खोजखबर

आकर्षक गन्तव्य बन्दै राजारानी क्षेत्र

रामचन्द्र न्यौपाने २०७५ मंसिर १९ गते ८:३२ मा प्रकाशित

विकट हिमाली डोल्पा जिल्लाका ऐतिहासिक स्थलहरूमध्येको एक हो, राजारानी क्षेत्र । प्राकृतिक सौन्र्दयले मनमोहक ठाउँ र रोचक इतिहास भएकै कारण हिजोआज यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली गाउँमा राजारानी डाँडा रहेको छ । क्षेत्री र दलित समुदायको बसोबास रहेको यो गाउँ राजारानी क्षेत्रको इतिहासको साक्षीको रूपमा रहेको बताइन्छ । गाउँको तल्तिर मध्यभागमै छ, राजारानी डाँडा । हराभरा सल्लाले घेरिएको जंगलका कारण त्यस क्षेत्रको सुन्दरतालाई थप मनमोहक बनाइदिएको छ । बाह्रै महिना एउटै गतिमा बहने हावाले चैत–वैशाखको गर्मीमा पनि यहाँका बासिन्दालाई शीतलता प्रदान गर्छ । उनीहरूले गर्मीको सामना गर्नु पर्दैन ।

प्राकृतिक सुन्दरता मात्रै यहाँको परिचय होइन । कैयौँ रोचक र प्राचीन इतिहास पनि यो ठाउँसँग जोडिएको छ । डाँडाको पूर्वतर्फको फेदैमा छ सिमालो (भिजेको) जमिन । करिब १० रोपनी क्षेत्रमा फैलिएको सेरा खेतको आफ्नै इतिहास छ । सयौँ वर्षअघि हरेक वर्ष बाजागाजासहित यहाँ धान रोपाइँ गरिन्थ्यो । जेठ महिनामा गरिने धान रोपाइँमा खेताला, गोरु र रोपार्नी जिल्लाका विभिन्न विकट गाउँहरूबाट रल्लीगाउँ पुग्थे । एकातिर बाजा गाजाको रमाइलो अर्कोतर्फ यो वर्ष बलि को चढ्ने पालो कसले व्यहोर्नुपर्ने होला भनेर ।

रोपाइँ सुरु गर्नु पूर्व यहाँ हरेक वर्ष मान्छेको बलि दिने अनौठो परम्परा थियो । यदि, मान्छेको बलि नदिएरै रोपाइँ सुरु गरिए सबै खेताला, गोरु हिलोमा फस्ने र अनिष्ट हुने विश्वास गर्दथे, त्यहाँका स्थानीय । त्यही अन्धविश्वासी त्रासका कारण सबैको रक्षा होस् भनेर मानवलाई बलिमा चढाइन्थ्यो र अन्यको जीवन सुरक्षित भएको ठानिन्थ्यो ।

‘खेतबाट ५० मिटरको दूरीमा मानव बलिका लागि प्रयोग गरिने पाँच मिटर लामो त्यत्तिकै गहिरो अनौठो ढुंगा छ, त्यसैमा मान्छेलाई राखेर बलि दिने गरिन्थ्यो,’ इतिहास सम्झदै स्थानीय विषमान नेपालीले भने, ।’ त्यो अनौठो ढुंगा अझै त्यही इतिहास बनेर सुरक्षित छ । त्यसैमा रोपाइँका दिन काटिने मान्छेको नाम लेखिएको हुन्थ्यो । कसले लेख्थ्यो बलिमा चढ्नेको नाम त्यो भने गर्भमा नै छ ।

यो कुप्रथा चलेका वेला गाउँका मानिसमा आफ्ना परिवारका सदस्य जिउँदै काटिने त्रासले रुवाबासी नै चल्थ्यो । को कतिवेला काटिने हो भनेर त्रास हुन्थ्यो, सबैमा । उक्त डरलाग्दो प्रथालाई एक बाबुछोराको जोडीले जुक्ति लगाएर हटाएको बताइन्छ । साविकको माझफाल गाविसका बाबुछोराले बलि चढाएका ढुंगामा लेखिएका अक्षर बासो (फलामे औजार) ले ताछेर मेटाएपछि आफूहरू काटिन नपरेको र यसपछि यो कुप्रथा हटेको यहाँका बुढापाकाहरू बताउँछन् । बाइसे–चौबिसे राज्य हुँदा डोल्पाका नौ राज्यमध्ये शक्तिशाली मानिने एक राज्यमा लिम्बू ल्याप्चे नामका भोटे राजाले शासन गर्थे ।

उति वेला रोपाइँ गरिने खेत अहिले बाँझो अवस्थामा छ । कुनै वेला पहेँलै धान फल्ने खेतमा अहिले स्थानीयले पशु चौपाया चराउने ठाउँको रूपमा प्रयोग गर्दै आएका छन् ।

राजारानी डाँडामा हालै प्राचीन वस्तु भेटिएका छन् । चार वर्षअगाडि पुरातत्व विभागको टोली अनुसन्धानका लागि त्यहाँ पुगेको थियो । १४ दिनसम्म बसेर यो टोलीले स्थानीय बासिन्दासँग परामर्श ग¥यो र विभिन्न स्थानमा उत्खनन् गर्यो । उत्खनन्मा सयौँ वर्ष पुराना वस्तुहरू फेला परे जसमा पत्थरबाट बनेका बहुमूल्य माला (पुलिक) दुई थान, फलामबाट बनेको तीर पाँच थान, माटाका भाँडा ३ थान, मानव साङ्लो, धातुका हातहतियार र केही मानव अस्थिपञ्जर पनि भेटिएका थिए । अनुसन्धान गर्ने भन्दै ती वस्तुहरू विभागले काठमाडौं लगेको थियो । फेला परेका पुरातात्विक वस्तुहरू त्रिपुराकोटमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।

‘धामी (देउता चढेर भविष्यवाणी गर्ने मान्छे) ले उत्खनन् गर्न रोक लगाएका थिए, पुरातत्वको टोलीलाई पनि उत्खनन् नगर्न भन्यौँ तर मानेन, उत्खनन् गर्यो,’ स्थानीय टोपबहादुर शाहीले भने ।

स्थानीयले फेला पारेका ती वस्तुलाई डोल्पामै राख्न आग्रह गरिएको थियो । ‘परीक्षण पछि पुनः डोल्पा फर्काउने भन्दै लगिएका प्राचीन वस्तुहरू अहिले कहाँ, कस्तो अवस्थामा छन् अत्तोपत्तो छैन,’ शाहीले भने ।

‘राजारानी क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा प्रवद्र्धन गर्ने र थप अनुसन्धानका लागि केही समयभित्रै डोल्पा पुग्ने वाचा गरेर उक्त टोली फर्केको शाहीले स्मरण गर्दे बताए ।

अहिले राजारानी डाँडा वरिपरि ठाउँठाउँमा जमिनमुनि बनाइएका खाडल आकारका घर भेटिन्छन् । जमिनभित्रै ढुंगाबाट बनाइएका जस्ता देखिने घरहरूको अवलोकन गरेपछि त्यहाँ पुग्ने मान्छेहरू अचम्ममा पर्छन् । त्यहाँभित्र सयौँ वर्ष पुरानाजस्ता लाग्ने मानव अस्थिपञ्जरहरू अझै देख्न सकिन्छ ।

नेपाल एकीकरणका क्रममा डोल्पा पुगेका बहादुर शाहको टोलीबाट बच्न यस्ता खाडल बनाइएको हुन सक्ने स्थानीयको भनाइ छ । उक्त टोलीसँग युद्धमा मरेका सैनिकहरूलाई गाडिएकाले पनि धेरै परिमाणमा मानव अस्थिपञ्जर भेटिएको अनुसन्धान कर्ताहरूको तर्क छ । उत्खनन्मा भेटिएका पुरातात्विक वस्तुहरू त्यहाँका राजा र प्रजाका सम्पत्ति भएको अनुमान गरिएको छ ।

त्यस क्षेत्रको अर्को आकर्षण राजारानी देवल हुन् । प्राचीन ढुंगा कुँदेर बनाइएका उक्त देवलहरू निकै नै आकर्षक देखिन्छन् । त्यहाँ पुग्ने जो कोही ती देवल क्यामरामा कैद गर्न आतुर हुन्छन् ।

यहाँका राजाले सम्झनाका लागि राजारानी देवल खडा गरेको एकथरीको भनाइ छ, भने अर्काथरी मान्छेहरू डोल्पा एकीकरण गर्न आएको बहादुर शाहको टोलीले त्यहाँको राजालाई मारिसकेपछि उनीहरूको स्मारकको रूपमा देवल खडा गरेको बताउँछन् ।

राजारानी क्षेत्र अहिले लोप हुने अवस्थामा पुगेको छ । सयौँ वर्ष पुरानो इतिहासको साक्षीको रूपमा रहेको र पुरातत्व विभागले सूचीकरण गरेको यस क्षेत्र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेको हो । स्थानीय बासिन्दाले जथाभावी उत्खनन् गरेर माटो र ढुंगा निकाल्न थालेपछि ऐतिहासिक पहिचान मेटिने खतरा बढेको स्थानीय तुलबहादुर श्रेष्ठले बताए ।

यस क्षेत्रको अवलोकन भ्रमण गर्न जिल्लाका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् तर, संरक्षणका लागि कतैबाट पहल भएको छैन । यहाँबाट भेरी नदी, त्रिपुरासुन्दरी मन्दिर, मुकुटेश्वर हिमाललगायत चारैतिरको दृश्य अवलोकन गर्न सकिने भएकाले भ्यू टावर निर्माण गर्न उपयुक्त हुने स्थानीयको आग्रह छ ।

देशका विभिन्न जिल्लाका विद्यालयबाट विद्यार्थीहरू यस ठाउँमा शैक्षिक भ्रमणमा आउने क्रम बढेर गएको छ । उनीहरू यहाँको रमणीय दृश्य हेर्न र अध्ययनका लागि आउने गर्दछन् ।

आगन्तुकहरू यहाँ पुगेर मान्छे बलि दिन प्रयोग भएको ढुंगा, सेरा खेत, राजारानी देवल, जमिनमुनिका घर, मानव अस्थिपञ्जरको अवलोकन गर्ने गर्छन् । पछिल्लो चार महिनायता मात्रै दर्जनौँ विद्यालयबाट आएका विद्यार्थीले सो क्षेत्रको भ्रमण गरेको स्थानीय पन्न उखेडाले बताए ।

रमाइलो वातावरण भएकै कारण चलचित्र छायांकन गर्नसमेत मान्छेहरू यहाँ पुग्ने गरेका छन् । केही महिनाअगाडि मात्रै डोल्पाको मौलिक परिवेश र यहाँको कष्टकर जीवन शैलीलाई कथा बनाएर निर्माण गर्न लागिएको चलचित्र म्हेन्दुको छायांकन यहाँ गरिएको थियो ।

अनौठो र रोचक इतिहास बोकेको राजारानी क्षेत्र अवलोकन भ्रमणका लागि सबैजना एकपटक पुग्नैपर्ने शिक्षक लोकेश खत्रीले बताए ।
जिल्लाकै प्रमुख ऐतिहासिक ठाउँ भएर पनि कुनै पनि निकायले संरक्षणका लागि चासो नदेखाएकोमा स्थानीय बासिन्दा चिन्तित बनेका छन् । सुरुमा घेराबार गरेर यसलाई संरक्षण गर्नुपर्ने र यसको विकासमा राज्यले गम्भीर रूपमा सोच्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय