूर्ण सम्बन्ध देखिएन । प्रतिस्पर्धा गर्दाजस्तो थियो, त्यस्तै सम्बन्ध निरन्तर रह्यो । महाधिवेशनपछि उनीहरूको बीचमा सम्बन्ध सामान्य हुनपर्ने थियो त्यो हुन सकेन । ५५ वर्षदेखिसँगै काम गरेर आउनु भएको नेताहरूका बीचमा कैयौँ आयामहरू छन् । एकले अर्काको कमी कमजोरी थाहा पाएको छ ।

त्यसैले, बहुआयामिक सम्बन्धका कारण पनि सबै कुरा सहज हुन सकेको छैन । यो सैद्धान्तिक र नीतिगत कुराबाट मात्रै निर्देशित हुने कुरा होइन । त्योअनुसारको चरित्र उहाँहरूले देखाउन सक्नु भएन । त्यसो भएकाले सहजै सबै कुरा फटाफट हुने कुरामा अवरोध आउँदो रहेछ । केही निर्णय गर्ने वेला भयो भने नेता जिल्ला भ्रमणमा गएका हुन्छन् ।

अर्काे विदेश भ्रमणमा एक न एकका कारण काम रोकिएको हुन्छ । एक अर्काबीच देखिएको परम्परागत स्वभावका कारण पनि कैयौँ समस्या भएका छन् । अर्को कुरा काम गर्नेले पनि समयमा नै काम गर्न सकेन ।

मंसिर २८ गते महासमिति बैठक भएन भने के हुन्छ ?
त्यस्तो त मलाई लाग्दैन । अब महासमिति पछाडि धकेलिएला भन्नेमा मलाई शंका नै छैन । अब महासमिति बैठक नबसी सुखै छैन । मुलुकमा आठ रेक्टर स्केलको भूकम्प आयो अथवा सरकार र प्रतिपक्षका बीचमा ठूलो भिडन्त भयो, विदेशी राष्ट्रले नेपालमाथि आक्रमण ग¥यो भने मात्रै हो ।

नत्र कुनै कारणले महासमिति बैठक सर्ने अवस्था मैले देखेको छैन । पार्टीभित्र पनि सबै कुरा समाधान हुँदै आएको छ । नेविसंघको समस्या सामाधान हुँदै छ । त्यसपछि पार्टीले प्रस्तुत गर्ने प्रस्तावहरू पनि तयार हुने अवस्थामा छ । राजनीतिक कारणले रोकिने अवस्था छैन । अब हाम्रो काबुभन्दा बाहिरका कुनै समस्या आयो भने मात्रै रोकिएला ।

गएको १८ गते सुजाता कोइरालाको घरमा भएको ‘लन्च मिटिङ’ मा तपाईं पनि हुनुहुन्थ्यो । उक्त मिटिङपछि युवा पुस्ताको सक्रियता बढेको हो ?
स्वाभाविक रूपमा हो । सुजाता कोइरालाको निवासमा ‘लन्च मिटिङ’ थियो मैले पनि त्यो मिटिङमा सहभागी हुने अवसर पाएको थिएँ । त्यो मिटिङमा पनि नेविसंघको अधिवेशन, महासमितिको बैठक र समग्र पार्टी संगठनकै बारेमा नेताहरूले चिन्ता गर्नुभयो । अहिलेको सस्थापन इतर अथवा पूर्व संस्थापनका नेताहरू एकै ठाउँमा आउनुभयो ।

तेह्रौ महाधिवेशनमा अलग अलग भएका नेताहरू पनि त्यो मिटिङमा आउनु भएको थियो । अर्जनुनरसिंह केसी, कोइराला परिवारका तीनै सदस्य, प्रकाशमान सिंह र रामशरण महतसमेत हुनुहुन्थ्यो र त्यो बैठकको साक्षी भएर मैले पनि आफ्नो कुरा राख्ने मौका पाएँ । त्यो मिटिङले मलाई एक प्रकारको उत्साह बढायो । नेताहरू अलगअलग दौडिएर आफ्नो विचार राख्ने र आफ्नो पक्षमा जनमत तयार गर्दा पार्टी छरपष्ट जस्तो देखिएको थियो । तर, त्यसलाई एकै ठाउँमा ल्याउने काम उहाँहरूले गर्नु भएको छ । यो पार्टीको हितमा छ । मेरो विचारमा सकारात्मक सुरुआत हो, त्यो ।

तपाईंले भनेजस्तो नभएर त्यो मिटिङ संस्थापनका विरुद्धमा थियो भन्ने आरोप पनि लागेको छ, नि ?
बाहिरबाट हेर्दा त्यस्तो लाग्नसक्छ, नेतृत्वको विरुद्धको मिटङ भन्ने आरोप मैले पनि सुनेँ । तर, त्यहाँ नेताहरूको अभिव्यक्ति सुन्दा त्यस्तो थिएन । त्यो मिटिङमा आउने कुनै नेताले पनि व्यक्तिगत स्वार्थको कुरा गर्नु भएन । सबैले त्यागको कुरा मात्रै गर्नुभयो । हरेकले पद र अवसरका लागि झगडा नगरौँ । एक भएर काम गरौँ भन्नुभयो । मलाई यही चाहिन्छ भन्ने प्रकारका कुरा कसैबाट पनि आएन । एकताबद्ध भएर पार्टीलाई राम्रो बनाउन महासमितिको बैठकलाई प्रभावकारी बनाएर पार्टीको महाधिवेशनतर्फ जाऊँ भन्ने विषय नै त्यहाँ प्रमुख रूपमा उठेको थियो ।

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीभित्र नेतृत्वका विरुद्ध रामचन्द्र पौडेल नेतृत्वको समूह बढी आक्रामक देखियो भन्ने गुनासो छ के हो ?
यो गलत कुरा हो । निर्वाचनपछिको बैठकमा पार्टीभित्रका संगठन सञ्चालन प्रक्रियाका विषयमा कुरा उठेको हो । तर, निर्वाचनपछि नेतृत्वका कारण पार्टीले पराजय भोग्यो भनेर आलोचना भएको होइन । समय एकैपर्दा त्यस्तो लागेको होला । हामीले भनेको के हो भने, ‘नेविसंघको विधान संशोधनका कुरामा मात्रै हो । प्रक्रियामा केही असहमति हो । ठूलो निर्णय गर्दा अग्रिम जानकारी हुनुपर्छ, भन्ने । त्यसका बारेमा बाहिर प्रचार नेतृत्वका विरुद्ध ज्यादा भयो भन्ने भएको मात्रै हो ।’

तपाईंहरूको सक्रियता र विभिन्न तहको बैठकपछि अब कांग्रेसमा गुटले प्रभाव पार्दैन, पार्टी सशक्त ढंगले अघि बढ्छ भन्ने हो ?
अब कांग्रेसमा कुनै पनि गुट वा उप गुटले प्रभाव पार्न सक्दैन । युवा पुस्ताभित्र भएको सहकार्य गुट निरपेक्ष छ । पत्रकार वा अन्यलाई सुन्दा अचम्म लाग्नसक्छ, नेविसंघमा पनि पुरानो सोचका आधारमा चल्ने हो भने समस्या देखिन सक्थ्यो । तर, नेविसंघको विषयमा पनि हामी बीचमा कुनै पनि विवाद नै भएन । यो नयाँ पुस्तामा रहेको सुन्दर र सकरात्मक कुरा हो । नेताहरूजस्तो विवादमा हामी अल्झिदैनौँ । हामी कुनै पनि विवाद आएमा त्यसको व्यवस्थापन गरिहाल्छौँ । त्यो क्षमता हामीसँग छ भन्ने लाग्छ ।

अब नेपाली कांग्रेसले विगतका सबै कमजोरीबाट पाठ सिकेर सबैभन्दा पहिला पार्टीलाई केन्द्रदेखि वडासम्म व्यवस्थित गर्नुपर्छ । त्यसका लागि महासमित बैठक अपरिहार्य छ । महासमितिको बैठक नगर्ने सुविधा हामीलाई छैन । अहिलेको विधानमा गाउँपालिका, नगरपालिका र प्रदेश समितिको व्यवस्था छैन ।त्यो व्यवस्था विधानमा गर्नका लागि महाधिवेशन पर्खिन सकिँदैन । गाउँपालिका, नगरपालिका र प्रदेश तहको निर्वाचन नगरी महाधिवेशन गर्न सकिँदैन । त्यहाँबाट निर्वाचित भएर महाधिवेशनको प्रतिनिधि हुने हो । त्यो व्यवस्था गर्न विधान संशोन गर्ने निकाय भनेको नै महासमिति हो । त्यसैले, पनि महासमिति अपरिहार्य छ

नेताहरूको बीचमा रहेको समस्याको कारण के होला ?
मुख्य नेताहरूका बीचमा बढी स्वार्थले काम गरेको छ । उहाँहरूमा जीवनमा पार्टी सभापति वा प्रधानमन्त्री हुन पाइएन भन्ने लागेको होला । कसैलाई पार्टीमा भनेजस्तो गर्न पाइएन एकछत्र गर्न पाइएन भन्ने लागेको पनि होला । त्यही द्वन्द्वका कारण उहाँहरूका बारेमा सतहमा प्रतिक्रियाहरू देखिने गरेको छ । हामीले त्यति धेरै जिम्मेवारी निर्वाह गरेका पनि छैनौँ ।

त्यो जिम्मेवारीमा पुगेपछि हामीमा पनि त्यही समस्या हुने हो कि ? अथवा बुढ्यौलीतिर लागेपछि हुने हो कि ? हामीमा त्यो तहको दावेदारी वा प्रतिस्पर्धा नभएका कारण पनि समस्या नभएको हुनसक्छ । नेताहरूले एक दिनमा सुल्झाउन नसकेको मुद्दा हामीले प्राप्त ग¥र्यौं भने एक घण्टामा सुल्झाइ दिन्छौँ ।

कांग्रेस आन्तरिक लडाइँका कारणले संसदीय राजनीतिमा प्रमुख प्रतिपक्षको भूमिकामा रचनात्मक भएन कमजोर देखियो नि किन ?
यसलाई दुई तरिकाले हेर्नुपर्छ । लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने राजनीतिक दल भएकाले हामी आक्रामक र अराजक गतिविधि गर्न सक्दैनौँ । त्यसको आफ्नै घोषित र अघोषित आचारसंहिता र सीमा छ ।

सडकमा सामान्य प्रदर्शनबाहेक हिंसा हामी गर्न सक्दैनौँ । त्यसैले, हाम्रो भूमिका कमजोर देखिएको जस्तो लागेको होला । यही कारणले कतिलाई प्रतिपक्ष आक्रामक भएन, सरकारले गरेको काम कारबाहीमा आलोचना पुगेन भन्ने कुरामा कैयौँ घटना भएका छन् । त्यसमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी भएन भन्ने लागेको हुनसक्छ ।

यो प्रश्न नागरिक समाजबाट पनि उठेको छ । कैयौँ सामाजिक घटनामा जनताले न्याय नपाएको र सरकारले प्रभावकारी काम गर्न नसक्दा पनि कांग्रेस बोलेन भन्ने उनीहरूलाई लागेको छ । पहिलो कुरा कांग्रेस उग्र हुन नचाहेर हो, अर्को चाहिँ संसद्भित्र पार्टीको भूमिका प्रभावकारी बनाउन नसक्नु पार्टीको कमजोरी हो । संसदीय दलले एजेन्डा तय गरेर संसद्भित्र प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने हो, त्यो हुन सकेको छैन । अर्को पार्टी र भ्रातृ संगठनलाई व्यवस्थित बनाएर सरकारका काम कारबाहीका बारेमा जनताका बीचमा पार्टीले लान सकेको छैन । त्यसमा पार्टीको तर्फबाट कमजोरी भएकै हो ।

अब नेपाली कांग्रेस कसरी अघि बढ्छ ?
अब नेपाली कांग्रेसले विगतका सबै कमजोरीबाट पाठ सिकेर सबैभन्दा पहिला पार्टीलाई केन्द्रदेखि वडासम्म व्यवस्थित गर्नुपर्छ । त्यसका लागि महासमित बैठक अपरिहार्य छ । महासमितिको बैठक नगर्ने सुविधा हामीलाई छैन । अहिलेको विधानमा गाउँपालिका, नगरपालिका र प्रदेश समितिको व्यवस्था छैन ।

त्यो व्यवस्था विधानमा गर्नका लागि महाधिवेशन पर्खिन सकिँदैन । गाउँपालिका, नगरपालिका र प्रदेश तहको निर्वाचन नगरी महाधिवेशन गर्न सकिँदैन । त्यहाँबाट निर्वाचित भएर महाधिवेशनको प्रतिनिधि हुने हो । त्यो व्यवस्था गर्न विधान संशोन गर्ने निकाय भनेको नै महासमिति हो । त्यसैले, पनि महासमिति अपरिहार्य छ ।

त्यसैले, विधान संशोधन गर्ने, हरेक तहको निर्वाचन गर्ने त्यसमा स्वच्छता र मैत्रीपूर्ण प्रतिस्पर्धाको ग्यारेन्टी गर्ने, भ्रातृ संस्थालाई व्यवस्थित गर्ने र तिनको महाधिवेशन गर्दै जाने, पार्टीको संसदीय दललाई संसद्मा प्रभावकारी रूपमा संसद्मा प्रस्तुत गराउने अनि क्षमतावान् बनाउने र सरकारले गरेका काममा गुण र दोषका आधारमा गम्भीरतापूर्वक हेर्ने गलत भए आलोचना गर्ने, जनतालाई असर पार्ने, प्रजातन्त्र, संघीयतालाई कमजोर बनाउने काम भए खबरदारी गर्ने, राम्रा कामको निसंकोचको समर्थन गर्नुपर्छ ।

यसमा राम्रो संस्कृतिको विकास गर्नु आवश्यक छ । पुरानो पुस्ताले के गर्यो भन्ने होइन । सरकारको भूमिकामा पनि परिमार्जन गर्नु आवश्यक छ । प्रतिपक्षले पनि आफ्नो भूमिकामा परिमार्जन गर्नु आवश्यक छ । अब परम्परावादी सोचले अघि बढ्न सकिँदैन । यस्तै, कारणले ०४८ पछि मुलुकले प्रगति गर्न सकेन, अब त्यसमा विचार पुर्याउनुपर्छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय