मत-विमत

निर्मलाको हत्यारा पत्ता लागोस्

सन्दर्भः १६ दिने अभियान

चमिना भट्टराई २०७५ मंसिर १६ गते ८:०९ मा प्रकाशित

‘लैगिंक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ यो वर्षको लैगिंक हिंसा विरुद्धको अभियान नेपालमा पनि मनाइँदै छ । तर, यो पर्व नेपालमा परम्परा धन्नका लागि मात्रै हो की भन्ने पर्न थालेको छ । न्याय पाउन सकिन्न की भन्ने शंका मान्छेमा उत्पन्न हुन थालेको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा खोज्न लागेको चार महिना बितेकै दिन लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । एक जनाको बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्ने हाम्रो सुरक्षा संयन्त्रले आउने दिनमका अरूको सुरक्षा दिन सक्ला वा सरकारी निकायले यस अभियान सफलता होस भनेर शुभकामना दिनुको अर्थ रहला ? यो प्रश्न मेरो मात्रै होइन नेपालीको साझा होः

विगत २५ वर्षदेखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि विभिन्न कार्यक्रमसहति मनाउँदै आइएको छ । यस वर्षको अभियान सुरु भएको आज एक सात भयो । एक साताभर देशका विभिन्न जिल्ला, नगर र गाउँहरूमा सरकारी र गैर सरकारी स्तरमा जनचेतना मुलक कार्यक्रम भइरहेका छन् । विगतका वर्षहरूमा पनि यस्तै चेतना मुलक कार्यक्रममा गरी यो अभियान मनाइयो । तर हिंसा भने कम भएको अुनभूति भएको छैन । हरेक दिन कुनै न कुनै लैगिंक हिंसाका समाचार सुन्न, पढन र लेख्नु परिरहेको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो । यसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउँदै आइएको छ । अभियानका अवसरका नेपालमा दिनहुँ दर्जनभन्दा बढी कार्यक्रम भैरहेका हुन्छन् । यस्ता कामका अझ बढी सामाजिक संघ सस्थाको सक्रियता देखिने गरेको छ । त्यसको कारण के हुन सक्ला ? यो राज्य राज्यको दायित्व हो वा सामाजिक संस्थाको गरिखाने मेलो ?

मंसिर ९ गते सुरु भएको महिला हिंसाविरुद्धको अभियानमा मंसिर २४ गतेसम्म जारी रहने छ । यस वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको नारा ‘लैगिंक हिंसा र दुर्व्यहार, छैन हामीलाई स्वीकार’ भन्ने तय गरिएको छ । सरकारले अभियानमा सहभागी हुन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको छ ।

सरकारी स्तरमा ०५४ सालदेखि लैगिक हिंसा विरुद्धको सो अभियानलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ । यो अभियानको सुरुआतमा विभिन्न २० देशका २३ उत्साहित महिलाको सहभागिता थियो । हाल यो अभियान विश्वभर उत्साहका साथ मनाइने गरिन्छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो । यसलाई नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउँदै आइएको छ

यो अभियानको थालनीको मध्येको एक कारणका रूपमा १९६० नोभेम्बर २५ तारिकका दिन डेमिनिक रिपब्लिक तानशाहले आफ्नो सरकारविरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यालाई पनि लिइने गरिन्छ । ती तीन दिदीबहिनीको साहसलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरूबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रूपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो । यस्तै विश्वका अन्य त्यस्ता अपराधीक कार्य यसमा जोडिएका छन् ।

यस अभियानका सन्दर्भमा नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ १६ दिने अभियान मनाइरहेको छ । अन्तर्राष्ट्रिय नारा भने ‘अरेन्ज द वोल्र्ड हियर मी टु’ रहेको छ । यसलाई विभिन्न मुलुकले आफ्नो देश सुहाउँदो नारा तय गरेका छन् ।

अभियान सुरुका दिनमा सदाझै राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख राजनैतिक दलका नेताले अभियान सफलताको दिए । प्रधानमन्त्री र राष्ट्रपतिले लैंगिक हिंसा अन्त्य हुनपर्नेका जोडसमेत दिए शुभकामनाको क्रममा । यो सकारात्मक कुरा हो । यस्तै प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्न आह्वान ग¥यो र त्यो क्रम जारी छ ।

तर, यहाँ निर सोच्नु पर्ने कुरा के छ भने यहि अभियानका बीचमा महिला माथि भएका कयौँ हिंसाका घटना सुन्न परिरहेको छ । यस्तै कञ्चनपुरकी निर्मला पन्तलाई गत साउन १० गते बलात्कारपछि हत्या गर्ने अपराधीको अहिलेसम्म पत्ता लागेको छैन । उक्त घटनाका सन्दर्भमा सरकारले बनाएका सबै आयोगले अनुसन्धान गर्यो, तर अपराधी फेला पार्न सकेको छैन ।

यहि घटनालाई लिएर अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकारसमेत आलोचित बनिरहेको छ । सरकार र सम्बन्धीत निकायका मन्त्रीले हत्यारा पत्ता लगाएर कारबाहण्ी गर्ने बचन दिइरहे । तर, अपराधी पत्ता लागेन । पीडितका परिवारले धर्नासम्म बस्दा पनि अपराधी पत्ता लागेन । आज उनीहरूका बुबा आमा अस्पतालमा छन् । छोरीको बलात्कारी र हत्यार पत्ता लाग्ने आसमा । उनीहरूले पत्ता लगाइदिने आश्वास सरकारी तवरबाट पाउन छाडेका भने छैनन् ।

निर्मलाका हत्यारा खोज्न लागेको चार महिना बितेकै दिन यो वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । एक जनाको बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्ने हाम्रो सुरक्षा संयन्त्रले आउने दिनमा अरूको सुरक्षा दिन सक्ला वा सरकारी निकायले यस अभियान सफलता होस भनेर शुभकामना दिनुको अर्थ रहला ? यो प्रश्न मेरो मात्रै होइन धेरैको साझा हो । मात्र अभिव्यक्त गर्ने माध्यम र तरिका फरक हो । फेसबुकको भित्तामा लेख्ने की अखबारमा ! जस्को जहाँ पहुँच हुन्छ त्यही लेख्ने हो । यो पनि लैगिंक हिंसा विरुद्धको चेतना नै हो ।

यो अभियानलाई हामीले आफ्नै देश, समाज र यहाँको वास्तविकतासँग जोडनु आवश्यकछ । नेपाली समाजमा आज पनि महिलाहरू अनेक प्रकारका हिंसाबाट प्रताडीत छन् भने । हरेक दिन महिलाले साना ठूला हिंसा व्यहोरी रहेको अवस्था छ । तर, अपरामा संलग्न अपराधी समाजमा खुल्ला रूपमा छाति फुलाएर हिँडिरहेको छ । निर्मला पन्तकै घटनामा सयौंलाई शकां गरियो, कयौंको डिएए परिक्षण गरियो, प्रहरी अधिकारीलाई निलम्बनसम्म गरियो ।

पछिल्लो समय उनका आफन्तलाई समेत शंका गरेको पाइयो । तर, अपराधी पत्ता लाग्न सकेन किन ? परिवार र आफन्तले सुरुदेखि शंका गरेको मान्छेसम्म प्रहरी पुग्न सकेन, राज्य मौन बस्यो, आयोगमाथि आयोग बन्यो, अनुसन्धानमा नै कयौँ खर्च भए होलान । खै त निर्मलाको अपराधी ? यस घटनाले अनेक प्रश्न उब्जाएको छ । शक्तिमा भएकाले गरेको अपराध क्षम्य हुने हो ? वा त्यस्को अनुसन्धान भइरहन्छ अपराधीसम्म पुग्नै सक्दैन पुग्नै चाहदैन !

निर्मला पन्तको विषय मात्रै होइन । लैंगिक हिंसा गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याइनुपर्छ । निर्मलालाई बलात्कार र हत्या गर्नेको पहुँच जतिसुकै माथि होस् यसले प्रचलित कानुनअनुसार सजाएँको भागिदार हुनै पर्छ । चाहे त्यो आफन्त परिवार वा राज्यको कुनै निकायमा रहेको व्यक्ति होस अपराध अनुसारको सजायँ हरेक जो कोहीले पाउनै पर्छ । यो अभियान त्यसतर्फ केन्द्रीत होस् ।

नेपालमा लैंगिक रूपमा अहिले पनि महिलाले बोक्सीको नाममा मलमुत्र खान बाध्य हुन् । कुटिन, पिटिनु र मुण्डिन बाध्य छन् । छाउपडीका नाममा घरदेखि पर जनावर र मान्छेकै शिकार हुन बाध्य छन् । दाइजो नल्याएको नाममा वा छोरी जन्माएको नाममा जल्नु र घरबाट निकालिनु परिरहेको छ । तर हामी ठूला व्यानरमा यस्ता अभियान बनाइरहेका छौं । हाम्रो समाजको स्वरूपमा खै परिवर्तन आएको ? वा अभियान अभियानका लागि मात्रै हो । त्यसको उपलब्धि हुन पर्छ की पर्दैन ?

यस्ता अभियानका सरकारका प्रमुख व्यक्तिबाट शुभकामना होइन त्यस्ता अपराधीलाइ कानुनी दायरामा ल्याउन आदेश होस । तर, गएका आदेश जस्तो होइन । आदेश हुने कार्यान्वयन नहुने । मुलुकले राजनीतिक परिवर्तन गरेको छ । सरकार एक वा दुई जनाले खुट्टा झिम्दा ढल्ने अवस्थामा छैन । यस्तो वेला न्यायको अनुभूति नगरे कहिले गर्ने ? यस्तो वेला अपराधीहरू काँपुन, डराउन, उनीहरू हतोत्साहित बनुन । अपराधको राज सकियो, कानुनको राज छ । अपराध गरे उम्कन सकिन्न भन्ने मानसिकताको विकास गराउनु जरुरी छ ।

अहिले मुलुकले राम्रा राम्रो कानुन पाएको छ । त्यसलाई व्यवहारमा उतारियोस जनताले कानुनको अक्षर पढने होइन, त्यसको व्यवहारिक अनुभूति होस । कानुन भनेको यस्तो हुनपर्छ । मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिताको प्रभावकारी कार्यान्वयबाट सबै प्रकारका हिंसा अन्त्यका उपयुक्त छ भन्ने अनुभूति गराइयोस नेपालीलाई । यस्ता अभियान १६ दिन गोष्ठी भेला र छलफलमा केन्द्रित भएर सकिने अवस्था नआओस् । अब यो मुलुकका लिंगका आधारमा, जाति, वर्ग, धर्म संस्कृति वा कुनै पनि नाममा कोही हिंसामा पर्ने वा कसैले हिंसा गर्ने अवस्था बन्द होस् ।

१६ दिने अभियान पर्व मात्रै नबनोस् । हरेक दिन गोष्ठीमा जाने नयाँ सुट बुट, सारी फेर्नका लागि । यो त्यस्तो अभियान बनोस हामी कानुनको राज भएको मुलुकमा छौं । यहाँ हरेक प्रकारका हिंसा गर्नेलाई कानुनको दायरामा ल्याइन्छ । कानुले कसैलाई छोड्दैन । अपराध गर्ने उम्कन पाउँदैन भन्ने अनुभूति हो । विश्वमा मनाउँदै आएको परम्परा हो धान्दै पर्यो, २५ वर्षदेखि धानिएको छ किन छोड्ने ? भन्ने मानसिकताबाट यो अभियान मुक्त रहनुपर्छ । होइन भने बिरालो बाँधेर सराद्धे गरेको जस्तै बन्न सक्छ यो अभियान । कुनै पनि कार्य गर्दा त्यस्को परिणाम आने गरि गरियो भने त्यसको लगानी र उदेश्य सार्थक बन्न सक्छ । परम्परा धान्नेबाहेक केही हुँदैन । यहाँ परम्परा धान्ने भन्दा सार्थक हुने कार्यक्रमको आवश्यक छ ।

यो वर्षको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा निर्मलाको हत्याराले सजाए पाउनु । उनका परिवारले कानुनको राज छ अपराधी जतिसुकै बलवाला भए पनि कानुको अघि उम्कन सक्दैन भन्ने सन्देश देओस् । अभियानले केही दिनैपर्छ । नेपाली समाजका लागि, नेपाली महिलाका लागि र यो राष्ट्रका लागि । निर्मलाको हत्यारा पत्ता लगाउन नसकेका कारण हामीलाई लज्जाबोध छ । ‘मेरो देशको सुरक्षा संयन्त्र एउटा अपराधी फक्राउ गर्न सक्दैन’ भनेर त्यो लज्जाको पगरी यहि अभियानकै क्रममा हटाइयोस सरकार । निर्मलाको परिवारले न्याय पाउनु । अभियानको शुभकामना ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय